पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय छन्। राजनीतिक यात्राका क्रममा उनले लामो समय नेकपा (एमाले) को नेतृत्व तहमा रहेर काम गरे।
जेनजी आन्दोलनका क्रममा देशभर मानवीय तथा भौतिक क्षति भयो। त्यस क्रममा उनको घरमा समेत आगजनी भयो। जेनजी आन्दोलनपछि बदलिएको नेपालको राजनीतिक परिवेश, आन्दोलनका क्रममा भएको हिंसा र भौतिक क्षति तथा त्यसले जन्माएका राजनीतिक प्रश्नमा केन्द्रित रहेर नागरिक फ्रन्टलाइनका लागि नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीद्वारा पूर्वप्रधानमन्त्री नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश:
पछिल्लो समय तपाईं सार्वजनिक कार्यक्रममा कम देखिनुहुन्छ। अहिले दिन कसरी बिताइरहनुभएको छ?
राजनीतिमा होमिएको मान्छेको समय राजनीतिक गतिविधिमै बित्ने रहेछ। पारिवारिक काममा लाग्नेको ध्यान परिवारमा, जागिरमा लाग्नेको जागिरमा, व्यवसायमा लाग्नेको व्यवसायमा र पत्रकारितामा लाग्नेको ध्यान पत्रकारितामा हुन्छ। राजनीति धेरै कुरासँग जोडिएको हुन्छ। राजनीति देश, जनता र समाजसँग जोडिनुपर्छ। त्यसैले अहिले मेरो समय अध्ययन, चिन्तनमनन, भेटघाट, संगठन निर्माण, संगठन परिचालन र कार्यकर्तासँगको भेटघाटमै बितिरहेको छ।
सञ्चारमाध्यममा पनि तपाईंको उपस्थिति केही कम भएको हो?
पार्टीका कार्यक्रममा सहभागी भइरहेकै छु। बोलाएको ठाउँमा पनि जान्छु तर उपयुक्त नलाग्ने ठाउँमा जान्नँ। मिडियामा भने अलि कम जाने र त्यसलाई केही हदसम्म एभ्वाइड गर्ने गरेको छु। मिडियाका पनि दुई पक्ष छन्।
जस्तो?
एउटा बाटोघाटोमा भेट्नेबित्तिकै प्रश्न सोधिहाल्ने शैली मलाई मन पर्दैन। अर्को म शिष्ट, संस्कारयुक्त र सकारात्मक अन्तर्वार्ताको पक्षमा छु। नकारात्मक, अनावश्यक र प्रोभोकेटिभ किसिमका प्रश्न मलाई मन पर्दैनन्।
अघिल्लो वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तपाईंको घरमा पनि आगजनी र क्षति भएको थियो अहिले पुनर्निर्माण गरेर बस्न थाल्नुभएको छ?
मेरो मात्रै होइन, माइलो, कान्छो भाइको घर, सिंगै दाजुभाइका घर जलाइए। कान्छो भाइको घरको त एउटा सानो टुक्रासमेत बाँकी रहेन।
मेरो सबैभन्दा ठुलो नोक्सानी भनेको मसँग भएका किताब र दस्ताबेज हुन्। केही किताब जोगिएका छन्। दस्ताबेजहरू त राष्ट्र र इतिहासका लागि पनि अत्यन्त अमूल्य निधि थिए। घरका सामान या त जलाइए, या लुटेर लगिए। लुगाफाटा, सामान र उपहारसमेत लिएर गए। अहिले पनि केही दराज खुल्न सकेका छैनन्। घर पूर्णरूपमा तयार भइसकेको छैन तर बस्नलायक भएको छ।
कति समय घरबाहिर बस्नुभयो?
झन्डै तीन–चार महिना बाहिर बस्नुपर्यो। कहिले भक्तपुर, कहिले काठमाडौं, कहिले पाटन र कहिले साथीहरूको घरमा बसियो। म एक ठाउँमा, श्रीमती अर्को ठाउँमा र परिवारका अरू सदस्य अर्को ठाउँमा बस्नुपर्ने अवस्था आयो।
त्यो संकटका बेला अन्य राजनीतिक दलका नेताहरूसँग सम्पर्क भएन?
२४ गते तोडफोड र आगजनी भयो। दुई दिनपछि २६ गते राष्ट्रपतिज्यूले राष्ट्रपति भवनमा बोलाउनुभयो। प्रचण्ड कमरेड (पुष्पकमल दाहाल) पनि त्यहाँ हुनुहुन्थ्यो। विभिन्न दलका नेतालाई बोलाइएको थियो। हामीले राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न कांग्रेस र एमालेका नेताहरूलाई पनि बोलाउनुपर्छ भनेर जोड दिएका थियौं। कांग्रेसका नेताहरू आउन तयार नभए पनि प्रतिनिधित्व होस् भनेर बोलाउने प्रयास गरियो। त्यसमा हाम्रो भूमिका महत्त्वपूर्ण रह्यो।
त्यतिबेला राष्ट्रपतिले चालेका कदम तपाईंहरूकै सल्लाहमा भएका हुन्?
हामीले संसद् विघटन गर्नु हुँदैन भनेका थियौं। संसद्को माध्यमबाटै सबै कुरा गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो। विघटन गर्नैपर्ने अवस्था आयो भने सरकार बनेपछि वा सरकारले अनुमोदन पाएपछि चुनावका लागि विघटन गर्न सकिन्छ भन्ने थियो। राष्ट्रपतिले हाम्रो कुरालाई पनि ध्यानमा राखेर नै कदम चाल्नुभएको हो।
त्यतिबेला तपाईंहरू रातभरि छलफलमा बस्नुभएको थियो? कुराचाहिँ के भएको थियो?
राति ९ बजे शीतल निवास पुगेको थिएँ, बिहान ४ बजे बाहिरिएको हो। प्रचण्ड र म रातभरि नै थियौं। राष्ट्रपति, प्रधानसेनापति र हामी केही व्यक्तिबिच मुख्य कुराकानी भयो। पछि राष्ट्रपति र प्रधानसेनापतिले पछि गृहमन्त्री हुनुभएका ओमप्रकाश अर्याल, सुशीला कार्कीसँग पनि छुट्टै कुराकानी गर्नुभएको थियो।
त्यहाँ प्रधानसेनापतिको उपस्थितिलाई तपाईंले कसरी लिनुभयो?
हामीले उहाँलाई बोलाएका थिएनौं। प्रधानसेनापति किन आउनुभयो र त्यति धेरै चासो किन राख्नुभयो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ तर उहाँले दलहरूलाई बेवास्ता नगर्न, दलको शक्तिलाई कम नआँक्न आग्रह गर्नुभएको थियो। दलहरूको गाउँगाउँसम्म संगठन र जनता–कार्यकर्ता छन्। उनीहरूले सडकमा मानिस उतार्ने हो भने गृहयुद्धको अवस्था आउन सक्छ र त्यसलाई सम्हाल्न कठिन हुन्छ भन्ने उहाँको भनाइ थियो।
अर्को प्रश्न पनि मनमा आयो? त्यत्रो आगजनी हुँदा नेपालको सुरक्षा निकायले के गर्यो?
त्यतिबेला ठाउँ र समय हेरेर कुरा गर्नुपर्छ भन्ने लागेर हामी त्यसमा प्रवेश गरेनौं। तर त्यो प्रश्न हाम्रो दिमागमा भने घुमिरहेको थियो।
त्यतिबेला पूर्वराजा ज्ञानेन्द्रलाई पुनः फर्काउने हल्ला पनि चलेको थियो। शीतल निवासमा त्यसबारे छलफल भयो?
छलफल भएन तर बाहिर त्यस्तै हल्ला सुनेका कारण हामी केही आतिएका थियौं। राजतन्त्र फर्काउनु भनेको दुनियाँका सामु पनि हामीले टाउको देखाउन नसक्ने अवस्था हो। हामीले जनताको सार्वभौम सत्ता स्थापित गरिसकेका छौं र जनताबाट निर्वाचित सरकारको आवश्यकता स्वीकार गरिसकेका छौ।
इतिहासलाई पछाडि फर्काउँदै जाने हो भने कहाँसम्म पुग्ने ? राणाकालसम्म पुग्ने हो वा कहाँसम्म ? त्यसैले अब पूर्वराजाले आफूलाई के फाइदा हुन्छ भन्ने होइन, देश र जनतालाई के फाइदा हुन्छ, देशलाई कसरी राम्रो ढंगले अगाडि बढाउन सकिन्छ भन्ने सोच्नुपर्छ।
एक वर्षपछि फर्केर हेर्दा जेनजी आन्दोलनको मूल कारण के देख्नुहुन्छ? कतिपयले विदेशी प्रभाव वा चलखेलको कुरा गर्छन्?
अहिले नै ठ्याक्कै निष्कर्षमा पुग्न सकिने अवस्था छैन। बाहिर धेरै कुरा आएका छन्। त्यसबारे वस्तुगत र यथार्थ अध्ययन, अनुसन्धान र विश्लेषण गर्नुपर्छ। त्यसपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ। मलाई यो आन्दोलन हुन्छ भन्ने कल्पना थिएन र जानकारी पनि थिएन। अरूलाई जानकारी थियो भने पनि मलाई सेयर गरेनन् तर भदौ २३ गते युवाहरूले अघि सारेका माग आफैंमा बेठिक थिएनन्।
सुशासन कायम, भ्रष्टाचारविरुद्धको माग थियो र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग थियो। त्यसलाई सरकारले सकारात्मक रूपमा सम्बोधन गरिदिएको भए त्यहाँसम्म नपुग्न सक्थ्यो। त्यतिबेलाको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीजीको अहंकारले आन्दोलन भड्किने बहाना बन्यो। त्यसपछि आन्दोलनलाई हाइज्याक गरेर तोडफोड र सम्पदामाथि विनाश गरियो त्यो अत्यन्तै निन्दनीय छ।
तपाईंलाई यो योजनाबद्ध थियो भन्ने लाग्छ?
त्यो त योजनाबद्ध नै देखिन्छ। नभए कुनाकाप्चाका घर खोजीखोजी आक्रमण गर्ने, एकै किसिमका साधन प्रयोग गर्ने जस्ता काम कसरी भए ? कहीं न कहींबाट सञ्चालित भएको देखिन्छ तर कसले सञ्चालन गर्यो भन्ने अहिले थाहा छैन। इतिहासले त्यसलाई पत्ता लगाउनेछ र लगाउनुपर्छ।
तपाईंहरू पनि विगतमा यस्तैयस्तै आन्दोलन गरेर शासन सत्तामा पुग्नु भएको होइन र?
हामीले गरेका आन्दोलनमा सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत, संसद् भवन, सरकारी तथा निजी सम्पत्ति जलाउने, लुट्ने र पार्टी कार्यालयमा तोडफोड गर्ने काम कहिल्यै गरिएको छैन। यो अत्यन्तै निन्दनीय हो। यस्तो प्रवृत्तिमा लागेकालाई दण्डित गरिएन भने भोलि यस्ता घटना दोहोरिँदा के जवाफ दिने ? त्यसैले सरकार यसमा जिम्मेवार बन्नुपर्छ। र, दोषीमाथि कारबाही हुनुपर्छ।
पुराना दल र तत्कालीन सरकारले गर्नुपर्ने काम नगरेकाले युवा पुस्तामा आक्रोश बढेको र सडकमा आएको भन्नेचाहिँ लाग्दैन?
सरकार र दलका गतिविधिबाट जनतामा असन्तुष्टि बढेको थियो। हाम्रो राज्य र समाजमा धेरै विकृति र विसंगति छन्। त्यसलाई सम्बोधन गर्ने र मुलुकभित्रै युवालाई सीप र रोजगारी दिन नसक्नुले आक्रोश बढेको थियो। जति हुनुपर्ने हो, त्यति नभएको चाहिँ पक्कै हो तर केही पनि भएन भन्नु पनि गलत हो।
तपाईंहरूकै पुस्ताले लामो समय शासन गर्दा कुरा धेरै काम कम हुँदाको आक्रोश पोखेको होइन र?
सबैलाई एउटै डालोमा राखेर हेर्नु हुँदैन। जनताले हरेक व्यक्तिले के गर्यो भनेर पनि हेर्नुपर्छ। जनताको नाममा अपराध गर्ने तत्त्व पनि हुन्छन्। सबै जनता उस्तै हुँदैनन् र सबै नेता पनि खराब हुँदैनन्। समाजमा असल र खराब दुवै हुन्छन्। राजनीतिमा पनि असल र खराब दुवै हुन्छन्। सरकारमा पनि राम्रो र नराम्रो दुवै हुन सक्छ।
तपाईं र तपार्ईंहरूको पुस्ताले राम्रो काम गरेको दाबी गरे पनि जनताले त्यस्तो अनुभूति गरेनन्? तपाईं आफ्नो कामको मूल्यांकनचाहिँ कसरी गर्नुहुन्छ?
मैले केही काम गरेको छु। नेपालको सम्मान र विश्वको ध्यान नेपालतर्फ आकर्षित गर्न जलवायु परिवर्तनको विषयमा सगरमाथाको आधार शिविरमा जोखिम मोलेर बैठक गराएँ। घरबार नभएका मानिसका लागि जनता आवास कार्यक्रमअन्तर्गत राज्यले घर उपलब्ध गराउने सोच अघि बढाएँ।
काठमाडौंको पेट्रोल र डिजेलमा भइरहेको खर्च घटाउनेदेखि छोटो बाटोबाट काठमाडौं पुग्ने फास्ट ट्य्राकको अघि बढाए। गर्ने र नगर्ने उस्तै हुन थाले भने मूल्यांकन कसरी हुन्छ ? काम गर्नेलाई प्रोत्साहन र मूल्यांकन गर्नुपर्छ।
मूल्यांकन त जनताले निर्वाचनमा गर्ने हुन्। त्यो त गरेनन् नि, होइन?
कहिलेकाहीं आवेगमा हावाहुरी आउँछ। म जनतालाई धेरै आरोप लगाउने पक्षमा छैन। बरु त्यसबाट हामीले शिक्षा लिनुपर्छ र यस्ता अवस्थाको सामना कसरी गर्ने भनेर सिक्नुपर्छ। जनताको चाहना राम्रो होस् भन्ने हुन्छ। नयाँ सरकार बनाउँदा पनि जनताले राम्रो काम गरोस् भन्ने चाहना राखेका थिए र छन्। त्यसैले जनताको आवाज सुन्नुपर्छ। सरकार जनताप्रति जिम्मेवार बन्नुपर्छ।
अहिलेका प्रधानमन्त्री र सरकारलाई तपाईंले कसरी हेर्नुभएको छ?
अहिलेका प्रधानमन्त्रीजीका आफ्नै राम्रा पक्ष, विशेषता र भावना होलान्। तर मेरो उहाँसँग सम्बन्ध र सहकार्य भएको छैन। सपथग्रहण कार्यक्रममा बधाई दिएकोबाहेक दुई शब्द कुरा गर्न पाएको छैन। उहाँको पार्टी सभापति (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने) सँग भने भेटघाट र छलफल भइरहेको छ।
पछिल्लो बैठकमा सरकारको आन्तरिक विषयभन्दा राष्ट्रिय मुद्दामा छलफल भयो। विशेषगरी रसुवाको बाढी र भोटेकोसी बाढीका विषयमा छलफल भयो। सर्वदलीय राजनीतिक संयन्त्र बनाउने र संसद्को विशेष समिति बनाउने विषयमा सहमति भएको छ।
राष्ट्रिय सरोकारका विषयमा हातेमालो गर्दै अघि बढ्ने कुरा भएको छ। सबै ठाउँमा असहयोग वा नकारात्मक सोच राख्नुहुँदैन। यथार्थवादी हुनुपर्छ, आग्रहपूर्ण होइन। राम्रो होस् भन्ने चाहनुपर्छ र राजनीतिक संस्कार देखाउनुपर्छ।
प्रधानमन्त्रीले संसद् र दललाई बेवास्ता गरेको जस्तो देखिएको छ। तपाईंलाई के लाग्छ?
प्रधानमन्त्री संसद् र जनताबाहिर जान मिल्दैन। दलीय व्यवस्था नभए निर्दलीय व्यवस्था हुन्छ, त्यसपछि राष्ट्रिय पञ्चायत आउला। अझ पुरानो निरंकुश शासनमा जाने हो भने आफ्ना मानिसको मात्र भेला गरिन्छ। जनतासँग जोडिएको र जनताको चुनावबाट आउने व्यवस्था हो भने संसद् र जनप्रतिनिधिसँग सम्बन्ध राख्नुपर्छ।
प्रधानमन्त्रीको आफ्नै स्वभाव होलान् तर मान्छेका स्वभावले पनि कहिलेकाहीं अप्ठ्यारोमा पार्छ। त्यसलाई उहाँले सुधार्नुपर्छ। जिम्मेवारीमा आइसकेपछि सिक्ने चाहना हुनुपर्छ, अरूका राम्रा कुरा सुन्ने र कमजोरी सुधार गर्ने बानी हुनुपर्छ। स्वभावका नाममा विधि र प्रक्रियालाई बेवास्ता गर्न त पाइँदैन।
अहिले संघीयताका विषयमा पुनर्विचार र परिवर्तनको कुरा पनि उठिरहेको छ। अझ राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनबाटै त्यसको विपक्षमा उभिएको छ?
संविधान समाप्त गर्ने कुनै पनि षड्यन्त्र स्वीकार गर्न सकिँदैन। संघीयतालाई सुधार्न सकिन्छ तर संघीयता समाप्त गर्ने काम स्वीकार्य छैन। समावेशिता हटाउने प्रयास पनि स्वीकार गर्न सकिँदैन।
हामी अझ समुन्नत, परिष्कृत र सुधारिएको लोकतन्त्रको पक्षमा छौं। संसारका विभिन्न देशका अभ्यासबाट सिकेर नेपालको वस्तुस्थितिसँग मेल खाने लोकतन्त्र निर्माण गर्नुपर्छ। हामी समाजवादप्रति पनि प्रतिबद्ध छौं।
समाजवाद सामाजिक न्याय र जनताको समृद्धिको सिद्धान्त हो। जनतालाई केन्द्रमा राखेर सामाजिक न्याय र आर्थिक समृद्धिका लागि काम गर्नुपर्छ।
अहिले संसद्, सरकार र रास्वपाको हातमा छ। उसले यी व्यवस्थाका विषयमा फरक धारणा राख्यो भने तपाईंहरूको प्रतिबद्धताले मात्रै के अर्थ राख्छ र?
रास्वपाभित्रका धेरै कार्यकर्ता र सदस्य पनि यी मान्यतामा स्पष्ट हुनुपर्छ भन्ने लाग्छ। भावावेशमा कुनै पनि निर्णय लिनु वा गर्नु हुन्न। त्यसले दीर्घकालसम्म कति असर गर्छ भन्ने ख्याल गर्नुपर्छ।
संविधान निर्मातामध्येका केही नेताले संविधानको भावनाविपरीत अभिव्यक्ति दिइरहेका छन्। कसैले म हिन्दु भन्दै छन्?
कसैले संघीयता नहुनु राम्रो भन्छन्, कसैले गणतन्त्र नै हुनुहुँदैन भन्छन्। आफ्नो मान्यता राख्न त पाइन्छ। हिन्दु भन्नु कसरी संविधानविपरीत हुन्छ ? उहाँ हिन्दु हुनुहुन्छ भने आफू हिन्दु हुँ भन्न सक्नुहुन्छ। हाम्रो परिवार पनि धार्मिक हिसाबले हिन्दु परिवार हो।
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक देश हो। सबैले आफ्नो धर्म र संस्कृतिको पक्षपोषण गर्न सक्छन् तर अरूको धर्म, संस्कृति, भाषा वा जातिप्रति चोट पुर्याउनुचाहिँ हुँदैन।
निर्वाचनको मुखमा चुनाव जित्न पार्टी एकता गर्नुभयो, परिणाम पनि अपेक्षाअनुकूल आएन, एकीकरणको काम पनि अलपत्रै छ, होइन?
विभिन्न राजनीतिक र सामाजिक घटनाक्रमले असर पारेको छ। २२–२५ वटा घटकलाई मिलाउनु सजिलो हुँदैन। तर अब यो ढिलाइलाई धेरै लामो समय जान दिनु हुँदैन। प्रदेश तहमा कमिटी बनेका छन्। कतिपय जिल्लाले काम पूरा गरेका छन् र अभियान चलिरहेका छन्। विचार र सिद्धान्तमा समस्या देखिँदैन। संगठनलाई चुस्त–दुरुस्त बनाउनुपर्ने ठुलो आवश्यकता छ।
पार्टी संयोजक मात्रै दौडिरहेको र अरू नेताहरू छायामा परेको जस्तो देखिन्छ?
संयोजकले धेरै दौडनैपर्छ तर काम बाँडफाँट गरेर हामी पनि आआफ्नो जिम्मेवारी पूरा गरिरहेका छौं। पार्टीभित्र सामूहिक नेतृत्वको सिद्धान्त अनुसार बहुमतको निर्णय लागु हुन्छ।
एमालेसँग प्रदेशको सत्ता समीकरणमा भएको सहमति त पछि मात्र थाहा पाउनुभयो होइन?
पहिलेको बैठकमा म पनि थिएँ। त्यतिबेला कर्णाली प्रदेश सरकारको विषयमा सहमति जुट्न सकेको थिएन। नेपाली कांग्रेस, एमाले र हामी तीनै पक्ष सहभागी भएर सरकारमा जानुपर्छ भन्ने हाम्रो चाहना थियो। कांग्रेस र एमालेबिच द्वन्द्व चर्किएपछि हामीले भनेजस्तै केपी ओलीजीले मानेपछि अघि बढ्यौं। सहमतिमै भएको हो।
केपी ओलीसँग तपाईंको पनि संवाद भइरहेको छ?
हामी केपी ओलीसँग मात्र होइन, सबै वामपन्थीलाई एक ठाउँमा ल्याउने पक्षमा छौं। राष्ट्रिय राजनीतिका चुनौती सामना गर्न तयार शक्तिलाई एकताबद्ध बनाउने पक्षमा छौं। जो पार्टीसँग एकता सम्भव छ, एकता गर्छौं। एकता सम्भव छैन भने सहकार्य गर्छौं। विचार नमिलेसम्म र मनभावना नमिलेसम्म हतारमा एकता गर्दैनौं। पहिला जस्तो हतारमा एकता गर्ने र फुर्सदमा पश्चात्ताप गर्नु हुन्न भन्नेमा हामी सचेत छौं।
वामपन्थी एकता बेलाबेलामा चर्चामा आउँछ, प्रयास पनि हुन्छ तर लामो समय टिक्दैन। त्यसका कारण के हुन्?
मानिसको संस्कार र परिस्थिति दुवैले प्रभाव पार्छ। अहिले हामी सबै वामपन्थीलाई मिलाउन चाहन्छौं। आवश्यकता परे लोकतान्त्रिक शक्तिलाई पनि मिलाएर लैजान चाहन्छौं।
निर्वाचन नजिकिँदा पुराना दलहरू चुनाव जित्न नसक्ने भएपछि एक ठाउँमा आउन खोजिरहेका छन् पनि भन्छन् ? त्यस्तो त होइन?
हामी पनि कुनै बेला नयाँ थियौं। २२ वर्षको उमेरमा नयाँ पार्टी बनाइएको हो तर पछि मनमोहन अधिकारीलगायतसँग एकता पनि गर्यौं। तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, सिद्धिलाल सिंह, भरतमोहन अधिकारी र साहना प्रधानलगायत पुराना नेतालाई पनि सम्मान गर्दै एकताबद्ध गर्यौं। पुरानालाई विस्थापित गरेर मात्र हुँदैन। पुरानाले आफ्नो समयमा भूमिका खेलेका छन्। त्यसैले पुरानालाई सम्मान गर्ने र नयाँलाई अघि बढ्न प्रोत्साहित गर्ने सोच हुनुपर्छ। वृद्ध, अधबैंसे र नौजवान तीन पुस्ताको संयोजनले मात्र देश पार्टी र समाज अघि बढ्छ।
तपाईं अहिले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि तयार हुनु हुन्न?
हामी नौजवानलाई पार्टीका विभिन्न ठाउँमा ल्याउने योजनामा छौं। सम्भव भएसम्म ५० प्रतिशतसम्म जिम्मेवारी नौजवानलाई दिने सोच छ। तर नयाँ पुस्ताले पनि लोकतान्त्रिक तरिकाले सबैको विश्वास जित्नुपर्छ। विनम्रता, अरूको कदर गर्नुको साथै जुझारुपन र गतिशीलता पनि चाहिन्छ। अहिले योग्य नौजवान धेरै छन्। उनीहरूलाई अघि बढ्न हौसला दिनुपर्छ। भ्रष्ट, व्यक्तिवादी, अल्छी र पद मात्रै हेर्ने प्रवृत्तिलाई भने निरुत्साहित गर्छौं।
तपाईं नेकपा एमालेको महासचिवका रूपमा १५ वर्ष रहनुभयो। फर्केर हेर्दा त्यो अवधिमा के गर्नुभयो र के गर्न सकिनँ जस्तो लाग्छ?
म २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनेको हुँ। २०२८ सालदेखि झापा आन्दोलनबाट प्रभावित भएँ र २०४६ सालसम्म भूमिगत जीवन बिताएँ। मदन भण्डारीको निधनपछि २०५० जेठ ९ गते महासचिवको जिम्मेवारी पाएँ र २०६५ वैशाखसम्म १५ वर्ष महासचिव रहेँ। तर, महासचिवबाट मलाई कसैले हटाएको होइन, संविधानभसाको निर्वाचन हारेपछि राजीनामा दिएको हुँ।
संसारमा नहार्ने को छ ? ठुलाठुला राष्ट्रपतिहरू पनि चुनाव हारेका छन्। चुनाव हार्दा राजनीति र पद छोड्ने कति छन् ? मैले स्वेच्छाले छोडेको हुँ। मेरो निम्ति पद ठुलो कुरा कहिल्यै भएन। काम र जिम्मेवारीलाई महत्त्वसाथ राखेर देश बनाउने हुटहुटी मेरो दिमागमा सधैं हुन्छ। देश नबनाउने कुरा हुँदा मलाई पोल्छ।
तपाईंका आलोचकले माधव नेपाल प्रधानमन्त्री बन्न राजाको निगाह खोज्दै ज्ञानेन्द्रकहाँ गएको आरोप लगाउँछन्?
त्यो सही होइन। त्यसबेला सबै पार्टीले मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका थिए। सर्वदलीय बैठकबाट मेरो नाम प्रस्तावित भएको थियो। त्यसैले मैले राजा ज्ञानेन्द्रसँग प्रधानमन्त्रीको ‘दाबी गर्छु’ भनेको हुँ।
पार्टीका सबै नेताले मलाई प्रधानमन्त्रीका लागि सिफारिस गरेका थिए। ज्ञानेन्द्रले आफ्नो इच्छाले प्रधानमन्त्री बनाउन खोजेको भए त्यो स्वीकार्य थिएन। पार्टीको सिफारिसमा भएको हुनाले आफ्नो हक दाबी गर्नुपर्छ भनेको हुँ। ‘दाबी’ गर्नु भनेको चाकरी गर्नु होइन। ‘तपाईंको निगाह चाहियो’ वा ‘आशीर्वाद चाहियो’ भनेको होइन। २०६३ सालमा प्रधानमन्त्री बन्नुपर्ने बेला मेरो नाम पनि सिफारिस भएको थियो तर मैले नै सबै पार्टीका नेतालाई राखेर गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाऔं भनेको हुँ।
संक्रमणकालमा गिरिजाप्रसादजस्तो पुरानो, अनुभवी र परिपक्व व्यक्ति आवश्यक छ भन्ने मेरो धारणा थियो। म पदका लागि मरिहत्ते गर्ने मान्छे होइन। पछि गिरिजाबाबुले मलाई भन्नुभएको थियो– माधवबाबु, तपाईं प्रधानमन्त्री हुनुस्। उहाँले मलाई दुईवटा कुरा भन्नुभएको थियो।
केके?
एउटा मैले माधवबाबुको गुन तिर्नुपर्छ, अर्को त्यो जटिल परिस्थितिमा देश चलाउन सक्ने क्षमता माधव नेपालमा छ। उहाँसँग अन्तिम भेट गर्ने मान्छे पनि म नै हुँ। उहाँले त्यसबेला भन्नुभएको थियो– ‘माधवबाबु, अब यो देशको जिम्मेवारी तपाईंको काँधमा छ।
तर तपाईंले कांग्रेसलाई धोका दिएर बिचमै प्रधानमन्त्री पद छोड्नुभयो?
पार्टीभित्र मलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि तानातान र लफडा हुन थालेपछि दिक्क लाग्यो अनि छाडिदिए। धेरै नेताले मलाई नछोड्न आग्रह गरेका थिए। मलाई झोक चल्यो, राजीनामा दिएँ।
पटक–पटक राष्ट्रपति बन्न पनि खोज्नु भएकै हो होइन र?
२०६४ सालमा प्रचण्डजीले मलाई राष्ट्रपति बन्न प्रस्ताव गर्नुभएको थियो। सुरुमा मैले मानेको थिइनँ। मेरो उमेर पनि त्यति पुगेको छैन भन्ने लाग्थ्यो। पार्टीका नेताहरूले दबाब दिएपछि मैले मानेँ तर राष्ट्रपति बन्न जाने क्रममा माओवादीले आफ्नो धारणा बदलिसकेको रहेछ। उसले रामराजाप्रसाद सिंहलाई अघि सार्ने निर्णय गरिसकेको रहेछ। त्यसले मलाई ठुलो अपमान महसुस भयो। त्यसपछि मैले राजनीतिक रूपमा अर्को उम्मेदवारलाई जिताउने रणनीति बनाएँ। अनि कांग्रेस, मधेसका दल लगायतसँग छलफल भयो। सोहीअनुसार रामवरण यादवजीलाई राष्ट्रपतिका लागि अघि सार्न मैले गिरिजाबाबुलाई फोन गरेको थिएँ। शेरबहादुरजीलाई पनि अलिअलि आकांक्षा थियो। मैले नउठ्न भनेँ किनभने मधेसी फ्याक्टरलगायत विभिन्न पक्षलाई ध्यानमा राख्नुपर्ने थियो। अन्ततः रामवरण यादवजी राष्ट्रपति बन्नुभयो। त्यसमा मेरो पनि महत्त्वपूर्ण भूमिका थियो।
पछि फेरि राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो?
दोस्रो पटक पार्टीले नै मलाई राष्ट्रपति बन्न दबाब दिएको थियो। मैले मानेको थिइनँ। म अझै काम गर्ने उमेरमा छु, राष्ट्रपति भएर निष्क्रिय भएर बस्ने होइन भन्ने मेरो धारणा थियो। पछि विद्या भण्डारी र विष्णुप्रसाद पौडेलजीले पनि मलाई साथ दिन आग्रह गर्नुभयो। पार्टीमा छलफल भयो र विद्या भण्डारीजीलाई राष्ट्रपति बनाइयो।
तेस्रो पटक रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने बेला मेरो नाम पनि आयो। मैले पनि हुन्छ भनेको थिएँ। केपी ओलीजीले पनि भेटेर मलाई राष्ट्रपति बन्न प्रस्ताव गर्नुभएको थियो तर उहाँप्रति मेरो विश्वास थिएन। पछि प्रचण्डजीबाट पनि कुरा आयो। तर शेरबहादुरजीले रामचन्द्रजीलाई वचन दिइसकेको बताउनुभयो, त्यसपछि मैले त्यो कुरा स्वीकार गरेँ।
राष्ट्रपति पनि छोड्नुभयो, एमालेको अध्यक्ष बन्ने कुरा पनि भएन, पार्टी नै छोड्नुपर्यो?
एकपटक प्रधानमन्त्री भएर काम गरिसकेको अनुभव मसँग छ।
प्रधानमन्त्रीका रूपमा आफ्नो कामलाई तपाईं कसरी हेर्नुहुन्छ?
प्रधानमन्त्रीले धेरै कुरा सुधार गर्नुपर्ने हुन्छ। तर एक्लो प्रधानमन्त्रीले चाहेर मात्र हुँदैन। कानुन, संरचना, अन्तर्राष्ट्रिय राजनीति र छिमेकीसँगको सम्बन्ध सबै जोडिन्छ। प्रधानमन्त्रीले सही मान्छे पहिचान गरेर मन्त्रीको जिम्मेवारी दिनुपर्छ। मेरो पालामा सुरक्षा नीति पारित भयो। विदेश नीति अघि बढाउने काम पनि भयो। यी कामहरूलाई पनि मूल्यांकन गर्नुपर्छ।
हुन त हो तर पूर्वप्रधानमन्त्रीहरूमध्ये तपाईंमाथि मात्र पतञ्जलीको जग्गासम्बन्धी नीतिगत भ्रष्टाचार गरेको मुद्दा लाग्यो होइन?
मेरो विचारमा त्यो मुद्दा प्रथम दृष्टिमै खारेज हुनुपर्ने हो। पतञ्जली योगसँग जोडिएको संस्था हो। नेपालमा योगलाई नेपाली सभ्यतासँग जोड्ने काम गर्नुपर्छ। आचार्य बालकृष्णजी र स्वामी रामदेवजीले नेपालमा योग केन्द्र, आयुर्वेदिक अस्पताल, आयुर्वेदिक क्याम्पस, वृद्धाश्रम तथा जडीबुटी उत्पादन र उद्योग सञ्चालन गर्ने योजना अघि बढाउनुभएको थियो।
सरकारी जग्गा एक टुक्रा पनि दिइएको होइन। निजी जग्गा कानुनअनुसारको विषय हो। यो कुनै कुरा लुकाएर वा छिपाएर गरिएको होइन। त्यसमा नेपाल सरकारको एक टुक्रा जग्गा पनि छैन। राजस्व पनि लिइएको छ। त्यसैले मैले बदमासी गरेको वा पैसा खाएको भन्ने प्रश्न नै आउँदैन। रामदेव वा बालकृष्णले पैसा दिए भनेर कसैले पत्याउँछ ? भ्रष्टाचार भयो कसरी ? मलाई त यस्तो कामका लागि प्रशंसा गर्नुपर्ने हो जस्तो लाग्छ। अहिले अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ।
त्यसको कारण के देख्नुहुन्छ?
मेरो मनमा त केपी ओलीको कारणले भन्ने लाग्छ। अरू कसकसले भूमिका खेले, मलाई थाहा छैन। तर यसबारे न्याय पाउनेमा मलाई विश्वास छ। प्रक्रिया तलबाट पूरा भएर आएको थियो। कानुनी प्रक्रिया पुगेको थियो। कानुन मिल्यो कि मिलेन भन्ने हेर्ने जिम्मेवारी सम्बन्धित सचिव र प्रधानमन्त्रीलगायतको हुन्छ।
तपाईंको बुझाइमा केपी शर्मा ओलीले राजनीतिक प्रतिशोधका कारण मुद्दा चलाउन लगाउनुभयो?
मान्छेहरूले त्यही भन्छन्। उहाँ इख राख्ने र बदला लिने प्रवृत्तिको मान्छे हो भन्ने धारणा पनि छ। यस्तो भावना कसैमा हुनुहुँदैन। भ्रष्टाचार गरेको छ भने दण्ड पाउनुपर्छ तर भ्रष्टाचारको एक पैसा पनि नलिएको व्यक्तिले दण्ड भोग्नुपर्यो भने त्यो अन्याय हुन्छ।
म एमालेबाट अलगिएँ, नयाँ पार्टी बनाएँ। राजनीतिक जीवनमा यस्ता कुरा आउँछन्। सामना गर्नुपर्छ। मैले जीवनमा अनुचित काम गरेको छैन। भ्रष्टाचारको एक पैसा पनि लिएको छैन। मलाई दुःख लाग्ने कुरा के हो भने असल र खराब मान्छे समाजले छुट्याउन सकेन भने समस्या हुन्छ। अब भइसकेको कुरालाई कसरी सच्याउने भन्नेमा जानुपर्छ। कम्तीमा जीवनको अन्तिम बेलासम्म न्याय होस्। केपी ओलीजी पनि सुध्रिनुहोस् भन्ने मेरो चाहना छ।
तपाईं पनि उहाँसँग बदला लिने पक्षमा हुनुहुन्छ?
म बदला लिने र खुच्चिङ गर्ने पक्षमा छैन। उहाँले जे गर्नुभएको छ, त्यसलाई सच्याउने काम गर्नुभयो भने राम्रो हुन्छ। एउटा कुरा म सिधै भन्छु नडराउनु।
यति लामो राजनीतिक जीवनमा तपाईंले गल्ती गरेको महसुस हुँदैन?
म विभिन्न व्यक्तिलाई विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारीमा पठाउँछु भन्ने आलोचना पनि हुन्छ। संकटका बेला साथ दिनेहरूलाई धन्यवाद दिनुपर्छ। साथ दिन नसक्नेहरूलाई पनि त्यतिबेला आँट गरेको भए राम्रो हुन्थ्यो भन्न सकिन्छ।
ज्ञानेन्द्रको राज्याभिषेकमा दाम चढाउन गएको र दरबार हत्याकाण्डको छानबिन समितिमा नबसेर गल्ती भयो जस्तो लाग्दैन?
दाम चढाएको विषयमा केही गुनासो छ। तर त्यसबेला गिरिजाबाबु, रामचन्द्रजीलगायतले पनि त्यसै गरेका थिए। सबैले गर्नुपर्छ भन्ने अवस्था थियो। त्यही परिस्थितिको चलनअनुसार मैले पनि गरेँ। मैले राजाको खुट्टा ढोगेको होइन। चाकरी गर्ने मेरो प्रवृत्ति होइन तर कसैको अपमान पनि गर्दिनँ। म चाकरी पनि गर्दिनँ र अपमान पनि गर्दिन। राजनीतिक विषयमा राजासँग मैले कसरी जुधेको छु भन्ने मसँग सोध्न सकिन्छ। राजा वीरेद्रको पालामा पनि समयमै भेट भएन भने म पर्खेर बस्ने मान्छे होइन भनेर हिँडेको मान्छे हुँ।
दरबार हत्याकाण्डको छानबिन समितिमा नबसेर तपाईंले गल्ती गर्नुभयो भन्ने आरोपबारे के भन्नुहुन्छ?
छानबिन समितिको कुरा उठाउने मान्छे म नै हुँ। त्यतिबेला ज्ञानेन्द्र राजा भइसकेका थिएनन्। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राजाका मुख्यसचिव र म विपक्षी दलको नेता थियौं।
दरबार हत्याकाण्डबारे ज्ञानेन्द्रले समिति बनाउने घोषणा गर्छु भन्नुभएको थियो। गिरिजाबाबुले मलाई त्यसमा बस्न भन्नुभयो। मैले भनेँ– तपाईं (ज्ञानेन्द्र)ले मात्रै समिति बनाउँदा कसैले विश्वास गर्दैन। अर्को स्वतन्त्र निकाय बनाउनुपर्छ। प्रधानन्यायाधीशको नेतृत्वमा समिति बनाउने कुरा भयो। प्रधानन्यायाधीशले सभामुख र मेरो नाम पनि राख्नुभयो तर मैले त्यहाँ बस्न नहुने सोच बनाएँ।
गिरिजाबाबु बस्नुभएको भए म पनि बस्ने थिएँ किनभने त्यसमा राजपरिवारका सदस्यहरूसँग प्रश्न गर्नुपर्ने अवस्था आउन सक्थ्यो। त्यसलाई लिएर पछि कांग्रेस र एमालेबिच राजनीतिक विवाद बन्न सक्थ्यो। मैले समिति गठन हुनुअघि नै आफ्नो नाम नराख्न आग्रह गरेको थिएँ। मेरो ठाउँमा कानुन बुझेको व्यक्तिलाई राख्न सुझाव दिएको थिएँ। पछि पार्टीमा पनि यो विषय राखेँ। म आफैं इच्छुक थिइनँ। त्यहाँ बसेर सबैलाई प्रश्न गर्ने हो भने म नै तारो बन्ने सम्भावना थियो। कांग्रेस र एमाले दुवैको प्रतिनिधित्व भएको भए सहज हुने मेरो धारणा थियो। अन्ततः पार्टीले पनि मलाई त्यहाँ जानु हुँदैन भन्ने निर्णय गर्यो।
अहिलेको सरकारले दरबार हत्याकाण्डको छानबिन गर्ने भनेको छ?
छानबिन गर्छ भने गरोस्। बोलिसकेपछि पूरा गर्नुपर्छ।
प्रकाशित: ९ आश्विन २०८३ ०९:०८ शुक्रबार