विचार

मिथिला, मैथिली र महाकवि विद्यापति

मैथिली भाषा र साहित्यको प्रारम्भिककाल नै सातौँ शताब्दीको उत्तरार्द्ध र आठौँ शताब्दीको पूर्वाद्धमा पण्डित ज्योतिरीश्वर ठाकुरद्वारा लिखित वर्णरतनाकरलाई आधार मानिएको छ। यसको साहित्य अंग्रेजी र हिन्दी साहित्यभन्दा पहिलेदेखि भेटिन्छ। हुन त जनककालीन धार्मिक ग्रन्थमा जनकपुत्री जानकीको अर्को नाम मैथिली पाइन्छ र त्यस समय प्राचीन मिथिलाका भाषा पनि मैथिली रहेको विद्वान्हरूको अभिमत छ।  

यिनी प्रकृति र पुरुष दुवैमा आस्था राख्छन्। शृङ्गार अनि भक्तिको समन्वय गर्न सक्ने, त्यसको माधुर्यलाई सँगसँगै गान गर्न सक्ने क्षमताका कारण आज पनि यिनी मिथिलाको लोक–कण्ठमा अनि आगँन/आँगनमा शताब्दियौँदेखि जीवन्त छन्।

विद्यापतिको जन्म इ.सन् १३४० मा प्राचीन मिथिलाको विसफी गाउँमा भएको हो। यिनी प्रसिद्ध संस्कारिक ब्राह्मण कुलमा जन्मिएका हुन्। यिनको पिताको नाम गणपति ठाकुर र माता गंगादेवी हुन्। विद्यापति संस्कृत, प्राकृत, अपभ्रंश तथा मैथिली भाषाका निस्णात, सिद्धहस्त महान् कवि अनि लेखक हुन्। यिनका रचनाको सौन्दर्य र चमत्कारको प्रभाव नेपाल, बंगाल, आसाम र मिथिलासम्म फैलिएको छ। यिनी संस्कृति र साहित्यको एकमात्र सर्वमान्य प्रतिभा हुन्। जसका रचना, पदावली आज पनि मुक्त कण्ठले गाइन्छ।

यिनी राजकवि भए पनि जनकवि हुन्। भक्ति रचनामा सिद्धहस्त भए पनि शृङ्गारिक कवि हुन्। यिनी प्रकृति र पुरुष दुवैमा आस्था राख्छन्। शृङ्गार अनि भक्तिको समन्वय गर्न सक्ने, त्यसको माधुर्यलाई सँगसँगै गान गर्न सक्ने क्षमताका कारण आज पनि यिनी मिथिलाको लोक–कण्ठमा अनि आगँन/आँगनमा शताब्दियौँदेखि जीवन्त छन्।

जबसम्म मिथिला र मैथिल रहन्छन् विद्यापतिको काव्यको सौगन्धिक सम्पदा झन् गाढा भएर फैलिरहनेछ भन्नुमा कुनै दुई मत छैन। मुस्लिम आक्रान्तहरूको भयले राजपरिवारका सदस्यलाई सुरक्षित राख्नुपर्ने जिम्मेवारीका साथ यिनी वर्तमान नेपालमा आए। यहीँ सम्पूर्ण जीवन काव्यहरू रचना गर्दैरहे। यिनको सम्पूर्ण जीवन संघर्षमय भएर बित्यो। यिनले जीवनभरि स्वाभिमान, संस्कार र परम्परा जोगाउन अथक संघर्ष गरे। विद्यापतिलाई मिथिलाकै पर्यायवाची व्यक्तित्वका रूपमा सहजै स्वीकार गर्न सकिन्छ किनभने यिनी आफैमा एउटा 'युग' नै हुन्। यिनको मृत्यु १४४६ तिर भएको अनुमान गरिन्छ।

मैथिली भाषा, साहित्य र संस्कृति

मैथिली भाषाभाषी बोल्ने जनसंख्या नेपाल र भारत गरी झण्डै ६ करोड छ। नेपालमा एकीकरणपूर्व सेन र मल्ल राजाहरूद्वारा राजभाषाका रूपमा मैथिली भाषा प्रयोग गरिन्थ्यो मल्लकालीन शीलालेख, वंशावली, पाण्डुलिपि आदिबाट के प्रमाणित हुन्छ भने कर्णाट र मल्लकालीन शासनकालमा मैथिली साहित्यको संरक्षण र संवर्द्धन भएको थियो।विद्यापति आइनबार वंशीय राजा मिथिलाधिपति शिवसिंहका विश्वस्त अनि अन्तरङ्ग मित्र थिए। शिवसिंह राजाले विद्यापतिलाई आफ्ना परिवारजनको संरक्षकका रूपमा पुरादित्यको दरबारमा पठाएका थिए जहाँ उनी रानी लखिमादेवीसहित १२ वर्षसम्म बसेको इतिहास छ।

महोत्तरी भगवतीपुरको राजा कीर्तिनारायणकी विदुषी कन्या लालमतिको विवाह राजा प्रताप मल्लसँग भएको थियो। प्रताप मल्ल स्वयं मैथिली भाषामा अनेकन रचना गर्ने विद्वान् राजा थिए। तिरहुतका कर्नाटवंशी राजाहरूसँग मल्ल वंशबीच रक्त सम्बन्ध भएकै कारण कान्तिपुर, ललितपुर अनि भक्तपुर अनि सेन राजाहरूमा मोरङ, मकवानपुर, पाल्पा, चौदण्डी, विजयपुर आदि ठाँउमा मैथिली भाषालाई राजकीय मान अनि प्रश्रय मिलेको थियो। मिथिलाको संस्कृति विश्वभरि नै मध्य प्राचीनतम, सर्वाधिक विकसित एवं परिपूर्ण मानिन्छ।

मिथिला, महामाया जगत्जननी जानकीको जन्मभूमि हो। अकालग्रस्त मिथिलालाई सहकालमा फर्काउन राजर्षि जनकले हलेष्ठी यज्ञ गर्दा हलो जोत्दा–जोत्दै सीतालाई प्राप्त गरे। सीतालाई धरापुत्री पनि भनिन्छ। मिथिला शिक्षा र ज्ञानको केन्द्र थियो जहाँ अस्टावक्र, याज्ञवल्क्य, गौतम, कणाद, गार्गी, मैत्रेयी, लखिमा, भारती जस्ता विद्वान् र विदुषीले मिथिलाको गौरव र मान बढाएका हुन्।मैथिली संस्कृति समन्वयवादी हो। यहाँ एक जातको अर्को जातसँग परस्पर निर्भरताको चलन छ। यहाँ प्रत्येक अनुष्ठान, पर्व आदिमा टोल र समाजलाई निमन्त्रणा गरी मनाउने गरिन्छ। छिमेकी महिलाहरू समूह गान गरी प्रत्येक विधि–विधानमा भिन्न भिन्न गीत गाउँछन्। पुरुषहरू धोती कुर्तामा सजिएका हुन्छन् भने स्त्रीहरू सारी चोलो, लहठी र सिन्दूरले सजिएका हुन्छन्। मिथिलाको जनकपुर मूलतः धार्मिक र सांस्कृतिक सहर हो। यहाँ सन्त परम्परा र राम सीताको वैवाहिक गाथालाई आस्थापूर्वक गाउने गरिन्छ।

सोच्नुपर्ने पक्ष

मैथिली भाषा नेपालको दास्रो बढी बोलिने भाषा हो। नेपालको राष्ट्रभाषा नेपाली र भारतको हिन्दी भाषाको चेपुवामा परेर यसको विकास र उन्नतिमा बाधा आयो। मल्लकालपछि मैथिली भाषा उपेक्षितजस्तै भयो। मिथिलाका अनमोल ग्रन्थहरू आज पनि संग्रहालय वा कतै व्यक्तिगत किसिमले थन्किएर राखिएका छन्। धेरै ग्रन्थ धमिराले खाएर बर्बाद भए। घरमा मैथिली बोले पनि राजनीतिक कारणले हिन्दी भित्र्याउने, मगही, वन्जिका, थारू, मुस्लिम भनेर भाषालाई राजनीतिक कारणले टुक्राउने वा छाड्ने प्रवृत्तिले मैथिली भाषामा ठूलो मार पारेको छ। मातृभाषाका रूपमा केटाकेटीले आफ्ना पुस्तकको अध्ययन, अनुसन्धान, प्रकाशन, पुरातात्विक खोज आदि गरे पनि औपचारिक भएकै कारण मैथिली भाषाको विकास गाह्रो छ। यिनै कारणले गर्दा साहित्यमा पनि नकारात्मक प्रभाव परेको छ।

संस्कृतिका कतिपय पक्षलाई आधुनिकता, सहरीकरण र आयातीत संस्कृतिलाई अब्बल मान्ने र आफ्नो संस्कृतिको उपेक्षा गर्ने चलन पनि बढ्दो छ। मातृभाषा शिक्षा, पुरातात्विक महत्वको खोज, अनुसन्धान, संग्रहालय वा व्यक्तिगतरूपमा छरिएका कृति वा पाण्डुुलिपिको खोज, प्रकाशन, अध्ययन/अध्यापनलगायत भाषालाई पनि पेशा, रोजगार र सम्मानसँग जोडेर वस्तुगत र भावनात्मक दुवै पक्षलाई समन्वय गर्न सक्ने हो भने मैथिली भाषा साहित्य र संस्कृतिले फेरि आफ्नो प्रचीन चमक स्थापित गरेर नेपाल र नेपालीको अमूल्य र अनमोल सम्पदामा राष्ट्रको गौरव बढाउनेमा दुई मत छैन।

विद्यापति पुरस्कार

मैथिली भाषा संस्कृति, अनुवाद, कला, साहित्यलाई अग्रगतितिर लैजानका लागि तथा मैथिलीका लेखक, अनुवादक, प्रकाशक तथा स्रष्टालाई उल्लेखनीय कार्य गरेकालाई प्रोत्साहन तथा विशिष्ट योगदान पुर्‍याउने साधक तथा सस्थालाई सम्मान गर्नका लागि विभिन्न पाँचवटा विधामा पुरस्कार स्थापना गरिएको छ। जसमा क) मैथिली भाषा साहित्य, ख) मैथिली कला संस्कृति, ग) मैथिली अनुसन्धान, घ) मैथिली पाण्डुलिपि र ङ) मैथिली अनुवाद छन्। यी विधाका लागि लागि पुरस्कार एवं व्यवस्थापन, प्रकाशन, अध्ययन अनुसन्धान, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम हुन्छन्। जसका लागि पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको कार्यकालमा अक्षयकोषका लागि एक करोड रुपियाँ विनियोजन भएको थियो।

यो रकम विनियोजन गरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतमा एउटा स्वतन्त्र निकाय स्थापना गरिएको छ। जसको नाम विद्यापति पुरस्कार कोष छ। यसले अहिलेसम्म २०६८,२०६९,२०७०, २०७१ र २०७३ गरी जम्मा पाँचवटै विधामा २५ जना स्रष्टा र संस्थालाई पुरस्कृत गरेको छ। विशेष कारणबस २०७२ सालमा पुरस्कार घोषणा हुन सकेन। यो संस्थाको आफ्नै भवन र जग्गा नरहे पनि उपलब्ध रकमबाट प्रभावकारिताका साथ काम हुँदै आएको छ।

प्रकाशित: २७ असार २०७४ ०३:३९ मंगलबार