अन्तर्वार्ता

‘नेपाल कुनै शक्तिको पक्षमा होइन, आफ्नै बाटोमा हिँड्नुपर्छ’

भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईका निम्ति निर्वाचन आफैंमा रोमाञ्चक रह्यो। कुनै बेलाका आफ्नै दलका नेता एवं कोसी प्रदेशका पूर्वमुख्यममन्त्री शेरधन राईमाथि विजय निकाल्नु आफैंमा देशव्यापी चर्चाको विषय बन्यो। नागरिक फ्रन्टलाइनको बुधबारको शृंखलामा राईले प्रधान सम्पादक गुणराज लुइँटेलसँग निर्वाचन, संसद्मा खेल्ने भूमिका र भावी रणनीतिबारे चर्चा गरेका छन्। प्रस्तुत छ, संवादको सम्पादित अंश।

यसअघि तपाईं टेम्के मयुङ गाउँपालिकाको अध्यक्ष हुनुहुन्थ्यो। पालिकाको अध्यक्षबाट एकैपटक संघीय संसद्को सदस्यमा आइपुग्नुभयो। यो यात्रा कस्तो लागिरहेको छ?

राजनीति गर्ने मानिसको चाहना, सपना र इच्छा हुनु स्वाभाविक हो। म नेकपा एमालेमा हुँदा टेम्के मयुङ गाउँपालिकाको अध्यक्ष भएको थिएँ। पहिलो कार्यकाल मैले धेरै राम्रोसँग बिताएँ। विकास निर्माण, श्रमदान, पारदर्शिता र जनसहभागिताका धेरै उदाहरणहरू मैले स्थापित गरेको थिएँ। दोस्रो पटक फेरि अध्यक्ष हुने इच्छा जाहेर गरेँ। पार्टीले मलाई टिकट दियो तर चुनावमा पराजित भएँ। तत्कालीन गठबन्धनका उम्मेदवार कांग्रेसका सरोज बस्नेतले मलाई हराउनुभयो। उहाँ मेरा आफन्तै हुनुहुन्छ - नाति पर्नुहुन्छ। त्यो पराजयले मलाई धेरै पीडा दियो।

तर त्यसपछि पनि मैले राजनीति छोडिनँ। म एमालेको कोसी प्रदेश कमिटीमा काम गरिरहेको थिएँ तर पार्टी छोड्ने वातावरण बन्दै गयो। कारणहरू थुप्रै थिए। मैले श्रम संस्कृति पार्टीमा जाने निर्णय गरें। त्यसपछि केही समयमा नै प्रतिनिधिसभा निर्वाचनको घोषणा भयो। पार्टीले मलाई भोजपुरबाट उम्मेदवार बनायो। म चुनावी मैदानमा उत्रिएँ। चुनाव जितेपछि अहिले रमाइलो लागिरहेको छ। यात्रा ठिक लागिरहेको छ– सिधा, इमानदार र अर्थपूर्ण।

एमालेमा धेरै वर्ष बिताइसकेपछि त्यो पार्टी छोड्नुपर्ने परिस्थिति कसरी बन्यो?

धेरै अन्तर्वार्ताहरूमा मैले यो विषय उठाएको छु। एमालेभित्र दुई धार थियो। म (केपी) ओली कमरेडको धारमा थिएँ तर ओलीले पेल्ने क्रम सुरु गरेपछि नेता, कार्यकर्ता सबै पेलिन थाले। पार्टीमा एउटा यस्तो वातावरण बन्यो - जो ओलीको निकट थिएन, उसको बाटो अवरुद्ध हुन थाल्यो।

ओलीले दुई पटक संसद् बाँकी राख्नुभएन। पहिलो पटक २०७२ मा संविधान जारी गरेपछि संसद् भंग गरियो। दोस्रो पटक २०७७ मा संसद् भंग गरेर चुनावमा जाने निर्णय गरियो। त्यसपछि फेरि चुनाव गर्‍यौं, सरकारमा गयौं। मानिसहरू मर्ने, बिरामी हुने, रोजगार गुमाउने वातावरण बन्दै गयो। कोभिडको महामारीमा संसद् नचल्दा जनताका थुप्रै समस्याहरू थपिए।

जेनजी विद्रोहपछि ओलीले एमालेमा मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो  तर त्यस विपरीत पूर्वराष्ट्रपति विद्या भण्डारीजस्ता पार्टीका अर्को पंक्तिका इमानदार नेताहरूको सदस्यता नवीकरण गरेर अध्यक्ष बनाउनुपर्छ भन्ने धेरैको भावना हुँदाहुँदै पनि उहाँको पार्टी सदस्यता खारेज गरियो। पार्टीभित्र विचार, वैचारिक बहस र लोकतन्त्र मर्न थाल्यो।

महाधिवेशन नजिकिँदै जाँदा मैले एमाले छोड्ने निर्णय गरें। म मात्र एक्लो थिइनँ। मुकुन्द न्यौपानेदेखि अरू धेरै नेता–कार्यकर्ता पनि निराश भएर पार्टी छोड्दै थिए। हामी जस्ता सोझा–साधा मानिस त्यो वातावरणमा बस्न सक्दैनथ्यौं। यो एक दिनको कुरा होइन, यो त लामो शृंखला थियो, चरणबद्ध रूपमा विकृत हुँदै गएको अवस्था थियो।

एमाले छोड्नुको कारण तपाईंले व्यक्तिगत रूपमा मात्र लिनुभयो वा त्यहाँ संगठनात्मक कारण पनि थिए?

पार्टीमा हामी धेरै जना थियौं, जसले ओलीको एकलौटी शैली र निर्णय प्रक्रियामा प्रश्न उठाउँथ्यौं । म ओलीकै धारको मानिस थिएँ तर जब हामीले पार्टीभित्र लोकतन्त्रको माग गर्‍यौं, हामीलाई नै ‘गुटबन्दी’ को आरोप लाग्यो। मैले भोजपुरमा कैयन् कार्यकर्ता उत्पादन गरेको थिएँ। तीमध्ये धेरैजना अहिले पनि एमालेमै छन् तर जब हामीले विचार र इमानदारीको राजनीति गर्न खोज्यौं, हामीलाई संस्थापन पक्षले पेल्यो।

पार्टीभित्र जब विद्या भण्डारी पक्षधरलाई हेपियो, जब सिंहदरबारको राजनीतिले साधारण कार्यकर्ताको पीडा बुझ्न छोड्यो, तब मैले महसुस गरेँ - यो पार्टीमा मेरो ठाउँ छैन। मैले आफूसँग कसैलाई पनि ‘मसँग आऊ’ भनिनँ।

मैले भनेँ– म एक्लै जान्छु  तर मैले बिदा माग्दा धेरैले साथ दिए। एमालेकै धेरै कार्यकर्ता, नेता, शुभेच्छुकले मलाई चुनावमा सहयोग गरे। यो सहयोगको अर्थ थियो– पुरानो दलप्रति मानिसहरू कत्तिको आक्रोशित छन्।

एमाले छोड्दा तपाईंको मनोवैज्ञानिक अवस्था कस्तो थियो? कतै पछुतो पो भयो कि?

एकदमै रोचक र पीडादायी पनि। मैले एमाले छोड्ने निर्णय गरेपछि धेरै साथीहरूसँग बिदा माग्दै हिँडेँ। बिदा माग्दामाग्दा दिनभरि तनाव हुन्थ्यो। राति सुत्थेँ, बिहान उठ्दा लाग्थ्यो– म अझै पनि एमालेमै छु। मेरो स्वभाव नै पक्का छ। मैले छोड्ने भनेपछि छोड्नैपर्छ भन्ने ठानेँ तर पहिलो दुई दिन मलाई नरमाइलो लाग्यो। एउटा यस्तो पीडा थियो– जहाँ मैले आफ्नो युवावस्था, रगत, पसिना, जवानी सबै लगानी गरेको थिएँ, त्यही पार्टी छोड्नुपर्दा मन दुख्यो।

तर केही दिनपछि त्यो पीडा हरायो। किनभने मैले पार्टी छोडेपछि श्रम संस्कृति पार्टीमा आएर नयाँ उर्जा पाएँ। नयाँ साथीहरू भेटेँ। जनतासँग सिधा सम्पर्क बढाएँ । एमाले छोड्नु सही निर्णय थियो भन्ने प्रमाण चुनावी नतिजाले दियो।

तपाईंको पुरानो पार्टी (एमाले) र नयाँ पार्टी (श्रम संस्कृति) मा के मुख्य भिन्नता देख्नुहुन्छ?

एमालेमा हुँदा हामी ठुला–ठुला भाषण गथ्र्यौं, राम्रा नीति लेख्थ्यौं, तर व्यवहारमा त्यो देखिँदैनथ्यो। सांगठनिक लोकतन्त्र नामको चिज थिएन। नेताको घर, गाडी, सम्पत्ति बढ्यो तर कार्यकर्ताको अवस्था उही रह्यो।

श्रम संस्कृति पार्टीमा त्यस्तो छैन। हाम्रो अध्यक्ष हर्क साम्पाङ आफैं श्रमदान गर्छन्। गितार बजाउँदै, गीत गाउँदै, जनतासँग मिलेर काम गर्छन्। हामी पद र प्रतिष्ठाका लागि होइन, सेवाका लागि राजनीति गर्छौं। हामी मन्त्री बन्न धाउँदैनौं। हाम्रो ड्रेस–कोड, जीवनशैली, व्यवहार सबै सामान्य जनताकै जस्तो छ। हामी भ्रष्टाचार गर्दैनौं, गर्न दिँदैनौं। यही भिन्नता र मौलिक छ।

तपाईंले एमालेका पूर्वमुख्यमन्त्री शेरधन राईजस्ता ठुला नेतालाई पराजित गर्नुभयो। त्यो जित तपाईंले कसरी सम्भव बनाउनुभयो?

शेरधन दाइ बलियो प्रतिस्पर्धी हुनुहुन्छ। उहाँको आफ्नै संगठन छ, सरकारको अनुभव छ, कोसी प्रदेशको मुख्यमन्त्री बनेर काम गर्नुभएको छ तर जनताले यसपालि नयाँ विकल्प खोजे। पुराना अनुहार, पुरानो शैली, पुरानो गठबन्धनप्रति साधारण मानिसमा वितृष्णा पैदा भएको थियो।

हामीले चुनावी प्रचारका लागि धेरै समय पाएनौं  तर म भोजपुरकै स्थानीय मानिस हुँ। मैले गाउँपालिकाको अध्यक्ष भएर काम गरेको अनुभव छ। जनता मलाई चिन्थे। मैले पदीय सुविधा नलिई, मोटरसाइकलमा हिँडेर गाउँगाउँ पुगेँ। मैले भोजपुरको हरेक वडाको समस्या सुनेँ। मलाई के थाहा थियो भने -जनता अब नयाँ चाहन्छन्। श्रम संस्कृति पार्टीको अभियानलाई जनताले मन पराए।

प्रारम्भिक चरणमा मानिसहरूले भन्थे -‘३५ सय मत मात्र ल्याउँछौं।’ त्यो संख्या बढेर चार हजार, ४५ सय हुँदै अन्तिम दिनसम्म सात हजारदेखि आठ हजारसम्म पुग्यो। शेरधन दाइलाई पनि थाहा थिएन कि म जित्छु तर मलाई आफैंलाई विश्वास थियो– किनभने म ग्राउन्डमा थिएँ।

चुनाव जित्नुमा मुख्य कारक केके थिए?

पहिलो– जनतामा पुरानो राजनीतिप्रतिको आक्रोश। दोस्रो– श्रम संस्कृति पार्टीको ‘नयाँपन’ र ‘माटो’प्रतिको लगाव। तेस्रो– मेरो आफ्नो व्यक्तिगत इमानदार छवि। मैले गाउँपालिकाको अध्यक्ष हुँदा बिजुली बाल्न आफैं पोल ओसारेको छु। सडक निर्माणमा श्रमदान गरेको छु। मानिसहरूले त्यो देखेका थिए।

चौथो– हर्क साम्पाङको राष्ट्रव्यापी आकर्षण। यद्यपि उहाँले मेरो क्षेत्रमा प्रत्यक्ष प्रचार गर्नुभएन, तर उहाँको नामले पनि धेरै युवा आकर्षित भए। पाँचौं– गठबन्धनको उम्मेदवार शेरधन राईको आफ्नै कमजोरी। उहाँले मुख्यमन्त्री हुँदा बजेट विनियोजन गर्नुभए पनि जनताको घरदैलोमा विकास पुगेन। जनताले त्यो महसुस गरे।

चुनावमा तपाईंले धेरै एमाले कार्यकर्ताको पनि साथ पाउनुभयो। त्यो कसरी सम्भव भयो?

मैले एमाले छोड्दा ‘बिदा मागेको’ मानिस हुँ। मैले कसैलाई ‘मसँग आऊ’ भनिनँ। तर मैले एमालेका धेरै इमानदार कार्यकर्ता, शुभेच्छुकलाई फोन गरेर भनें– ‘म पार्टी छोड्दै छु, तपाईंहरू नरिसाउनुहोस्।’ उनीहरूले मेरो इमानदारी बुझे। उनीहरू पनि एमालेभित्रको एकलौटी शैलीबाट दिक्क थिए। त्यसैले उनीहरूले मलाई ‘सहयोग’ गरे - खुला रूपमा नभए पनि, गोप्य रूपमा भए पनि।

यो सहयोगले मेरो आत्मबल बढाएको थियो। मैले महसुस गरेँ– पार्टी परिवर्तन गरे पनि, इमानदारी परिवर्तन हुँदैन। जनताले त्यही इमानदारीलाई मूल्यांकन गर्छन्।

हर्क साम्पाङसँग तपाईंको चिनजान कहिले र कसरी भयो?

हर्क साम्पाङलाई मैले धरानको मेयरको रूपमा चिनें। उहाँले श्रमदान, सरसफाइ र नागरिक सेवा प्रवाहमा गरेको काम मैले नियालेको थिएँ। धेरै विश्लेषकहरूले उहाँलाई ‘माटोबाट स्थापित नेता’, ‘राष्ट्रभक्त’, ‘भ्रष्टाचारविहीन’का रूपमा चिनाएका थिए।

मेरो पहिलो औपचारिक भेट धरानको नगर अध्यक्षको माध्यमबाट भयो। केही समय कफीमा कुरा भयो। उहाँले ‘पार्टीमा आउनुहोस्, काम गरौं’ भन्नुभयो। त्यसपछि पार्टी प्रवेशको कार्यक्रम धरानको भानुचोकमा भयो। त्यहाँ मैले केही शब्द बोलेँ। त्यसपछिका भेटहरू छोटै थिए  तर उहाँको सोच, श्रमप्रतिको समर्पण र राष्ट्रियता मैले मन पराएँ।

म आफूलाई पनि ‘श्रमदेवा’ (राई भाषामा देवा भनेको ठुलोबा हो) भन्छु। किनभने म उमेरले जेठो छु। हाम्रो राई भाषामा ‘देवा’ भनिन्छ। हामी गितार बजाउँदै, गीत गाउँदै काम गर्छौं। यो मेलोडी श्रम संस्कृतिको मूल आत्मा हो।

श्रम संस्कृति पार्टीको वैचारिक धार के हो? यो कम्युनिस्ट, समाजवादी वा अन्य?

हामी न दक्षिणपन्थी छौं, न त वामपन्थी। हामी सिधा छौं– सोझो नेपाली माटोको पक्षमा। हाम्रो नीति, कार्यक्रम, संस्कृति, पहिचान सबै नेपाली माटोसँग जोडिएको छ। हामी कसैको उपनिवेश वा सामन्तवादको पक्षमा छैनौं। हामी श्रमलाई पूजा गर्छौं।

हर्क साम्पाङ कहिल्यै कम्युनिस्ट पार्टीको सदस्य थिएनन्। तर उनको कार्यशैली देखेर धेरै कम्युनिस्टहरूले भन्छन्– ‘साँचो कम्युनिस्ट हर्क साम्पाङ नै हुन्।’ किनभने उहाँले सिद्धान्त मात्र होइन, व्यवहारमा श्रमदान गरेर, जनताको पीडा बुझेर राजनीति गरेको छ।

हाम्रो विचारधारा भनेको - स्वदेशीपन, आत्मनिर्भरता, सामाजिक न्याय र श्रमको गरिमा। हामी विदेशी हस्तक्षेपको विरोध गर्छौं। हामी ऋणको विरोध गर्छौं। हामी पुँजीवादी असमानता र साम्यवादी एकलौटीपन दुवैको विरोध गर्छौं। हाम्रो बाटो भनेको– नेपाली माटो, नेपाली श्रम, नेपाली उत्पादन।

राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा श्रम संस्कृति पार्टीको विस्तारको योजना के छ?

हामी अहिले प्रतिनिधिसभामा मात्र सात सिट ल्याएका छौं। तर हाम्रो लक्ष्य आगामी निर्वाचनमा प्रदेश र स्थानीय तहमा पनि बलियो उपस्थिति बनाउने छ। हामी अर्को पाँच वर्षभित्र नेपालको पहिलो दलको रूपमा उदाउने छौं। हामी पार्टीलाई हरेक गाउँपालिका, हरेक वडामा विस्तार गर्ने अभियान चलाइरहेका छौं।

श्रमदानलाई राष्ट्रिय अभियानको रूप दिने हाम्रो योजना छ। हप्तामा एक दिन श्रमदान गर्ने, सार्वजनिक पूर्वाधार निर्माण गर्ने र जनसहभागिता बढाउने हाम्रो मूल रणनीति हो। स्थानीय तहमा हामीले ठुलो सफलता पाइसकेका छौं - धरान उदाहरण हो। अब त्यसलाई राष्ट्रव्यापी बनाउने समय आएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठनपछि सबै सांसदलाई भेट्न बोलाउनुभएको थियो। तर तपाईंहरू किन नगएको?

हाम्रो अडान स्पष्ट छ– राष्ट्र प्रक्रियागत रूपमा चल्नुपर्छ। सरकारको प्रमुखले बोलाउँदा हामी जान्छौं तर त्यो पनि संसदीय मर्यादा र प्रक्रिया पालना गरेर। पहिले संसद्को बैठक बसोस्। सरकार पक्ष र प्रतिपक्ष कुन पंक्तिमा बस्छन् थाहा होस्। सांसदहरूले प्रधानमन्त्रीको अनुहार चिनून्। त्यसपछि बोलाउनुहोस्– हामी तुरुन्तै जान्छौं।

हामी ‘बोलाएको भरमा’ मात्रै गइदिने हो भने पुरानो राजनीतिको त्यही खेल फेरि दोहोरिन्छ। हामी ‘हो–हो’ गर्ने, ‘जी–जी’ गर्ने सांसद होइनौं। हामी जनताको आवाज हौं। जनताले हामीलाई हेरिरहेका छन्। हामीले उनीहरूलाई देखाउनुपर्छ कि हामी परम्परागत राजनीतिको दलाल होइनौं।

प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारहरू राम्रा छन्। उहाँले संसद्को बैठक राख्नुभयो, त्यसपछि हामी आवश्यक ठाउँमा सहकार्य गर्न तयार छौं। तर हामी कुनै पनि बैठकलाई ‘बहिष्कार’ गर्ने पुरानो दलको चालमा लाग्दैनौं। हामी संसद्को प्रक्रियामा विश्वास गर्छौं।

कांग्रेस–एमालेले संसद् बहिष्कार गरे भने श्रम संस्कृति पार्टीले कस्तो भूमिका खेल्छ?

हामी मुख्य प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार छौं। कांग्रेस–एमालेले संसद् बहिष्कार गरे भने पनि हामी संसद् चलाउन सहयोग गर्छौं। जनताका अजेन्डा, विकासका अजेन्डा, राष्ट्रियताको अजेन्डा हाम्रा लागि पहिलो प्राथमिकता हो।

पुराना दलहरू आफ्नै गुटको स्वार्थका लागि संसद् अवरुद्ध गर्छन्। तर हामी त्यस्तो गर्दैनौं। हामी रचनात्मक प्रतिपक्ष हुनेछौं। जुन विधेयक देशको हितमा हुन्छ, हामी सहयोग गर्छौं। जुन विधेयक देशको हितविपरीत हुन्छ, त्यसको तार्किक र सशक्त विरोध गर्छौं।

प्रधानमन्त्री बालेन्द्र शाह र हर्क साम्पाङबिचको सम्बन्ध के कारणले बिग्रियो?

जेनजी आन्दोलनको समयसम्म दुवैको सम्बन्ध राम्रो थियो। सत्ता गठबन्धन बन्ने बेला पनि हर्क साम्पाङले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुभएको थियो तर पछि सरकार गठनको समयमा केही असहमति भयो।

खास कुरा के हो भने जब मन्त्री बन्न भारतीय दूतावास भेट्नुपर्ने सर्त राखियो, हर्क साम्पाङले त्यो मानेनन्। उहाँको अडान थियो– ‘विदेशी दूतावाससँग सल्लाह नगरी स्वतन्त्र रूपमा सरकार बनाउनुपर्छ।’ तर बालेन्द्र शाहले त्यो अडानलाई साथ दिनुभएन। बरु कुलमान घिसिङजस्ता व्यक्तिलाई मन्त्री बनाउनुभयो। त्यसपछि हर्क साम्पाङ पछि हट्नुभयो। यसैले उहाँहरूबिच दुरी बढ्दै गयो।

तैपनि हामी व्यक्तिगत विवादमा जाँदैनौं। हामी नीति र सिद्धान्तको कुरा गर्छौं। बालेन्द्र शाह सरकारले देशको हितमा काम गर्‍यो भने हामी साथ दिन्छौं। गरेन भने हामी विरोध गर्छौं।

एमसिसी सम्झौतामा श्रम संस्कृति पार्टीको के अडान छ?

हाम्रो स्पष्ट अडान छ– एमसिसी खारेज गर्नुपर्छ। यो सम्झौता नेपालको सार्वभौमिकताको विरुद्धमा छ। यसले नेपाली सेनालाई अमेरिकी नियन्त्रणमा राख्न खोज्छ। यसले नेपालको संसद्को अधिकारलाई कमजोर बनाउँछ। हामीले यसविरुद्ध देशव्यापी अभियान चलाइरहेका छौं।

एमसिसी पास भइसकेको छ, तर संसद्मा पुनरावलोकन गर्ने, संशोधन गर्ने वा खारेज गर्ने अधिकार संसद्को छ। हामी त्यो अधिकारको प्रयोग गर्ने छौं। हामी केवल शब्दमा मात्र होइन, व्यवहारमा पनि यसको विरोध गर्ने छौं।

अमेरिकासँगको एसपिपी (स्टेट पार्टनरसिप प्रोग्राम) बारे के भन्नुहुन्छ?

एसपिपी एमसिसीभन्दा पनि खतरनाक छ। यसले नेपाललाई अमेरिकी सैन्य सहायकको रूपमा परिणत गर्ने षड्यन्त्र हो। यो लागु भयो भने नेपाली सेनालाई अमेरिकी कमान्डमा राखिनेछ। यसले नेपाललाई भारत–चीन विवादको ध्रुवमा धकेल्नेछ। हामी यसको कडा विरोध गर्छौं।

देशभक्त नागरिक, बुद्धिजीवी, पूर्वसेना, पूर्वकर्मचारी सबैले यसको विरोध गरिसकेका छन्। तर सरकार मौन छ। श्रम संस्कृति पार्टीले यसलाई मुख्य मुद्दा बनाउनेछ। हामी संसद्, सडक र जनताको घरदैलोमा यसको विरोध गर्नेछौं।

विदेशी ऋण र सहायता नलिने तपाईंको अडान देखिन्छ तर, यस्तो सहयोग वा अनुदान लिएन भने विकास कसरी हुन्छ?

विकासको अर्थ ऋण थुपार्नु होइन। विकासको अर्थ स्थानीय स्रोत, स्थानीय श्रम, स्थानीय उत्पादनलाई बढावा दिनु हो। हामीसँग जलस्रोत छ, कृषियोग्य जमिन छ, पर्यटन सम्भावना छ, सिप र श्रम छ। हामीले ऋण लिएर अरूको दास भएर विकास गर्नुभन्दा आफ्नै स्रोतले, श्रमदानले सानो तर आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्छ।

हामी विदेशी सहायता पूर्ण रूपमा अस्वीकार गर्दैनौं तर अनुदान र ऋणबिचको भिन्नता बुझ्नुपर्छ। अनुदान बिनासर्त आएको खण्डमा हामी छलफल गर्न सक्छौं। तर ऋण, जसले पछि हाम्रो घाँटी थिच्छ, त्यो हामी लिन्नौं। ‘बरु भोकै बस्ने तर ऋण लिने छैनौं’ यो हाम्रो अडान हो।

नेपालको भूराजनीतिक अवस्थालाई तपाईं कसरी हेर्नुहुन्छ ? नेपाल कसको पक्षमा हुनुपर्छ?

नेपाल कसैको पनि पक्षमा हुनु हुँदैन। नेपाल सधैं तटस्थ रहनुपर्छ। हाम्रो छिमेकी भारत र चीन ठुला शक्ति हुन् तर हामी उनीहरूबिचको प्रतिस्पर्धाको मूल्य चुकाउनुहुँदैन। हामीले आफ्नो सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्र परराष्ट्र नीति कायम राख्नुपर्छ।

विदेशी सेना नेपाली भूमिमा पाइला राख्न पाउनु हुँदैन। नेपाली भूमिमा भारतीय वा अमेरिकी वा चिनियाँ सैनिक अखडा बन्नुहुँदैन। हामीले विश्वयुद्धको मुखमा आफूलाई सुम्पिनुहुँदैन । हामीले शान्तिप्रिय, स्वतन्त्र र आत्मनिर्भर राष्ट्र बन्नुपर्छ।

श्रमदानको तपाईंको मोडेल कसरी सफल हुन्छ? उदाहरण दिनुहोस्।

धरानलाई हेर्नुहोस् । हर्क साम्पाङ मेयर बनेपछि श्रमदानको संस्कृतिले सहरको मुहार नै बदलिदियो। सडक सफा भयो, फोहोर व्यवस्थापन सुधारियो, नागरिक सेवा चुस्त भयो। एक १६–१७ वर्षको बच्चाले पनि चकलेटको खोल जमिनमा फाल्दैन, गोजीमा राख्छ। यो श्रम र अनुशासनको शिक्षा हो।

दार्चुलाको पुल हेर्नुहोस् । श्रमदान र सानो चन्दाबाटै पुल बनाउने पैसा उठिसकेको छ । अहिले हामी त्यहाँ पुल निर्माणका लागि इन्जिनियरको टोली पठाइसकेका छौं। हामी आफैं गिट्टी किन्ने, श्रमदान गर्ने र पुल बनाउने छौं। यो सरकारी ठेक्काको भ्रष्टाचारबाट मुक्त मोडेल हो।

हप्तामा एक दिन मात्रै देशभर श्रमदान गर्ने हो भने कति काम हुन्छ? नेपालमा करिब १० लाख होइन, एक करोड मानिसले काम गर्न सक्ने अवस्था छ। सबैले हप्तामा एक दिन श्रम गरे भने एक करोड दिनको काम हुन्छ। वर्षौंवर्षको काम एक हप्तामा सकिन्छ। यो परिकल्पना यथार्थ हो। हामी यसैलाई साकार बनाउँदै छौं।

गरिबी, बेरोजगारी, भोकमरी तपाईंले कसरी सम्बोधन गर्नुहुन्छ?

गरिबीको मूल कारण भ्रष्टाचार, असमानता, र रोजगारीको अभाव हो। हामी भ्रष्टाचारलाई शून्य सहनशीलताको साथ लिन्छौं। हामी आफ्ना सांसद, मन्त्री, कर्मचारीलाई जवाफदेही बनाउछौं। हाम्रो जीवनशैली सादा छ– मसँग काठमाडौंमा घर छैन, जग्गा छैन। म भोजपुरमा बस्छु। हामी मोटरसाइकलमा हिँड्छौं, औपचारिक पोसाकको मोह राख्दैनौं।

रोजगारीका लागि हामी सिप विकास, स्वरोजगार र कृषि उद्यमलाई बढावा दिन्छौं। श्रमदानबाट सिप सिक्न सकिन्छ। गाउँ–गाउँमा साना उद्योग, हस्तकला, पर्यटन प्रवर्धन गर्न सकिन्छ। हामी विदेश पलायन रोक्न चाहन्छौं। युवालाई देशमै काम दिनुपर्छ।

वृद्धभत्ता कटौतीको विरोध हामीले गरिसकेका छौं। एक गरिब वृद्धवृद्धाको लागि महिनाको त्यो पाँच सय रुपैयाँ पनि जीवनरेखा हो। हामी त्यसलाई कटौती गर्न दिन्नौं। बरु सम्पन्नको भत्ता कटौती गर्नुपर्छ, गरिबको होइन। डिजिटल प्रणालीबाट वास्तविक गरिबको पहिचान गरेर मात्र सामाजिक सुरक्षा दिनुपर्छ।

तपाईंलाई एउटा घटना सुनाउँछु - हिमालुङमा चट्याङ लागेर एक आमाको मृत्यु। त्यसबाट तपाईंले के निष्कर्ष निकाल्नुभयो?

त्यो घटना अत्यन्त पीडादायी थियो। २२ वर्षीया आमा आफ्नो एक महिनाको बच्चालाई दुध खुवाउँदै थिइन्। टिनको कोठा थियो, जमिन भिजेको थियो, चट्याङ पर्‍यो र करेन्ट लागेर आमाको मृत्यु भयो। बच्चाचाहिँ बाँच्यो - आमाले बच्चालाई फ्याँकिदिइन्। म त्यहाँ मोटरसाइकलमा पुगेको थिएँ। प्रहरीलाई फर्किन भनेर म आफैं त्यहाँ पुगेँ।

मैले निष्कर्ष निकालेँ– यो मृत्यु गरिबीको कारणले भयो। सम्पन्न परिवारको घरको बिजुलीको तार सुरक्षित हुन्छ, टिनको छानो हुँदैन, अर्थिङ हुन्छ तर गरिबको घरमा त्यो सुविधा हुँदैन। सरकारले गरिबी निवारण र आधारभूत सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ। हरेक घरमा सुरक्षित बिजुली, पक्की घर र जनचेतना पुर्‍याउनुपर्छ।

हामी त्यो परिवारलाई कपडा र केही सहयोग पुर्‍याएका थियौं। तर यो व्यक्तिगत सहयोगले मात्र हुँदैन। राज्यले गरिबीको जरै मेट्नुपर्छ। यो हाम्रो संसदीय अजेन्डा हुनेछ।

तपाईंको पार्टीको चुनाव चिह्न ‘माटो’ कसरी रोजियो? यसले जनतामा कस्तो प्रभाव पारेको छ?

माटो हाम्रो पहिचान हो। यो कालापानी, लिपुलेख, लिम्पियाधुराको माटो हो। सगरमाथा, पशुपति, बौद्ध, लुम्बिनी, मधेस, तराई– सबैको माटो। यो अमेरिकी माटो होइन, भारतीय माटो होइन। यो हाम्रो पुर्खाको माटो हो। यसै माटोमा हामी जन्मेका हौं, यसैमा मर्ने छौं।

जनताले ‘माटो’ चिह्नलाई मन पराए । किनभने माटोले उनीहरूको जीवनसँग सिधा सम्बन्ध राख्छ। माटोबाट उब्जने अन्न, माटोमा बन्ने घर, माटोसँग जोडिएको संस्कृति– यो हाम्रो सबैको आमभाषा हो। माटोले ‘नेपालीपन’को प्रतिनिधित्व गर्छ। हामी यो चिह्नलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिनेछौं।

श्रम संस्कृति पार्टीले अबको १५ महिनामा (प्रदेश र स्थानीय निर्वाचन) कति सिट जित्ला?

हामी अत्यन्त आशावादी छौं। अहिले हामीसँग सात सिट छन् तर यो केवल सुरुवात हो। प्रदेश र स्थानीय निर्वाचनमा हामी धेरै सिट जित्ने छौं। हामी कैयौं प्रदेशको सरकार बनाउने छौं। धेरै स्थानीय तहहरूमा उत्कृष्टता हासिल गर्ने छौं।

पुराना दलहरू टुटेर गए, नयाँ गठबन्धन बने, जनताको धैर्य सकियो। यही अवसर हो। हामीले श्रम संस्कृतिलाई जनताको मुख्य धारमा ल्याउने छौं। हाम्रो अध्यक्ष हर्क साम्पाङ आगामी प्रधानमन्त्री हुन्– यो कुरा म यहाँ रेकर्ड गरेर भन्दै छु।  पुराना दल उस्तै रहे भने पनि, फुटेर टुटेर गए पनि, हामी पहिलो पार्टी बन्नेछौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको सम्बन्ध कस्तो छ? गठबन्धनको सम्भावना छ?

राप्रपा र हाम्रो पार्टीको आआफ्नो वैचारिक धार छ तर राष्ट्रियता, राष्ट्रभक्ति, विदेशी हस्तक्षेपको विरोधजस्ता विषयमा सहमति हुन सक्छ। हाल हाम्रो महासचिवले राप्रपासँग अनौपचारिक कुराकानी गरिरहनुभएको छ तर औपचारिक गठबन्धनको निर्णय भइसकेको छैन।

हामी स्पष्ट छौं– गठबन्धन नीति, सिद्धान्त र जनहितको आधारमा मात्र हुन्छ। व्यक्तिगत स्वार्थ वा सत्ताको लोभमा गठबन्धन हुँदैन। राप्रपा आफैं विभाजित छ। उसले के चाहन्छ भन्ने स्पष्ट छैन। त्यसैले हामी धैर्यसाथ हेरिरहेका छौं।

संसद्मा तपाईंको मुख्य अजेन्डा के हुनेछ?

संसद्मा हामी तीन मुख्य अजेन्डा लिएर जान्छौं। विदेशी हस्तक्षेप रोक्ने र एमसिसी खारेज गर्ने,  भ्रष्टाचार मुक्त शासन स्थापना गर्ने र  श्रमदानलाई राष्ट्रिय नीतिका रूपमा लागु गर्ने।

हामी जनताको पीडा बुझेका प्रतिनिधि हौं। हामी संसद्को हरेक बैठकमा गरिबी, बेरोजगारी, स्वास्थ्य, शिक्षाको कुरा उठाउने छौं। हामी विधेयकहरूको अध्ययन गर्न संसदीय समितिहरूमा सक्रिय हुने छौं। हामी केवल आलोचना मात्र होइन, रचनात्मक सुझाव पनि दिने छौं।

कार्यक्रमको अन्त्यमा, नागरिक फ्रन्टलाइनका पाठकहरूका लागि तपाईंको सन्देश के छ?

यो देशलाई बचाउनु छ भने श्रम संस्कृतिलाई आत्मसात् गर्नुपर्छ । हप्तामा एक दिन श्रमदान गरौं। भ्रष्टाचारलाई हराऔं। विदेशी हस्तक्षेपको विरोध गरौं। आफ्नो माटोको रक्षा गरौं।

म भोजपुरे जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु। हर्क साम्पाङलाई धन्यवाद! हाम्रो पार्टीका सबै कार्यकर्ता, समर्थक, शुभेच्छुकलाई धन्यवाद! नागरिक फ्रन्टलाइनलाई यो अवसर दिनुभएकोमा पनि धन्यवाद!

हामी जनताकै सेवामा समर्पित छौं। हामी धोका दिने छैनौं। हामी इमानदारीपूर्वक राजनीति गर्ने छौं। हामीलाई विश्वास गर्नुहोस्। श्रमदानको यात्रा सुरु भइसकेको छ। अब यो रोकिने छैन। जय श्रम संस्कृति, जय नेपाल!

प्रकाशित: २१ चैत्र २०८२ ०८:५८ शनिबार