राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अर्थोडक्स चियाको ट्रेडमार्क दर्ता गराएको हो। बोर्डले हिमालय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनलाई उक्त ट्रेडमार्क प्रयोग गर्ने अनुमति पनि दिएको छ। यसका लागि एसोसिएसन र बोर्डबीच एक सम्झौता भएको छ। एसोसिएसन मातहतका चिया उत्पादकले अबदेखि अर्थोडक्स चियामा टे्रडमार्क प्रयोग गरेर स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्न पाउँछन्।
बोर्डले ट्रेडमार्क प्रयोग गर्न एसोसिएसनलाई अधिकार दिए पनि स्वामित्व भने आफैंसँग राखेको छ। ट्रेडमार्क प्रयोग गर्न बोर्डका केही सर्त पूरा गर्नुपर्छ। प्रांगारिक प्रविधि, असल कृषि अभ्यास वा एकीकृत शत्रु जीव व्यवस्थापन विधिद्वारा उत्पादन गर्नुपर्छ। निर्यात वा स्वदेशमै खपत हुने उच्च गुणस्तरको नेपाली चियामा मात्र एसोसिएसनले उक्त ट्रेडमार्क प्रयोग गर्न पाउने सम्झौतापत्रमा उल्लेख छ।
बोर्डले ट्रेडमार्क प्रयोग गर्न दिएबापत प्रतिकिलो चियामा ५० पैसाको दरले पाउने सम्झौता छ। सम्झौताविपरीत ट्रेडमार्क प्रयोग गरेको पाइए प्रतिबन्ध लगाउन सक्ने अधिकार आफूसँगै राखेको छ।
बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले ट्रेडमार्क दुरुपयोग हुन नदिन पाँच सदस्यीय अनुगमन समिति समेत गठन गरिएको जानकारी दिए। स्वदेशी अर्थोडक्सले ट्रेडमार्क पाएपछि सबैभन्दा बढी निर्यात हुने जर्मनीमा थप बजार विस्तार हुने बोर्डको अपेक्षा छ। अन्तर्राष्ट्रिय बजार विस्तार गर्न अब सबैभन्दा पहिले जर्मनीमा अर्थोडक्स चियाको ट्रेडमार्क दर्ता गराइनेछ। 'अर्थोडक्स चिया गुणस्तरयुक्त र स्वास्थ्यबर्द्धक छ भनी ढुक्क भएर उपभोग गर्न ट्रेडमार्क उपलब्ध गराएका छौं,' कार्यकारी निर्देशक गौतमले भने।
व्यापार तथा निकासी प्रवर्द्धन केन्›का कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले ट्रेडमार्क दुरुपयोग नगर्न सुझाए। ट्रेडमार्कसँगै चियाको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै उनले अर्थोडक्स चियाको निर्यात प्रवर्द्धन गर्न केन्द्रले आगामी आर्थिक वर्षदेखि ठोस कार्यक्रम गर्न लागेको समेत जानकारी दिए।
ट्रेडमार्क पाएपछि स्वदेशी अर्थोडक्स चिया निर्यात गर्न सहज हुने हिमालय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनका अध्यक्ष सोमप्रसाद गौचनले बताए। 'नेपालको महत्व झल्कने आफ्नै ट्रेडमार्क नहुँदा निर्यात गर्न कठिन थियो,' अध्यक्ष गौचनले भने, 'आफ्नै ब्रान्ड पाएपछि सजिलो हुन्छ।'
त्यसैगरी, नेपालमा उत्पादित अलैंची निकै सस्तो मूल्यमा भारत निकासी भइरहेको छ। तर, भारतले त्यही अलैंची आफ्नो ब्रान्डमा महँगो मूल्यमा बेचेर फाइदा लिइरहेको छ। यसो हुँदा गुणस्तरीय अलैंची उत्पादन हुने नेपालको नाम कतै आउँदैनथ्यो। अब नेपालको आफ्नै ब्रान्ड नामबाट अलैंची निकासी गर्ने बाटो खुलेको छ।
अलैंचीको ट्रेडमार्क व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले दर्ता गराएको हो। 'यसले नेपाली अलैंचीको ब्रान्डिङ गर्न ठूलो मद्दत पुग्छ,' केन्द्रका कार्यकारी निर्देशक घिमिरेले भने, 'निर्यात बढाउन थप सहयोग पुग्छ।' पूर्वाञ्चलका पहाडी जिल्लामा फल्ने अलैंची गुणस्तरीय र आकार पनि ठूलो भएको केन्द्रले जनाएको छ।
कार्यकारी निर्देशक घिमिरेले व्यापार चिह्न दर्ता भएपछि निर्यातसमेत बढ्ने दाबी गरे। गत आर्थिक वर्षमा अलैंची पकेट क्षेत्र घोषित जिल्लाबाट ४ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको तथ्यांक केन्द्रसँग छ। आर्थिक वर्ष २०७१/०७२ को १० महिनामा करिब ६ अर्ब रुपैयाँको अलैंची निर्यात भएको केन्द्रले जनाएको छ।
'नेपालबाट गत आर्थिक वर्षमा मात्रै ४ अर्ब रुपैयाँ बराबरको अलैंची निर्यात हुँदै आएको छ,' घिमिरेले नागरिकसँग कुराकानी गर्दै भने, 'व्यापार चिह्न दर्ता भएपछि निकासी दोब्बर हुन्छ।'
केन्द्रले अलैंची उत्पादन तथा निकासी गर्न आवश्यक आचारसंहितासमेत तयार पारिसकेको छ। सोही अनुसार अलैंची उत्पादन गर्न किसानलाई सचेत गराइएको केन्द्रले जनाएको छ। केन्द्र र अलैंची व्यवसायी संघको संयुक्त पहलमा आचार संहिता तयार पारिएको हो।
व्यापार चिह्न दर्ता गर्नुअघि सम्बन्धित वस्तुको उत्पादन प्रक्रिया, गुणस्तर, श्रम, बजार, मूल्यलगायत विÈयमा मापदण्ड तोकी आचार संहिता बनाइएको उनको भनाइ छ। सोहीअनुसार अलैंचीको उत्पादनदेखि बजारीकरणसम्म पालन गर्नुपर्ने नियम आचार संहितामा तोकिएको छ। 'समयमै आचारसंहिता नबन्दा दर्ता प्रक्रिया सुरु गर्न सकिएको थिएन,' घिमिरेले भने, 'ढिलै भए पनि आचारसंहिता तयार भई दर्ता समेत सकिएको छ। अब अलैंचीको ट्रेडमार्क अन्तर्राष्ट्रिय बजारमा पनि दर्ताका लागि लैजान्छौं।'
घिमिरेका अनुसार तत्काल खाडी तथा युरोपेली मुलुकमा व्यापार चिह्न दर्ताको प्रक्रिया थालिने छ। 'साउदी अरब, दुबई, कतार, मलेसिया लगातयत देशमा अलैंचीको माग धेरै हुन्छ,' उनले भने, 'ती बजारलाई लक्षित गरेर दर्ता प्रक्रिया अघि बढाउने योजना छ।' भारत निकासीलाई पनि प्राथमिकता दिने र अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको पहुँच विस्तार गर्ने केन्द्रले जनाएको छ।
अलैंचीलाई कच्चा पदार्थको रुपमा नभई प्रशोधन गरेर निकासी गर्दा ब्रान्डिङ र व्यापार बढ्ने घिमिरेले बताए। 'नेपालमा धेरै जिल्लामा अलैंचीको व्यावसायिक खेती गर्न सकिन्छ,' उनले भने, 'तर किसानले लागत अनुसारको मूल्य नपाएकाले उत्पादन घट्दो छ। उत्पादन बढाउन सरकारले ठोस कार्ययोजना ल्याउन जरुरी छ।'
चिया तथा कफी विकास बोर्डका योजना अधिकृत गौरव लुइँटेलका अनुसार नेपालमा हाल २४ अर्थोडक्स, २८ सिटिसी तथा ४६ साना अर्थोडक्स चिया उद्योग सञ्चालनमा छन्। एक सय ९ चिया सहकारी छन्। करिब १८ हजार घरधुरी चियामा आश्रित छन्। एक लाखजनाले प्रत्यक्ष रोजगारी पाएका छन्। नेपालमा १ हजार १ सय २० हेक्टरमा चियाखेती छ।
बोर्डले आर्थिक वर्ष २०७२/०७३ मा ६० हेक्टर क्षेत्रफलमा चिया र १ सय ६० हेक्टरमा कफी विस्तार, अर्गानिक प्रमाणीकरण गर्न आन्तरिक नियन्त्रण प्रणाली (आइसिएस) स्थापना गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटटी) को सहयोगमा चिया र कफीको २०/२० जना गरेर ४० जना आन्तरिक निरीक्षक तयार गर्ने योजना अघि सारेको छ। चिया र कफी क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायलाई एकद्वार प्रणालीमा ल्याएर नियमन गर्ने पनि उसको योजना छ।
प्रकाशित: २ श्रावण २०७२ २१:५४ शनिबार