मुख्य समाचार

पाँचदिने काजकिरिया

'काजकिरियाका दिन घटाउनुपर्छ भनेर निष्कर्ष निकाल्न हुँदैन। यसले कसैको भलो गर्दैन। धर्मशास्त्रविपरीत हुन्छ,' एक जना आचार्य विद्वानले सुरुमै भने।

उनी धर्मशास्त्रस"ग जोडिएका विषयमा सहजै निष्कर्ष निस्कन्छ भन्ने विश्वासै गर्दैनन्। विश्वास दिलाउन पनि चाहन्नन्। बरु उनी सुझाउँछन्, 'यस्तो विषयमा कलम नचलाएकै बेश।'

तर, जबसम्म शास्त्र मानिसका लागि हो कि मानिस शास्त्रका लागि? भन्ने प्रश्नको जबाफ आउँदैन तबसम्म यो विषयमा बहस अपरिहार्य भइसकेको छ।यसलाई अपहारिर्य र महत्वपूर्ण बनाइदिएका छन्, ५२ वर्षीय तारा पोखरेलले। उनका ७३ वर्षीय बुबा ब्रजमोहन पोखरेलको २०७१ पुस १ मा निधन भयो। उनले आफ्ना बुबाको काजकिरिया पशुपतिनाथ मन्दिर परिसरमा रहेको किरियापुत्री भवनमा पा"च दिनमै गरे। र, यससँगै समाजमा मृत्यु संस्कार सुधार गर्नुपर्छ कि पर्दैन भन्ने बहसको थालनी गरिदिए।

पछिल्लोपटक सोमबारै पशुपतिमा पा"चदिने अर्को काजकिरिया सम्पन्न भयो।

'मैले कुनै लहडमा गरेको कर्म होइन, आचार्य गुरु र संस्कार सुधारमा लागेका अग्रजहरूले प्रस्तुत गर्नुभएको प्रमाण र तथ्यका आधारमा गरेको हुँ,' तारा भन्छन्। उनको बुझाइमा शास्त्रका लागि मानिस होइन, मानिसका लागि शास्त्र हो।

पोखरेल आफैं धर्मशास्त्रका ज्ञाता होइनन्। उनी सरकारी सेवामा कार्यरत सहसचिव हुन्। धर्मशास्त्र, गृहसूत्र, स्मृति र ग्रन्थहरूमा उल्लिखित संस्कृत श्लोक व्याख्या गर्दा पा"च दिनमा गर्न सकिने प्रशस्त तथ्य भेटिए। व्याख्याकारले प्रस्तुत गरेका प्रमाण र तथ्यमा टेकेर आफ्ना बुबाको काजकिरिया पा"च दिनमै गरे, पोखरेलले। उनलाई प्रत्यक्ष रूपमा साथ दिए, आचार्य रुद्रप्रसाद आचार्यले।

आचार्यको सहभागितामा पोखरेलले सुरु गरेको पा"चदिने काजकिरिया विस्तारै बढ्दै गएको छ। 'मृत्यु संस्कार घटाउन सक्ने आधार शास्त्रमा उल्लिखित संस्कृत श्लोकहरूमा प्रस्ट छन्, तिनकै आधारमा मैले पा"च दिनको कर्म गराएको हुँ,' पोखरेलका बुबाको काजकिरिया गराएका आचार्यले भने।

उनका अनुसार पा"च दिनमा काजकिरिया गर्न सकिने आधार कलो पराशरस्मृति, परासरगृहसूत्र, मनुस्मृति, धर्मसिन्धु र निर्णसिन्धुजस्ता पुस्तकमा छन्। अहिले पनि यिनै पुस्तकमा उल्लिखित संस्कारसम्बन्धि संस्कृत श्लोकको व्याख्याकै आधारमा कर्मकाण्ड भइरहेका छन्। 'नेपालमा सदियौंदेखि धर्मशास्त्रका यिनै पुस्तकका आधारमा मृत्यु संस्कार हुँदै आएको छ,' आचार्यले भने, 'कलियुगमा विशेषगरी परासरस्मृतिलाई मान्यता दिइएको छ, यसैअनुसार संस्कार चलाउन ऋषिमुनिहरूले सल्लाह दिएका छन्।'

उल्लिखित धार्मिक पुस्तकहरूमा दस र तीन दिनको कुरा उल्लेख भए पनि पुराणमा भएका विषयवस्तुले एघारौं र बाह्रौं दिनको कर्मकाण्ड गरिएको पाइन्छ। 'हजारौं वर्षदेखि चलिआएको संस्कार र परम्परा तुरुन्तै त्याग्न सर्वसाधारणलाई गाह्रो भएको मात्र हो। पहिले–पहिलेका विद्वान र पण्डितले पा"च दिनको कार्यक्रम बढाएर १२ दिनको सुरु गरे र अहिलेसम्म त्यही चलिरहेको मात्र हो,' उनले भने।

३३ वर्षीय रुद्रप्रसाद आचार्यका हजुरबुबाले पनि कर्मकाण्ड गराए। उनका बुबा अहिले पनि यही पेशामा छन्। संस्कृत विश्वविद्यालयबाट ज्यातिषशास्त्रमा आचार्य गरेका उनी आठ वर्ष उमेरदेखि यस्तो संस्कार गराउँदै आएको बताउ"छन्। केटाकेटीदेखि नै उनले वेद र रुद्रचण्डी पाठ गर्न थालेका हुन्।

'पढेलेखेका विद्वान गुरु, मेरा आफन्तको बुझाइले गर्दा पनि मलाई यो काम गर्न धेरै सजिलो भयो,' बाबुको पा"चदिने काजकिरिया गरेका पोखरेल भन्छन्। उनका बुबाले आफु बित्नुअघि पनि आफन्तजन र साथीभाइस"ग पा"च दिनकै काजकिरिया होस् भन्ने चाहना राखेका थिए। 'हामीले उहा"को चाहनालाई महत्व दिएका थिएनौं, उहा"को भनाइ सम्भि्कएका पनि थिएनौं तर पछि केही आफन्तजनले उहा"को त यस्तो चाहना थियो भन्ने कुरा गरेपछि यो काम भएको हो,' उनले भने।

पोखरेलका अनुसार उनका बुबा पहिलेदेखि नै यस विषयमा जानकार थिए। 'पा"च दिनमा गरे पनि सबै विधि र प्रक्रिया अपनाएकाले हामीलाई कुनै संकोच थिएन। तैपनि कताकता आलोचना हुन्छ कि भन्ने डर कायमै थियो, तर त्यस्तो भएन,' उनले भने, 'सिधै आएर कसैले आलोचना गरेनन्, समर्थन र सहयोग नै धेरै पाइयो। केहीले 'गरेको त ठिकै हो तर तिमीले नै पहिला गरेछौं' पनि भने।'

पत्रपत्रिकामा उनले थालनी गरेको संस्कारबारे समाचार र टिकाटिप्पणी छापिएपछि तारा पोखरेललाई बधाइ दिने पनि त्यत्तिकै भए। पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व मुख्यसचिव माधव घिमिरले घरमै पुगेर 'पत्रिका पढेर थाहा पाएँ, बढो राम्रो काम गर्नुभएछ' भन्दै उनलाई उत्साहित बनाए। 'अरू विभिन्न संघ–संस्था र सामाजिक क्षेत्रमा काम गरेका मान्छेले पनि बधाइ दिँदै 'विधि र प्रक्रिया नछुटाएर मृत्यु संस्कार सुधार गर्दै लैजानुपर्छ' भन्नेमा आफ्नो मत जाहेर गरे।

उनको अनुभवमा घुमाउरो पाराले प्रतिक्रिया दिने केही व्यक्ति अहिले धेरै परिवर्तन भएका छन्। 'एक–दुई जना परिवर्तन भएको देख्दा म पनि अचम्मित भएको छु। यो विधि र प्रक्रिया पुर्यािएर गर्नुपर्छ। यो एउटा सशक्त विकल्प हो,' पोखरेलको ठहर छ। उनको अनुभवमा १२ दिनको काम पाँच दिनमा सक्दा व्यस्तता भने हुने रहेछ।

यसबीच अर्को यस्तै संयोग जुर्यो विष्णु पन्तका लागि। ८२ वर्षीय उनका बुबा नरहरि पन्तको उपचारकै क्रममा सिभिल अस्पतालमा फागुन ५ गते निधन भयो। विष्णुका छिमेकी थिए, आनन्द शर्मा। आनन्दले तारा पोखरेलले गरेको पा"चदिने काजकिरियाबारे तारालाई जानकारी दिए। ताराको फोन नम्बर टिपाए।

'म उहा" (तारा) को कुरामा विश्वस्त भएँ, घरमै पा"च दिनको कर्मकाण्ड गरेँ,' विष्णुले भने। उनले बुढानिलकण्ठ नगरपालिका–१२, कपनस्थित घरमा काजकिरिया सम्पन्न गरेका थिए।

'७२ वर्षीय गुरु गोविन्दप्रसाद अधिकारीले हाम्रो कार्यमा ऊर्जा थपिदिनुभयो,' पन्तले भने, 'हामी किरिया बसेका बेला उहा" पटक–पटक भन्ने गर्नुहुन्थ्यो 'म यति बूढोले परिवर्तन खोजिरहेको छ भने तिमीहरूले के को संकोच मान्नुपर्यो ।' हामीले पनि आफ्नै राजीखुसीले यो विधि अपनाएका थियौं।'

वरपरका छरछिमेकले पनि उनलाई 'तपाईंले राम्रो काम गर्नुभयो, हामीले खुलेर गर्न सकेका थिएनौं, तपाईंले गर्दिनुभयो' भने। काठमाडौंका दाजुभाइको प्रतिक्रिया सकारात्मक भए पनि पुर्खेली थलो गोरखा, थोप्लाङका आफन्तले भने केही तितो प्रतिक्रिया व्यक्त गरेको विष्णुको अनुभव छ। 'के गर्याु होला पन्तको छोराले भन्ने जस्ता प्रतिक्रिया गाउँतिरबाट आएको थियो,' उनले भने।

उनी आफू पनि संस्कृतप्रति निकै झुकाव र आस्था राख्ने व्यक्ति हुन। 'म संस्कृतका विषयवस्तु धेरै बुझ्छु र मैले गुरुलाई सुरुमै एउटा अक्षर पनि नछुटने गरी विधिविधान सबै पूरा गरेर गर्नुपर्छ भनेको थिएँ, गुरुले पनि म तिमीभन्दा बूढो मान्छे हुँ, सबै कर्म गरेर देखाउ"छु र समाजलाई चित्त बुझाउँछु भन्नु हुन्थ्यो। मन आनन्दित हुन्थ्यो,' विष्णुले भने, 'आखिर भनेजस्तै भयो।'

एउटा तितो अनुभव भने उनले सुनाए। घरमा नियमित पूजापाठ गराउँदै आएका पण्डित मुरारीप्रसाद खतिवडा दाहसंस्कारको दिन बत्ती बालेर घर गएका थिए, अर्को दिन आइदिएनन्। उनले पा"च दिनको काजकिरिया गराउन नसक्ने जानकारी पो पठाइदिए। 'पहिला कहिल्यै नगराएकाले त्यसबारे जानकारी नभएर हो वा आफ्नी श्रीमती र गुरुको सल्लाहले हो, त्यो थाहा भएन। त्यसपछि हामीले अधिकारी गुरुलाई बोलायौं,' उनले भने।

यसरी काजकिरिया सकेपछि 'समाज यसैगरी अघि बढ्नुपर्छ, राम्रो गर्नुभयो' भन्दै पूर्व मुख्यसचिव विमल कोइराला र मोदनाथ प्रश्रितले विष्णुलाई बधाइ पनि दिए।

पहिलो पाँचदिने काजकिरिया गराएका रुद्रप्रसाद आचार्यका अनुसार संस्कार गराउने पेशामा लागेका अधिकांश पण्डित, पुरोहितले धर्मशास्त्र पढेर भन्दा अनुभवका आधारमा यो पेशा गरिरहेका छन्। 'आफूले धर्मशास्त्र नपढ्ने, पुरानाले जे जे भन्छन् त्यही गर्नेको संख्या बढी छ,' उनको अनुभव छ, 'त्यसैले शास्त्रमा भएका नया" विधि र पद्धति पछ्याउनुपर्यो भने उहा"हरू डराउनुहुन्छ।'

आचार्यका अनुसार अधिकांश पण्डितमा आफूले गरेका कामलाई समाजले बहिष्कार गर्छ कि र आफूलाई काममा बोलाउँदैनन् कि भन्ने डर छ। 'शास्त्रमा यस्तो लेखेको छ, यस्तो गर्दा पनि हुन्छ भन्ने र तार्किक बहस गर्ने आ"ट उहा"हरू देखाउनुहुन्न,' आचार्यले भने, 'तैपनि पछिल्लो समय उहा"हरूको सोच विस्तारै परिवर्तन भएको छ।'

सोमबार पशुपतिनाथ मन्दिरको किरियापुत्री भवनभित्र पा"चदिने काजकिरिया गराइरहेका ४३ वर्षीय पण्डित डिल्लीनाथ सुवेदीले भने, 'यत्रो वर्षसम्म हेरियो। पुराना मान्छे पुरानो संस्कारतिर गए। अब आएर हामी नया संस्कार गर्नुपर्छ भन्दैछौं।' मनुस्मृतिको श्लोक ७३/७४ मा आधारित भएर पा"च दिनको संस्कार गराएको उनी बताउ"छन्।

सोमबारै बाबुको पा"चौं दिनको काजकिरिया सकेका २१ वर्षीय जेठा छोरा मिलन खड्काले भने, 'मलाई त यसबारे केही थाहा थिएन। काका र गुरुको सल्लाहमा यो गरेको।'

१७ वर्षीया छोरी अस्मिता खड्काले भनिन्, 'हाम्रो आर्थिक स्थिति पनि कमजोर थियो। समय पनि कम लाग्ने भएकाले पा"च दिनमा सकेका हौं।' यो किरियामा मृतकका माइला छोरा १० वर्षीय सुसन खड्का पनि बसेका थिए। उनको हकमा पनि बाह्र दिनको तुलनामा पा"चदिने कर्मकाण्ड सहज भएको तर्क पण्डित सुवेदीको थियो। जानकारीमा आएसम्म अहिलेसम्म पाँच परिवारले यसरी पा"चदिनको किरिया गरेको छ।

खगेन्द्र रेग्मी (आचार्य ज्ञानानन्द) का अनुसार भागवत गीतामा विश्वास गर्ने र मान्नेले पा"च दिन पनि होइन, तीन दिनमै काजकिरिया सक्दा हुन्छ। 'भागवत मात्र होइन, अन्य धर्मशास्त्रमा पनि यो उल्लेख छ। पाँच दिन होइन, तीन दिनमा गर्दा कहीँकतैबाट केही हुँदैन,' उनले भने।

सरल संस्कृत व्याकरणमा बनारसबाट आचार्य गरेका रेग्मीले आफू पनि कट्टर सनातन हिन्दु भएको उल्लेख गर्दै भने, 'संस्कारभित्रको विधि र विधान नघटाएर पा"च दिनमा गर्दा केही हुँदैन। भागवतमा प्रत्यक्ष किटान नगरे पनि अध्ययन र अनुसन्धान गर्दा पा"च दिन निकाल्न सकिन्छ।' भारतीय प्रभावमा परेर शास्त्र, ग्रन्थ र स्मृतिहरूको व्याख्या गर्नेले यसको विरोध गरिरहेको उनको तर्क छ। 'शास्त्रमा प्रवेश गर्ने र त्यसको स्पष्ट व्याख्या गर्ने आ"ट भएकाहरू एकदम थोरै छन्,' रेग्मीले भने।

पा"चदिने काजकिरिया गर्ने मात्र होइन, आफ्नो मृत्युपछि पा"च दिनमा मृत्यु संस्कार सक्नू भन्ने इच्छापत्रमा हस्ताक्षर गर्नेको संख्या पनि झन्डै तीन सय पुग्न थालेको छ। मृत्यु संस्कार सुधारमा सहमति जनाउनेहरूको संख्या त्यत्तिकै बढेको छ।

यी सबै विषयको अभिलेख राखिरहेका छन्, शंकर पोखरेलले जसले पा"च/छ वर्षदेखि मानव संस्कारलाई यथास्थितिमै राखेर लोप हुन दिने कि सुधार गरेर जोगाउने भन्ने प्रश्नको जबाफ खोजिरहेका छन्। शंकर संस्कार सुधार समाज गठन गरेर अघि बढिरहेका छन्। उनले शास्त्रीय आधारमा जनमत खोजिरहेका छन्। उनका पछाडि ठूलो समूह र नेपालका पढेलेखेका टाठाबाठाको पंक्ति छ।

उल्लेखित हरेक घटनाक्रममा शंकरको त्यत्तिकै भूमिका देखिन्छ। शंकरको भूमिकाबारे पहिलोपटक पा"चदिने काजकिरिया गर्ने तारा पोखरेल भन्छन्, 'हरेक दिन आएर हामीलाई हौसला दिनुहुन्थ्यो। आफन्त र दाजुभाइलाई धर्मशास्त्र र विधिविधानबारे जानकारी दिनुहुन्थ्यो।'

त्यसो त शंकर एक्लैले यो सामाजिक आन्दोलन चलाएका होइनन। समाजको कार्यसमितिमा थुप्रै विद्वान र दिग्गजहरू छन्। यति मात्र नभएर समाजको ५० जनाभन्दा बढीको सल्लाहकार समिति छ। समितिमा सबैले जानेका र चिनेका व्यक्ति छन्। तीमध्ये एक हुन्, पूर्व प्रमुख निर्वाचन आयुक्त तथा सचिव भोजराज पोखरेल। 'संस्कार र संस्कृति समयअनुसार परिमार्जन गरेन भने टिकाउन गाह्रो हुन्छ,' पोखरेलले भने, 'यी संस्कारलाई जीवन्त राख्ने हो भने समयअनुसार चल्नुपर्छ। हाम्रा पुस्ताले पनि धान्न सक्छन्।'

उनका अनुसार अहिलेको संस्कार ग्रामीण अर्थतन्त्रमा आधारित छ जतिबेला यातायात, प्रविधि केही थिएन। मान्छेलाई एकठा"उबाट अर्को ठा"उ पुग्न धेरै दिन लाग्थ्यो। सम्पर्कका माध्यम थिएनन्। त्यसैले १३ दिनको समय दिइएको थियो। 'अहिले अवस्था फेरिएको छ। संसार सा"घुरिएको छ। समयको महत्व बढेको छ। 'त्यसैले थोरै समयमा संस्कारका सबै प्रक्रिया र पद्धतिलाई समेटेर जान सकेनौं भने १३ दिने काजकिरिया धान्न गाह्रो हुन्छ,' उनले भने।

पोखरेलले नया" पुस्ताका मान्छेबाट अहिलेकै संस्कारलाई निरन्तरता दिन कठिनाइ भएका घटना उल्लेख गर्दै भने, 'उनीहरूको मनोविज्ञान र आवश्यकताअनुसार परिमार्जन गर्दा उत्तम हुन्छ भन्ने मेरो दृष्टिकोण हो।' पाखेरल सल्लाहकार समितिका सदस्य हुन नै उनले पनि आफ्नो मृत्युपछि काजकिरिया पा"च दिन मात्र गर्नू भनिसकेका छन्।

धर्मशास्त्रका सह–प्राध्यापक प्रेमप्रसाद पाण्डेले मृत्यु संस्कारलाई छोटो र समय परिस्थिति अनुकूल बनाउने चाहना सबैतिरबाट व्यक्त भइरहेको बताए। 'म आफैंले पनि काजकिरिया गर्दागर्दै समय अभावले बीचमा छाडेर हिँडेका घटना देखेको छु,' उनले भने, 'तैपनि शास्त्रको निर्णय गर्ने कुरा त्यति सजिलो छैन।' पाण्डेले परासरस्मृतिमा तीनसम्म गर्न सकिने उल्लेख भए पनि यस विषयलाई टुंगोमा पुर्याछउन भारत र नेपालका विद्वानहरू सम्मिलित सम्मेलन गर्नुपर्ने बताए।

'आ–आफ्नै किसिमका व्याख्या र बुद्धि लगाउनुभन्दा यसलाई बृहत रूपमा छलफल गरेर निष्कर्षमा पुग्दा उत्तम हुन्छ,' उनले भने। शास्त्रहरूमा उल्लिखित विषयवस्तु कस्तो अवस्थामा कसलाई भनेको भन्ने कुरा एक/दुई जना व्यक्तिले मात्र व्याख्या गरेर नपुग्ने उनको ठहर छ। 'तैपनि मृत्यु संकारका लागि छुट्ट्याइएको समय अहिलेको परिस्थिति, जमाना र समयसापेक्ष छैन, यसलाई शास्त्रसम्मत तरिकाले सुधार गर्नुपर्छ,' पाण्डेले भने।

मृत्युपछिको संस्कार पा"च दिन मात्र गर्नु भनेर सहमति जनाउने व्यक्ति धेरै छन्। यसमा हरिबहादुर बस्नेत, काशिराज दाहाल, जगन्नाथ खतिवडा, विमल कोइराला, मधुरमण आचार्य, शम्भु थापा, रामपृत पासवान, काशीनाथ पोखरेल, टिकादत्त निरौला, डिल्लीरमण आचार्य, डा. दामोदर पोखरेल, विश्वनाथ प्याकुरेल, मुरारी भट्टराई, सनत रेग्मी, डा. विमलप्रसाद कोइराला, मोदराज डोटेल, डा. रामेश्वरमान श्रेष्ठ, धरणीप्रसाद गौतम, प्राडा उपेन्द्र कोइरालालगायत छन्। विभिन्न पेशा र कर्म भएका धेरै व्यक्ति पा"चदिने किरियामा सहमत छन्।

बाल्मिकी विद्यापिठका अध्यापक डा. आमोदवर्धन कौण्डिन्न्यायन भने धर्मशास्त्रमा राजनीतिक, आर्थिक, पदीय रूपमा शक्तिशाली व्यक्ति आदर्श मान्न नमिल्ने बताउ"छन्। 'कानुन र संविधान तत्कालिक शक्ति सन्तुलन र जनचाहनाका आधारमा परिवर्तन हुने कुरा हो। शास्त्र त्यस्तो होइन,' उनको ठहर छ।

कौण्डिन्न्यायनका अनुसार पारस्करगृहसूत्रले गुरुको हकमा १० दिनसम्म अज्जली दान दिनुपर्छ भनेको छ। गुरु भन्नेबित्तिकै माता, पिता र विधिपूर्वक वेद पढाउने गुरु सम्भि्कनुपर्छ। '१२ र १३ दिनेको कुरा त्यति मिलेको छैन। ११ दिन नभई काजकिरियाका सम्पूर्ण विधि टुंगिदैन,' उनले भने।

कौण्डिन्न्यायन रुदप्रसाद आचार्यको भनाइलाई यसरी काट्छन। 'पारस्करगृहसूत्रमा किरियापुत्रीका लागि तीन दिन र दस दिन भनिएको होइन। त्यो व्यवस्था परिवार बाहिरका दाजुभाइका लागि हो,' उनको व्याख्या छ।

कौण्डिन्न्यायनका अनुसार वेदलाई धर्मशास्त्रको संविधान मानिन्छ। ऋगवेद, यर्जुवेद, सामवेद र अथर्व वेदमध्ये यर्जुवेदमा संस्कारसम्बन्धि ग्रन्थ लेखिएका छन्। शुक्ल र कृष्ण यर्जुवेदको १५ वटा शाखामध्ये मुख्य दुई वटा शाखा काण्डव र माध्यानदिडिय शाखा छन्। नेपालमा माध्यानदिनिय शाखाका अनुयायी धेरै छन्। यसअर्न्तगत शुक्ल यर्जुवेद मन्त्रसंहिता, ब्राह्मण ग्रन्थ, कात्यायन श्रौतसूत्र र पारस्कर गृहसूत्र छन्। 'यही पारस्करगृहसूत्रले गुरुका हकमा दस दिनको व्यवस्था गरेको हो,' उनले भने।

खासमा वेद र त्यसलाई आधार मानेर लेखिका धर्मशास्त्रका पुस्तकमा मृत्यु संस्कार यसको हकमा यति नै दिन हुनुपर्छ भनेर स्पष्ट किटान नगरे पनि तिनमा लेखिएका संस्कृत श्लोकको व्याख्या आ–आफ्ना किसिमले गर्ने परिपाटी भने देखिन्छ। खासमा ब्राह्मणका लागि १० दिन, क्षत्रीका लागि १२, दिन, वैश्यका लागि १ महिना र सुद्रका लागि एक वर्ष भनिएका तथ्य भेटिन्छन्।

आचार्य रुद्रप्रसादका अनुसार काजकिरियाको सबैभन्दा महत्वपूर्ण पक्ष आत्मालाई पिण्ड दिनु हो। पिण्ड दिएपछि आत्माले मोक्ष प्राप्त गर्छ भन्ने विश्वास छ। एउटाका दरले हरेक दिन दिइने पिण्डले आत्माका विभिन्न अंग बन्छन्। दसौं दिनमा आत्माको प्रेत शरीर बन्छ भन्ने विश्वास छ। दस दिनमा प्रेत शरीर बनेपछि एघारौं र बाह्रौं दिनको कर्मले प्रेत शरीरले मोक्ष पाउँछ।

अहिले पनि कामविशेष र टाढा भएका छोरा वा श्रीमती ढिलो आइपुगे भने पनि पिण्डहरू खप्टेर दिने चलन छ। हरेक दिन एक–एक वटा पिण्ड दिनुपर्नेमा ढिलो गरी आइपुगे खप्टिने परम्परा छ। पिण्ड खप्ट्याउनु भनेको काजकिरियाको दिन घटाउनु हो।

'मृत्यु भएको आठौं दिनमा काजकिरिया सुरु गरेर आठ पिण्ड, नवौं र दसौं दिनमा एक/एक पिण्ड दिने परम्परा पनि छ। यो पनि शास्त्रसम्मत नै देखिन्छ,' उनले भने, 'हिन्दु धर्ममा नभएको कुरा केही छैन। धर्मशास्त्रमा कर्म प्रधान हुन्छ, कर्ता होइन। तर हाम्रा गुरुले कुनै पनि संस्कार गराउँदा कर्मलाई भन्दा कर्तालाई महत्व दिनुहुन्छ। यो नै गलत परम्परा हो।' आचार्यका अनुसार कर्ताले पढ्नुपर्ने मन्त्र आफैंले पढेर सुनाउने गलत विधि पनि कायमै छ।

उनका अनुसार मृत्यु आज भयो, भोलि दाहसंस्कार भयो भने पर्सिपल्ट तीनवटा पिण्ड दिने परम्परा छ। यी सबै परम्परा शास्त्रसम्मत नै छन्। 'पिण्डको संख्या, विधि र प्रक्रिया नघटाइकन पा"च दिनमै काम सक्न शास्त्रले रोक्दैन,' उनले भने, 'कति दिनमा दियौ भन्ने भन्दा पनि दसवटा पिण्ड विधिपूर्वक दियौ कि दिएनौं भन्ने कुरा मुख्य हो।'

आचार्यका अनुसार सामान्यतया १३ दिने संस्कारमा दाहसंस्कार गर्दा छ वटा पिण्ड दिइन्छ। अर्को दिन ढिकुरो उठाएपछि दुई वटा र त्यसपछिका आठ दिनमा प्रत्येक दिन एक/एक वटा छुट्टै पिण्ड दिइन्छ। एघारौं दिनमा मध्यम षोडसी र उत्तम षोडसी श्राद्ध गरिन्छ। यो श्राद्धमा १६/१६ वटा पिण्ड दिइन्छ। १२ औं दिनमा छुट्टै चारवटा पिण्ड दिएर सपिण्डिकरण श्राद्ध गरिन्छ। यो गरेपछि प्रेत शरीर चेतनायुक्त हुन्छ भन्ने विश्वास छ। १३ औं दिनमा दानदक्षिणा गर्ने परम्परा छ।

'हामीले यही परम्परा कायम राख्दै कुनै पनि विधि र प्रक्रियालाई कटौती नगरी पा"च दिनमा काजकिरिया गरिरहेका छौं,' उनले भने, 'यसका लागि पा"चदिने काजकिरियाको पद्धति पुस्तक प्रकाशित गर्दैछौं।'

आचार्यका अनुसार पा"च दिनमा काजकिरिया सक्न दाहसंस्कार बेला दिइने पिण्ड कायम राख्दै पहिलो दिन एउटा पिण्ड, दोस्रो दिन ४ वटा र तेस्रो दिन ५ पिण्ड दिन सकिन्छ। चौथो र पा"चौं दिन अहिले एघारौं र बाह्रौं दिनमा गरिएका कर्मकाण्ड गर्न सकिन्छ। उनका अनसार धर्म सिन्धु र निर्णय सिन्धुमा यसरी पिण्ड दिन सकिने थुप्रै आधार र व्यवस्था छन्।

विभिन्न शास्त्रीय प्रमाणलाई आधार मानेर लेखिएका पुस्तकका अनुसार यही विधि सत्ययुगको युगगत धर्मशास्त्रले मानिसको आयु एक हजार वर्ष मानेर किरिया अवधि १२ वर्ष तोकेको थियो। त्रेता युगको धर्मशास्त्र गौतमस्मृतिले मानिसको पा"च सय वर्ष उमेर मानेर १२ महिना तोकेको थियो। द्वापर युगको शंखस्मृतिले २५० वर्ष मानेर १२ दिन/एक महिना र कलियुगको पाराशरस्मृतिले एक वर्ष मानेर १२० घन्टा तोकेको पनि उल्लेख छ।

डा. माधव भट्टराई संस्कार र परम्परा जबर्जस्ती परिवर्तन गर्ने विषय नभएको बताउ"छन्। 'यसलाई समयले परिवर्तन गराउ"छ। मृत्यु संस्कार परिवर्तन गरिहाल्नुपर्ने बेला भएको छैन,' उनले भने। डा. भट्टराई पारस्करगृहसूत्रभन्दा परासरस्मृति, यज्ञवलिक स्मृति र मनुस्मृति मात्र मान्य हुने बताउ"छन्। 'यी धर्मशास्त्रमा आपतविपतका बाहेक अन्य अवस्थामा पा"च दिनको कुनै व्यवस्था छैन,' उनले भने।

डा. भट्टराईले संस्कार परिवर्तन गर्ने विषयलाई हल्का रूपमा लिएर केही व्यक्ति र समूहले बाहिर आफूखुसी अभियान सञ्चालन गरिरहेको भन्दै आपत्ति जनाए। 'आज पा"च दिन भन्नेले भोलि एकै दिन भन्न थाल्छन्,' उनले भने। डा. भट्टराईका अनुसार चलनचल्तीमा रहेका धर्मशास्त्र थप व्याख्या गर्न जरुरी भए पनि मृत्युसंस्कारमा सुधार गरिहाल्नुपर्ने अवस्था छैन। धर्मनिरपेक्ष राष्ट्र घोषणमा विदेशीको चलखेल भएको बताउँदै उनी भन्छन्, 'धर्ममा पनि यस्तै तत्व सक्रिय भएका छन्। संस्कार सुधार गर्ने आधिकारिक निकाय कुन हो?'

यता संस्कार सुधार समाजका अध्यक्ष शंकर पोखरेल डा. भट्टराईको भनाइलाई स्वाभाविक मान्छन्। उनी भन्छन, 'उहा"हरूको स्वार्थ पनि संस्कार बचाउने नै हो। हाम्रो स्वार्थ पनि त्यही हो।'

पोखरेलका अनुसार संस्कारलाई यथास्थितिमै राखेर बचाउन सकिन्छ भन्ने सोच एकथरीमा छ। अर्काथरीमा यसमा धेरै विकृति देखापरेकाले आगामी पुस्ताले समयकै कारण यो संस्कार पूर्ण पालना गर्दैनन् भन्ने ठहर छ। 'हामी पछिल्लो कुरालाई अंगिकार गरेर अघि बढिरहेका छौं,' उनले भने। पोखरेल अर्को उदाहरण दिँदै भन्छन, 'मेरो बुबाले मलाई पिटेर पढाउनुभयो। मैले मेरो छोरोलाई फकाएर र बुझाएर पढाएँ। दुवैको उद्देश्य छोरालाई पढाएर विद्वान बनाउने नै हो। अहिले संस्कार परिवर्तनमा पनि यस्तै भइरहेको छ।'

उनले समाज गठन हुनुपूर्व र गठनपछि यस विषयमा धेरै धर्मशास्त्र र ग्रन्थको अध्ययन गरिसकेका छन्। तिनको अर्थ सम्बन्धित क्षेत्रका विज्ञबाटै गर्न रुचाउ"छन्। 'तिनै विज्ञको व्याख्या र उहा"हरूले व्याख्या गरेका श्लोकलाई आधार मानेर हामीले मृत्यु संस्कारलाई पा"च दिनमा गर्न सकिने आधार प्रस्तुत गरेका हौं', पोखरेलले भने।

उनले ती ग्रन्थको नाम, काण्ड, काण्डिका र सूत्रका संकेत नम्बर सुरक्षित राखेका छन्। तिनको नेपाली व्याख्या पनि गरिएको छ। मृत्यु संस्कारको अवधि घटाउने तथ्यगत आधारका अभिलेखकर्ता भएका छन्। 'यसैमा लागेर पा"च/छ वर्षदेखि पूरा रात सुतेको छैन,' शंकरकी ८४ वर्षीया आमा जानुका पोखरेल भन्छिन्।

पोखरेलको अनुभवमा शास्त्रमा उल्लिखित विषयवस्तुको व्याख्या व्यक्तिपिच्छे फरकफरक हुने गर्छ। पण्डित र पुरोहितले फरकफरक ग्रन्थका आधारमा काजकिरिया गराइरहेका छन्। विधि र प्रक्रियामा एकमत छैन, नेपाली शास्त्रीय समुदाय। धर्मशास्त्रमा उल्लेख संस्कृतका श्लोकको अनुवाद र व्याख्यामा अल्भि्कएका छन्, संस्कारका धेरै विधि र प्रक्रिया।

यही कारणले पोखरेल केही वर्षयता संस्कार सुधारको अभियानमा दौडिरहेका छन्। उनी संस्कृतका ज्ञाता, धर्मगुरु, शास्त्री, धर्मशास्त्रीको घरघरमा पुगेर उनले शास्त्रको व्याख्या गराइरहेका छन्। 'अहिलेसम्म मैले प्राप्त गरेका प्रमाण, आधार र तथ्यबाट म सन्तुष्ट छु। मैले भेटेका अधिकांश विद्वान संस्कार सुधार गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ। तर पदीय जिम्मेवारी र सामाजिक भूमिकाका डरले खुल्न चाहनुहुन्न', पोखरेलको अनुभव छ।

समाज उनको पहलमा गठन भए पनि त्यसका अन्य सदस्य संस्कार सुधारमा त्यत्तिकै होमिएका छन्। नेतृत्वदायी भूमिका पोखरेले लिएपनि उनका पछाडी नेपाली समाजका चिरपरिचित थुप्रै अनुहार सक्रिय छन्। उनीहरुको सल्लाह र सुझाव मनन गर्दै समाज दर्ता गर्ने प्रक्रियामा पुर्याैएका छन्। 'विधान तयार भइसकेको हामी दर्ताको प्रक्रियामा छौ', उनले भने, 'यो दिन त्यति सजिलै आएको होइन।'

समाजले वैदिक सनातन कर्मकाण्ड महासंघ काठमाडौ जिल्ला सचिव पारसमणि पोखरेल र आचार्य रुद्रप्रसादको पा"च दिने किरिया पद्धतीसम्बन्धि पुस्तक पनि तयार गरिरहेको छ। 'शास्त्रिय र परम्परालाई आधार मानेर पुस्तक तयार गर्ने काम भइरहेको छ', पोखरेलले भने। समाजको तदर्थ समिती गठन भएको धेरै भएको छैन, ०७१ भदौ ५ गते पहिलो पटक संविधानसभा भवनको पूर्वमा रहेको सहकारी विभागको सभाहलमा पहिलो पटक भेला भएको थियो।

त्यसमा समाजका चिरपरिचित ४० जना जति भेला उपस्थित थिए, त्यही भेलाले शंकरको अध्यक्षतामा समाजको तदर्थ समिति र सल्लाहकार समिति गठन गर्ने निर्णय गरेको थियो।

संस्कार सुधार गर्न सकिन्छ भन्ने धारणा राख्दा शंकर धेरैपटक अपमानित पनि भएका छन्। उनले विराटनगरको यस्तै एउटा घटना पनि सुनाए। करिब दुई वर्षअघि विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष शिवदत्त भट्टराईको श्रीमतीको निधन भयो। स्थानीय प्राज्ञ दधिराज सुवेदीले पोखरेललाई पा"चदिने कर्मकाण्डबारे जानकारी दिनुस् भनेर शिवदत्तको घरमा लगे। त्यहाँ थुप्रै समुदाय उपस्थित थिए।

'मैले आफ्नो कुरा के राखेको थिएँ, एक जना व्यक्ति म यस्तो पाखण्डी कुरा सुन्न सक्दिन भनेर निस्किनुभयो,' शंकरले आफ्नो अनुभव सुनाउँदै भने, 'तैपनि शिवदत्तले मलाई भन्न आग्रह गर्नुभयो, मैले आफ्नो कुरा राखेँ।' पछि जो त्यहा"बाट उठेर हिडेका थिए उनले शंकरलाई भेट्न बोलाए, तर शंकरमा त्यहा" जाने आ"ट आएन।

निम्तो ल्याउने मान्छेलाई उनले भने, 'तपाईं अघिपछि लागेर जाने हो भने जान्छु नत्र जान्न।' त्यसपछि शंकर उनीकहाँ गए। गएपछि ती व्यक्तिले शंकरलाई एउटा पुस्तक थमाएर भने, 'मैले भारतमा पा"च दिनमा गरेको देखेको छु। तपाईंले ठिक कुरा गर्नुभयो' भन्नुभयो', शंकरको अनुभव छ। लक्ष्मीप्रसाद रिजाल नामका ती व्यक्ति आफू पनि धर्म शास्त्रका जानकार रहेछन्। उनले तत्काल त्यस्तो कुरा सहन नसकेका रहेछन् भन्ने शंकरले बुझे।

अहिले पोखरेलले पा"च दिनमा काजकिरिया गराउन चाहने व्यक्तिको इच्छापत्र समेत तयार पारेका छन्। त्यसमा उनका ८९ वर्षीय बुबा पूर्णरमण उपाध्याय र ८४ वर्षीया आमा जानुका पोखरेलको पनि नाम छ। 'ब्रतबन्ध गरेपछि गायत्री मन्त्र पढ्न सबैले छाडे। विस्तारै पिण्ड पनि लोप हुन्छ कि भन्ने डर छ, त्यसैले थोरै दिनमा गरे पनि संस्कार स्थायी होस् भनेर मैले पनि पा"च दिनमा गर्ने इच्छा व्यक्त गरेको हुँ,' पूर्णरमणले भने। त्यसो त शंकरले तयार गरेको इच्छापत्र यस्ता थुप्रै आमाबुबाको नाम र तस्बिर राखिएको छ।

प्रकाशित: ११ वैशाख २०७२ ०५:५० शुक्रबार