नेपालमा विसं २०५५–२०५६ बाट संगठित रूपमै लगातार गैंडा मारिने र खाग चोरी हुने क्रम बढे पनि प्रहरीले यसको भेउ पाउन सकेको थिएन। खाग तस्करीमा संलग्नहरू विभिन्न समयमा पक्राउ परिरहे पनि अनुसन्धानको नतिजा तस्करी जालोको फेदसम्म पुग्न सकेको थिएन।
गत माघ २५ गते मलेसियामा एक नेपाली पक्राउ परे जो खागतस्करीमा लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए।
मलेसियन प्रहरीको सहयोगमा कुख्यात गैंडा सिकारी राजकुमार प्रजालाई पक्राउ गरी नेपाल ल्याएपछि भने नेपाल प्रहरीको अनुसन्धान ब्युरो तस्करी जालोको फेदैसम्म पुग्न सफल भएको छ।
ब्युरोको अनुसन्धान प्रतिवेदनअनुसार राजकुमार वन्यजन्तुको अंग तस्करीमा सक्रिय चिनियाँ समूहका सदस्य रहेछन्, जुन समूहको नाइके अर्थात् कारोबारको पहिलो तहमा चिनियाँ नागरिक सक्रिय रहेछन्। ब्युरोले अनुसन्धानमा ठूलो सफलता हात पार्दै प्रजाको समूहमा सक्रिय १४ जनासहित चिनियाँ नाइकेको जालो खुलाएको छ।
ब्युरो प्रमुख हेमन्त मल्लका अनुसार अनुसन्धानले नेपालमा गैंडाको खाग तस्करीमा संलग्न समूहको चार तह सक्रिय हुने गरेको देखिएको छ– अन्तर्राष्ट्रिय खरिदकर्ता, काठमाडौंमा सक्रिय समन्वयकर्ता, योजनाकार तथा स्थानीय सहजकर्ता र सिकारी।
‘पहिलो तहमा चिनियाँ अन्तर्राष्ट्रिय कारोबारी संलग्न देखिए,' मल्लले नागरिकसँग भने, ‘अन्तर्राष्ट्रिय कारोबारीसँग खागको अर्डर लिने दोस्रो तह, स्थानीय सिकारीसँग समन्वय गर्ने तेस्रो र गैंडाको सिकार गर्ने चौथो तह नेपालमै सक्रिय देखिए।'
पहिलो तहमा अन्तर्राष्ट्रिय खरिदकर्ताका रूपमा चिनियाँ नागरिक नोर्साङ लामा र दिधी खम्बा सक्रिय थिए। यी दुवै खागको अर्डर दिने र लिन आफैं नेपाल आउने गर्थे। सोही क्रममा एक वर्षअघि यी दुवै जना ठमेलबाट पक्राउ परेको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, नोर्बुछिरिङ लामा र हिडुक ठकुरी लामा काठमाडौंमा बसेर चिनियाँ तस्कर समूहका लागि काम गर्दै आएका थिए। यी दुवै अन्तर्राष्ट्रिय कारोबारीसँग खागको अर्डर लिएर सिकारी समूह खटाउन सक्रिय थिए। लागुऔषध कारोबारमा समेत सक्रिय नोर्बु र हिडुकले नोर्साङकै समूहलाई ३ वटा खाग बेचिसकेको अनुसन्धानमा संलग्न ब्युरोका डिएसपी सविन प्रधानले जानकारी दिए।
अहिले यी पनि जेलमै छन्।
अनुसन्धान प्रतिवेदनअनुसार चिनियाँ तस्करबाट खागको माग आएपछि यिनीहरुले राजकुमारका भान्जा बुद्धिबहादुर प्रजालाई अर्डर दिन्थे। तेस्रो तहका बुद्धिबहादुरले मागअनुसार खागका लागि गैंडा मार्न आवश्यक बन्दोबस्तीका सामान जोहो गर्थे, तयारीका लागि खर्च लिएर राजकुमारका दाइ रामकुमारलाई जिम्मा दिन्थे।
संख्या तोकेर खागको अर्डर आएपछि भरुवा बन्दुकसहित दलबल लिएर राजकुमार चितवन राष्ट्रिय निकुञ्ज छिर्थे। वन्यजन्तु अपराधसम्बन्धी अनुसन्धानमा संलग्न डिएसपी प्रधानका अनुसार स्थानीय तहमा क्रियाशील मध्यस्थकर्ताको योजनाअनुसार राजकुमार गैंडा खोजी गर्र्ने, धराप थाप्ने र सिकार गरी खाग काट्न अन्य ८ जना सहयोगी लिएर खटिन्थे। गैंडा मारेपछि उनी आफैंले खाग काटेर बुद्धिबहादुरलाई दिँदै आएको प्रहरीले फेला पारेको छ।
‘तस्करीको तहअनुसार राजकुमार तल्लो तहमा देखिए पनि यो जालोमा सबैभन्दा प्रभावशाली उही नै हो,' प्रधानले नागरिकसँग भने, ‘ऊ सक्रिय हुँदा गैंडा सिकार बढ्नु र उसको पलायनसँगै घट्नुले समेत यसको पुष्टि गर्छ।'
डिएसपी प्रधानका अनुसार नेपालमा एकसिंगे गैंडा सिकारको उद्देश्य खाग नै हो जुन प्राचिन पद्धतिको चिनियाँ औषधि बनाउन प्रयोग हुँदै आएको छ। यसको मुख्य बजार चीन नै हो। भियतनाममा समेत प्राचिन औषधि बनाउन खागको माग रहे पनि नेपालको खागको मूल बजार चीन नै देखिएको उनले खुलाए।
हिटलिस्टमा राजकुमार
ब्युरोले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा २०५५–५६ बाट गैंडा सिकारमा तस्कर समूह सक्रिय देखिन्छन्। त्यसयता २०७०–७१ सम्म १ सय ७२ वटा गैंडा मारिए। २०६० चैत ७ गते गैंडा सिकार गरी खाग निकालेको घटनामा राजकुमारको नाम पोलिएको थियो। डिएसपी प्रधानका अनुसार गंैडा सिकार बढिरहेकै बेला ११ वर्षअगाडि राजकुमार गैंडा सिकारमा संलग्न देखिएको अनुसन्धानमा खुलेको छ।
त्यसयता मारिएका सबै गैंडा सिकारीमा उनको नाम जोडिएका थिए। केही वर्षमै राजकुमार हिट–लिस्ट सिकारीको सूचीमा चढे तर पक्राउ परेनन्। गैंडाको बासस्थान, गैंडाको सुरक्षामा खटिने सेना र वनरक्षकको गस्ती रुट तथा सकुशल उम्कने बाटोबारे राम्रो ज्ञान हुँदा पटकपटक उनी सुरक्षाकर्मीको घेरामा परे पनि उम्किइरहे। गैंडा मार्न मात्र चितवन आउने, अन्य समय पोखरा, गोरखा र धरान बस्थे।
‘सात वर्षबीच राजकुमारमाथि गैंडा सिकारका १५ मुद्दा छन्। बयानमा उनले २७ वटा खागबारे सूचना दिए। हाम्रो अनुसन्धानमा ३० वटा गैंडाको सिकारमा उसको संलग्नता देखिन्छ,' डिआइजी मल्लले भने, ‘कति गैंडा मारे, उसलाई यादै रहेनछ, यसमा थप अनुसन्धान भइरहेको छ।'
गंैडा मार्ने घटना बढेसँगै राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा खटिएको सेना र प्रहरी आफ्नो खोजीमा केन्द्रित भएको चाल पाएपछि उनी विदेश जाने तयारीमा लागेका थिए। आफ्नै नामको राहदानीमा विदेश जान असम्भव देखेपछि २०६७ मा उनले गोरखामा फर्जी कागजपत्र पेस गरी भक्तराज गिरीका नाममा नागरिकता र राहदानी लिएको अनुसन्धानमा खुलेको छ।
राजकुमार नेपालमा रहेसम्म महिनामा न्यूनतम एक दर्जन गैंडा मारिएको प्रहरी बताउँछ। उनी मलेसिया उडेलगत्तै यो क्रम स्वात्तै घट्यो। उनी नेपालमा रहेको वर्ष २०६७ मा ११ गैंडा मारिएकोमा २०६८ मा त्यो घटेर दुइटामा सीमित भयो। त्यसपछि प्रत्येक वर्ष एकएक गैंडा मारिए, २०७१ मा आइपुग्दा शून्य।
राजकुमारविरुद्ध चितवन राष्ट्रिय निकुञ्जले ६ वटा मुद्दामा १५ वर्ष कैद र १ लाख जरिवाना फैसला गरिसक्दा पनि उनी फेला परेका थिएनन्। गैंडा मारिने क्रम घटेसँगै जालोको खोजी सुस्त भएको थियो। प्रहरीमा ब्युरो गठनसँगै चितवन राष्ट्रिय निकुञ्ज र आरक्षण हेर्ने सेनासँग मिलेर वन्यजन्तु अपराधलाई प्राथमिकता दिँदै फरारको खोजी सुरु भएको थियो।
फरार आरोपी खोजी क्रममा २०७० भदौबाट असोजसम्म चलाइएको अप्रेसनमा खाग तस्करीमा संलग्न समूहका बुद्धिबहादुर प्रजासहित १३ जना पक्राउ परेका थिए। यिनीहरुबाटै मुख्य सिकारी राजकुमार भागेर मलेसिया पुगेको खुल्यो। ‘अनुसन्धानमा उनी मलेसिया पुगेको खुलेपछि इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरायौं,' डिएसपी प्रधानले भने, ‘मलेसियन प्रहरीसँग समन्वयपछि माघ २५ मा उसलाई नेपाल ल्याउन सफल भयौं।'
तस्करी रुट
राजकुमारसहित गैंडा सिकारमा सक्रिय समूहको पक्राउपछि गैंडा मार्ने क्रम घटे पनि पछिल्लो समय रेडपान्डा, चितुवाको छालालगायत वन्यजन्तुको अंग कारोबार भने घटेको छैन। ब्युरोको २०७०/७१ को तथ्यांकअनुसार एक वर्षमा रेडपान्डा र ओतको छाला, अजिंगर, सालक, बाघको हड्डी, कस्तुरीको बिना, चितुवाको छाला र हड्डी, हुचिल, हात्तीको दाह्राबाट बनेका विभिन्न सामग्री, सुनाखरी र विभिन्न जीवित पछुपन्छी कारोबारी पक्राउ पर्ने क्रम रोकिएको छैन। यो वर्ष १४ प्रकृतिका वन्यजन्तुको अंग कारोबारमा संलग्न रहेको अभियोगमा ६३ जना पक्राउ परे। मंसिरयता यस्ता ८ वटा घटना भइसकेका छन्।डिएसपी प्रधानका अनुसार खागलगायत वन्यजन्तु तस्करीमा सक्रिय समूहमध्ये काठमाडौंमा मध्यस्थकर्ताको जालो रहेको देखिन्छ। उनीहरुले स्थलमार्ग हुँदै खागलगायत वन्यजन्तुका अंग चीन पुर्यातउन सक्रिय देखिएका छन्। ब्युरोको अनुसन्धानले वन्यजन्तुको अंग चीन लैजान चीनसँग सीमा जोडिएका हुम्ला, दार्चुला, बैतडी, डोल्पा, रसुवा, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक नाका प्रयोग हुने गरेको खुलाएको छ।
प्रकाशित: ११ फाल्गुन २०७१ १९:१७ सोमबार