ड्यांग ...
गोली चलेको आवाज आयो।
गुन्डाहरुको बाक्लो चहलपहल अनि कहलिएका गुन्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटेको घरतिरबाट यस्तो आवाज आएको सुनेपछि उनले लख काटे– त्यहाँ ठूलै मुठभेड भयो। तत्कालै उनी आवाज आएतिर दौडिए।
ब्रिटिस चिहान कटेर अगाडिको मोडमा पुगेलगत्तै हातमा पेस्तोल बोकेका ५–७ जनाको समूह यता र उता गरिरहेको देखे। असई पराजुली त्यहीँ रोकिए।
'मैले ड्रेस लगाएको थिइनँ,' त्यत्तिकै दौडिएँ,' घटनास्थलमै उनले नागरिकसँग भने, 'एक जनाले हामी प्रहरी हौं भने, बु‰दा अपराध महाशाखाबाट आएको टोली रहेछ।'
बाक्लो बस्तीबीच खाली जग्गामा भ्यान, ट्याक्सी, सेतो स्कुटर र तीनटा बाइक थिए। ट्याक्सीको अघिल्लो भागको देव्रे चक्कानजिकै भुइँमा जमेको रगत सिमसिम पानीले पखाल्दै थियो।
बिहीबार बिहान ११ बजे कपुरधारा, बालकुमारी मार्गमा उपत्यकाका गुन्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे प्रहरीको गोलीले ढलिरहेका थिए। सँगै स्थानीय सुरेन महर्जन र राज महर्जन पनि प्रहरीको गोली लागेर छटपटाउँदै थिए। प्रहरीको सूचीमा अपहरण, हत्या प्रयास, जबर्जस्ती रकम असुलीमा सक्रिय गुन्डा नाइके घैंटेमाथि कपुरधारास्थित उनकै घरको करिब २५ मिटर नजिक गोली हानिएको थियो। घैंटेका छिमेकी महर्जन दाजुभाइ उनलाई जोगाउन जाँदा घाइते भएका थिए।
घटनास्थलमा पुग्दा तीनै जनालाई प्रहरीले उपचारका लागि शिक्षण अस्पताल, महाराजगन्ज पठाइसकेको थियो। प्याजी र पहेंलोे रङको प्लास्टिक डोरीले घेेरिएको घटनास्थलमा केही प्रहरी मुचुल्का उठाइरहेका थिए।
घटनास्थलमा प्रहरी मौन देखिन्थे, सञ्चारकर्मी जिज्ञासु अनि स्थानीय त्रस्त।
घटनाको करिब एक घन्टापछि टिचिङका चिकित्सकले छाती र तिघ्रामा गोली लागेका घैंटेलाई मृत घोषणा गरे। खुट्टामा गोली लागेका महर्जन दाजुभाइको अवस्था भने सामान्य छ।
एक चिकित्सकका अनुसार करिब १२ बजे अस्पताल पुर्याीइँदा घैंटेका सबै अंग लगभग 'कोल्याप्स' थिए। आकस्मिक कक्षमा रहेका चिकित्सकले उनलाई सिपिआर (मुटु सक्रिय गराउन छाती थिच्ने) पद्धतिबाट करिब आधा घन्टा प्रयास गरेपछि मृत घोषित गरेका थिए।
घटनास्थलको प्रकृति र प्रत्यक्षदर्शीको भनाइलाई आधार मान्दा लामो समयदेखि प्रहरी निगरानीमा रहेका घैंटेको इन्काउन्टर भएको देखिन्छ। प्रहरी भने यसलाई दोहोरो मुठभेड बताउँछ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उपत्यकालाई सुरक्षित बनाउन गुन्डागर्दी, चोरी, डकैतीमा संलग्न हुनसक्ने समूह र व्यक्तिको खोज्न र नियन्त्रणमा लिन खटिएको टोलीले शंका लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएपछि प्रतिकारमा गोली चलाउँदा घैंटे मारिएको दाबी गरे।
साँझ पाँच बजे महाशाखाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'प्रहरी हौं भनेर भन्दाभन्दै उसले हेल्मेटले हिर्काएर गोली हान्यो, उसका समर्थकले ढुंगाले हानेपछि गोली चलाउनेबाहेक प्रहरीसँग अर्को उपाय थिएन।'
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख खनालले घटनामा असई रञ्जित लामा, प्रहरी जवान बालकृष्ण सञ्जेल र हेमन्त चन्द घाइते भएको जानकारी दिए। प्रहरीले आफ्नै गाडीमा अस्पताल पुर्या्एको र केही प्रहरीसमेत घाइते भएको घटनालाई उनले दोहोरो मुठभेड पुष्टि गर्ने आधार औंल्याए।
... ...
सामाखुसीमा बस्दै आएका ३६ वर्षीय घैंटेमाथि प्रहरीको गोली लागेको यो पहिलो घटना भने होइन। २०६५ वैशाख ७ मा लाजिम्पाटमा रहेको होटल शंकरमा प्रहरीको गोलीले उनी घाइते भएका थिए। दरबारमार्गका एक व्यापारीलाई गोली हानेको घटनामा प्रहरीले उनको खोजी गरेको थियो।
लुक्दै बसेका उनी होटलको स्विमिङपुलमा रहेको सूचनाका आधारमा दरबारमार्गबाट गएको प्रहरी टोलीले पक्राउ गरेको थियो। त्यतिबेला उनको तिघ्रामा गोली लागेको थियो। दोस्रोपटक प्रहरीसँगको भेटमा भने उनको ज्यानै गयो।
घैंटेलाई मृत घोषणा गरेलगत्तै अस्पताल परिसर भेला भएका छिमेकी र शुभेच्छुकले दिनभर नाराबाजी गरे। सभासद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, नेता जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधानले घैंटेका शुभचिन्तकलाई साथ दिइरहेका थिए।
अस्पताल परिसरमा भेटिएका केसीले निर्माण व्यवसायीसँग छलफल गरी घर फर्किएका घैंटेलाई प्रहरीले घरभित्रै मारेर बाहिर ल्याएको दाबी गरे। मास्क लगाएका पाँच व्यक्ति घरभित्र छिरेर भात खाइरहेका घैंटेलाई छातीमा गोली हानेको केसीको दाबी थियो।
सादा पोसाकमा रहेका अन्य प्रहरीले घर घेराउ गरेको र घैंटे मारिएको निश्चित भएपछि प्रहरीले दोहोरो मुठभेड देखाउन हवाई फायर गरेको दाबी गर्दै उनले थपे, 'प्रहरीले नाटकीय रुपमा मारेको हो भन्ने प्रमाणित भएको छ ।'
केसीको भनाइमा सहमति जनाउँदै अर्का कांग्रेस नेता तथा सभासद प्रधान र गुरुङले छानबिन समिति गठन माग गर्दै नभए आन्दोलन गर्ने धम्की दिइरहेका थिए।
... ... ...
घटनास्थलमा भेटिएका प्रत्यक्षदर्शीको भनाइले भने प्रहरी र सभासदका दाबीभन्दा भिन्न दृश्य झल्काउँथ्यो।
पहिलो प्रत्यक्षदर्शीका अनुसार बिहान करिब साढे ९ बजे घैंटे बा५६प १०० नम्बरको सेतो स्कुटरमा छोरी सिमि्रकालाई लिएर घरबाट बाहिरिएका थिए। डेढ घन्टापछि उनी स्कुटीमा एक्लै फर्किएका थिए। सधैं पार्किङ गर्ने घरअगाडिको खाली जग्गामा स्कुटर राख्दै थिए, गोली चल्यो।
'यसो चौरतिर हेरेको, कुमार लडिरहेको रहेछ, त्यहाँ अरू व्यक्ति पनि थिए,' ती प्रत्यक्षदर्शीले भने, 'भित्र जा भन्दै केही व्यक्ति पेस्तोल तेर्स्याउँदै आए, पुलिस आउँछ भन्दा हामी नै हौं पुलिस भनेपछि घरभित्र छिरेँ।'
दोस्रो प्रत्यक्षदर्शीको भनाइ पनि पहिलो प्रत्यक्षदर्शीसँग मिल्छ। गोली चल्दा उनी घटनास्थल नजिकैको घरमै थिए। 'पड्किएको आवाज आयो, टायर होला भनेर टिभी हेरेरै बसेँ। पुनः दोस्रोपटक पड्किएपछि बरन्डामा निस्केर हेर्दा घैंटे जमिनमा लडेका थिए, उनका वरिपरि हातमा पेस्तोल लिएको समूह थियो। बरन्डामा भिड देखेपछि 'किन बाहिर निस्केको? भित्र जा भन्दै पेस्तोल आकाशतिर ताक्न थालेपछि हामी सबै घरभित्र छिर्यौं । गोली पड्किरहेको थियो।'
उनी करिब आधा घन्टामा बाहिर निस्कँदा अघि ढलेको स्थानमा घैंटे थिएनन्, बर्दी लगाएका प्रहरीसँगै अघि पेस्तोल ताक्नेहरु पहेंलो हाफ ज्याकेटमा थिए।
तेस्रो प्रत्यक्षदर्शीका अनुसार गोली चलेको आवाज आएपछि घटनास्थलनजिकै रहेको घरबाट सुरेन महर्जन 'घैंटेदाइलाई केटाहरुले गोली हाने, एम्बुलेन्स बोला' भन्दै दौडँदै आए।
उनी दौडँदै आउँदा हातमा इँट्टा थियो। चौरमा आइपुग्दा हातमा पेस्तोल बोकेको समूह देखेपछि उनी मलाई नहान् भन्दै बसे। लगत्तै उनका भाइ राज पनि दौडँदै आए, त्यही बेला गोली चलेको आवाज आयो।
'‰यालबाट चियाएर हेर्दा दौडेर आउने दुवै जना खुट्टा समातेर बसिरहेका थिए,' तेस्रा प्रत्यक्षदर्शीले भने, 'सायद गोडामा गोली लागिसकेको थियो।'
महाशाखा प्रमुख खनाल समाजको सुरक्षा गर्ने पेसागत जिम्मेवारीअनुसार आफूहरुले जिम्मेवारी पूरा गरेको दोहोर्याीए। प्रहरीले घरभित्रै गोली हानेर मारेर बाहिर ल्याएर भिडन्त भएको भन्ने सभासदको दाबीप्रति उनको प्रतिक्रिया थियो, 'उहाँहरुले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नुभएको होला, यसमा मेरो भन्नु केही छैन, तर घैंटे आपराधिक व्यक्ति हो भन्ने कसैले दाबी गर्दैमा झुठो हुने होइन, अब हामी ऊसँग को, कसको, कस्तो सम्बन्ध छ भन्ने पनि केलाउँछौं।'
... ... ...
घैंटे २०५५ बाट उपत्यकाको गुन्डागर्दीमा कहलिएका हुन्। नेपाली कांग्रेसका केही नेताको संरक्षणप्राप्त उनीमाथि अपहरण, जबर्जस्ती रकम असुली, गुन्डागर्दी, हत्या प्रयासलगायत दर्जनौं आरोप लाग्दै आएको थियो।
नुवाकोटको राजनीतिमा कांग्रेसका नेताहरुलाई सघाउँदै आएका उनले आफ्नो अपराध यात्रा चक्रपथ क्षेत्रमा बनाएका चक्रे मिलन समूहबाटै सुरु गरेका थिए। चक्रेको समूहमा रहेका साजन महर्जन, चक्रेका भाइ तेजेन्› गुरुङ, मनराज गुरुङ, भीम गुरुङसँगै म्यानपावर कम्पनी, हाउजिङ, सडक, बालुवाखानी र ढुंगाको ठेक्कापट्टामा संलग्न भएका थिए।
मनाङे र चक्रे समूहबीच ग्याङवारपछि घैंटे मनाङे समूहतिर लागेका थिए। मनाङे समूहमा गणेश लामाको प्रवेशसँगै ओझेलमा परेपछि उनी मनाङे समूहबाट बाहिरिएर सामाखुसी क्षेत्रमा बाघे लामा समूहसँग मिलेर आफ्नो धन्दा चलाउन सक्रिय भए।
एक प्रहरी अधिकारीका अनुसार उनी फोटोकपी मेसिनका आपूर्तिकर्ता भए पनि मुख्य आम्दानीको स्रोत रकम असुली थियो। आपराधिक यात्रासँगै उनको प्रहरी कार्यालय आउजाउ क्रमसमेत सुरु भयो।
२०६२ मा सामाखुसीस्थित भन्ज्याङ दोहोरी साँझमा कुमार मल्ललाई कुटपिट गरेर ज्यान मार्ने प्रयास गरेको, ०६३ मा सिद्धिगणेश मावि अगाडि प्रेम लामालाई खुकुरी हानेको, ०६३ मै गंगबुको सोगर्ल डान्स रेस्टुरेन्ट अगाडि विष्णु लामालाई गोली हानेको, गल्कोपाखामा हनेन्द्र सिंहलाई खुकुरी हानेको, २०६५ मा दरबारमार्गमा अमित लामालाई गोली हानेर घाइते बनाएको लगायत दर्जनौं अभियोग थिए। शंकर होटलमा फेला परेको पेस्तोलको मुद्दामा उनी सुरुमा पुर्पक्ष थुनामा पठाइए पनि पछि छुटे।
अधिकांश घटनामा उनी पक्राउ परे पनि बलियो राजनीतिक संरक्षणले तत्काल छुटिहाल्थे। दरबारमार्ग गोली हानेको घटनामा उनी फरार हुँदा गंगबुमा रहेको कांग्रेस नेता जगदीश्वरनरसिंह केसीको घरमा लुकेको चाल पाएर पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन।
२०६८ ताका महानगरीय प्रहरी अपराध महाशाखाले उपत्यकाका अपराधमा संलग्नलाई ट्र्याक गर्न दिएको ट्र्याकर डिभाइस नबोकी हिँडेको भन्दै अपराध महाशाखामा सोधपुछका लागि बोलाउँदा उनै जगदीश पैरवी गर्न घैंटेसँगै प्रहरी कार्यालय पुगेका थिए।
कांग्रेस खेलकुद विभागमा संलग्न रहेका उनी गत साउन ११ गते काठमाडौंको भीमढुंगामा अर्का गुन्डा नाइके दिनेश अधिकारी 'चरी' मारिएपछि धेरै समय नेपालबाहिरै बस्दै आएका थिए। उनले फेसबुकमा आधुनिक हतियार बोकिरहेको र करोडौं रकम टेबलमा राखेको तस्बिर सार्वजनिक गरेपछि प्रहरीले खोजी सुरु गरेपछि नेपाल छाडेर बाहिरै बस्न थालेका थिए।
मलेसिया, दुबई र भारतमा बस्दै आएका उनी वैशाखमा शक्तिशाली भूकम्प आएपछि नेपाल फर्किए। कांग्रेसको खेलकुद विभागले बनाएको विपद व्यवस्थापन स्वयंसेवकमा उनी उपसंयोजक थिए। उनलाई खोजी गरिरहेको प्रहरीले बालुवाटारमा आयोजित कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेलसँगै देखेर चकित परेका थिए।
एक महिनाअघि उनले सामाखुसी युथ क्लबका नाममा एसएलसी उत्तीण विद्यार्थीलाई सम्मान गर्न शिक्षामन्त्री चित्रलेखा यादवलाई प्रमुख अतिथि र जगदीश्वरनरसिंह केसी, भीमसेनदास प्रधानलाई अतिथि बनाएर कार्यक्रम गरेका थिए।
घैंटेसँगै ढलेको स्कुटर, रक्ताम्य भुँइ र पिस्तोल (फोटो फिचर)
प्रकाशित: ३ भाद्र २०७२ १८:५५ बिहीबार