आदेशमुताबिक उनीसँगै रहेका प्रहरीले एसएलआर खोले। एक राउन्ड हावामा गोली चलाए। दोस्रोपटक एसएलआरको गोली पड्कँदै पड्केन, त्यसै बन्द भयो।
प्रदर्शनकारीको घेराबन्दीमा परेका न्यौपानेको प्रहरी टोलीसँग थप हतियार थिएन। उनले सँगै परिचालित सशस्त्र प्रहरीलाई फायर खोल्न आग्रह गरे, तर हतियार सुसज्जित सशस्त्र जवानहरूले उनको आदेश मानेनन्। त्यतिबेलासम्म सँगसँगै घटनास्थल पुगेका सशस्त्रका एसपी लक्ष्मण सिंह भने पछि हटिसकेका थिए।
थरुहट/थारुवान आन्दोलनकारीले घेराबन्दी गरेर लखेटी–लखेटी एसएसपी न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या गरे।
यति ठूलो मानवीय क्षतिका पछाडि के के कारण थिए त?
स्थानीय प्रत्यक्षदर्शी भन्छन्– प्रहरीसँग हतियार नहुुनु, विशाल जुलुस नियन्त्रणमा न्यून संख्यामा सुरक्षाकर्मी परिचालित हुनु र सहयोगी सशस्त्र प्रहरी 'आदेश छैन' भन्दै हतियार चलाउन पन्छनु।
त्यस दिन टीकापुरमा परिचालित नेपाल प्रहरीको टिमसँग एक थान मात्र एसएलआर थियो, त्यही पनि नपड्केपछि न्यौपाने निरुपाय भएका थिए। 'सापले फायर खोल्ने आदेश दिनुभो, हावामा एक गोली चल्यो, त्यसपछि पड्कँदै पड्केन,' एसएसपी न्यौपानेका अंगरक्षक मानबहादुर बुढामगरले नागरिकसँग भने, 'त्यसपछि सापले सशस्त्रका जवानलाई फायर खोल्न भन्नुभो, उनीहरू मानेनन्।'
चारैतिरबाट आफूमाथि आक्रमण हुन थालेपछि न्यौपाने पछि हट्न थाले। 'करिब २ सय मिटर भाग्दै पछाडि हटेपछि चोट र थकानले लखतरान भइसकेका सापले म हिँड्न सक्तिनँ भन्नुभएपछि म एउटा घरभित्र लुकाएर भागेको हुँ,' मानबहादुरले त्यस दिनको घटना सम्भिए, 'त्यहाँबाट पनि थुतेर निर्मम तरिकाले मारेछन्।'
उनका अनुसार न्यौपानेलाई स्थानीय सीता बर्माको घरबाट थुतेर निर्मम रुपमा भाला, ढुंगा हानिरहँदा पनि सशस्त्रले गोली चलाएन। 'सशस्त्रले गोली चलाएको भए आक्रमणकारी तितरबितर हुन्थे, घाइते अवस्थामा सापको उद्धार गर्न सकिन्थ्यो।'
प्रत्यक्षदर्शीका अनुसार थरुहट/थारुवान आन्दोलनकारी सशस्त्रबाट गोली चल्दैन भन्ने पूर्वजानकारजस्ता देखिन्थे। एक प्रत्यक्षदर्शीका अनुसार एसएसपीको हत्यासँगै सशस्त्र एसपीका अंगरक्षक रामबिहारी चौधरी, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्दको हत्या हुँदासमेत सशस्त्रका जवान गोली चलाउने आदेश नपाएर अन्योलग्रस्त देखिन्थे।
'मेरै नजिक एउटा प्रहरीलाई मारिसकेका थिए, तीन जना सशस्त्र प्रहरीका घाइते भएर त्यहीँबाट फर्कंदै थिए,' एक जना महिलाले भनिन्, 'मान्छे मार्दासम्म किन गोली हान्नुभएन भनेर सोधे, उनीहरू आदेश छैन, के गर्ने भन्दै थिए।'
।
स्थानीयका अनुसार हत्या आक्रमण नेतृत्व गर्नेहरू करिब १५/२० जना थिए। हेलमेट र नकाब लगाएका, खाइलाग्दा जिउडालका तिनले हाफ पाइन्ट र टिसर्ट लगाएका थिए। नेपाली र थारू दुवै भाषामा उनीहरूले आक्रमणमा संलग्न ४/५ सय युवालाई निर्देशन दिइरहेका थिए।
स्थानीयका अनुसार एसएसपीलगायत पाँच सुरक्षाकर्मीको निर्मम हत्या भइसकेपछि आक्रमणकारी टोली प्रहरी इन्स्पेक्टरद्वय बलराम बिष्ट र केशव बोहरामाथि जाइलागे। हेलमेटधारी र उनका सहयोगीले ती दुईलाई धानबारीमा लखेट्दै आक्रमण गरिरहँदा सशस्त्रका प्रहरीले कुनै खालको सहयोग नगरेको स्थानीय बताउँछन्।
'सशस्त्रलाई भाइहरू गोली चलाउनु नि, ती हतियार के लागि हुन् भनेर भन्दा पनि उनीहरूले गोली चलाएनन्,' स्थानीय श्याम भट्टले भने, 'सशस्त्रले बल प्रयोग गरेको थियो भने कम्तीमा दुई जना इन्स्पेक्टरको ज्यान जोगिन सक्थ्यो।'
'धानखेतमा इन्स्पेक्टरलाई लखेटेर आक्रमण हँुदा सशस्त्रको ९/१० जनाको टोली रमिते बनेर खेतको डिलमा उभिइरहेका थिए,' अर्का स्थानीयले सुनाए, 'हेलमेटधारीको निर्देशनमा इन्स्पेक्टरमाथि आक्रमण भइराखेको थियो, सशस्त्रको टुकडी काँधमा बन्दुक भिरेर खेतको डिलमा उभिइरहेको थियो।'
यहीबेला हेलमेटधारी आक्रमणकारी भने 'पुलिससँग हतियार छैन, अब गोली चल्दैन, ढुक्क भएर अघि बढ्नुस्, एक जना पुलिस पनि बाँकी राख्नुहुन्न' भन्दै आफ्ना 'लडाकु' लाई हौस्याउँदै गरेको प्रत्यक्षदर्शीले सुनाए।
तिनका अनुसार प्रदर्शनकारीले नपड्केको एसएलआर, ग्यास गन, सञ्चार सेट र प्रहरी अधिकृतहरूका पेस्तोल नियन्त्रणमा लिइसकेका थिए।
निशानामा प्रहरी अधिकारी
भदौ ६ गते टीकापुरस्थित उग्रतारा सशस्त्र प्रहरी गणमा भएको छलफलमा थरुहट/थारुवानको आन्दोलन शान्तिपूर्ण हुने सहमति भएको थियो। रेशम चौधरी (आन्दोलन संयोजक) ले सुरक्षा अधिकारीहरूलाई प्रदर्शन शान्तिपूर्ण हुने विश्वास दिलाउँदै सुरक्षा निकायलाई संयमपूवर्क नियन्त्रण गर्न र हतियार प्रयोग नगर्न सुझाएका थिए। भोलिपल्टको प्रदर्शन चौधरीले भनेजस्तो भने देखिएन। टीकापुर नगरक्षेत्र कब्जा गर्ने, नगरपालिकालगायत सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेश बोर्ड टाँस्ने प्रचार गरिए पनि प्रदर्शनको रणनीति भने सुरक्षा अधिकारीहरूमाथि आक्रमण गर्ने रहेको देखिन्छ।
स्रोतका अनुसार दुर्गौली गाविस, धर्मपुरमा भदौ ४ मा बसेको थरुहट अगुवाहरूको बैठकले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने रणनीति तय गरेको हो। नागारिकलाई प्राप्त जानकारीअनुसार थरुहट/थारुवान अगुवाले हिंसात्मक आन्दोलन नगरुन्जेल आफ्नो मुद्दाको सुनुवाइ नहुने निचोड निकालेर यस्तो रणनीति बनाएका थिए।
सुरुमा थारु अगुवाबीच अखण्ड सुदूरपश्चिम पक्षधर र सुरक्षाकर्मीमध्ये कसमाथि आक्रमण गर्ने भन्ने विषय उठेको थियो। पछिल्लो बैठकले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा राज्यमाथि दबाब पर्ने भन्दै त्यसैअनुसार रणनीति बनाएको थियो।
आक्रमण रणनीतिअन्तर्गत टीकापुर नगरक्षेत्रमा चारैतिरवाट जनसमुदायको भिड प्रवेश गराउने कार्यक्रम बन्यो।
टीकापुर दक्षिण अस्नेरी, पूर्व राजीपुर, पूर्वोत्तर शिवमन्दिर, पश्चिम बनगाउँ, पश्चिम चिलमचौराहा, उत्तर दुर्गौली गरी ६ नाकाबाट ठूलो संख्यामा सर्वसाधारण प्रवेश गराए। जानकारका अनुसार जुलुसमा प्रत्येक घरबाट सहभागी हुनुपर्ने र सहभागी हुन नसक्नेले हजार रुपैयाँ दिनुपर्ने उर्दी थारु समुदायका अगुवा भलबन्सा/बडगरमार्फत उर्दी गरिएको थियो।
नाकाबाट प्रवेश गर्न ल्याउने भिडको अग्रपंक्तिमा महिला, वृद्धबृद्धा र किशोरकिशोरी रहेको सुरक्षाकर्मी बताउँछन्। दोस्रो पंक्तिमा प्लेकार्ड, झन्डा (लट्टीको रुपमा प्रयोग गर्न सकिने ) बोकेका र तेस्रो पंंक्तिमा घरेलु हतियार बोक्नेहरू राखिएको थियो।
सुरक्षाकर्मीले तीन नाकामा भने सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई नियन्त्रण गर्योर तर टीकापुर दक्षिणको अस्नेरी र बनगाउँबाट आएको जुलुस र पश्चिम नाकाबाट आएको जुलुस भने रणनीतिक हिसाबले विशेष तयारीसाथ आएको देखिन्छ।
पश्चिम नाका भजनी त्रिशक्ति नगरपालिका, थापापुर, जोशीपुर, मनुवा, खैलाड, रतनपुर, पवेरा, हसुलिया, बौनियालगायत गाविसबाट आएका हजारौं प्रदर्शनकारीबीच हेलमेटधारी दस्ता पनि थियो।
तीन चार दिनअघिदेखि नै जोशीपुर र मनुवामा भोजभतेरसाथ तयारी गरिरहेको स्रोत बताउँछन्। स्रोतका अनुसार हेलमेट, नकाबधारी कोको हुन्, सुरक्षा अधिकारीकै चिन्ताको विषय बनेको छ। पश्चिमबाट आउने जुलुसलाई प्रहरीले विशेष निगरानी गरेको देखिन्छ।
जुलुस नियन्त्रण गर्न एसएसपी न्यौपानेसँगै दुई दिनअघि उनीसँगै सदरमुकामबाट आएका दुई इन्स्पेक्टरको नेतृत्वमा प्रहरी परिचालित थिए।
पश्चिमबाट आएको जुलुसलाई टीकापुरबाट तीन किलोमिटर दुरीमा रहेको चिलम चौराहामै रोक्ने रणनीति प्रहरीको थियो। तर प्रहरीलाई धकेल्दै–धकेल्दै भिडले डेढ किलोमिटर वरसम्म ल्यायो। प्रहरीले अस्रुग्यास, रबरका गोली प्रयोग गर्दा पनि भिड काबुबाहिर रहेपछि एसएसपी न्यौपानेलाई अवस्थाबारे जानकारी गरायो। अन्य नाकामा सामान्य बलमा नियन्त्रण भएको तर त्यहाँ जुलुस सुरक्षाकर्मीमाथि हाबी देखिएपछि एसएसपी न्यौपाने आफैं कमान्ड सम्हाल्न पुगे। न्यौपाने पुग्नासाथ सुरक्षाकर्मीमाथि आक्रमण सुरु भएको प्रत्यक्षदर्शी बताउँछन्।
प्रहरीका अनुसार दक्षिणबाट आएको करिब एक हजार जनाको जुलुस अस्नेरीमा प्रहरी देखेपछि बागमारा, बनगाउँ हँुदै पश्चिमबाट आएको जुलुसमा मिसियो। न्यौपानेलगायतको सुरक्षाटोली पश्चिमबाट आएको जुलुसको लखेटाइमा पर्यो भने दक्षिणबाट मिसिन आएको जुलुसले उनीहरूलाई घेराबन्दी गर्ने काम गर्योम। दक्षिणबाट आएको जुलुस घोषित कार्यक्रमअनुसार टीकापुर नगर प्रवेश नगरी पश्चिमतिर हान्नियो। सुरक्षा अधिकारीहरू यो अवस्थालाई प्रहरीमाथि आक्रमण रणनीतिीका रुपमा लिइरहेका छन्।
पश्चिम र दक्षिणबाट आएको टोलीले सुरक्षाकर्मीलाई दुईतिरबाट घेराबन्दीमा पारेर आक्रमण गरेको प्रत्यक्षदर्शी बताउँछन्।
प्रहरी मारिएको एक घन्टापछि पछाडितिरको झाडीबाट लुकेर सशस्त्र प्रहरी हवल्दार नेत्र साउदको घरमा लक्षित गरी हानेको गोली लागेर डेढ वर्षीय बालक टेकबहादुर साउदको ज्यान गएको थियो।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता तथा थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारु भने सुरक्षाकर्मीमाथि नियोजित आक्रमणको कुनै योजना नरहेेको बताउँछन्।
'सुरक्षाकर्मीको हत्या हुनु दुःखद घटना हो, मानवीय क्षति नहुनुपर्ने थियो,' उनले भने। शान्तिपूर्ण जुलुसमा प्रहरीले अस्रुग्यास र लाठी चार्ज गरेपछि प्रतिरोधमा त्यस्तो घटना हुन पुगेको उनको भनाइ छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागार्इं सूचना संकलन र आदानप्रदान नहुनु, सुरक्षा निकायबीच समन्वय कमी र टिमवर्कको अभावजस्ता कमजोरीले घटना भएको बताउँछन्।
भुलभुलैयामा पारेर आक्रमण
जिल्ला प्रशासन कार्यालय, कैलालीमा घटनाको अघिल्लो दिन दिउँसो रेशम चौधरीलगायत थरुहट/थारुवान पक्षधर अगुवा र ठूला राजनीतिक दलका नेताले आन्दोलन शान्तिपूर्ण गर्ने, उच्शृंखल गतिविधि नगर्ने र उच्शृंखल गतिविधि गर्नेलाई कारबाही गर्ने लिखित सहमतिमा हस्ताक्षर गरे। त्यही दिन साँझ धनगढीबाट १ सय १४ किलोमिटरपूर्वमा रहेको टीकापुर सशस्त्र प्रहरी गणमा टीकापुर क्षेत्रका आन्दोलनको नेतृत्व गरिरहेका रेशमलगायत अगुवाले प्रहरी प्रशासनलाई आन्दोलन शान्तिपूर्ण हुने विश्वास दोहोर्याआए। टीकापुरको छलफलमा इलाका प्रशासन प्रमुख सुमन धिताल, स्थानीय राजनीतिक दलका नेता, समाजका अगुवाको सहभागिता थियो। त्यहाँ धनगढीमा भएको सम्झौताको पालना गर्नर्ेे लिखित अर्को सहमति भयो।
रेशमले शान्तिपूर्ण आन्दोलन भएकाले कुनै पनि नाकामा ढुंगामुढा नहुने र शान्तिपूर्ण रुपमा सम्झाइबुझाइ गर्न प्रहरीलाई सुझाए। निषेधित क्षेत्र तोड्न खोज्नेबाट उच्शृखल गतिविधि भए पक्राउ गर्दा सहयोग गर्नेसमेत उनले भन्न भ्याए। सशस्त्र एसपी लक्ष्मण सिंहसँग राम्रो उठबस रहेका चौधरीको आश्वासनमा सुरक्षा निकाय विश्वस्त थियो।
यही सहमतिमाथि भर परेर प्रहरी प्रशासन ढुक्क थियो तर सहमति कागजमा सीमित भए।
रेशम चौधरीले दिएको जानकारीकै आधारमा भदौ ७ गते जुलुस आउने भनिएका विभिन्न नाकामा बाँडिएर सुरक्षाकर्मी परिचालित थिए। 'जुलुस आउने, विरोध प्रदर्शन गर्ने र फर्कने' विश्वास दिलाइएअनुसार भएन, प्रदर्शन हिंसातिर मोडियो। सुरक्षा अधिकारी पश्चिमबाट आउने जुलुस विशेष तयारीसाथ आक्रमण गर्ने र सुरक्षाकर्मीको सफाया गर्ने उद्देश्यसाथ आएको विश्लेषण गर्छन्। सुरक्षा अधिकारी लिखित सहमति र मौखिक आश्वासन सुरक्षा निकायलाई भुलाउन गरिएको प्रपञ्चका रुपमा लिइरहेका छन्।
रेशम चौधरीलगायत थारु रणनीतिकारहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच दुरी बढाउन र त्यही दुरीमा खेल्न सफल भएको देखिन्छ।
प्रकाशित: १२ भाद्र २०७२ १९:१८ शनिबार