४६ करोड रुपैयाँ तत्काल उद्धार सेवाअन्तर्गत पहिले नै प्रभावित क्षेत्रमा सक्रिय ६ परोपकारी संस्थालाई जानेछ। ती संस्थामा सेभ द चिल्ड्रेन, मर्सी कोर स्कटल्यान्ड, केयर इन्टरनेसनल युके, एक्सन एड, अक्सफाम र ह्यान्डिक्याप इन्टरनेसनल छन्।
विज्ञप्तिअनुसार ३१ करोड रुपैयाँ ब्रिटिश रेडक्रसलाई जानेछ भने ७७ करोड रुपैयाँ डिजास्टर इमर्जेन्सी कमिटीको अपिलमा उठेको सार्वजनिक चन्दाबराबर रकम बेलायत सरकारले दिने भनिएबमोजिम छुट्ट्याइएको रकम हो। यो प्रभावित क्षेत्रमा रहेका गैरसरकारी संस्थालाई जाने छ।
अन्य ७७ करोड रुपैयाँको प्याकेज ट्रमाको उपचार गर्ने ३० स्वास्थ्यकर्मीको टोलीलाई र ३८ करोड राष्ट्रसंघीय मानवीय हवाई सेवाका लागि खर्च गरिनेछ। यो पैसाले प्रभावित क्षेत्रमा रहेका संस्थालाई राहत सामग्री दुर्गम स्थानमा लैजान सक्षम तुल्याउनेछ।
‘नेपालमा जीवन बचाउने अत्यावश्यकीय सामग्रीको देशैभर सहज आपूर्ति सुनिश्चित गरेर तथा प्रभावित स्थलमा रहेका परोपकारी संस्थालाई फास्ट ट्र्याक माध्यमबाट पैसा उपलब्ध गराएर बेलायत यो कठिन घडीमा नेपाल र नेपाली जनतासँग उभिएको छ,' बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री जस्टिन ग्रिनिनलाई उद्धृत गर्दै बेलायती दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २३ वैशाख २०७२ २०:४७ बुधबार