माघीको रमझम लगभग सकिन लागेको थियो, गाउँघरमा माघी मनाएर माइतीबाट घर फर्कने चेलीहरू बाटोभरि देखिन्थे। मेरा आँखा भने कतै कसैले कमलरी राख्न त लैजाँदै छैन भन्नेतर्फ ध्यानमग्न थिए। अघिल्लो वर्षझैँ पछाडि कमलरी राखेर मोटरसाइकल हुइँक्याउँदै गरेका दृष्य त घटेका थिए तर पूरै निमिट्यान्न भने भएको थियो। यो वर्ष झण्डै ४०० जना कमलरी उद्धार गरिएका घटनाले पनि यस्ता दृष्य न्यूनीकरणमा सघाएका थिए।
म कार्यरत संस्थाले मुक्त कमलरीका लागि ब्रिज कक्षा सञ्चालन गरेको थियो। अनुगमन गर्ने क्रममा दाङको गढवा गाविसको मानपुर गाउँ पुगेको थिएँ। एउटा घरको मथिल्लो तलामा साँघुरो कक्षा कोठाको अँध्यारो कुनामा पनि टल्किरहेको एउटी गोरी अनुहारकी नानीले मेरो ध्यान आकर्षित गरिन्। यसरी उनैपटि्ट मेरो ध्यान पुग्नुको कारण थियो– उनी नपत्याउँदा प्रश्न सोधिरहेकी थिइन् सहयोगी शिक्षिकासँग। ३० जना मुक्त कमलरी बसेका ठाउँमा मैले उनीसँग केही सोधखोज गरेँ। नाम रहेछ– उर्मीला चौधरी। १७ वर्षमा भेटिएकी उनले १२ वर्ष त कमलरीका रूपमा नोकर बसेरै बिताएकी रहिछिन्। शायद बढी उमेरकी भएकीले पनि उर्मीला अरु मुक्त कमलरीका लागिसमेत चासोको विषय बनेकी रहिछिन्।
म सोध्ने, उनी बताउने प्रक्रिया जारी रह्यो। नपढे पनि अलिअलि अक्षरचाहिँ चिन्दिरहिछिन्। विद्यालय जाने चाहना भए पनि मालिक्नीले कहिल्यै जान दिइनन् रे। दाइसँग रोइकराइ गरेर घर आएको र अब कुनै हालतमा कमलरी नफर्कने बरु उमेर धेरै भए पनि पढ्ने धोकोचाहिँ पूरा गरेरै छाड्ने बताइन्। कुनै सिपभन्दा साना उमेरका नानीहरूसँग मिलेर भए पनि पढ्ने उनको अठोटले मलाई भावविह्वल बनायो। त्यो दिन हामीले अरुजस्तै उनलाई पनि थारू पोशाक लेहेंगा र शैक्षिक सामग्री (कपी कलम) दिएर फर्क्याैं।
एक सातापछि फेरि अनुगमनमा गइयो। तिनै उर्मीलामा आँखा नपर्ने कुरै थिएन। सहयोगी शिक्षिकाले भनिन् कि उर्मीला निकै मेहनतसाथ पढिरहेकी छिन्। निर्धक्क र प्रस्ट बोल्न सक्ने क्षमताकी उर्मीलासँगको पहिलो भेटमै मैले उनमा सम्भावित नेतृत्व क्षमता आकलन गरिसकेको थिएँ। कुराकानीका क्रममा उनले भनेकी थिइन्– केही नेता दिनमा बालश्रम शोषण र महिला शोषण अन्त्य गर्ने भाषण गर्छन् तर घरमा भने तिनैको शोषण गरिरहेका हुन्छन्। उनको यो परिपक्वता चाहेर पनि भुल्न सक्ने कुरै भएन।
यो कुरा उनले कमलरी बस्दै गर्दा माघीमा घर फर्केका बेला कमलरीविरुद्धको अभियानमा मञ्चबाटै भनेकी रहिछन्। थुप्रै मुक्त कमलरी र अन्य स्रोतासमेत उनको यो भनाइबाट प्रभावित भएका पनि रहेछन्। उनमा रहेको यही तिखोपनकै कारण उनलाई सडक नाटकमा पनि सहभागी गराएका रहेछन्। उर्मीला आफैँलाई दुःख दिने मालिक्नीको भूमिकामा रहेकी उक्त नाटक निकै प्रभावकारी बनेको रहेछ गाउँघरमा पनि।
कुराकानीका क्रममा भनिन्– उमेर धेरै भएकाले विद्यालयले मलाई भर्ना लिन्न कि? अरु बेला भेट हुँदा पनि यही गुनासो दोहोर्याइरहन्थिइन्। मैले उनलाई ढुक्क रहन भनेँ र सिधै कक्षा ५ मा भर्ना गरिदिएँ। कसैले जिस्क्याए पनि कहिल्यै मतलव गरिनन्। पढाइमा मात्र ध्यान दिइरहिन्। त्यही भएर विद्यालय गएको पहिलो वर्ष नै राम्रो नम्बर ल्याएर सबैलाई चकित पारिदिइन्। उनलाई ६ कक्षा नै नपढी विद्यालयले ५ बाट ७ मा भर्ना गर्नुले पनि उनको पढाइको तेज सहजै बुझ्न सकिन्छ।
एकातिर उर्मीलाले पढाइलाई तेजसाथ अघि बढाइन्। अर्कोतर्फ गाउँमा सञ्चालित कमलरी प्रथा उन्मूलन कार्यक्रममा पनि उत्तिकै सक्रिय भइन्। नायफले सन् २००० देखि नै सञ्चालन गरेको यो अभियानका क्रममा कमलरी बँधुवा श्रमबाट करिब ५ हजार बालिका/किशोरीको उद्धार भइसकेको थियो। जसलाई उर्मीला र उनीजस्ता केही साहसी मुक्त कमलरीले ऊर्जा थपे नेतृत्व आफैँ लिएर। उर्मीला त्यस्ती उदाहरणीय किशोरी सावित भइन् कि 'अवसर पाएमा स्वयं नेतृत्व लिन सक्ने क्षमता भएका मुक्त कमलरी' पनि छन् है भन्ने।
जब हामीले अब दासताविरुद्ध अभियानको जिम्मेवारी मुक्त कमलरीकै संगठन बनाएर उनीहरूलाई दिनुपर्छ भन्ने सोच बनायौँ, अलिअलि शंका बाँकी नै थियो– सक्दैनन् कि भन्ने। तर अचम्म यो भयो कि नसोचेको खोलाले बगाउने स्थिति आयो। उर्मीला जस्ता मुक्त कमलरी बहिनीहरूले यो अभियान सर्लक्कै हाँके। प्रभावकारी बनाए। एकातिर पढाइ अर्कोतिर कमलरी प्रथालाई जरैदेखि उन्मूलन गर्नुपर्ने गहन जिम्मेवारी। तर त उनी डराइन् न त उनको समूह नै यसबाट पछि हट्यो। वेग यतिसम्म बढ्यो कि १७ वर्षे उमेरमा १२ वर्ष नोकर बसेकी एउटी किशोरी ८ वर्षअघि ५ सय जना कमलरीलाई पछि लगाएर सिंहदरबारमा धर्ना दिन आइपुगिन्।
उनी नेतृत्वको आन्दोलनले राष्ट्रिय/अन्तर्राष्ट्रिय ध्यान यसरी खिच्यो कि सरकार पहिलो पटक मुक्त कमलरीको शिक्षा व्यवस्थापनका लागि १२ करोड रुपियाँ छुट्याउन बाध्य भयो। यतिबेलातिरै हो, कमलरीको ऊर्वर थलो मानिएको दाङलाई कमलरी मुक्त जिल्ला घोषणा गरिएको पनि। माग शिक्षामा मात्र सीमित थिएन। कमलरी पठाउने, शोषण गर्ने, बलात्कार गर्ने, बेपत्ता पानर्ेे, मालिकको यौन शोषणबाट कुमारी आमा बन्ने र कतिपय अवस्थामा कमलरी बालिका मृत अवस्थामा भेटिने गरेका घटना पनि दोहोरिइरहे। यसले सबैलाई थप चिन्तित तुल्यायो। यस्तो अवस्थामा ३ वर्षअघि पुनः मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारअगाडि आन्दोलन चर्काएपछि बल्ल सरकार कमलरी प्रथालाई अवैध घोषित गर्न र कमलरी मुक्तिको घोषणा गर्न बाध्य भएको थियो। जतिबेला उर्मीला प्रहरीको कुटाइबाट २ साता त अस्पताल नै भर्ना भइन्। अन्य कैयौं मुक्त कमलरी पनि कुटिए।
यतिबेला सम्झँदा पनि निकै खुशी लाग्छ– १३ हजारभन्दा बढी थारू चेली दासताबाट मुक्त भएको देख्दा, ५ हजार जनाभन्दा बढी विद्यालय अध्ययन गरिरहेका देख्दा, २ हजार जनाभन्दा बढी व्यावसायिक तालिम लिएर रोजगार र स्वरोजगार भएका देख्दा अनि उनीहरूकै नेतृत्व र सहभागितामा खुलेका ४२ सहकारी देख्दा। अनि अझ बढी खुशी लाग्छ– यो आन्दोलन हाँक्ने केही सीमित किशोरीमध्ये उर्मीलाले हासिल गरेको प्रगति देख्दा जसको बारेमा विदेशीले किताब लेखेका छन्, वृतचित्र बनाएका छन्। अनि भर्खरै जर्मनीको प्रसिद्ध अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कार पाउने घोषणा भएको सुन्दा। र, यी सबैभन्दा बढी खुशी त यसमा छ कि आफूले १० वर्षअघि भेट्दा नै मुहारमा देखिएको नेतृत्वको सपना एक दशकपछि विपनामा परिणत भएको आँखैअगाडि देख्दा।
कार्यक्रम संयोजक, नायफ
प्रकाशित: १५ असार २०७४ ०४:०५ बिहीबार