मुख्य समाचार

आवरण कथा, कारागारमा कैदी शासन

काठमाडौं– अवैध हतियार र लागुऔषध अभियोगमा पक्राउ परेका सुजन पौडेल (रमेश बाहुन) लाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। लगत्तै डिल्लीबजार कारागार चलान गरिएका उनी त्यहाँ दुई महिना पनि टिक्न सकेनन्।
भदौयता बाहुन केन्द्रीय कारागार गोलघरमा छन्।
जेल प्रशासनले ‘सुरक्षा कारण' बताए पनि उनी डिल्लीबजार कारागारमा टिक्न नसक्नुको कारण अरू केही होइन, त्यहाँ दीपक मनाङे समूहको दबदबा हो।

स्रोतअनुसार डिल्लीबजार कारागारमा मनाङे निकटका कर्मा घले, टासी गुरुङ र अर्जुन गुरुङ (चल्ला) बन्दी छन्। डिल्लीबजारको ‘ख' ब्लकमा रहेका उनीहरूले त्यही ब्लकमा ल्याइएका बाहुनलाई रुचाएनन्। जेल प्रशासनले जोखिम मोल्न चाहेन। उनीहरूकै इच्छाअनुसार बाहुनलाई केन्द्रीय कारागार सरुवा गरियो। अहिले उनी सिरियल किडन्यापर अमर टन्डन र सिरियल किलर चार्ल्स शोभराजसँगै गोलघरमा छन्।
मनाङे जेलभित्र हुन् या बाहिर, डिल्लीबजार कारागारमा उनकै दबदबा छ। उनलाई जतिचोटि पक्राउ गरेर जेल चलान गरिए पनि त्यहीँ राखिन्छ। कुटपिट अभियोग पुष्टिसँगै एक वर्ष कैद सजाय काट्न उनी डिल्लीबजार कारागारै पुगेका थिए। त्यहीँबाट ‘आफू मनाङे नभएको' भन्दै सर्वोच्च अदालतबाट बन्दीप्रत्यक्षीकरणको रिटमा मुद्दा जितेर मुक्त भएका उनी चार महिनापछि फेरि पक्राउ परे। त्यसबेला पनि उनलाई डिल्लीबजार कारागार नै लगियो। अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतले मागेको धरौटी नबुझाएर केही महिना डिल्लीबजारमा बसेपछि उनी धरौटी तिरेर मुक्त भएका थिए। 
स्रोतअनुसार जेलमा भएका बेला त स्वाभाविक रूपमा मनाङेको हालिमुहाली चलिहाल्छ, बाहिरै रहँदा पनि आफ्ना समर्थकमार्फत उनी जेलभित्र पकड जमाउँछन्। मनाङे बाहिर आएपछि भने अहिले डिल्लीबजारमा कर्मा घले र टासी गुरुङको दबदबा छ। जेलभित्रको सम्पूर्ण खटनपटन उनीहरूकै आदेशअनुसार चल्छ। जेलभित्र सुरक्षित रहनु छ भने उनीहरूको नेतृत्व स्विकार्नुको विकल्प नभएको त्यहीँका एक कैदी बताउँछन्। 
‘उनीहरूको निर्देशन नमान्नु जेलभित्र असुरक्षित हुनु हो,' ती कैदीले भने, ‘जेल प्रशासनमा समेत उनीहरूको पहुँच छ, डिल्लीबजार जेलमा उनीहरूले जे चाह्यो, त्यही चल्छ।'
प्रहरीले ‘गुन्डा नाइके' भन्दै आएका व्यक्तिले सिंगो जेललाई आफ्नो काबुमा राख्ने यो प्रवृत्ति दीपक मनाङे र डिल्लीबजार कारागारमा मात्र सीमित छैन।
डिल्लीबजारमा मनाङेको हैकम चलेझैं केन्द्रीय कारागारमा अर्का ‘गुन्डा नाइके' चक्रे मिलनको दबदबा चल्छ। उनको पनि शैली उस्तै हो। हरेकचोटि पक्राउ पर्दा उनलाई केन्द्रीय कारागार नै लगिन्छ। उनका समर्थकलाई पनि केन्द्रीय कारागार नै पुर्याैइन्छ। यसको कारण पनि फरक छैन, उनीहरुलाई अन्यत्र राख्नु भिडन्त निम्त्याउनु हो। 
लागुऔषध र अवैध हतियार अभियोगमा बुटवलमा पक्राउ पर्दा चक्रेलाई केही महिनामै केन्द्रीय कारागार सरुवा गरिएको थियो। उनले त्यहीँ पाँच वर्ष कटाए। केही महिनाअघि उनी बाहिरिएपछि केन्द्रीय कारागारको नेतृत्व यादव डंगोल हत्यामा कैद सजाय काटिरहे जित थापाले सम्हालेका छन्। उनकै समूहका दीपक डुंडे पनि त्यहीँ छन्।
मनाङे र चक्रेबाहेक अन्य समूहका नाइके र सदस्यको रोजाइमा ललितपुरको नख्खु कारागार पर्छ। हत्या अभियोग पुष्टिसँगै लामो समय भारतमा बसेका राजु गोर्खाली पक्राउ परेपछि सिधै नख्खु चलान गरियो। उनी त्यहीँबाट रिहा भए। अहिले नक्कली भारतीय रुपैयाँ कारोबारमा पक्राउ परेका युनुस अन्सारी नख्खुमै छन्। 
भारतीय अन्डरवर्ल्डका सदस्य उदय सेठ्ठी, कुख्यात अपहरणकारी टन्डन पनि केही समय यही जेलमा बसेका थिए। एक वर्षअघि जेलभित्र दुई प्रहरीलाई सात घन्टा बन्धक बनाएपछि टन्डन केन्द्रीय कारागार गोलघर आइपुगे। सेठ्ठीलाई भने नख्खुबाट नुवाकोट जिल्ला कारागार सरुवा गरिएको थियो। जेलभित्रैबाट आपराधिक समूह चलाएको पुष्टि भएपछि उनी पनि सिधै गोलघर लगिए। 
गिरी भने आफ्नी प्रेमिकामार्फत एक कर्मचारी अपहरण गरी १० लाख रुपैयाँ असुलेको अभियोगमा पुर्पक्षका लागि थुना राख्न नख्खु पठाइएका थिए। त्यहाँ उनले पहिल्यैदेखि रहेका रमेश लामा (चाइनिज), शम्भु गौतम (भोले बाबा) र विक्रम तामाङको समूह बनाएर चार दिनसम्म जेलको ‘सी' ब्लक कब्जामा राखे। बाध्य भएर जेल प्रशासनले यी सबैलाई बिहीबार विभिन्न जेलमा सरुवा गर्ने निर्णय गर्योी। गिरी अहिले डिल्लीबजार कारागार पुगेका छन्।
अन्य कहलिएका ‘गुन्डा नाइके' हरू गणेश लामा, कुमार श्रेष्ठ (घैंटे), दाबा लामालगायत प्रायः यी तीन जेलमै घुमिरहेका हुन्छन्। जुन जेलमा आफूअनुकूलका कैदी छन्, उनीहरू त्यही जेल रोज्छन्। र, त्यहीँ बस्न पाउँछन् पनि।
पहिलो रोजाइमा पर्ने उपत्यकाका तीन कारागार पाइएन भने यस्ता कुख्यात कैदी–बन्दी उपत्यका नजिकका कास्की, नुवाकोट, भीमफेदी, काभ्रेलगायत जेल रोज्छन्। तेस्रो रोजाइमा वीरगन्ज, भैरहवा र विराटनगर कारागार पर्छन्।
देशभर ७२ जिल्लामा रहेका ७४ कारागारको भित्री अवस्था झन्डै–झन्डै यस्तै हो। आपराधिक गतिविधिमा सक्रिय भएकालाई कानुनी माध्यमबाट निश्चित अवधि एकै स्थानमा राखेर सुधार गर्ने उद्देश्यले सरकारी रेखदेखमा राख्न जेल र जेल प्रशासन बनाइएको हुन्छ। तर, ‘सुधार गृह' भनिने यस्ता जेलमा मनाङे, चक्रे र गिरीजस्ता कुख्यात ‘गुन्डा नाइके' कै दबदबा छ। उनीहरू जेलभित्र रहँदा त्यहीँबाट आफ्नो समूह परिचालन गर्छन्। आपराधिक संगठन विस्तारको माध्यमका रूपमा समेत कारागार प्रयोग हुन थालेको छ।

नियम छ, कार्यान्वयन छैन


जेलमा जेलर र सुरक्षाकर्मीसहितको सरकारी प्रशासन हुन्छ, जसले सुरक्षा, तोकिएको निकायबाट आएका कैदी–बन्दीलाई थुन्ने, अदालत, प्रहरीजस्ता निकायसँग पत्राचार गर्ने, हरहिसाब राख्नेलगायत काम गर्छ।
बाहिरबाट झट्ट हेर्दा जेलको सम्पूर्ण रेखदेख जिम्मा सरकारी प्रशासनलाई भएजस्तो देखिए पनि भित्र उसको केही जोड चल्दैन। जेलको भान्छा सञ्चालन, कैदी–बन्दीको गतिविधि अनुगमन, सरसफाइ, आफन्त भेटघाटलगायत गतिविधिका लागि जेलभित्रका कैदी–बन्दीबाटै आन्तरिक प्रशासन गठन हुन्छ। जसअन्तर्गत चौकीदार, नाइके र भाइनाइकेको प्रबन्ध गरिएको हुन्छ।

कारागार ऐन, २०१९ र नियमावली, २०२० तथा कारागार व्यवस्थापन कार्यविधि निर्देशिका, २०६१ मै जेल सञ्चालनका लागि सरकारी प्रशासनसँगै कैदी–बन्दीको आन्तरिक प्रशासनको व्यवस्था गरिएको छ। निर्देशिकाअनुसार कारागारको ब्लकपिच्छे एक चौकीदार, ३० बन्दीबराबर एक नाइके र १० बन्दीबराबर एक भाइनाइके नियुक्त हुन्छन्। चौकीदार बन्न सम्बन्धित कारागारमा कम्तीमा लगातार दुई वर्ष बसेको, सजायको ५० प्रतिशत कैद भुक्तान गरिसकेको, कारागारभित्र शान्तिसुरक्षा र सुव्यवस्थासमेत कायम गर्न सक्ने क्षमता भएको, असल चालचलनको व्यक्ति हुनुपर्ने प्रावधान छ। 
कर्तव्यज्यान, जिउ मास्नेबेच्ने, जबर्जस्ती करणी, कैदबाट भागेको, भन्सार चोरी निकासीपैठारी, लागुऔषध कारोबार, भ्रष्टाचार, जासुसी, संरक्षित वन्यजन्तु र पुराताŒिवक वस्तुसम्बन्धी मुद्दामा जेल परेकालाई भने निर्देशिकाले आन्तरिक प्रशासनका लागि अयोग्य ठहर्यासएको छ। तर, निर्देशिकाको यो प्रावधान व्यवहारमा देखिँदैन।
आन्तरिक तथा बाह्य प्रशासनले नै ‘आर्थिक र शारीरिक शोषण गरेको' भन्दै आन्दोलनमा उत्रिएको नख्खु कारागार ‘सी' ब्लकका चौकीदार अस्थानी मगर लागुऔषध कारोबार अभियोगमा जेल परेका हुन्। नख्खुको ‘डी' ब्लकमा पनि लागुऔषधमै जेल परेका मनोज लामा चौकीदार छन्। यस्तै प्रवृत्ति अन्य जेलमा पनि छ। केन्द्रीय कारागारमा लागुऔषध मुद्दाका बिच्चा तामाङ, डिल्लीबजारमा कर्तव्यज्यान मुद्दाका दीपक सुनुवार र कर्मा घले चौकीदार छन्।

निर्देशिकामा चौकीदार, नाइके र भाइनाइके ‘जेलप्रमुखको विश्वासिलो हुनुपर्ने' उल्लेख छ। आन्तरिक प्रशासन नियुक्ति क्रममा यही प्रावधानको फाइदा उठाउने गरिन्छ। अन्य नियमले जे भनेको भए पनि जेलप्रमुखको विश्वासपात्रलाई नै प्रशासनको जिम्मा लगाउनुपर्ने प्रावधान टेकेर प्रायः लागुऔषध, कर्तव्यज्यानजस्ता गम्भीर अपराधमा संलग्नलाई नै आन्तरिक प्रशासनको जिम्मा लगाइन्छ।
र, यसैको फाइदा उठाउँछन्, ‘गुन्डा नाइके'हरू।
उनीहरू जेलमा आफ्नो समूहको हालीमुहाली कायम राख्न चौकीदार, नाइके, भाइनाइकेलगायत आन्तरिक प्रशासनको सम्पूर्ण तहमा आफ्नै मान्छे भर्ना गराउँछन्। आन्तरिक प्रशासन हेर्ने मान्छे आफ्नै भएपछि जेलभित्र स्वतः उनीहरूको नियन्त्रण कायम हुन पुग्छ। यसका लागि जेल प्रशासनलाई पैसा खुवाउने प्रवृत्तिसमेत छ। खासमा चौकीदार, नाइके र भाइनाइके नियुक्त हुन जेल प्रशासनलाई पैसा खुवाउनुपर्ने भएकैले त्यसमा गुन्डा हाबी भएका हुन्।
‘सामान्य कैदी–बन्दीसँग पैसा खुवाउने हैसियत हुँदैन, गुन्डाहरूले मात्र यसो गर्छन्,' कारागार प्रशासनबारे जानकार एक सुरक्षा अधिकारीले भने, ‘उनीहरू आफैं पैसा खुवाएर आएपछि कैदीहरूबाट असुल्न थाल्छन्।'

नख्खु, केन्द्रीय कारागार र डिल्लीबजारका कैदी–बन्दीसँगको कुराकानीबाट बिरामी नभए पनि जेल–चिकित्सकको सिफारिस बनाइदिएर बाहिर पठाउने नाममा जेलभित्र पैसा असुल्ने गरिन्छ। यसका लागि बाहिर बिताउने अवधि हेरेर न्यूनतम २५ देखि ५० हजार रुपैयाँ बुझाउनुपर्छ। 
पैसा बुझाउनेले चाहेको समय र चाहेको अस्पतालमा चाहेको अवधि बिताउन पाउँछन्। जस्तो कि, कारागारभित्र हुँदा चक्रे मिलन उपचार बहानामा पटकपटक टिचिङ अस्पताल जाने गर्थे। त्यहाँ उनी दिनभरि आफ्नो समूहका सदस्यसँग भेटघाट गरेर बेलुकी कारागार फर्कन्थे।
‘जेलभित्रै भेटघाटका लागि असीमित समय प्राप्त गर्न, जेलभित्र व्यक्तिगत प्रयोग गर्न प्रतिबन्ध लगाइएका मोबाइल, टेलिभिजन, फ्रिजजस्ता सामग्रीको सेवा लिन र आफूले चाहेअनुसार जेल सरुवा लिन पनि पैसा खुवाउनुपर्छ,' डाँका मुद्दामा केन्द्रीय कारागारमा सजाय काटिरहेका एक कैदीले भने।

 

जेलभित्रै किन चल्छ घूस?


जेल प्रशासनबारे जानकारका अनुसार बाह्य प्रशासनमार्फत जेलको भित्री प्रशासन सञ्चालन हुनुपर्ने हो। नेपालका अधिकांश जेलमा भने यसको ठिक उल्टो हुन्छ। अधिकांश जेलको बाह्य प्रशासन कैदी–बन्दीको आन्तरिक प्रशासनबाट बढी प्रभावित हुन्छ।

बाह्य प्रशासनलाई आफूअनुकूल परिचालन गराउन भित्री प्रशासनमा पकड जमाउने गरिन्छ। मनाङे र चक्रेजस्ताले चौकीदार, नाइके र भाइनाइकेको नियुक्तिमा आफ्नो प्रभाव स्थापित गर्ने यसैका लागि हो, ता कि कारागारभित्र आफू र आफ्नो समूहको राज चलोस्, उपचार बहानामा कहिले गेस्ट हाउस त कहिले अन्तै गएर मोजमस्ती गर्न पाइयोस्। यो प्रपञ्चमा उनीहरू प्रायः सफल भइरहेकै छन्।
यस्तो कसरी सम्भव छ त? कारागार व्यवस्था विभागका अधिकारी यसबारे औपचारिक रूपमा केही बोल्न चाहँदैनन्। अनौपचारिक कुराकानी क्रममा विभागका एक वरिष्ठ अधिकारीले जेलको आन्तरिक प्रशासनका नाममा भइरहेको सम्पूर्ण बेथिति स्वीकार गर्दै ‘यसको संरचनामा पुनर्विचार गर्ने बेला भएको' बताए।
‘जेलका कर्मचारीबाट भ्रष्टाचार भइरहेको कुरा आउने गर्छ,' उनले भने, ‘कर्मचारीमाथि कारबाही मात्र समाधानको बाटो होइन, यसका लागि सबै पक्षको पुनःसंरचना आवश्यक छ।'
महानिर्देशक शम्भु कोइराला बिदामा रहेकाले सम्पर्कमा आउन सकेछन्।
गृह मन्त्रालयका सह–प्रवक्ता गंगाबहादुर क्षत्री भने जेल प्रशासनको बद्मासीभन्दा कारागारको क्षमता कम हुँदा यस्ता घटना भइरहेको दाबी गर्छन्। कारागारको भौतिक क्षमता विस्तार गर्न नसक्दा पायक पर्ने र सुविधायुक्त जेलमा सरुवा माग बढी आउने गरेको उनले बताए।
‘माग व्यवस्थापन गर्न नसकेपछि कैदी–बन्दीले अनेक बहाना निकालेर तालाबन्दी गर्ने गरेका छन्,' उनले दाबी गरे, ‘तालाबन्दीको मुख्य कारण जेलभित्रको सुविधाले नै निम्त्याएको देखिन्छ, यसको समाधानका लागि कारागार सुधारको प्रयास जारी छ।'

कैदीबाटै अतिरिक्त आम्दानी


गृह प्रशासनमा पहिले कारागारको पोस्टिङलाई ‘जगेडा बराबर' मान्ने चलन थियो। कसैलाई सजाय दिनुपरे कि त जगेडा राखिन्थ्यो या कारागारमा खेदिइन्थ्यो।
अहिले त्यस्तो अवस्था छैन।
आर्थिक पाटोतिर चासो राख्नेहरू अचेल कारागार प्रशासनमा पुग्दा निराश हुँदैनन्। कारागारभित्र कैदी–बन्दीलाई अतिरिक्त सुविधा उपलब्ध गराए, चाहेको स्थानमा जेल सरुवा गरे, अस्पताल जाने बहानामा गेस्टहाउस वा होटल पुर्या ए राम्रै अतिरिक्त कमाइ हुन्छ। खानाको मेस सञ्चालन, कपडा, रासन खरिद, जेलभित्र सुपथ मूल्य पसल सञ्चालनलगायत पनि जेल प्रशासनमा हुने अतिरिक्त आम्दानीका आकर्षक पाटा हुन्।
नख्खु कारागारमा पटकपटक हुने विद्रोहको मुख्य कारण आर्थिक पाटो नै हो। एक वर्षअघि विद्रोह हुँदा कैदी–बन्दीले कानुनअनुसार आर्थिक सुविधा नपाएको, कारागारभित्र सुपथ मूल्य पसलमा महँगो दाममा सामान किन्नुपरेको, कानुनअनुसार पाइने सुविधाका लागि समेत चौकीदार, नाइके र जेलरलाई पैसा खुवाउनुपरेको आरोप लगाएका थिए। यसपटकको विद्रोहमा पनि लगभग यिनै कारण देखिएका छन्।
नख्खु कारागारको ‘सी' ब्लकका कैदी–बन्दीले चौकीदारले पैसा नपाएसम्म आफ्नो निवेदन जेल प्रशासनमा नलैजाने, गुणस्तरहीन खाना खुवाउने र जेलभित्रको सुपथ मूल्य पसलमा महँगो दाममा सामान बेच्ने गरेको गुनासो गरेका थिए। सुरुमा जेल प्रशासनले उनीहरूको सुनुवाइ गरेन। आक्रोशित कैदी–बन्दी विरोधमा ओर्लिए। चार दिनसम्म उक्त ब्लक नै कब्जामा लिए। उनीहरूको कब्जाबाट मुक्त गराउन प्रशासनले केही बन्दीको सरुवा गरेको छ।
यसअघि डिल्लीबजार, पाँचथर, सुनसरी, उदयपुर, कास्की, भरतपुर, जुम्लालगायत जिल्ला कारागारमा भएका विद्रोह र झडपको कारण पनि नख्खुको भन्दा फरक थिएनन्। यी सबै घटनाले जेल प्रशासनले चौकीदारमार्फत अन्य शक्तिहीन कैदी–बन्दीमाथि आर्थिक तथा शारीरिक शोषण गर्ने गरेको पुष्टि गर्छन्।
यति हुँदा पनि जेल प्रशासन सुधारलाई न कारागार व्यवस्था विभाग, न गृह मन्त्रालयले प्राथमिकतामा राखेको छ। देशभरिका १५ वटाभन्दा बढी जेलभित्रै झडप र विद्रोह भए पनि त्यसको मूल कारणको खोजी र समाधानमा यी दुवै निकाय मौन रहँदै आएका छन्। जेल प्रशासन सुरक्षालाई देखाएर टकटकिन्छ भने सुरक्षाको नेतृत्व लिएकाहरू जेल प्रशासनतिर औंला तेर्स्याएर उम्कन पल्केका छन्। पाँच वर्षअघि केन्द्रीय कारागारमा बन्दी रहेका युनुस अन्सारीलाई भेट्ने बहानामा भारतीय सुटर मनमितसिंह भाटियाले कारागारभित्रै छिरेर गोली हानी हत्या प्रयास गरेका थिए। यस्तो संवेदनशील घटनामा पनि तत्कालीन जेलर क्षेत्रबहादुर भण्डारी र तत्कालीन सुरक्षा प्रमुख डिएसपी वीरेन्द्रकुमार बस्याल कारबाहीको दायरामा नतानिनु राज्य संयन्त्रले कायम राखेको दण्डहीनताको बलियो प्रमाण हो। 
गृहका सह–प्रवक्ता क्षत्री भने कारागार प्रशासनले बद्मासी गर्ने गरेको स्वीकार गर्दैनन्। ‘कसैले व्यक्ति र उसले गरेको गलत काम किटान गरी उजुरी गर्छ भने मन्त्रालय छानबिन गर्न तयार छ,' उनले भने, ‘दोषी देखिए कारबाही हुन्छ पनि।'
जेलबाटै धन्दा
२०६९ जेठ १८ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमलाई ललितपुरको बंगलामुखी मन्दिर दर्शन गरेर सर्वोच्च जाने क्रममा शंखमूल टाउन प्लानिङमा गोली हानेर हत्या गरियो। प्रहरीका सबै अनुसन्धानविज्ञ यही घटना अनुसन्धानमा लागे। भएभरका साधनस्रोत लगाइयो। प्रहरीले जानेसम्मका आधुनिक अनुसन्धान पद्धति प्रयोग गरिए।
अनुसन्धानको प्रारम्भिक स्रोत घटनामा प्रयोग भएको मोटरसाइकल थियो। त्यो फेला परे पनि चोरीको खुल्यो।
दुई वर्ष उपलब्धिविहीन रहँदै आएको बम हत्या अनुसन्धानमा अहिले झिनो आशा देखिएको छ। अनुसन्धानमा संलग्न विश्वस्त स्रोतअनुसार बम हत्या प्रकरणमा खुलेको नयाँ विवरण केन्द्रीय कारागारका एक कैदीतिर मोडिएको छ। ‘अनुसन्धान क्रममा खुलेको पछिल्लो विवरण निकै विश्वसनीय छ,' स्रोतले भन्यो, ‘बमको हत्या योजना केन्द्रीय कारागारभित्र बनेको देखिन्छ।'
तीन वर्षअघि राजधानीको लाजिम्पाटस्थित ग्र्यान्ड शिखर म्यानपावरमा गोली चल्यो। अनुसन्धान क्रममा उक्त म्यानपावरका सञ्चालक फहिम साहसँग एक समूहले ५० लाख रुपैयाँ मागेको खुल्यो। कार्यालयमा जडान क्लोजसर्किट क्यामेरामा कैद दृश्य हेरेपछि गोली चलाउनेहरू खुट्टिए। केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न आरोपमा बिलबहादुर गुरुङ, गोपीमान गुरुङ, आशा गुरुङ र दीपक पुनलाई पक्राउ गर्योघ। उनीहरूलाई पक्राउ गरेपछि थाहा भयो, मुख्य नाइके त जेलभित्रै रहेछन्। उनीहरूको सम्पर्क सुनसरीको झुम्का कारागारमा शृंखलाबद्ध अपहरणको कैद सजाय काटिरहेका भारतीय अपराधी उदय सेठ्ठीसँग जोडिएको अनुसन्धानबाट खुल्यो। सेठ्ठीले जेलभित्रैबाट उनीहरूलाई पेस्तोल उपलब्ध गराइदिएको र कारागारभित्रै रहेका टासी गुरुङले सेठ्ठीका लागि समूह जुटाइदिएको समेत पत्ता लाग्यो।

यस्ता घटनाको सूची लामै छ।

लागुऔषध र हातहतियार खरखजाना अपराधमा जेल परेका चक्रे मिलनले जेलभित्रैबाट आफ्नो समूह सक्रिय बनाइरहे। महाराजगन्जको हेबिट्याट डेभलपर्स कम्पनीका सञ्चालकमाथि आक्रमण भएपछि जेलभित्र चक्रेको सक्रियता खुलेको थियो। चक्रेले मागेको २ करोड रुपैयाँ फिरौती नदिँदा उनका सहयोगीले आक्रमण गरेको अनुसन्धानबाट खुल्यो। यति मात्र होइन, कम्पनीका सञ्चालक र चक्रेबीच केन्द्रीय कारागारमै पटकपटक छलफलसमेत भएको थाहा भयो।
तीन वर्षअघि केन्द्रीय कारागारमै रहेका टासी लामा अन्नपूर्ण होटलस्थित कफीसपमा कफी खाँदै गरेको अवस्थामा फेला परेका थिए। उपत्यकामा भएको शृंखलाबद्ध बम विस्फोटको अनुसन्धान क्रममा ती सबै गतिविधि डिल्लीबजार कारागारमा रहेका सशस्त्र समूह ‘नेपाल डिफेन्स आर्मी' का अध्यक्ष रामप्रसाद मैनालीले गराएको खुलेको थियो।
व्यापारी महेश सारडाको अपहरण योजना पनि केन्द्रीय कारागारमै बनेको थियो। उनी २०६६ जेठ २२ मा राजधानीको थापाथलीबाट अपहरणमा परेका थिए। उनी अपहरणमुक्त भएपछि पक्राउ परेका निरञ्जन खनालको बयानबाट योजनाकार त्यही जेलमा रहेका अमर टन्डन रहेको खुलेको थियो। प्रहरीले पाएको पछिल्लो जानकारीअनुसार केन्द्रीय कारागारमा रहेका टन्डन पछिल्लो समय पुन सक्रिय हुने प्रयासमा छन्। जेलभित्र पनि निष्त्रि्कय गराउन नसकेपछि अहिले टन्डनलाई केन्द्रीय कारागारको गोलघरमा राखेर नियन्त्रण गर्ने प्रयासमा सुरक्षा संगठन लागेको छ।
सुधारगृह भनिने जेलभित्र बनेका ‘काला योजना' का केही फेहरिस्त हुन् यी। अपहरण, हत्या योजनादेखि राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने आपराधिक योजनाको मूलथलो कारागार बन्दै गएको पटक–पटकका यस्ता घटनाले पुष्टि गर्छन्।
‘अनुसन्धान क्रममा केही गम्भीर घटनाको योजनास्थल कारागार र योजनाकार त्यहीँका कैदी–बन्दी रहेको खुलेका छन्,' महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की स्विकार्छन्। कारागारमै गम्भीर प्रकृतिका अपराध योजना बन्न थालेपछि उनीहरूका गतिविधि र सम्पर्क जालो केलाउन सिसिटिभी जडान गरी सादा पोसाकमा प्रहरी खटाएको उनले जानकारी दिए। 
‘भौतिक संरचना र अव्यवस्थित भेटघाटका कारण जेलहरुमा केही अप्ठ्यारा अवस्य छन्,' कार्कीले प्रस्ट्याए, ‘आपराधिक गतिविधिमा कहलिएकाहरूमाथि निगरानी गरिरहेकै छौं।'

प्रकाशित: ३१ आश्विन २०७१ १९:४४ शुक्रबार