मुख्य समाचार

वैदेशिक रोजगार सुधार्न निर्देशन

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारलाई सातबुँदे निर्देशन दिएको छ। आयोगले विदेश जाँदा सुरुको प्रक्रियादेखि फर्कंदासम्म नेपालीले दुःख पाएकोमा ध्यानाकर्षण भएको भन्दै समाधानका लागि निर्देशन दिएको हो।

आयोगले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस विषयमा सरकार, सम्बन्धित मन्त्रालय र निकायलाई समेत ध्यानाकर्षण गराइएको छ। आयोगले कानुनी व्यवस्था कार्यान्वयन, तिनीहरूको नीतिगत सुधार, संस्थागत एवं संरचनागत सुधार गर्न भनेको छ। आयोगले नेपाली नागरिक वैदेशिक रोजगारमा जाने मुलुकसँग कूटनीतिक सम्बन्ध तथा कर्मचारी व्यवस्थापन प्रणालीमा सुधार गर्न र श्रमिकहरूको क्षमता अभिवृद्धिमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ। आयोग टोलीले मलेसिया कतार र सिंगापुर लगायतका देशमा कार्यरत नेपाली श्रमिकसँग गरेको अन्तर्क्रियाका आधारमा सरकारलाई यस्तो निर्देशन दिएको हो।

'वैदेशिक रोजगारमा जाने कामदारले प्रारम्भिक अवस्थादेखि विदेशबाट फर्केपछि पनि विभिन्न समस्या झेल्नुपरेको विषयमा आयोगमा उजुरी परेका छन्,' आयोगको प्रतिवेदनमा भनिएको छ, 'आयोगको टोलीमाझ त्यहाँ रहेका कामदारले गरेको गुनासोबाट पनि यस्तो देखिन्छ।'

अध्ययन प्रतिवेदन, उजुरी एवं गुनासो र सरोकारवाला निकायसँग समस्या समाधानका जटिलता एवं कार्यान्वयन पक्षको विषयमा पटकपटक भएको छलफलका आधारमा वैदेशिक रोजगारको सिलसिलामा देखा परेका समस्या पहिचान गरी समाधान गर्न आयोग ऐनबमोजिम सम्बन्धित निकायलाई सुझाव दिएको आयोगले जनाएको छ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह, अर्थ, परराष्ट्र, श्रम तथा रोजगार, कानुन, न्याय तथा संसदीय मामिला, महिला बालबालिका तथा समाज कल्याण, शिक्षा, उद्योग, कृषि विकास, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएको हो। आयोगले सम्बन्धित दूतावास, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, केन्›ीय अनुसन्धान ब्युरो, नेपाल राष्ट्रबैक व्यावसायिक तथा सीप विकास तालिम केन्› एवं कूटनीतिक नियोगहरूलाई समेत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले दिएका सुझाव कार्यान्वयन गर्न अन्तरनिकाय समन्वय र अन्य सहयोग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ।

प्रकाशित: १० मंसिर २०७२ २०:१९ बिहीबार