विचार

विकासको दक्षिण कोरिया सूत्र

नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९) गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ।

मैले नेपालका राजनीतिकर्मी, अर्थ सरोकारवालासँग भलाकुसारी गर्दा कोरियाको आर्थिक विकासको रहस्य के हो भनेर जिज्ञासा धेरैपटक पाएको छु। कोरिया विकासका विविध पक्षमध्ये एक प्रत्यक्ष वैदेशिक लगानी भिœयाउनका लागि सरकारले चालेको सकारात्मक कदम र लगानीको सही सदुपयोग हो भन्ने लाग्छ।

शास्त्रीय अर्थशास्त्र नियाल्ने हो भने उत्पादनका आधारभूत पक्षका रूपमा श्रम, पुँजी र भूमिलाई लिने गरिएको छ। कोरियाको आर्थिक विकासको क्रममा पर्याप्त लगानी गर्ने पुँजी थिएन र जुटाउन सजिलो पनि थिएन्। सरकारले पुँजी जुटाउनका लागि वैदेशिक ऋण तथा एफडिआइ आकर्षित गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ।

श्रम र भूमि भने हामीसँगै थियो। कोरियाले देशको आर्थिक विकासको क्रममा प्रत्यक्ष वैदेशिक लगानीका विभिन्न फाइदाबारे लामो अनुभव गरिसकेको छ। त्यसैले आजका दिनमा पनि केन्द्र र स्थानीय सरकारले वैदेशिक लगानी आकर्षित गर्नका लागि विभिन्न सुविधा तथा प्रोत्साहनलाई निरन्तरता दिएको छ।

प्रत्यक्ष वैदेशिक लगानीका फाइदा

कोरियाको अनुभव साट्नुपर्दा प्रत्यक्ष वैदेशिक लगानीबाट राष्ट्रिय अर्थतन्त्र र उद्योगले सकारात्मक लाभ लिन सकिन्छ भन्ने रहेको छ। त्यसैगरी हामीले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ)मार्फत आन्तरिकरूपमा लगानी स्रोतको अभावबाट छुटकारा पायौँ र आन्तरिक बजारमा यथेष्ट रोजगारी सिर्जना गर्न सफल भयौं।

गत सेप्टेम्बरमा प्रकाशित अध्ययनको तथ्याङ्कअनुसार कोरियामा विगत १० वर्षमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत दुई लाख  ९५ हजार रोजगारी सिर्जना भएको देखाएको छ। रोजगारी सिर्जनालाई सर्वोत्कृष्ट सामाजिक कल्याणकारी नीति मानिन्छ र रोजगारीले आर्थिक तथा सामाजिकरूपमा पनि सकारात्मक भूमिका खेल्न सक्छ।

एफडिआइले देशको आर्थिक विकासलाई उत्प्रेरित गर्न, उद्योग स्थापना तथा लगानी वातावरण सिर्जना गर्न र स्थानीय समुदाय र अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ। एफडिआइले स्थानीयको आम्दानी र क्रयशक्ति वृद्धि हुन गई देशको समग्र आर्थिक वृद्धिको नेतृत्व गर्न सक्छ।

अर्को पक्ष, वैदेशिक लगानीमा स्थापित कम्पनीहरूको प्रविधि र ज्ञान लगानी गरेको मुलुकमा हस्तान्तरण हुनुका साथै प्राविधिक जनशक्ति उत्पादनमा पनि सकारात्मक भूमिक खेल्छ। दक्षिण कोरियाको सन्दर्भमा वैदेशिक लगानी रहेका उद्योगमध्ये टेक्नोलोजी हस्तान्तरण भएका धेरै उद्योग आज विश्वव्यापीरूपमा उदाएका प्रशस्त उदाहरण छन्।

अन्य मुलुकमा व्यापार गर्न वैदेशिक लगानीमा सञ्चालन भएका उद्योगसँग आफ्नो देशको बारेमा आवश्यक जानकारी हुने भएकाले व्यापार लक्ष्य सुनिश्चित गर्न अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका उद्योग तथा लगानीको उपस्थितिले सकारात्मक भूमिका खेल्छ। प्रत्यक्ष वैदेशिक लगानीमार्फत अन्तर्राष्ट्रिय व्यापार सम्भव हुन सक्छ।

एफडिआइले निर्यात विस्तारमा सकारात्मक प्रभाव पार्दछ र घरेलु बजारमा एकाधिकारको सट्टा प्रतिस्पर्धामा आधारित बजार निर्माण भई उपभोक्तासम्म सहज पहुँच पुग्छ। त्यसैगरी एफडिआइमार्फत उपलब्ध भएका सुविधा र उपकरणले लक्षित देशमा श्रमशक्तिको उत्पादकत्व बढाउन टेवा पुग्दछ।

नेपालमा एफडिआइ सम्भावना

विदेशीको नजरमा नेपाली अर्थतन्त्रलाई नियाल्दा, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नका लागि सम्भावना तथा कमजोरी दुर्व पक्ष छन्। तुलनात्मकरूपमा प्रतिस्पर्धी श्रम बजार, ऊर्जा क्षेत्रमा ठूलो लगानीको सम्भावना, हिमालय तथा विविधताले भरिएको सांस्कृतिक सम्पदालगायत प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नेपालको प्रचुर सम्भावन सबैले मनन गरेकै विषय हुन्।

नेपालमा एफडिआइको आकर्षण बढाउन लगानी प्रक्रियामा सरलीकरण गर्नुपर्दछ। पर्याप्त दक्ष जनशक्ति उपलब्ध गराउनु र लगानी गर्ने कम्पनीहरूलाई स्वदेशी कम्पनीसरह समान व्यवहार आवश्यक देखिन्छ। यस क्षेत्रको सुधारका लागि नेपाल सरकारले दृढ इच्छाशक्तिका साथ सम्बन्धित कानुन निर्माण चरणमा रहेको भन्ने विषय समय सान्दर्भिक छ।

नेपालमा रहेका विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीमार्फत नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण छ र नीतिगत हिसाबले पनि सहज वातावरण छ भन्नेबारे सम्बन्धित मुलुकहरूमा जानकारी गराउने पक्ष अपरिहार्य छ। लगानीकर्ताको प्रमुख चासो भनेको सहजरूपमा लगानी गर्ने र मुनाफा आर्जन गर्ने र उक्त मुनाफा आफ्नो देशमा सहजरूपमा लैजान सक्ने विषय प्राथमिकतामा राखेका हुन्छन्।

त्यसैगरी भैपरी आउने समस्या समाधानका लागि सरकारी पक्षले अभिभावकको भूमिका खेलोस् भन्ने रहन्छ। अन्य विषयमा वैदेशिक लगानी भित्र्याउनका लागि महसुल छूटलगायतका सुविधा उपलब्ध हुने विषयले पनि सकारात्मक भूमिका खेल्दछ। भिसा प्रणालीको सहजीकरण, सुरुवाती चरणमा कर छूटलगायतका विषयले पनि लगानीयोग्य वातावरण बनाउन मद्दत गर्दछ भन्ने लाग्छ।

नेपालमा कोरियाली लगानी

कोरियाली कम्पनीहरूले नेपालमा आर्थिक लगानी सम्भाव्यताका बारेमा नजिकबाट नियालिरहेका छन्। केही कम्पनीले नेपालमा लगानी गरी सफलरूपमा व्यवसाय सञ्चालन गरेका उदाहरण पनि छन्। उदाहरणका लागि, कोरियाली ग्लोबल कम्पनी सामसङ इलेक्ट्रोनिक्सले नेपालको गोल्छा अर्गनाइजेसनसँगको संयुक्त लगानीमा गत अप्रिलदेखि अत्याधुनिक टिभी एसेम्बली प्लान्ट सञ्चालन गर्दै आएको छ।

हुन्डाई मोटर कम्पनीले नेपालको एक स्थानीय कम्पनीसँगको साझेदारीमा नवलपरासी जिल्लामा अटोमोबाइल एसेम्बली प्लान्ट पनि स्थापना गरेर यही वर्ष मेमा व्यावसायिक उत्पादन सुरु गर्ने योजना रहेको छ।

नेपालमा जलविद्युत् उत्पादन क्षेत्रमा कोरियाको साउथ–इस्ट पावर कम्पनीले विश्वव्यापी वित्तीय संस्थासमेतको साझेदारीमा ६५० मिलियन अमेरिकी डलर लगानी जुटाएर रसुवामा युटि–१,२१६ मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण चरणमा छ। यस आयोजनाले सन् २०२७ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।

ठूला वैदेशिक लगानीको जति महत्त्व रहेको छ त्यति नै महत्त्व मझौला उद्योगहरूको लगानी पनि आवश्यक पर्दछ। नेपालको सन्दर्भमा कोरियाली साना तथा मझौला कम्पनीको लगानी पनि सक्रिय छ । रोजगारी सिर्जनाको सन्दर्भमा साना तथा मझौला उद्योगहरूको भूमिका प्रभावकारी रहेकोबारे स्मरण गराउन चाहन्छु।

उदाहरणका लागि, नक्कली कपाल बनाउने प्रसिद्ध कोरियाली कम्पनी हाइमोले काठमाडौँमा मन्डुमो नामक स्थानीय कम्पनीमा एक सय प्रतिशत लगानी गरेको छ। उक्त कम्पनीमा ६५० जनाभन्दा बढी स्थानीय महिला कामदारलाई तालिम दिएर नक्कली कपाल उत्पादन गरी उत्पादित सबै सामान कोरिया र जापानमा निर्यात गरिरहेको छ।

हालै प्रकाशित नेपाल सरकारको वैदेशिक लगानी योजना प्रतिवेदनको आधिकारिक तथ्याङ्कअनुसार गत वर्षको जुलाइदेखि यो वर्ष मार्चसम्म आठ महिनामा कोरियाली कम्पनीहरूले नेपालमा सबैभन्दा बढी १२ अर्ब आठ करोड रुपियाँको लगानी योजना सार्वजनिक भएको छ।

नेपालमा वैदेशिक लगानी गर्ने मुलुकमध्ये कोरिया लगानीको शीर्ष पाँच स्थानभित्र पर्दै आएको छ। नेपालमा लगानी गर्न कोरियाली कम्पनीहरूको चासो निरन्तर बढिरहेको आधारका रूपमा लिन सकिन्छ।

कोरियाली विश्वास

कोरिया र नेपालबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भई दुई देशबीच अत्यन्त सुमधुर सम्बन्ध रहिआएको छ। हामी हाम्रो विकासको अनुभव साट्दै, कोरियाले भोगेका अप्ठेरा अवस्था नेपालले भोग्न नपरोस् भन्नेमा समेत सचेत छौं।

नेपालमा रोजगारीको महत्त्व बुझेर नै सन् २००७ मा दुई देशका सरकारबीच श्रम सम्झौता गरेर सरकारको सहभागितामा नेपाली श्रमिकहरूलाई कोरियामा रोजगारको अवसर प्रदान गर्दै आएका छौं। एक लाखभन्दा बढी नेपालीले कोरियामा रोजगारको अनुभव गरिसकेका छन्। त्यसैगरी कोरियाली कम्पनीहरूले नेपालमा लगानी बढाएका छन्। नेपालमा सञ्चालन भएका कोरियाली लगानीका कम्पनीहरूमा हजारौँ नेपालीले रोजगारीका अवसर प्राप्त गरेका छन्।

यही वर्ष सन् २०२४ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको अवसरको सदुपयोग गर्दै वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरेर सम्बन्धलाई थप उच्च बनाउने लक्ष्य लिएका छौं। कोरिया सरकार र हाम्रो दूतावासले धेरै कोरियाली लगानी भित्र्याउनका लागि निरन्तर प्रयास गरिरहेको छ।

नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीमैत्री वातावरण सिर्जनाका खातिर अथक प्रयास गरिरहेको सम्बन्धमा हामी जानकार छौं। सबै क्षेत्रका लागि सुहाउँदो लगानीमैत्री वातावरण बनेर विश्वभरका कम्पनीले नेपालमा सम्भावित लगानी क्षेत्रको बारेमा पुनर्मूल्याङ्कन गरी ठूलो मात्रामा लगानी गर्न र नेपालीलाई स्वदेशमा नै रोजगारीको अवसर मिलोस् भन्न चाहन्छु। यही अप्रिल अन्त्यमा हुन गइरहेको तेस्रो लगानी सम्मेलन सफलताको कामना गर्दै धेरै उपलब्धि हासिल हुने विश्वास लिएको छु।

-थेयङ नेपालका लागि दक्षिण कोरियाली राजदूत हुन्।

प्रकाशित: २ वैशाख २०८१ ०६:४५ आइतबार

विकासको दक्षिण कोरिया सूत्र प्रत्यक्ष वैदेशिक लगानीका फाइदा