त्रिभुवन सहकारी विश्वविद्यालय विधेयक २०२५ माथिको छलफलका क्रममा हालसालै भारतका केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले भारतीय लोकसभामा सहकारी ट्याक्सी सेवासम्बन्धी सरकारी अवधारणा घोषण गरेपछि यसका विविध पक्षबारे त्यहाँ चर्चा परिचर्चा भैरहेको छ।
शाहका अनुसार सहकारी ट्याक्सी सेवाको अवधारणा लागु गर्न केन्द्रीय सहकारी मन्त्रालयले विगत साढेतीन वर्षदेखि अथक प्रयास गरिरहेको छ र केही महिनामै यो सेवा सञ्चालनमा आउनेछ। यसअन्तर्गत दुई पांग्रे, अटो–रिक्सा, ट्याक्सी र चार पांग्रे सवारी साधन दर्ता गर्न सकिनेछ। ट्याक्सी सहकारीको स्वामित्व र व्यवस्थापन यसका चालक–सदस्यहरूद्वारा लोकतान्त्रिकरूपमा गरिनेछ जसले चालक–सदस्यहरूका लागि राम्रो ज्याला, उपयुक्त काम गर्ने अवस्था र मुनाफाको न्यायिक वितरण सुनिश्चित गर्नेछ र यसले भारत सरकारको ‘सहकारीमार्फत समृद्धि’ (सहकार से समृद्धि) को प्रतिबद्धतालाई साकार गर्नेछ।
सहरीकरण बढ्दै गएको विश्वमा आमजनताको दैनिक जीवनमा ट्याक्सी सेवाले महत्वपूर्ण भूमिका निभाउँछ। मानिसको दैनिकी व्यस्त हुँदै गएको सन्दर्भमा ट्याक्सी सेवा यातायातको भरपर्दो, लचिलो र सुविधाजनक माध्यम वन्दै गएको छ।
खासगरी राम्रो सार्वजनिक यातायातको विकास नभएको क्षेत्रमा र सार्वजनिक सेवाको उपभोग गर्न सहज नहुने बाल, वृद्ध तथा अपांगहरूका लागि ट्याक्सी सेवा झनै महत्वपूर्ण भएको छ। ट्याक्सी सेवाले समयको बचत गर्नका साथै ठूलोमात्रामा रोजगारी पनि सिर्जना गर्दछ।
अर्कोतर्फ कतिपय ट्याक्सी चालकहरूले सर्वसाधारण यात्रुहरूलाई ठग्ने गरेका घटना पनि भइरहेका पाइन्छन्। म आफैं पनि विभिन्न मुलुकमा ट्याक्सीचालकबाट ठगिएको छु। उदाहरणका लागि सन् १९८२ मा भारतको पुनास्थित गोख्ले इन्स्ट्च्यिुट अफ पोलिटिक्स एन्ड इकोनोमिक्समा एमफिल र पिएचडी गर्न जाने सन्दर्भमा पुनाको रेलवे स्टेसनबाट गोखले इन्स्ट्च्यिुटसँगैको होटेलसम्म ट्याक्सीबाट गएको थिएँर सो ट्याक्सी चालकलाई होटेलबाट गोख्ले इन्स्ट्च्यिुट कति टाढा छ भनेर सोधेपछि निजले मलाई सो इन्स्ट्च्यिुटसम्म म नै ट्याक्सीमा लिएर जान्छु भनेको थियो। त्यसपछि म सामान कोठामा राखेर सोही ट्याक्सीबाट गोखले इन्स्ट्यिुट गएको थिएँ। गोखले इन्स्ट्च्यिुटबाट होटेल फर्केपछि मलाई दुई मिनेट हिँडेर पुगिने ठाउँमा ट्याक्सी चालकले दश, पन्ध्र मिनेट घुमाएर ठगेको अनुभव भएको थियो। यस किसिमका घटना विभिन्न मुलुकमा बराबर हुने गरेकै छन्।
यसरी ट्याक्सी चालकले ठग्ने गरेका घटनाहरू एपमा आधारित ट्याक्सी प्लेटफर्महरूको विकास भएपछि कम हुँदै गएका र जिपिएस ट्रयाकिंग, नगदरहित भुक्तानी र ग्राहक प्रतिक्रिया प्रणाली जस्ता सुविधाहरू विकास भएपछि ट्याक्सी सेवा सुविधायुक्त, विश्वासनीय, सुरक्षित र प्रयोगकर्तामैत्री हुँदै आएको छ।
भारतीय क्याब बजारमा लोकप्रिय भएका उबर र ओला क्याब्समध्ये उबर १०० र ओला १६० भन्दा बढी सहरमा सञ्चालित छन्। तिनीहरूले ट्याक्सीचालकहरूबाट २० देखि ४० प्रतिशतसम्म कमिसन लिने भएकाले ट्याक्सी चालकहरूको आम्दानी घट्न जान्छ जसले ट्याक्सी चालकहरूमा असन्तुष्टि बढ्दै गएको छ।
सहकारी ट्याक्सीले यस किसिमका समस्या न्यून वा अन्त्य गर्नेछ। यसअन्तर्गत चालकहरूले बिचौलियाको कमिसन तिर्नु नपर्ने भएकोले ट्याक्सीचालकको आम्दानी बढ्नेछ र उपभोक्ताले उच्च स्तरको ट्याक्सी सेवा पाउनेछन्। सहकारी ट्याक्सीका सदस्य–चालकहरूले सामान्य सदस्यता शुल्क तिर्नुपर्नेछ जुन मासिक शुल्क वा प्रतिसवारी शुल्कका रूपमा निर्धारण हुन सक्छ।
यसरी सहकारी ट्याक्सीको सदस्य भएपछि तिनीहरूलाई सहकारी ट्याक्सी प्लेटफर्मका सेवाहरूमा पहुँच मिल्नेछ। सहकारी ट्याक्सीले ट्याक्सी सेवालाई थप समावेशी, समानतामूलक र चालकमैत्री बनाउनेछ र यसले चालकहरूको वित्तीय सुरक्षालाई बढाएर क्याब बजारलाई दिगो बनाउनेछ।यसरी सहकारी ट्याक्सीले भारतको ट्याक्सी सेवा क्षेत्रलाई रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।
नेपाल सान्दर्भिकता
नेपालमा पनि खासगरी सहरी क्षेत्रमा ट्याक्सी सेवा लोकप्रिय हुँदै गएको छ। ट्याक्सी सेवामा पठाओ, टुटल, सारथि, इन–ड्राइभ जस्ता अनलाइन एपहरूमार्फत सवारी साधन एक मिनेटभित्रै बुक गर्नसकिने भएकाले यातायात सहज भएको छ। राइड सेयरिंग एपहरूको विकासले यातायातलाई सस्तो पनि बनाएको छ। यसले गर्दा परम्परागतरूपमा बाटोमा ट्याक्सीका लागि लामो समयसम्म कुनुपर्ने, ट्याक्सी खोज्नु घामबाट सेकिनुपर्ने वा पानीबाट भिज्नुपर्ने, ट्याक्सी भाडाका लागि मोलमोलाइ गर्नुपर्ने, ट्याक्सी चालकबाट ठगिनुपर्ने जस्ता कठिनाइहरू घट्न वा हट्न गएका छन्।
प्रयोगकर्ताले सवारी सुरुगर्नुअघि चालकको नाम, फोटो र सवारी साधनको जानकारी लिन सक्ने भएकाले यातायात बढी सुरक्षित पनि भएको छ। सवारीका लागि जुनसुकै समयमा अनुरोध गर्न सकिने, चालकको स्थान ट्रयाक गर्न सकिने र एपमार्फत सवारीको भुक्तानी गर्न सकिने भएकाले यातायात झनै सहज, सुरक्षित र भरपर्दो भएको छ।
यसले गर्दा एपमा आधारित सवारी साधन प्लेटफर्महरूको प्रयोग बढ्दै गएको छ। पठाओले मुलुकका अठार सहरमा करिब नब्बेलाख मोटरसाइकल सवारहरू, १० हजार ट्याक्सी चालक र पाँच हजार डेलिभरी सहायकमार्फत दिनहुँ एकलाख पचास हजार जति सवारी र डेलिभरी सेवा प्रदान गर्ने गरेको छ। यसैगरी टुटलले एकलाख सवारहरूलाई प्रशिक्षण दिएको छ जसमध्ये ९२ हजार साइकल सवार छन्र यसको पचास हजारभन्दा बढी दैनिक यात्रा हुने गरेको अनुमान छ।
नेपालमा सहज, सुरक्षित र सुलभ यातायात सेवा विकास र विस्तारका लागि एपमा आधारित यातायातका साधनसम्बन्धी प्लेटफर्महरूलाई व्यवस्थित गर्नका साथै सहकारी ट्याक्सीको अवधारणा लागु गर्नेतर्फ पनि विचार गर्नुपर्दछ। सहकारी
ट्याक्सी श्रमिक सहकारीका रूपमा सञ्चालन हुन्छ। यो सहकारीका सदस्य–चालकहरूको संयुक्त स्वामित्वमा रहन्छ र तिनीहरूले ‘एक सदस्य एक मत’ का आधारमा सहकारीलाई लोकतान्त्रिक किसिमले नियन्त्रण गर्दछन्।
ट्याक्सी सहकारीका निर्णयहरू सामूहिकरूपमा गरिन्छन्। यसमा चालक–सदस्यहरूका लागि उपयुक्त काम गर्ने वातावरण सिर्जना हुन्छ र तिनीहरूको जागिर सुरक्षित हुन्छ। यसमा बिचौलियाहरूलाई कमिसन दिनु नपर्ने भएकाले चालक–सदस्यहरूले आय राम्रो हुन्छ।
सहकारी ट्याक्सीका सदस्यहरूले सेवाको गुणस्तर र स्थानीय समुदायप्रतिको जवाफदेहितालाई प्राथमिकता दिन्छन् र ग्राहकले सुरक्षित, सस्तो तथा भरपर्दो सेवा पाउँछन् । चालक–सदस्यहरू सहकारीको नाफाका साझेदार हुन्छन्। यसको मुनाफाको निश्चित प्रतिशत जगेडा कोषमा जम्मा हुन्छ जुन सहकारीको विकास र विस्तार गर्न, स्थानीय समुदायको भलाइ गर्न तथा वित्तीय संकट भएको समयमा प्रयोग गरेर वित्तीय स्थायित्व कायम गर्न उपयोग गर्न सकिन्छ।
सहकारी ट्याक्सीबाट प्राप्त हुने आय स्थानीय तहमै रहने हुँदा त्यसबाट स्थानीय विकास र समुदायको उन्नति हुन्छ। यसैले सहकारी ट्याक्सीको विकास र विस्तार गर्न आवश्यक वातावरण सिर्जना गर्नका लागि सरकारी क्षेत्रबाट पहल हुनुपर्छ।
निष्कर्ष
ट्याक्सी सहकारीको प्रयोग अमेरिका, क्यानडा, ब्राजिल, केन्यालगायतका विभिन्न देशमा भएको पाइन्छ। उदाहरणका लागि अमेरिकामा स्थापित विभिन्न सहकारीमा न्युयोर्क सहरमा २५०० चालक सदस्यहरूद्वारा मे २०२० मा स्थापना गरिएको ‘चालक सहकारी’ एउटा सहकारी हो जसको सामूहिक स्वामित्व चालक–सदस्यहरूको रहेको छ। यसको उद्देश्य यस प्रकार छ–
‘हामी न्युयोर्क सहरमा चालक–स्वामित्वमा रहेको राइडहेलिंग सहकारी हौँ। हाम्रा चालकहरूले प्रत्येक यात्रामा राम्रो कमाइ गर्छन्, सबै नाफा चालकहरूले नै पाउँछन्। चालकहरूको आफ्नो जीवनलाई असर गर्ने निर्णयहरूमा प्रजातान्त्रिक नियन्त्रण हुन्छ। हाम्रो लक्ष्य भनेको प्रणाली परिवर्तनमार्फत भाडामा लिने सवारी साधन उद्योगमा शोषणकारी अवस्था अन्त्य गर्नु हो र प्लेटफर्म अर्थतन्त्रको चालकको सिटमा चालकहरूलाई राख्नु हो।’
यस्तै किसिमका उद्देश्य राखेर विभिन्न मुलुकमा विभिन्न सहकारी ट्याक्सी स्थापना भएका छन् जसले आममानिसको दैनिकिमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। विश्वमा सहकारी ट्याक्सीको प्रयोग बढ्दै गएकाले यसलाई जुनसुकै मुलुकमा पनि लागु गर्न सकिन्छ भनेर सपष्ट भएको छ।
हाम्रो जस्तो सार्वजनिक यातायातको राम्रो विकास नभएको मुलुकमा यसको झनै बढी सान्दर्भिकता छ। विश्वमा अपनाइएका राम्रा प्रयोगहरूको हामीले पनि अनुशरण गर्दै जानुपर्छ। सहकारी ट्याक्सीको प्रयोगले सहज, सुलभ तथा सुरक्षित यातायात सेवाको विकास र विस्तार गर्नु। यो रोजगारीको महत्वपूर्ण स्रोत र स्थानीय विकासको संवाहक पनि हुन सक्छ।
प्रकाशित: १५ वैशाख २०८२ ११:०७ सोमबार