अन्तर्वार्ता

‘अग्रजको सम्मानले नयाँ नेतृत्व र पार्टीलाई बलियो बनाउँछ’

मुलुककै पुरानोमध्ये एक नेपाली कांग्रेस अहिले चरम आन्तरिक विवादमा रुमलिन पुगेको छ। गत पुसमा भएको विशेष महाधिवेशनसँगै चर्किएको विवाद अहिले समानान्तर महाधिवेशनमा रूपान्तरण हुन पुगेको छ।

संस्थान पक्षले आइतबारबाट १५औं महाधिवेशन गर्न लागेका बेला इतरपक्षले मंसिरमा महाधिवेशन गर्ने मिति तय गरेको छ। यही सन्दर्भमा कांग्रेस पूर्वमहामन्त्री एवं इतरपक्षबाट १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालासँग पार्टी विवादमा अदालतको निर्णय, गगनकुमार थापाको नेतृत्व, शेरबहादुर देउवाको भूमिका, पुस्तान्तरण, कोइराला परिवारको सम्बन्धसहितका विषयमा ‘नागरिक फ्रन्टलाइन’ का लागि सम्पादक बालकृष्ण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:

महाधिवेशनको तयारीमा व्यस्त हुनुहुन्छ?

हो, पार्टीको १५औं महाधिवेशनको तयारीमा छौं। क्रियाशील सदस्यताको विषय टुंगिएको छ। चुनदेवीमा कार्यालय पनि खोलेका छौं। दैनिक त्यहीं बसेर छलफल हुन्छ– अब कसरी अगाडि जाने भन्नेमा। यस्तैमा काममा लागिरहेका छौं।  

एकातिर तपाईं महाधिवेशन तयारी समितिको संयोजक हुनुहुन्छ, अर्कातिर संस्थापन पक्षले महाधिवेशन गर्दैछ, कांग्रेस त विभाजनतर्फ गयो होइन?

मेरो उद्देश्य कांग्रेस विभाजन गर्नु होइन। कांग्रेस एक हुनुपर्छ। मैले गगन थापा (गगनकुमार थापा) जीसँग पनि पटकपटक भनेको छु– सभापति हुने हो भने सबै सिनियर साथीहरूलाई लिएर जानुपर्छ, कसैलाई पन्छाएर हुँदैन। मेरो दृष्टिकोणमा अहिले पनि शेरबहादुरजी (शेरबहादुर देउवा) नै पार्टी सभापति हुनुहुन्छ। अदालतले अर्कै निर्णय गरेको छ, त्यो आफ्नो ठाउँमा छ। तर धेरै कांग्रेसका कार्यकर्ता र क्रियाशील सदस्यले अझै उहाँलाई सभापति मानेका छन्। त्यसैले पार्टीलाई जोडेर लैजानुपर्छ।

तपाईं आफैं एउटा महाधिवेशन तयारी समितिको संयोजक हुनुहुन्छ?

मेरो लक्ष्य पार्टी विभाजन होइन। नेपाली कांग्रेस पुरानो इतिहास बोकेको पार्टी हो। यसले विभिन्न राजनीतिक संघर्ष र परिवर्तनमा भूमिका खेलेको छ। त्यसैले कांग्रेस एक हुनुपर्छ भन्ने मेरो धारणा अहिले पनि उस्तै छ। पार्टी एक बनाउने सबैभन्दा ठुलो आधार संवाद हो।

गगन, शेरबहादुर देउवा र अन्य वरिष्ठ नेताहरू बसेर खुलेर कुरा गर्नुपर्छ। १५औं महाधिवेशनलाई वास्तवमै एकताको महाधिवेशन बनाउनुपर्छ, तर अहिले परिस्थिति त्यस्तो देखिएको छैन। अन्तिम समयसम्म पनि पार्टीलाई कसरी एक बनाउने भन्ने प्रयत्न गरिरहन्छु।

समानान्तर महाधिवेशनले त विभाजनलाई झन् बलियो बनाउँदैन?

राजनीतिमा रणनीति हुन्छ। यो एउटा दबाबको रणनीति हो। उहाँहरूले महाधिवेशन गर्नुहुन्छ भने हामी पनि महाधिवेशन गर्छौं भन्ने दबाब हो। पार्टी फुटाउन होइन, पार्टीलाई एक ठाउँमा ल्याउन दबाब सिर्जना गर्न यस्तो गरिएको हो। अन्तिम समयमा पनि बुद्धि पलाउन सक्छ, तर त्यसका लागि दबाब चाहिन्छ। त्यसैले पनि हामीले अधिवेशनको तयारी गरेका हौं।

अधिवेशन दुईवटा भएपछि पार्टी विभाजन भएन र?

मलाई थाहा छ– यसले विभाजनको सम्भावना बढाउँछ। त्यसैले मैले सुरुदेखि नै भनेको छु– अन्तिमसम्म पनि गगनजी र शेरबहादुरजीलाई मिलाउने प्रयास गर्छु।

मिलाउने सूत्र के हो?

एउटै सूत्र हो– वार्ता। खुला मनले वार्ता गर्नुपर्छ। गगनलाई के चाहिएको छ, शेरबहादुरजीलाई के चाहिएको छ, अरू नेताहरूका चासो के हुन्? सबै कुरा खुलारूपमा राख्नुपर्छ। शेरबहादुरजीले आफ्नो यो अन्तिम चरण हो भनिसक्नुभएको छ। त्यसपछि भविष्य गगनको छ। त्यसैले गगनले पनि सोच्नुपर्छ– पार्टी दुई फ्याकमा गयो भने कमजोर हुन्छ। नेपाली कांग्रेसले आफ्नै खुट्टामा बञ्चरो हानेजस्तो हुन्छ।

शेरबहादुरकै नेतृत्वमा महाधिवेशन हुनुपर्छ भन्नुभएको छ, किन?

१४औं महाधिवेशनबाट शेरबहादुरजी सभापति निर्वाचित हुनुभएको हो। १५औं महाधिवेशन पनि उहाँकै नेतृत्वमा हुनुपर्छ। उहाँले महाधिवेशन गराएर सम्मानपूर्वक विश्राम लिनु उपयुक्त हुन्छ। गगनको भविष्य लामो छ। उहाँ आउँदा १०/१५ वर्ष पार्टी नेतृत्वमा रहन सक्नुहुन्छ, तर अहिल्यै विभाजनको बाटो रोज्दा उहाँकै भविष्य प्रभावित हुन्छ भन्ने मेरो बुझाइ छ।

देउवाको सम्मानजनक बिदाइका लागि पार्टीले यति ठुलो संकट किन बेहोर्नुपर्ने?

सम्मानजनक नेतृत्व हस्तान्तरण महत्वपूर्ण कुरा हो। शेरबहादुरजीले लामो राजनीतिक यात्रा गर्नुभएको छ। उहाँ धेरैपटक प्रधानमन्त्री हुनुभएको छ। अब उहाँको भूमिका कसरी अगाडि बढाउने भन्ने विषय पनि सम्मानजनक ढंगले टुंगिनुपर्छ। उहाँले नै अधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नुभयो भने त्यसले एउटा प्रक्रिया स्थापित गर्छ। उहाँको भूमिका समाप्त भयो भन्ने होइन तर नयाँ पुस्तालाई अगाडि बढाउने वातावरण बन्नुपर्छ।

तपाईं पनि एउटा पक्षमा उभिनुभएको छ अनि कसरी मध्यस्थता गर्नुहुन्छ?  

कुनै न कुनै पक्ष लिनैपर्छ। मेरो दृष्टिकोणमा शेरबहादुरजीको पक्ष ठीक छ, किनभने उहाँ निर्वाचित सभापति हुनुहुन्छ।

तपाईंलाई त लाग्ने नै भयो, गगनसहितका नेताहरूसँग कुरा गर्नुभएकै थियो, तर किन मिल्न सक्नुभएन?

गगनजीसँग मेरो कुरा भएको छ। उहाँ र विश्वप्रकाशजी (विश्वप्रकाश शर्मा) आउनुभएको थियो। लामो छलफल भयो। उहाँले मलाई आफ्नो पक्षमा आउन आग्रह गर्नुभयो। उहाँले मलाई सम्मान गर्ने, सँगै लैजाने कुरा गर्नुभयो। म एक्लै आउँदिनँ भनें। बिपी कोइरालाले गणेशमान सिंहलाई छाड्नुभएन भने मैले प्रकाशमान सिंहलाई कसरी छाड्ने? विमलेन्द्र निधिको परिवारको पनि कांग्रेसमा ठुलो योगदान छ। शेखरजी (शेखर कोइराला) हुनुहुन्छ। सबैलाई समेटेर जानुपर्छ। मेरो भनाइ अहिले पनि त्यही हो - मलाई मात्र तानेर बलियो हुने होइन, सबैलाई लिएर पार्टी बलियो बनाउनुपर्छ।  

तपाईं गगनलाई भविष्य भएको नेता भन्नुहुन्छ, तर उहाँको निर्णयलाई आलोचना पनि गर्नुहुन्छ किन?

उहाँले एउटा राजनीतिक निर्णय गर्नुभयो, त्यो सही वा गलत भन्ने अन्तिम फैसला भविष्यले गर्छ। मेरो विचारमा त्यो निर्णय उचित भएन। उहाँको भविष्य छ। त्यसैले त्यो भविष्यलाई जोगाएर अघि बढ्नुपर्छ। पार्टी विभाजन गरेर तत्कालको शक्ति प्राप्त गर्नुभन्दा दीर्घकालीन राजनीतिक यात्राबारे सोच्नुपर्छ।  

निर्वाचन आयोग र अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधानिकता दिइसक्यो त फेरि तपाईंहरू अर्को महाधिवेशन गर्दै हुनुहुन्छ?

कांग्रेस पुरानो इतिहास बोकेको पार्टी हो। तीनतीनवटा क्रान्ति गरेको पार्टी हो। त्यसैले यो एक हुनुपर्छ। गगनजी, शेरबहादुरजी र सिनियर नेताहरू बसेर एउटा बाटो निकाल्नुपर्छ। दुईवटा पार्टी भयो भने कांग्रेस कमजोर हुन्छ। त्यसैले अन्तिमसम्म मेरो प्रयास एकताको हुन्छ। गगन थापा र शेरबहादुरजीलाई कसरी मिलाउने भन्ने नै मेरो मुख्य चिन्ता हो।

राजनीतिक विषयलाई लिएर अदालत जानुभयो, फेरि त्यसलाई स्वीकार गरिरहनुभएको छैन, किन?

हामी बाध्यतावस अदालत गएका हौं। मेरो विचारमा राजनीति अदालतमा पुग्नै नहुने हो। अदालतले कानुनी कुरा हेर्छ, राजनीतिज्ञले राजनीतिक कुरा गर्छ। यी दुईको भूमिका अलग छ। अदालतको म अत्यन्त सम्मान गर्छु। अदालतको निर्णय महत्वपूर्ण हुन्छ, तर राजनीतिक दलको नेतृत्व र राजनीतिक भविष्यबारे अन्तिम निर्णय राजनीतिक संवाद र राजनीतिक प्रक्रियाबाट हुनुपर्छ।

१४. अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधानिकता दिएको छ?

विशेष महाधिवेशन कसले मान्यो भन्ने प्रश्न पनि छ। सम्पूर्ण कांग्रेसले त्यसलाई स्वीकार गरेको अवस्था भए आज यस्तो विवाद हुने थिएन। त्यसैले राजनीतिक विवादलाई राजनीतिक ढंगले समाधान गर्नुपथ्र्यो र पर्दछ। हामी हरेक विषय अदालतमा लिएर जाने हो भने राजनीतिक दलको भूमिका कमजोर हुन्छ। राजनीति गर्ने व्यक्तिहरूले आफ्ना मतभेद आफैं समाधान गर्न सक्नुपर्छ। अहिलेसम्म जे भयोभयो, भविष्यमा राजनीतिक विवादको समाधान राजनीतिक संवादबाटै खोज्नुपर्छ।

सर्वोच्च अदालतले तपाईंहरूको पक्षलाई वैधानिकता दिएन भने के गर्नुहुन्छ?

त्यसपछि दुईवटा पक्ष वा दुईवटा पार्टीको अवस्था आउन सक्छ; जुन दुर्भाग्यपूर्ण हुन्छ। रूख चिह्न कसले पाउने भन्ने पनि अदालतको निर्णयमा पुग्ने अवस्था आउँछ। वास्तवमा यस्तो अवस्था नै आउनु हुँदैनथ्यो। समायोजनको अवस्था आयो भने दुवै पक्षबिच वार्ता हुनुपर्छ। सम्मानजनक स्थान दिनुपर्छ। त्यो राजनीतिक छलफलबाट तय हुन्छ र हुनुपर्दछ।

कांग्रेसको अहिलेको विवादमा बाह्य शक्तिको पनि भूमिका छ? तपाईंलाई के लाग्छ?

नेपालमा राजनीतिमा बाह्य शक्तिको प्रभाव केही हदसम्म हुन्छ। आर्थिक चलखेल पनि हुन्छ। त्यहाँ लेनदेनका कुरा हुन सक्छन्। विभिन्न शक्तिका आ–आफ्ना स्वार्थ हुन्छन्, तर कुन शक्तिले अहिलेको परिस्थितिमा के ग¥यो भन्ने कुरा मसँग प्रमाणसहित छैन। त्यसैले यसबारे ठोस रूपमा भन्न मिल्दैन। भविष्यले धेरै कुरा देखाउँछ।

कांग्रेसको विवाद हेर्दा पुरानो पुस्ता र नयाँ पुस्ताबिचको संघर्षजस्तो देखिन्छ, तपाईंहरू नयाँ पुस्तालाई नेतृत्व दिन तयार हुनुहुन्न भन्ने आरोप छ?

त्यस्तो होइन। पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो। शेरबहादुरजीपछिको पुस्तामा म छु, शेखरदा हुनुहुन्छ, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत हुनुहुन्छ। गगन थापा पनि हुनुहुन्छ। अहिलेको पुस्तामा गगन सबैभन्दा शक्तिशालीमध्ये एक हुनुहुन्छ तर पुस्तान्तरण भन्नाले पुरानो पुस्तालाई जबर्जस्ती धकेलेर हटाउने भन्ने होइन। एउटा नेता आफैंले आफ्नो समय सकिएको बुझेर जिम्मेवारी हस्तान्तरण गर्नु राम्रो हो। हामी पनि अब फेजआउटको डिलमा छौं। आवश्यक भए राजनीति छाडेर विश्राम लिनुपर्छ।

तपाईंहरू आफैं नेतृत्वमा बसिरहन खोज्दा पुस्तान्तरण कसरी हुन्छ?

नयाँ पुस्ताको नेतृत्वलाई अस्वीकार गर्दिनँ। शेरबहादुरजीपछिको नेतृत्व हामीमध्ये कसैले लिन सक्छ, गगनले लिन सक्छ, अरूले लिन सक्छन्। अन्तिम निर्णय कार्यकर्ताले गर्ने हो। युवा हुनु मात्रै नेतृत्वको आधार होइन। क्षमता, राजनीतिक दृष्टिकोण, संगठन र कार्यकर्ताको विश्वास पनि आवश्यक हुन्छ। पुस्तान्तरण हुनुपर्छ। यो स्वाभाविक प्रक्रिया हो। शेरबहादुरजीपछि गगन पनि हुन सक्छन्, हामीमध्ये कोही पनि हुन सक्छन्। गगन अहिले सबैभन्दा शक्तिशाली सम्भावना भएका नेतामध्ये हुन्। उनले पार्टीलाई एक बनाएर अगाडि बढे भविष्य उनको छ। यो महाधिवेशनपछि मेरो आवश्यकता छैन भने मैले पनि विश्राम लिनुपर्छ।

शेरबहादुर देउवाले विश्राम लिनुपर्‍यो र मलाई नेतृत्व दिनुपर्‍यो भन्ने हो?

उहाँले नै यो आफ्नो अन्तिम हो भन्नुभएको छ। पाँचपटक प्रधानमन्त्री भइसक्नुभएको छ। धेरै लामो राजनीतिक यात्रा गर्नुभएको छ। उहाँले सम्मानपूर्वक विश्राम लिनुभयो भने इतिहासमा उहाँको सम्मान रहन्छ भन्ने मेरो व्यक्तिगत दृष्टिकोण हो। उहाँले के गर्ने भन्ने अन्तिम निर्णय उहाँकै हो। म उहाँको मनको कुरा भन्न सक्दिनँ।

तपाईं शेरबहादुर देउवाको पक्षमा यति दृढ हुनुको कारण पुरानो व्यक्तिगत सम्बन्ध पनि हो?

हाम्रो पुरानो सम्बन्ध छ, त्यो सत्य हो। तर मलाई शेरबहादुरजीले टीका लगाएर नेतृत्व दिने भन्ने कुरामा विश्वास छैन। बिपी कोइरालाले आफ्नै छोरालाई नेतृत्व दिएर पठाउनुभएन। नेतृत्व क्षमता, लोकप्रियता र कार्यकर्ताको मतबाट आउनुपर्छ। शेरबहादुरजीले धेरै पहिले मलाई ‘मैले तिमीलाई नै दिनुपर्छ’ भन्नुभएको थियो, तर त्यसले मात्रै म सभापति हुने होइन। म सक्षम छु कि छैन, कार्यकर्ताले स्वीकार गर्छन् कि गर्दैनन्, त्यो महत्वपूर्ण हो।

तपाईं स्वयं कांग्रेस सभापति बन्न चाहनुहुन्छ? 

राजनीति गर्ने हो भने नेतृत्वको आकांक्षा हुनु स्वाभाविक हो।  

तपाईं सभापति बन्नुभयो भने कांग्रेसलाई कसरी सञ्चालन गर्नुहुन्छ?

मेरो एउटा खाका छ। सभापतिको निर्वाचन हुनुपर्छ, तर सभापतिको निर्वाचनमा केन्द्रित भएर नेतृत्व चयन गर्नुपर्छ। सभापति निर्वाचित भएपछि उसलाई आफ्नो टिम बनाएर काम गर्ने अधिकार पनि हुनुपर्छ।

मेरो विचारमा ७५ प्रतिशत पदाधिकारी वा संरचना सभापतिले मनोनयन गर्न सक्ने र २५ प्रतिशत निर्वाचनबाट आउने व्यवस्था हुनुपर्छ। त्यसले सभापतिलाई आफ्नो पाँच बर्से कार्यक्रम कार्यान्वयन गर्न सक्ने आधार दिन्छ। अहिले सबै निर्वाचित भएर आएपछि सबैले आफूलाई बराबर शक्तिशाली ठान्छन्। सभापतिले एउटा कुरा गर्छ, अर्को पदाधिकारीले अर्को धारणा राख्छ। त्यसले पार्टीभित्र निरन्तर शक्ति संघर्ष हुन्छ।

तपाईंको प्रस्ताव त पार्टीलाई अझ बढी सभापतिकेन्द्रित बनाउने भयो, लोकतान्त्रिक पार्टीमा यस्तो व्यवस्था कसरी मिल्छ? 

पार्टी लोकतान्त्रिक नै हुन्छ तर निर्वाचनपछि जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ। सभापतिलाई पाँच वर्षका लागि नेतृत्व गर्ने अधिकार दिइसकेपछि उसलाई काम गर्ने वातावरण दिनुपर्छ। अधिकार एक ठाउँमा केन्द्रित गर्ने होइन। त्यसैले २५ प्रतिशत निर्वाचित प्रतिनिधित्व रहने व्यवस्था पनि आवश्यक हुन्छ। राजनीतिमा सन्तुलन महत्वपूर्ण हुन्छ।

 सभापति निर्वाचित भएपछि उसलाई आफ्नो टिम बनाएर पाँच वर्ष पार्टी चलाउने अधिकार हुनुपर्छ। अहिले पदाधिकारी निर्वाचित हुने भएकाले सबैले आफूलाई बराबर शक्तिशाली ठान्ने अवस्था छ। यसले सभापतिलाई काम गर्न कठिन बनाएको छ। सभापतिले ठुलो हिस्सा मनोनयन गर्न पाउनुपर्छ र केही हिस्सा निर्वाचनबाट आउनुपर्छ। त्यसले शक्ति सन्तुलन पनि कायम गर्छ।

तपाईंको प्रस्तावअनुसार त पार्टीको विधान नै परिवर्तन गर्नुपर्छ?

हो। सभापति भएपछि विधान परिवर्तन गर्नुपर्छ। पार्टीलाई समयअनुकूल बनाउने हो भने संरचना पनि परिवर्तन गर्नुपर्छ। अहिलेको विधानले धेरै समस्या सिर्जना गरेको छ। सबैले आफूलाई नेतृत्वको बराबर दाबेदार ठान्ने संरचनाले पार्टीभित्र द्वन्द्व बढाएको छ। मैले आफ्नो कार्यकालमा पार्टी सञ्चालनको यस्तो संरचना बनाउन सकें भने आफूलाई सफल ठान्छु। मेरो अन्य राजनीतिमा व्यक्तिगत स्वार्थ छैन।

तपाईं राजनीतिमा व्यक्तिगत स्वार्थ छैन भन्नुहुन्छ, तर सभापति बन्ने इच्छा त छ?

राजनीति गर्ने हरेक व्यक्तिको कुनै न कुनै स्वार्थ हुन्छ। व्यक्तिगत स्वार्थ हुन्छ, पार्टीको स्वार्थ हुन्छ र राष्ट्रको स्वार्थ हुन्छ। मेरो प्राथमिकता पार्टीको स्वार्थ हो। मलाई प्रधानमन्त्री अथवा ठुलो पद चाहिएको होइन, तर पार्टी सभापति हुने अवसर आयो भने मेरो खाका छ। पार्टीलाई कसरी चलाउने भन्ने मेरो सोच छ। राजनीति खाने भाँडो बनाउनु हुँदैन। यो दिने भाँडो हुनुपर्छ।

कोइराला परिवारका तीनजना अहिले सक्रिय राजनीतिमा हुनुहुन्छ तर तीनैतिर देखिनुहुन्छ। तपाईंले परिवारलाई समेत मिलाउन सक्नुभएको छैन भने कांग्रेसलाई कसरी मिलाउनुहुन्छ?

राजनीतिमा के कुरा सजिलो छ र? हरेक कुरा गाह्रो हुन्छ। त्यही गाह्रो ठाउँमा छिर्न सक्नुपर्छ। शेखरदा (शेखर कोइराला) सँग मेरो सम्बन्ध राम्रो छ। उहाँको आफ्नै धारणा छ, म त्यसको सम्मान गर्छु। उहाँले तटस्थ बस्छु भन्नुभयो, मैले त्यसलाई स्वीकार गरें, तर तटस्थ बसेपछि सक्रिय निर्णय गर्ने ठाउँ कम हुन्छ भनेर मैले भनेको छु। उहाँलाई आफ्नो धारणा राख्ने अधिकार छ। म त्यसलाई सम्मान गर्छु।

उहाँलाई आफ्नो पक्षमा ल्याउन सक्नुभएन भने कमजोरी महसुस गर्नुहुन्छ?

हो, सायद यो मेरो कमजोरी हो। मैले उहाँलाई तटस्थ नबस्न आग्रह गर्नुपर्ने थियो। त्यो मैले गर्न सकिनँ। सुजाताको विषयमा भने म धेरै टिप्पणी गर्न चाहन्नँ। उहाँ मेरी दिदी हुनुहुन्छ। उहाँहरूसँग फेरि पनि कुरा गर्छु।

१४औं महाधिवेशनमा तपाईं सभापति उठ्न सक्नुहुन्थ्यो। आफू पनि उठ्नुभएन र शेखर कोइरालालाई पनि साथ दिनुभएन। अहिलेचाहिँ पार्टी एकताको कुरा गरिरहनुभएको छ। त्यसको कारण के थियो?

त्यतिबेलाको परिस्थितिमा म त्यति परिपक्व थिइनँ होला। अहिले पछाडि फर्केर हेर्दा धेरै कुरा फरक ढंगले बुझिन्छ। शेखरदासँग मेरो सम्बन्ध खराब छैन। राजनीतिक निर्णय अलग हुन सक्छ, व्यक्तिगत सम्बन्ध अलग कुरा हो।

शेरबहादुर देउवाले भविष्यमा तपाईंलाई नेतृत्व हस्तान्तरण गर्ने आश्वासनका कारण १४औं महाधिवेशनमा उहाँको पक्षमा लाग्नुभएको आरोप छ?

होइन। शेरबहादुरजीले मलाई केही दिने भन्ने कुरा म मान्दिनँ। बिपी कोइरालाले आफ्नै छोरालाई के दिनुभयो? केही दिनुभएन। नेतृत्व कसैले टीका लगाएर दिने होइन। जो सक्षम हुन्छ, लोकप्रिय हुन्छ, कार्यकर्ताको मतबाट आउँछ, उसैले नेतृत्व गर्ने हो। म पनि त्यही प्रक्रियामा विश्वास गर्छु।

शेरबहादुर देउवाप्रति तपाईंको यतिको सम्मानचाहिँ किन?

शेरबहादुरजीसँग मेरो सम्बन्ध धेरै पुरानो हो। बनारसमा हुँदा पनि उहाँसँग मेरो सम्बन्ध थियो। हामी सँगै घुम्थ्यौं, सिनेमा हेर्न जान्थ्यौं। उहाँले राजनीतिमा आफ्नै दृष्टिकोण बोकेर हिँड्नुभयो। त्यो धारणा सही वा गलत भन्ने छुट्टै कुरा हो, तर आफ्नो राजनीतिक धारणा बोकेर अघि बढ्ने व्यक्ति हुनुहुन्छ। त्यसैले म उहाँलाई सम्मान गर्छु। उहाँको लामो राजनीतिक योगदान छ। धेरैपटक प्रधानमन्त्री हुनुभएको छ। नेपाली राजनीतिमा उहाँले आफ्नै भूमिका स्थापित गर्नुभएको छ।

शेरबहादुर देउवामाथि कांग्रेसभित्रैबाट पनि धेरै आलोचना हुन्छ। उहाँले संसदीय राजनीतिमा विकृति ल्याएको आरोप पनि छ?

आरोप त बिपी (बिपी कोइराला) माथि पनि लागेका थिए। राजनीतिमा आरोप–प्रत्यारोप भइरहन्छ। कसैलाई धेरै आक्रमण गरेर आफू महान् हुने होइन। पहिले आफू सुध्रिनुपर्छ। एउटाले अर्कोलाई आक्रमण गर्‍यो, अर्कोले फेरि प्रतिआक्रमण गर्‍यो भने त्यसले न पार्टीलाई राम्रो गर्छ, न देशलाई। त्यसैले अहिले कांग्रेसमा आरोपभन्दा संवाद आवश्यक छ।

तपाईं बिपी कोइरालाका पुत्र हुनुहुन्छ। अहिले तपाईंले समानान्तर महाधिवेशनको नेतृत्व गरिरहनुभएको भए बिपी जीवित भएको भए के भन्नुहुन्थ्यो होला?

उहाँले सायद पहिल्यै मलाई भन्नुहुन्थ्यो– राजनीति किन गर्दैछस्, डाक्टरी गर तर राजनीति गर्ने नै हो भने ठीक किसिमले राजनीति गर। सबैलाई समेटेर लिएर जा भन्नुहुन्थ्यो होला।

बिपी आदर्शवादी व्यक्ति हुनुहुन्थ्यो। उहाँको विचार स्पष्ट थियो। सत्यका लागि मूल्य चुकाउनुपर्छ भन्ने उहाँको धारणा थियो। म सानो हुँदा भारत छोडो आन्दोलनका क्रममा विद्यालय बहिस्कार गरेको प्रसंग पनि छ।

के थियो त्यो?

त्यसमा पिताजी (कृष्णप्रसाद कोइराला) ले बिपीलाई थप्पड हान्नुभएको थियो। बिपीले त्यसलाई पनि सत्यका लागि चुकाएको मूल्यका रूपमा लिनुभएको थियो। त्यसैले मैले बिपीबाट बुझेको कुरा के हो भने सत्यको पक्षमा उभिनु भनेको त्यसको मूल्य चुकाउन तयार हुनु पनि हो।

बिपीको छोरा हुनुमा गौरव कि बोझ?

बिपीको छोरा हुनु गौरवको कुरा हो, तर त्यससँग ठुलो जिम्मेवारी पनि आउँछ। म बिपीको ठाउँ लिन सक्दिनँ। उहाँले देखाएको मार्गमा हिँड्ने प्रयास मात्र गर्न सक्छु।

दुईवटा महाधिवेशन भइसकेपछि पनि मिल्न सकिन्छ भन्ने तपाईंलाई लाग्छ?

सम्भावना सधैं हुन्छ। दुईवटा अधिवेशन भएर पनि मिल्न सकिन्छ, तर त्यो अवस्था अझ जटिल हुन्छ। त्यसैले अधिवेशन हुनुअगाडि नै एकता प्रयास गर्नुपर्छ। कांग्रेस यसअघि पनि विभाजित भएको इतिहास छ। फुटेपछि जोडिँदा पनि विभाजनको असर रहन्छ। अहिले त्यस्तो अवस्था दोहोरिन दिनु हुँदैन।

तपाईंको नेतृत्वमा महाधिवेशन भयो र गगन थापा नेतृत्वको कार्यसमिति अर्कोतिरबाट आयो भने कसरी मिलाउनुहुन्छ?  

पहिले स्पष्ट हुनुपर्छ - पार्टी एक गर्ने कि नगर्ने? पार्टी एक गर्ने निर्णय भयो भने बाटो खोज्न सकिन्छ। गगनसँग वार्ता गर्नुपर्छ। उहाँलाई पार्टी नफोडेर एक भएर जानुपर्छ भनेर सम्झाउनुपर्छ। जिम्मेवारी दिनुपर्छ। उहाँको भविष्य छ। उहाँको भविष्यलाई सुरक्षित राख्ने वातावरण बनाउनुपर्छ।  

कस्तो जिम्मेवारी?

त्यो छलफलबाट तय हुन्छ। सबै नेतासँग बसेर कुरा गर्नुपर्छ। मिल्ने वातावरण बनेपछि कसलाई के जिम्मेवारी दिने भन्ने राजनीतिक सहमतिबाट टुंगिन्छ। सम्मानजनक स्थान दिनुपर्छ। संख्याका हिसाबले पनि सम्मानजनक सहभागिता हुनुपर्छ।

तपाईंहरूको महाधिवेशनले वैधानिकता पाएन भने के गर्नुहुन्छ? नयाँ पार्टी बनाउनुहुन्छ कि अर्को पक्षमा समाहित हुनुहुन्छ?  

यो प्रश्नको उत्तर अहिले दिन गाह्रो छ। दुईवटा महाधिवेशन भए दुईवटा फ्याक्सन बन्न सक्छन्। त्यसपछि दुईवटा पार्टीको अवस्था पनि आउन सक्छ। मेरो विचारमा यो दुर्भाग्यपूर्ण अवस्था हो। पार्टीको चुनाव चिह्नसमेत अदालतले तय गर्नुपर्ने अवस्था आउनु हुँदैन। राजनीतिक दलको विवाद राजनीतिक ढंगले समाधान गर्नुपर्छ। समायोजनको अवस्था आयो भने पनि अर्को पक्षले ठाउँ दिनुपर्छ। हामीलाई कुन आधारमा समेट्ने हो, कस्तो भूमिका दिने हो, त्यो स्पष्ट हुनुपर्छ। सम्मानजनक सहभागिता आवश्यक हुन्छ। तपाईंको अहिलेको प्राथमिकता के हो?

कांग्रेसलाई बचाउनु हो। पार्टी एक हुनुपर्छ। दुईवटा पार्टी भए कांग्रेस कमजोर हुन्छ। त्यसैले अन्तिमसम्म मेरो प्रयास पार्टी एक बनाउने नै हुन्छ। म कसैलाई हटाएर, कसैलाई पन्छाएर पार्टी बनाउन चाहन्नँ। गगन आउनुभयो भने राम्रो। शेरबहादुरजीको सम्मान हुनुपर्छ। शेखरजी, प्रकाशमानजी, विमलेन्द्रजी र अरू सबै नेताहरूको योगदानको सम्मान हुनुपर्छ। पार्टी भनेको केही व्यक्तिको मात्र होइन; लामो संघर्षबाट बनेको संस्था हो।

समानान्तर महाधिवेशनको संयोजक भएर तपाईंले नै दुईवटा कांग्रेस बन्ने जोखिम बढाउनुभएको होइन?

जोखिम छ, मैले स्वीकारिसकेको छु। अहिलेको अवस्था गाह्रो छ तर मेरो उद्देश्य पार्टी विभाजन होइन। दबाब सिर्जना गरी अन्तिम समयमा भए पनि दुई पक्षलाई वार्ताको टेबलमा ल्याउने प्रयास हो।

राजनीतिमा कहिलेकाहीं दबाब सिर्जना गर्नुपर्छ, तर अन्तिम लक्ष्य संवाद र सहमति नै हो। चुनौती ठुलो छ, तर राजनीतिमा सजिलो कुरा केही हुँदैन। गाह्रो ठाउँमा छिर्न सक्नुपर्छ। मलाई संयोजक बन्न आग्रह गर्ने नेताहरूको मप्रति विश्वास थियो। त्यो विश्वास गुमाउन चाहन्नँ। त्यसैले मैले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छु।

तपाईंका हातमा एउटा मात्र विकल्प छ भने कांग्रेसलाई कसरी जोगाउनुहुन्छ?

संवाद। संवादको ढोका बन्द गर्नु हुँदैन। आमनेसामने बसेर कुरा गर्नुपर्छ। आफ्नो कुरा राख्ने, अर्काका कुरा सुन्ने र बिचको बाटो खोज्ने हो। कांग्रेसको भविष्य एकतामै छ। विभाजन भयो भने सबै कमजोर हुन्छौं। त्यसैले म अन्तिमसम्म पार्टी जोड्ने प्रयास गर्छु। राजनीति आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम मात्र होइन; पार्टी र देशको स्वार्थ पनि हेर्नुपर्छ। कांग्रेसलाई बलियो बनाउने हो भने सबै पुस्ता, सबै धार र सबै योगदानलाई समेट्नुपर्छ। मेरो प्रयास यही हो– कांग्रेस फुटेर होइन, मिलेर अगाडि बढोस्।

तपाईंहरूलाई जेनजी आन्दोलनपछि युवा पुस्ताले नेतृत्वमा आफ्नो स्थान खोजिरहेको स्वीकार गर्न कठिन भएको छ?  

युवा पुस्तालाई ठाउँ दिनुपर्छ। नेपालको जनसांख्यिक संरचना हेर्दा ४० वर्षभन्दा कम उमेरको जनसंख्या ठुलो छ, तर पार्टीको केन्द्रीय नेतृत्वमा त्यही अनुपातमा युवाको प्रतिनिधित्व छैन। मैले सभापति भएको भए परिवर्तन गर्थें, युवालाई प्राथमिकता दिन्थें तर त्यसका लागि विधान पनि परिवर्तन गर्नुपर्छ। २१औं शताब्दीमा नयाँ विचार र नयाँ सोचसहित पार्टी अघि बढ्नुपर्छ।

गगन थापा र विश्वप्रकाश शर्माको नयाँ नेतृत्वलाई तपाईं कसरी हेर्नुहुन्छ?

दुवैको आआफ्नै क्षमता छ। गगन सोझो र आकर्षक ढंगले कुरा गर्न सक्ने व्यक्ति हुन्। विश्वप्रकाश राजनीतिक रूपमा धेरै चतुर छन्। प्रश्न उठाउने, बहस गर्ने र सोच्न बाध्य बनाउने क्षमता उहाँमा छ। बिपीलाई प्रदीप गिरीले जसरी प्रश्न गरेर पुनर्विचार गर्न बाध्य पार्नुहुन्थ्यो, त्यस्तै भूमिका राजनीतिमा आवश्यक हुन्छ। विरोध भनेको सधैं विरोधका लागि विरोध होइन। प्रश्न उठाएर बाटो सच्याउन पनि सकिन्छ। गगन पनि आवश्यक छन्, विश्व पनि आवश्यक छन्। पार्टीलाई दुवै प्रकारको क्षमता चाहिन्छ।

त्यसो भए तपाईं र विश्वप्रकाश शर्मा एकएक पक्षको नेतृत्व गरेर पछि पार्टी एकीकरण गर्ने सम्भावना पनि देख्नुहुन्छ?

भविष्यका कुरा अहिले नगरौं। महाधिवेशन हुन दिनुस्। त्यसपछि परिस्थिति कसरी विकास हुन्छ, हेरौं।  

तपाईं धर्मका नाममा राजनीति गर्दै हुनुहुन्छ भन्ने आरोप पनि छ, खास कुरा के हो?

धर्म न निरपेक्ष हुन्छ, न त सापेक्ष। धर्म स्वतन्त्र हुन्छ। मानिसको आफ्नो आस्था हुन्छ र त्यसलाई सम्मान गर्नुपर्छ। मैले हिन्दु धर्मको कुरा गर्दा पनि मूलतः धर्म स्वतन्त्रताको कुरा गरेको हुँ। राजनीतिक रूपमा विभिन्न समूहसँग संवादको ठाउँ बनाउन पनि त्यस्तो कुरा गरिन्छ।

राजसंस्थाको विषयमा तपाईंको धारणा के हो?

बिपीको समयको परिस्थिति अहिलेभन्दा फरक थियो। त्यतिबेला नेपालको अस्तित्व र सुरक्षाका प्रश्न थिए। त्यसैले उहाँले राजासँग आफ्नो सम्बन्धको कुरा गर्नुभयो। आजको परिस्थिति फरक छ। गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको अन्त्यतर्फ देशलाई लैजानुभयो। फेरि राजसंस्था फर्किन गाह्रो छ तर आज पनि राष्ट्रलाई एकताबद्ध गर्ने एउटा शक्ति आवश्यक छ भन्ने मेरो धारणा छ। त्यो शक्ति राजनीतिकभन्दा माथि उठेर राष्ट्रलाई जोड्ने हुनुपर्छ।

अहिलेको प्रधानमन्त्री युवा हुनुहुन्छ, उहाँको कामलाई कसरी हेर्नुभएको छ?  

अहिले नै अन्तिम मूल्यांकन गर्ने बेला भएको छैन। केही महिना मात्रै भएको छ। अहिलेसम्म नराम्रो काम नै गर्नुभएको छ भनेर म भन्दिनँ। अझ समय दिनुपर्छ। तर कुनै पनि सरकार वा नेतृत्वलाई मूल्यांकन गर्दा राष्ट्रिय स्वायत्तता र बाह्य प्रभावको प्रश्न पनि हेर्नुपर्छ।

अहिलेको नेतृत्वलाई मूल्यांकन गर्न केही समय अझै दिनुपर्छ। एक–डेढ वर्ष काम गरेपछि मूल्यांकन गर्न सकिन्छ। राजनीतिमा नयाँ पुस्ता आउनु स्वाभाविक हो, तर नयाँ पुस्ताले पनि लोकतान्त्रिक मूल्य, संस्थागत प्रक्रिया र राजनीतिक उत्तरदायित्वलाई ध्यान दिनुपर्छ।  

तपाईंले बाह्य शक्तिको प्रभावको कुरा गर्नुभयो, अहिलेको प्रधानमन्त्रीको उदयमा पनि बाह्य शक्तिको भूमिका देख्नुहुन्छ?

नेपालको राजनीतिमा बाह्य शक्तिको केही हदसम्म प्रभाव हुन्छ भन्ने मेरो धारणा हो। सबै कुरा बाह्य शक्तिले गर्छन् भन्ने होइन। आर्थिक र राजनीतिक स्वार्थहरू पनि हुन्छन्। विभिन्न शक्तिका आ–आफ्ना रुचि हुन्छन्। राष्ट्रिय नेता आफ्नै विवेक र राष्ट्रिय हितअनुसार निर्णय गर्न सक्ने व्यक्ति हुनुपर्छ। हरेक घटनालाई बाह्य शक्तिसँग जोडेर हेर्नु पनि उचित हुँदैन। ठोस कुरा प्रमाणित भएपछि मात्रै भन्नुपर्छ।

संघीयताका विषयमा तपाईंको धारणा के हो? अहिले संघीयताभन्दा विकेन्द्रीकरण बलियो बनाउनुपर्छ भन्ने बहस पनि छ। विकेन्द्रीकरण आवश्यक छ। गिरिजाप्रसाद कोइरालाले यसको सुरुवात गर्नुभएको थियो। काठमाडौंमा मात्रै सबै कुरा केन्द्रित नराखेर भरतपुरमा क्यान्सर अस्पताल, धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता संरचना बनाउनु त्यसकै उदाहरण हो तर संघीयताको अन्तिम उद्देश्य पनि अधिकारको विकेन्द्रीकरण नै हो। प्रदेशलाई अधिकार दिनुपर्छ।

स्थानीय विषयमा केन्द्रले सबै निर्णय गर्नु हुँदैन। केन्द्रले अन्तर्राष्ट्रिय सम्बन्ध, सीमा सुरक्षा जस्ता विषय हेर्न सक्छ, तर स्थानीय प्रशासन, विकास र जनतासँग प्रत्यक्ष जोडिएका विषय प्रदेश र स्थानीय तहले निर्णय गर्न सक्नुपर्छ। अहिले हामी नाममा संघीय छौं तर व्यवहारमा धेरै कुरा केन्द्रमै केन्द्रित छन्। बजेट र अधिकार केन्द्रमा राखेर संघीयता सफल हुँदैन।

सत्ता बाहिर हुँदा अधिकार हस्तान्तरणको कुरा गर्न सजिलो हुन्छ। तपाईं आफैं सत्तामा पुगेपछि पनि त्यही अधिकार छाड्न सक्नुहुन्छ?

त्यसो भए संघीयता किन चाहियो? आफू सत्तामा गएपछि अधिकार आफैंसँग राख्ने हो भने संघीयताको अर्थ के रह्यो? म सत्तामा पुगें भने विकेन्द्रीकरण गर्ने पक्षमा हुन्छु। संघीयता सफल बनाउन प्रदेशलाई अधिकार दिनुपर्छ। केन्द्रले सबै अधिकार लिएर बस्ने अनि संघीयता भन्ने कुरा मिल्दैन।  

तपाईंहरूकै नेतृत्वमा संविधान बनेको हो, अहिले त्यसमा परिवर्तन आवश्यक छ?

संविधान बनाउनु त्यतिबेला अत्यन्त कठिन काम थियो। माओवादी, एमाले र कांग्रेस सबैका आ–आफ्ना धारणा थिए। सुशील कोइरालाले कठिन परिस्थितिमा संविधान दिन सफल हुनुभयो। संविधान स्थिर दस्तावेज भए पनि समयअनुसार संशोधन र परिमार्जन गर्न सकिन्छ। हरेक पुस्ताको आवश्यकता फरक हुन्छ। त्यसैले आवश्यक ठाउँमा संविधान संशोधन गर्नुपर्छ।

तपाईंको राजनीतिक यात्रालाई आफैं कसरी मूल्यांकन गर्नुहुन्छ?

डाक्टरी पेसामा म सन्तुष्ट छु। करिब एक लाख मोतियाबिन्दुको शल्यक्रिया गरेको छु। विभिन्न ठाउँमा स्वास्थ्य शिविर पनि चलाएँ। त्यो जीवन अत्यन्त राम्रो थियो। राजनीति भने धेरै जटिल रहेछ। सबैलाई समेटेर, सबैसँग काम गरेर अघि बढ्न सक्ने क्षमता चाहिन्छ। राजनीति आफ्नो वा परिवारका लागि होइन; जनता र राष्ट्रका लागि हुनुपर्छ। राजनीतिलाई खाने भाँडो होइन; दिने भाँडो बनाउनुपर्छ।

अन्तिममा फेरि कांग्रेसमै फर्कौं, समानान्तर महाधिवेशनले कांग्रेसलाई बलियो बनाइरहेको छ कि विभाजनतर्फ लैजाँदै छ?

अहिले अवस्था कठिन छ। दुईवटा पार्टी भयो भने कांग्रेसको अस्तित्व नै कमजोर हुन्छ। मैले सुरुदेखि भन्दै आएको छु– मेरो प्रयास सधैं पार्टी एक बनाउने हुन्छ। दुईवटा कांग्रेस भएर स्थानीय चुनावमा जाँदा हाम्रो अवस्था राम्रो हुँदैन। त्यसैले अन्तिमसम्म एकता प्रयास गर्नुपर्छ। कांग्रेस एक भए मात्रै बलियो हुन्छ। फुट्यो भने कांग्रेसको भविष्य अन्धकारतर्फ जान सक्छ। त्यसैले महाधिवेशनअगाडि नै संवादको बाटोबाट एउटा सहमति खोज्नुपर्छ।

प्रकाशित: १६ आश्विन २०८३ ०९:२६ शुक्रबार