नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितुसिंह वैद्य चर्चित व्यावसायिक घराना वैद्य अर्जनाइजेसनकी सञ्चालक तथा नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक हुन्।
वैद्यको अध्यक्षतामा २०८१ साल फागुन ९ गते स्थापना भएको अटोमोबाइल्स, इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स व्यवसायीहरूको छाता संस्था हो- नाइमा। संस्थापक अध्यक्ष रितुसिंहको नेतृत्वमा अटोमोबाइल्स क्षेत्रका १० व्यवसायीको सहभागिता रहने गरी नाइमाको स्थापना भएको थियो । अहिले नाइमामा झन्डै तीन दर्जन व्यवसायी आवद्ध भएका छन्। ‘वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज् एन्ड ट्रेडिङ हाउसेज् समूह अटोमोबाइल, निर्माण उपकरण, कृषि क्षेत्र, सिमेन्ट उत्पादन, चिया उत्पादन तथा प्रशोधन, शिक्षा क्षेत्र र अन्य औद्योगिक उत्पादन एवं व्यापारिक क्षेत्रमा सक्रिय छ। यस समूहको वैद्य इन्भेस्टमेन्ट प्रालि, अर्थर इनर्जी नेपाल, हुवासिन सिमेन्ट नारायणी प्रालि, निर्माण उपकरण (विशेषगरी एक्ससिएमजी), कृषि, चिया उत्पादन र प्रशोधन तथा अन्य ट्रेडिङ क्षेत्रहरूमा पनि लगानी छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा वैद्य समूहका अध्यक्ष सुरज वैद्यसँग विवाह भएपछि अटो व्यवसायमा प्रवेश गरेकी हुन्। रितु सिंह वैद्य सन् १९९१ की ‘मिस इन्डिया’ पनि हुन्। हाल उनी व्यावसायिक रियालिटी सो ‘सार्कट्यांक नेपाल’ मा समेत आबद्ध छिन्। सामाजिक योगदानको क्षेत्रमा पनि सक्रिय उनले महिला उद्यमशीलताको प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, सडक सुरक्षा र जिम्मेवार ड्राइभिङ अभियान, शिक्षा तथा सामाजिक परियोजनामा सहयोग गर्दै आएकी छन्। वैद्यले नेपालमा इभी प्रवर्द्धन र आधुनिक मोबिलिटीबारे सक्रिय वकालत गर्दै आएकी छन्। प्रतिष्ठित महिला उद्यमी, व्यावसायिक नेतृत्वकर्ता र नाइमाकी अध्यक्ष तथा नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितुसिंह वैद्यसँग नागरिक दैनिकका लागि मधुजंग पाण्डेले वर्तमान अटोमोबाइल बजार र नाइमा मोबिलिटी एक्स्पोबारे गरेको वार्ताको सार संक्षेप :
हाल अटोमोबाइल क्षेत्रको बजारको अवस्था कस्तो छ?
विगतका वर्षको तुलनामा अहिले नेपालको अटोमोबाइल्स क्षेत्रको बजार बढ्दो क्रममा छ। हाल नेपालमा ८० भन्दा बढी ब्रान्डका गाडी आइसकेको अवस्था छ। दैनिक नयाँ ब्रान्ड र मोडलका गाडी भित्रिरहेका छन्। जसमध्ये सामान्य वर्गको रोजाइमा पर्ने सस्तोदेखि धेरै मूल्यका लक्जरी गाडी भित्रिने क्रम पनि जारी छ। यस्तो अवस्थामा देशको अर्थतन्त्र सुधार भयो भने अटोमोबाइल्स क्षेत्रको बजार पनि स्वत: बढ्छ। जसका लागि सरकार एवम् मुलुकको तर्फबाट नीतिगत स्थिरता, सडक र पूर्वाधारको विकास हुनुपर्छ। त्यसपछि उपभोक्ताको क्रयशक्ति बढ्नुपर्छ। क्रयशक्ति बढ्यो भने अटोमोबाइल्स क्षेत्रको बजारमा विस्तारै सुधार आउने छ। मुख्य चुनौतीको रूपमा रहेको नीतिगत स्थिरता र पूर्वाधार विकासको खाँचोतर्फ सरकारले विशेष ध्यान दिएर निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न सक्यो भने अटोमाबाइल्स क्षेत्रको बजार अझै राम्रो हुने छ। अहिले एकातिर उपभोक्ताको आवश्यकता र सवारी साधनप्रतिको आकर्षण कायम छ भने अर्कोतर्फ समग्र अर्थतन्त्र, उपभोक्ताको क्रयशक्ति, वित्तीय पहुँच र नीतिगत वातावरणले अटोमोबाइल्स बजारलाई प्रभावित परिरहेको छ।
बजारमा आइरहेका नयाँनयाँ गाडी खरिद गर्ने उपभोक्ता कति सचेत छन् त?
हाल बजारमा आइरहेका नयाँनयाँ ब्रान्ड र मोडलका गाडी खरिद गर्ने क्रममा उपभोक्ता निकै सचेत भइसकेको देखिन्छ। विशेषगरी पछिल्लो समय उपभोक्ता धेरै सचेत छन्। अहिलेका उपभोक्ताले गाडी खरिद गर्दा ब्रान्ड वा मूल्य मात्र हेर्नेभन्दा पनि फ्युल इफिसिएन्सी, इलेक्ट्रिक वा हाइब्रिड प्रविधि, सुरक्षा, फिचर, स्पेयर पाट्र्सको उपलब्धता र बिक्रीपछिको सेवाजस्ता विषयलाई निकै प्राथमिकता दिन थालेका छन्। पछिल्लो समय नेपाली उपभोक्ताबिच इभी बजारमा पनि विविधता निकै बढेको छ। अहिले उपभोक्तासँग मूल्य र सेग्मेन्टमा धेरै विकल्प छन् तर बजारमा विकल्प बढ्दै जानु मात्र पर्याप्त हुँदैन। उपभोक्ताको क्रयशक्ति बढ्नु, सहज फाइनान्सिङ उपलब्ध हुनु र सरकारको नीति स्थिर हुनु पनि उत्तिकै महत्वपूर्ण छ। त्यसैले हामी अटोमोबाइल्सको क्षेत्रलाई विलासिताको वस्तु भन्दा पनि अर्थतन्त्र, रोजगारी, यातायात र दैनिक जीवनसँग जोडिएको आवश्यक क्षेत्रका रूपमा हेर्नुपर्छ भन्ने पक्षमा छौं। नाइमाको तर्फबाट हामीले सरकारसँग पनि यही विषयमा निरन्तर छलफल र संवाद गर्दै आएका छौं।
सवारी साधनमा लाग्ने कर, बैंक ब्याजदर र आयातसम्बन्धी नीतिले हाल अटोमोबाइल्स बजारमा कस्तो प्रभाव पारेको छ ?
अहिले बैंक व्याजदर न्यून भएकाले सवारी साधन खरिद गर्ने बेला हो। अटोमोबाइल व्यवसायमा नीतिगत स्थिरता अत्यन्त महत्वपूर्ण हुन्छ। यो क्षेत्रमा व्यवसायीले ठूलो लगानी गर्नुपर्छ। अन्तर्राष्ट्रिय कम्पनीसँग दीर्घकालीन सम्झौता गर्नुपर्छ र आफूसँग भएका गाडीको स्टक व्यवस्थापन गर्नुपर्छ। त्यसैले अस्थिर नीतिको प्रभाव व्यवसायमा मात्र नभएर उपभोक्तासम्म पर्न जान्छ। यस्तो अस्थिर नीतिमा सुधार ल्याउनेतर्फ नाइमाको धारणा स्पष्ट छ। करको समग्र भार घटाउनुपर्छ र कर संरचना सरल तथा पूर्वानुमानयोग्य बनाउनुपर्छ। हामीले सरकारसँग अटोमोबाइललाई राजस्व उठाउने क्षेत्रका रूपमा नभई रोजगारी, लगानी, यातायात र अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा हेर्न आग्रह गरेका छौं। अर्को महत्वपूर्ण विषय भनेको वित्तीय पहुँच हो। सवारी खरिदका लागि हायर पर्चेज प्रणालीमा ८० प्रतिशतसम्म ऋण र २० प्रतिशत डाउन पेमेन्टको व्यवस्था निरन्तर राख्नुपर्ने माग हामीले सरकारसमक्ष राखेका छौं। यसले उपभोक्तालाई सहज बनाउनुका साथै बजारलाई पनि चलायमान बनाउन सहयोग गर्छ।
हामी सरकारसँग विरोध गर्न होइन, समाधान खोज्न संवाद गरिरहेका छौं। स्थिर नीति, सरल कर प्रणाली, सहज वित्तीय पहुँच र पारदर्शी भन्सार प्रक्रियाले सरकार, व्यवसायी र उपभोक्ता सबै पक्षलाई फाइदा हुन्छ। अटोमोबाइल क्षेत्रबाट राज्यले ठूलो राजस्व पनि प्राप्त गर्दै आएको छ। त्यसैले उद्योगको विकास र राज्यको राजस्व दुवैलाई सन्तुलनमा राख्ने नीति आवश्यक छ भन्दै आएका छौं। यसले अटोमोबाइल मात्र नभएर बैंकिङ, बिमा, वर्कसप, स्पेयर पाट्र्स, रोजगारीलगायतका धेरै क्षेत्रमा सकारात्मक प्रभाव पार्छ। राजनीतिमा केही स्थिरता आउनु व्यवसायीका लागि सकारात्मक संकेत हो। अहिले सरकारले मुलुकको आर्थिक विकासमा केही गर्ने उत्साह देखाएको छ तर अटोमोबाइल क्षेत्र अझै पनि केही कडा नीतिहरूको मारमा छ। हायर पर्चेज कर्जाको सीमा, जोखिम भार (रिस्क वेटेज) र भन्सार दरका प्रभावबारे हामीले सरकारलाई अवगत गराएका छौं।
ग्राहकको आकर्षण बन्दै गएको इभी गाडीका चुनौती र चार्जिङ स्टेसनतर्फ नाइमाको धारणा के छ?
हामीले नेपालको मोबिलिटी क्षेत्रलाई नयाँ चरणमा प्रवेश गरिरहेको क्षेत्रका रूपमा हेरिरहेका छौं। अब अटोमोबाइल बजार परम्परागत पेट्रोल र डिजेल गाडीमा मात्र सीमित रहने छैन। अब विस्तारै इभी, आइब्रेड, कनेक्टेड सवारी साधन, सेफ्टी टेक्नोलोजी र नयाँ मोबिलिटी सोलुसन बजारको हिस्सा बन्दै जानेछ भन्ने हामीलाई लागेको छ। यसका लागि बजारको विकासका लागि तीन वटा कुरा अत्यन्त महत्वपूर्ण छ। नीतिगत स्थिरता, उपभोक्ताको क्रयशक्ति र पूर्वाधार विकास। सरकारले दीर्घकालीन र पूर्वानुमानयोग्य नीति बनाउने, वित्तीय संस्थाले सहज रूपमा कर्जा उपलब्ध गराउने र निजी क्षेत्रले नयाँ प्रविधि तथा सेवामा लगानी गर्ने हो भने नेपालको अटोमोबाइल बजार अझ व्यवस्थित र प्रतिस्पर्धी बन्न सक्छ।
अहिले इभी गाडीमा नेपाली ग्राहकको आकर्षण बढ्दो क्रममा छ। पेट्रोल र डिजेलबाट चल्ने गाडीको तुलनामा अहिले इभी गाडीमा उपभोक्ताको आकर्षण बढेसँगै आगामी दिनमा इभी गाडीको भविष्य उज्ज्वल छ। अहिले निजी प्रयोग गर्नेका लागि घरघरमा इभी गाडी चार्ज गर्ने अवस्था बनिसकेको छ तर यसको विकास गाडी आयात गरेर मात्र सम्भव हुँदैन। जसका लागि इकोसिस्टम नै निर्माण गर्नुपर्छ। सबैभन्दा पहिले चार्जिङ स्टेसनको पूर्वाधार विस्तार गर्नुपर्छ। सहरमा मात्र होइन, लामो दूरीका सवारी साधन गुड्ने मुख्य राजमार्ग र विभिन्न प्रदेश तथा पर्यटकीय गन्तव्यसम्म पर्याप्त चार्जिङ स्टेसन तथा नेटवर्क विकास हुनुपर्छ। यही आवश्यकतालाई ध्यानमा राखेर अहिले निजी क्षेत्रले १५ सय वटा चार्जिङ स्टेसन बनाइसकेको अवस्था छ। लामो दूरीमा चल्ने यात्रुवाहक गाडी चार्ज गर्न भने अझै केही समस्या छ। यो समस्या समाधानतर्फ पनि नाइमाले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।
भारतमा जस्तै नेपालमा पनि सस्तो मूल्यमा गाडी खरिद गर्न पाउने वातावरण बनाउन के गर्न सकिन्छ?
भारतमा धेरै ठुलो परिमाणमा सवारी साधान एसेम्बल र उत्पादन गर्ने उद्योगहरू छन्। अहिले भारतमै भएका विभिन्न कम्पनीबिच पनि उपभोक्तालाई कसरी सस्तो मूल्यमा गाडी खरिद गर्ने वातावरण बनाउन सकिन्छ भनेर लागेको देखिन्छ। हामीले पनि त्यसो गर्न सरकारलाई सरल नीति बनाउनेतर्फ ध्यानाकर्षण गराउने हो। यहाँ भारतमा जस्तो उद्योगहरू नै छैनन्। पूर्वाधार पनि छैन। त्यसैले हामीले यहाँको अटो बजारलाई भारतीय बजारसँग तुलना गर्नु हुँदैन। हामीले कर छुट, एसेम्बल गर्ने उद्योगको क्षमता विस्तार र आवश्यक पूर्वाधार बढाउनेतर्फ सरकारलाई घचघच्याउने हो। सरकारी नीति सहज बनाएर लगानीमैत्री वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ।
भारतको ग्ल्यामर क्षेत्रको मान्छे कसरी व्यवसायी सुरज वैद्यसँग जोडिनु भएको हो?
सुरज वैद्यसँग धेरैवर्ष अघि मेरो भेट भएको हो। अहिले करिब ३०-३२ वर्ष भइसकेको छ। सुरुमा म ‘फेसन सो’ को क्रममा नेपाल आएको थिएँ। त्यसबेला म ‘फेसन सो’ को सोच लिएर काठमाडौं आइपुगेको बेला उहाँले बालमन्दिरको लागि ‘फेसन सो’ मार्फत च्यारिटी सो गर्न लाग्नुभएको थियो। सोही क्रममा सुरज वैद्यसँग मेरो भेट भएको हो। त्यही भेटकै क्रममा उहाँसँग आत्मीयता बढ्यो, हामी प्रेममा पर्यौं। हामीबिच विवाह गर्ने कुरा भयो। त्यसको दुई वर्षपछि विवाह बन्धनमा बाधियौं। हाम्रो विवाह भारतमै भएको हो। विवाहपछि मैले वैद्य अर्जनाइजेसनले विभिन्न क्षेत्रमा गरिरहेको व्यापारमा उहाँसँगै साथ दिइरहेको छु।
‘नाइमा मोबिलिटी एक्स्पो-२०२६’ आयोजना गर्नुको उद्देश्य के हो?
नाइमाको उद्देश्य सरकार र निजी क्षेत्रबिच पुलको भूमिका निर्वाह गर्ने, उद्योगका समस्यालाई संस्थागत रूपमा उठाउने र उपभोक्तालाई राम्रो विकल्प उपलब्ध गराउने हो। अहिले हामी नेपाली उपभोक्तालाई विश्व अटोमोबाइल बजारमा भइरहेको परिवर्तनसँग प्रत्यक्ष जोड्न चाहन्छौं। हामी सबैलाई एक्स्पोमा आएर नयाँ प्रविधि हेर्न, बुझ्न र अनुभव गर्न आग्रह गर्छौं। नाइमा एक्स्पोको मुख्य उद्देश्य दुईपांग्रे, चारपांग्रे, कमर्सियल सवारी साधन, इभी, हाइब्रिड, अटो कम्पोनेन्ट तथा मोबिलिटीसँग सम्बन्धित प्रविधि र सेवाहरूलाई एउटै छानामुनी प्रस्तुत गर्ने हो। सवारी साधन बिक्रेताका लागि अर्को महत्वपूर्ण पक्ष सबै व्यवसायी एक ठाउँमा जम्मा भई एक्स्पोमा स्टल राखेर बसेपछि आफ्ना उत्पादनको राम्रो प्रदर्शनी गरेर आम्दानी गर्नु पनि हो।
यस एक्स्पोबाट अवलोकनकर्ताले नयाँ के पाउँछन्?
अहिले हामीले यस एक्स्पोलाई एउटा पारिवारिक गन्तव्यका रूपमा पनि विकास गरेका छौं। गाडी तथा मोबिलिटी सम्बन्धित उत्पादनहरूको प्रदर्शनीसँगै एक्स्पोमा गुणस्तरीय रेष्टुरेन्टहरू छन्। विभिन्न स्पोन्सरहरूको स्टल तथा मनोरञ्जनको व्यवस्था र सुरक्षाको पूर्ण ग्यारेन्टी गरिएको छ। अहिले मुलुकमा आर्थिक मन्दी कायमै छ। विविध कारणले उपभोक्ताको क्रयशक्ति बढेको छैन। एक्स्पोमा सहभागी हुने उपभोक्ताले सवारी साधन हेर्ने मात्र नभएर नयाँनयाँ प्रविधिबारे बुझ्ने, सुरक्षित ड्राइभिङबारे जानकारी लिने र आगामी दिनमा अटो बजारको भविष्य के हुन्छ र कता जाँदैछ भन्ने बुझ्ने अवसर पाउनेछन्। त्यसैले हामीले एक्स्पोमा रोड सुरक्षा, सिप विकास र उद्योग सञ्चालनका लागि आवश्यक नयाँ प्रविधिसम्बन्धी लर्निङ सेसन पनि राखेका छौं। यस एक्स्पोमा सहभागी हुनेहरूका लागि नाइमाले नि:शुल्क सिकाइ सत्र सञ्चालन गर्नेछ। यस पटक विभिन्न क्षेत्रका मोडरेटरले सेसन चलाउने छन्। सम्बन्धित विज्ञ तथा प्रतिष्ठित व्यक्तिहरूसँग छलफल गर्नेछन्। समग्रमा यस्तो एक्स्पोमार्फत नाइमाले सवारी साधन एसेम्बल गर्ने उद्योग र उपभोक्ताबिचको दूरी घटाउने उद्देश्य राखेको छ।
अहिले नेपालमा अटोमोबाइल क्षेत्र कति ठूलो र विविध आएको छ भन्ने जानकारी पनि यो एक्स्पोले दिनेछ। यस एक्स्पोबाट उपभोक्ताले अघिल्लो वर्षभन्दा केही नयाँ प्रविधि, ब्रान्ड र मोडलहरू हेर्न पाउने छन्। यस पटकको एक्स्पोमा सबैभन्दा ठूलो आकर्षण भनेकै विविधता हो। त्यसैले हामीले यस एक्स्पोलाई अवलोकन गर्ने ठाउँभन्दा पनि ‘बुझ्ने र निर्णय गर्ने’ आकर्षक हब बनाउन खोजेका छौं। एक्स्पोमा आउने उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार सही निर्णय गर्न सकुन् भन्ने हाम्रो प्रयास हो। यसपाली वित्तीय साझेदारमार्फत विशेष सवारी फाइनान्सिङ सुविधा पनि उपलब्ध गराउने व्यवस्था गरेका छौं।
एक्स्पोको विशेषता के के हुन्?
काठमाडौंको भृकुटीमण्डपमा (आज) २६ देखि ३१ साउनसम्म सञ्चालन हुने दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो-२०२६’ मा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा धेरै नयाँ गाडी, उत्पादन तथा मोडल सार्वजनिक हुँदैछन्। यस एक्स्पोलाई हामीले सवारीसाधन देखाउने वा बिक्री गर्ने ‘अटो सो’ का रूपमा मात्र हेरेका छैनौं। यो एक्स्पोले मुलुकको अटोमोबाइल्स क्षेत्रलाई नै एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरेको छ। अघिल्लो वर्षको एक्स्पोमा ४२ वटा ब्रान्ड थियो । यसपटक अघिल्लो वर्षभन्दा धेरै नयाँ उत्पादन तथा मोडलहरू सार्वजनिक हुनेछन्। गतवर्ष हामीले पहिलो पटक ‘मोबिलिटी एक्स्पो’को अवधारणा ल्याएका थियौं। यस एक्स्पोलाई उपभोक्ता र व्यवसायी दुवैले निकै रूचाएका छन्। यो एक्स्पो गाडी प्रदर्शनी मात्र नभएर नेपालको अटोमोबाइल क्षेत्रको एउटा उत्सव पनि हो। सामान्य उपभोक्ताले प्रयोग गर्ने सस्तोदेखि करोडौं मूल्य पर्ने महँगा गाडी पनि प्रदर्शनीमा राखिएको छ।
नाइमाले पहिलेदेखि पूर्वाधार र लगानीको वातावरण आवश्यक रहेको बताउँदै आएको छ। प्रविधि जुनसुकै होस्, त्यो ग्राहकको आवश्यकता र देशको पूर्वाधारसँग सुहाउँदो हुनुपर्छ। हाल मुलुकमा देखिएको इभी गाडीको यस आकर्षणले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिकतातर्फ डोर्याइरहेको छ। यस एक्स्पोमा सहभागी हुनेहरूलाई नि:शुल्क पार्किङ, नि:शुल्क सिकाइको व्यवस्था गरिएको छ। प्रवेश शुल्क तिर्नका लागि क्युआरको व्यवस्था गरिएको छ।
अहिले नेपालको अटोमोबाइल बजारमा के परिवर्तन हुँदै छ? यसबारे केही बताइदिनुस् न ?
अहिले गाडी विलासिताको साधन नभएर अनिवार्य साधन बनिरहेको छ। त्यसैले हरेक मान्छेले नयाँनयाँ ब्रान्ड र मोडलका सवारी साधन खोजिरहेका छन्। नेपालको अटोमोबाइल बजार अहिले परिवर्तनको चरणमा छ। अहिले उपभोक्ताको आवश्यकता र रोजाइ पनि निकै बदलिएको छ। पहिले गाडी किन्दा ब्रान्ड, मूल्य र डिजाइनलाई मुख्य आधार मानिन्थ्यो भने अहिले फ्युल इफिसियन्सी, सुरक्षा, प्रविधि, बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको उपलब्धता र पुन: बिक्री मूल्यजस्ता कुरालाई पनि उत्तिकै महत्व दिन थालिएको छ।
हाल विशेषगरी विद्युतीय सवारी साधनतर्फ उपभोक्ताको आकर्षण बढेको छ। उपभोक्ताले खोजेको संसारभरका गाडी नेपाली बजारमा आएका छन्। अहिले धेरै नयाँनयाँ ब्रान्ड र मोडल आएका छन्। यसले उपभोक्तालाई छनोटको राम्रो अवसर दिएको छ। यसले बजारमा प्रतिस्पर्धा पनि बढाएको छ। बजार विस्तारका लागि उपभोक्ताको क्रयशक्ति, सहज वित्तीय पहुँच र स्थिर सरकारी नीति महत्वपूर्ण हुन्छन्। अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तु बिक्री हुने क्षेत्रका रूपमा नभई रोजगारी, लगानी, यातायात र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा हेर्नुपर्छ भन्ने हाम्रो धारणा हो। हामीले सरकारसँग हुने हरेक छलफलमा यसैलाई जोड दिएका छौं।
इभीको बढ्दो बजारलाई नाइमाले कसरी हेरिरहेको छ?
संसारभर देखिएको अवस्थालाई हेर्दा विद्युतीय सवारी साधनको विकासलाई रोक्न सकिने अवस्था छैन। विश्वभर मोबिलिटीको भविष्य विद्युतीय गाडीतर्फ अघि बढिरहेको छ। हाम्रो देश पनि जलस्रोतक्षेत्रको धनिमध्ये एक मानिन्छ। त्यसैले विद्युतीय गाडीमा सक्दो छुट दिएर पेट्रोल र डिजेलको आयात घटाउनेतर्फ सरकार अग्रसर हुनुपर्छ भन्नेबारे नाइमाले सरकारलाई ध्यानाकर्षण गराइरहेको छ। नेपाल पनि यस्तो इभी गाडीको लहरबाट अलग रहन सक्दैन।
नेपालजस्तो भौगोलिक विविधता भएको देशमा सबै प्रकारका सवारी साधनका लागि एउटै समाधान उपयुक्त हुन्छ भन्ने हुँदैन। यहाँका सडक त्यति राम्रा छैनन्। ट्राफिक व्यवस्थापन पनि त्यति राम्रो छैन। अहिले नेपाल सरकारले इभी गाडी खरिद गर्न कर छुटको राम्रो अवसर दिएको छ। अझै लामो रुटमा चल्ने सवारी साधनको ब्याट्री चार्ज गर्न आवश्यक चार्जिङ स्टेसन र बिग्रिएको गाडी मर्मत गर्ने ठाउँ पनि कम छ। त्यसैले हामीले इभी सवारी साधन सञ्चालनका लागि आवश्यक पूर्वाधारमा जोड दिनुपर्छ भनिरहेका छौं । सहरमा दैनिक आवतजावत गर्ने उपभोक्ताको आवश्यकता र लामो दूरी वा दुर्गम क्षेत्रमा यात्रा गर्ने उपभोक्ताको आवश्यकता फरक हुन्छ । त्यसैले हामी प्रविधिका आधारमा कुनै एउटा विकल्प मात्र रोज्नुपर्छ भन्ने पक्षमा छैनौं। इभीको विस्तारसँगै चार्जिङ पूर्वाधार, दक्षजनशक्ति, ब्याट्री व्यवस्थापन, बिक्रीपछिको सेवा र रिसाइक्लिङ जस्ता विषयमा पनि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नु आवश्यक छ।
प्रकाशित: २६ श्रावण २०८३ ०८:४३ मंगलबार