अन्तर्राष्ट्रिय

पुटिनको आवासमा भएको ड्रोन आक्रमणबारे युक्रेनले के भन्यो?

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति भ्लादिमिर पुटिनको एक आवासमा युक्रेनले ड्रोन आक्रमण गरेको भन्ने रूसको आरोप अस्वीकार गरेका छन्। जेलेन्स्कीले शान्ति सम्बन्धी वार्तालाई बिगार्ने प्रयास रूसले गरिरहेको आरोप लगाएका छन्।

रूसका विदेशमन्त्री सर्गेई लाभरोभले दाबी गरेका छन् कि युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीका मानवरहित हवाई यान (यूएभी) प्रयोग गर्दै रूसको नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी आवासमा आक्रमण गरेको हो।

रूसले अब शान्ति वार्तामा आफ्नो अडान पुनरावलोकन गर्ने जनाएको छ। तर कथित आक्रमणको समयमा राष्ट्रपति पुटिन त्यहाँ उपस्थित थिए वा थिएनन् भन्ने कुरा अझै स्पष्ट छैन।

जेलेन्स्कीले यो दाबीलाई ‘रूसको पुरानै झूट’ भन्दै यसको उद्देश्य क्रेमलिनलाई युक्रेनमाथि आक्रमण जारी राख्न बहाना दिनु रहेको बताएका छन्। एजेन्सी

प्रकाशित: १५ पुस २०८२ ०८:३३ मंगलबार