कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने विकासलाई आवश्यकता र आम्दानीसँग जोड्ने एजेन्डासहित मैदानमा उत्रिएका छन्। कर्णाली करिडोर, थारुग्राम, बाढीपीडित पुनर्वास, खेलकुद र शिक्षा–स्वास्थ्य सुधार जस्ता बहुआयामिक योजनालाई उनी समग्र समृद्धिको आधार मान्छन्। प्रस्तुत छ उम्मेदवार न्यौपानेसँग नागरिकले गरेको कुराकानीको सम्पादित अंश:
तपाईँको मुख्य चुनावी एजेन्डा कर्णाली करिडोरलाई धेरैले ‘चुनावी फण्डा’ भनेका छन्। के यो साँच्चिकै सम्भव योजना हो?
पहिलो कुरा, कर्णाली करिडोर कुनै चुनावी फण्डा होइन। यो हाम्रो क्षेत्रको दीर्घकालीन आवश्यकता हो। विकासको कुरा गर्दा मैले सधैँ दुई वटा ‘अ’ र तीन वटा ‘स’ को कुरा गरेको छु। दुई ‘अ’ भनेको आवश्यकता र आम्दानी हो। विकास आवश्यकतामा आधारित हुनुपर्छ र त्यसले आम्दानी दिनुपर्छ। तीन ‘स’ भनेको सुरक्षा, सहरी विकास र समृद्धि हो। कर्णाली करिडोरले यी सबैलाई जोड्छ। कर्णालीको पानीलाई व्यवस्थापन गरेर तटबन्धन, पर्यटन, कृषि र उद्योगसँग जोड्न सकिन्छ। नेपालमा ठूला आयोजना सांसदकै पहलमा अघि बढेका उदाहरण छन्। त्यसैले सम्भव छैन भन्ने आधार छैन। सम्भावना देख्न नसक्नु र सम्भावना नहुनु फरक कुरा हो।
कर्णाली करिडोरले वास्तवमा जनतालाई के दिन्छ?
पहिलो फाइदा- बाढी नियन्त्रण। बर्सेनि कर्णाली नदीले कैलाली क्षेत्र नम्बर १ का बासिन्दालाई पीडा दिन्छ। तटबन्धन र व्यवस्थित करिडोर निर्माण भयो भने बाढी व्यवस्थापन सम्भव हुन्छ। दोस्रो- पर्यटन। चिसापानीदेखि टीकापुरसम्म नदी किनारलाई पर्यटनसँग जोड्न सकिन्छ। पार्क, वाटर पार्क, नदी किनार मनोरञ्जन क्षेत्र, केबलकार जस्ता सम्भावना छन्। तेस्रो- आम्दानी। विकासलाई आयसँग जोड्न नसकेसम्म समृद्धि सम्भव हुँदैन। करिडोरसँगै होमस्टे, कृषि, होटल, हस्तकला बजार विस्तार हुनेछ।
थारुग्राम बनाउने कुरा पनि गर्नुभएको छ। यसले कसरी रोजगारी सिर्जना गर्छ?
थारु समुदायको कला, संस्कृति, खानपान र हस्तकलालाई एकीकृत रूपमा प्रस्तुत गर्ने ‘थारुग्राम’ हाम्रो योजना हो।
अहिले सौराहामा जस्तै होमस्टे चलिरहेको छ। किन टीकापुर र आसपासमा सम्भव नहुने?
थारु समुदायलाई आफ्नै गाउँमै रोजगारी मिलोस्, विदेश जानुपर्ने बाध्यता कम होस् भन्ने हाम्रो उद्देश्य हो। थारु संस्कृतिलाई विश्व बजारसँग जोड्न सकिन्छ।
बाढीपीडित र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने प्रतिबद्धता कति यथार्थपरक छ?
यो चुनावी भाषण होइन, हाम्रो नीतिगत प्रतिबद्धता हो। भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको स्थायी समाधान गर्न एकपटकको पहिचान गरेर धनीपुर्जा वितरण गर्नुपर्छ। साथै, बाढीपीडितका लागि नमूना बस्ती विकास कार्यक्रम ल्याइनेछ। सुरक्षित आवास, खानेपानी, सडक, विद्यालय र स्वास्थ्य चौकीसहितको एकीकृत बस्ती विकास गर्ने योजना छ। लालपुर्जाको समस्या अन्त्य गर्ने र नमूना बस्ती विकास गर्ने प्रतिबद्धता मैले स्पष्ट रूपमा सार्वजनिक गरिसकेको छु।
शिक्षा र स्वास्थ्यका क्षेत्रमा तपाईँको दृष्टिकोण के छ? ५० वर्षअघि टीकापुरमा विश्वविद्यालय निर्माणका लागि सयौँ बिगाहा जमिन छुट्याइएको थियो। त्यस्तो दूरदर्शिता आज किन कार्यान्वयन नगर्ने?
हामी प्रतिष्ठान र प्राविधिक शिक्षालाई प्राथमिकता दिनेछौं। स्थानीय स्तरमै गुणस्तरीय शिक्षा, कृषि र पर्यटनसँग सम्बन्धित प्राविधिक तालिम, खेलकुद एकेडेमी स्थापना गर्ने योजना छ। स्वास्थ्य क्षेत्रमा- सुविधासम्पन्न अस्पताल, मातृ तथा शिशु स्वास्थ्य सेवा, विशेषज्ञ सेवा विस्तार आवश्यक छ। नागरिकले सामान्य उपचारका लागि धनगढी वा नेपालगञ्ज धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ।
तपाईँले खेलकुद रंगशाला र पार्क स्तरोन्नतिको कुरा गर्नुभएको छ। स्रोत कहाँबाट आउँछ?
खड्कबहादुर सिंहले ५५ वर्षअघि जमिन छुट्याएर दूरदर्शिता देखाउनुभयो। उहाँको योगदानको स्मरण गर्नु चुनावी फण्डा होइन। अधुरा सपना पूरा गर्नु हाम्रो दायित्व हो। रंगशाला, पार्क र खेलकुद एकेडेमीले युवा पुस्तालाई सकारात्मक दिशामा लैजान्छ। खेल पर्यटन पनि सम्भव छ। स्रोत जुटाउन संघीय सरकार, प्रदेश र निजी क्षेत्रसँग सहकार्य गर्नेछौं।
तपाईँले सांसदको सेवासुविधा विपन्नका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ। यो कत्तिको व्यावहारिक छ?
यो मत लोभ्याउने कुरा होइन। मैले पहिले नै टीकापुरमा सचिवालय सञ्चालन गरेको छु, जुन अहिले पनि सक्रिय छ। सांसद भएमा सेवासुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी स्वतन्त्र कोषमार्फत विपन्न विद्यार्थी, सामाजिक काम र आपतकालीन सहयोगमा प्रयोग गरिनेछ। प्रत्येक वर्ष सामाजिक लेखापरीक्षण हुनेछ। हरेक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता पनि गर्छु। पारदर्शिता र जवाफदेहिताबिना राजनीति सम्भव छैन।
तपाईँको समग्र दृष्टि के हो, टीकापुर मात्र कि समग्र क्षेत्र?
हाम्रो लक्ष्य टीकापुर मात्र होइन, समग्र कैलाली क्षेत्र नम्बर १ हो। जानकी, जोशीपुर, भजनिया, दुर्गौली सबै क्षेत्रलाई सडक सञ्जाल र चक्रपथमार्फत जोड्ने योजना छ। विकासको केन्द्र एक ठाउँमा सीमित हुनु हुँदैन। सेवासुविधा र आम्दानीको अवसर समान रूपमा वितरण हुनुपर्छ। मेरो सपना स्पष्ट छ- ‘कर्णालीको पानी र थारुको पसिना’ जोडेर समृद्धि ल्याउने।
पाँच वर्षपछि जनताले तपाईँलाई जवाफदेही बनाउन सक्छन्?
अवश्य। पाँच वर्षपछि यही प्रश्न सोध्नुस्। कर्णाली करिडोर कहाँ पुग्यो? थारुग्राम कहाँ पुग्यो? बाढीपीडितको पुनर्वास के भयो? यदि मैले प्रतिबद्धता पूरा गरिनँ भने जनताको अदालतमा उभिन तयार छु। सपना देखेर मात्र होइन, कार्यान्वयन गरेर देखाउने प्रतिबद्धता गर्छु।
प्रकाशित: १८ फाल्गुन २०८२ १३:४९ सोमबार



