नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित गरिएको बताएका छन्।
उनले मुलुकमा शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्ति सल्बलाएको बताएका छन्। महानिरीक्षक कार्कीले भने,‘आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ, मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा खलबल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ।’
मुलुकको शान्ति सुरक्षा, सुरक्षा सङ्गठनबीचको सहकार्य र समन्वय, सुनसरी घटना र उत्पन्न परिस्थिति, कानुन कार्यान्वयनको अवस्था, देखिएका चुनौती, प्रहरीको व्यवहार, ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’बाट समाजमा परेको असरलगायत समसामयिक विषयमा महानिरीक्षक कार्कीसँगको कुराकानी
देशमा शान्ति सुव्यवस्था एवं अमनचयन गर्ने जिम्मेवारीमा रहेको नेपाल प्रहरीको प्रमुखका हैसियतले भन्नुपर्दा मुलुकको शान्ति सुरक्षाको अवस्था अहिले कस्तो छ ?
नेपालको संविधान र प्रचलित ऐन, कानुनको अधिनमा रही नेपाल प्रहरी प्रमुख कानुन कार्यान्वयन गर्ने निकायका रूपमा रहेको छ । मुलुकको आन्तरिक शान्ति सुरक्षा र सार्वजनिक अमनचयन कायम राख्दै विपद् व्यवस्थापन र नागरिकको परिवर्तनको आकाङ्क्षाको विशिष्टलाई समेत मध्यनजर गरी काम गर्दै आएको छ। अहिले समग्रतामा शान्तिसुरक्षाको स्थिति सामान्य छ। यद्यपि, शान्तिसुरक्षालाई प्रभाव पार्ने, खलल पुर्याउने गतिविधि गर्ने आपराधिक प्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पनि देखिन्छ।
त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ। मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्तिसुरक्षा खल्बल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ। मुलुकमा सामाजिक सञ्जालको प्रयोगबाट उत्पन्न हुने ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘डिप–फेक’ र ‘हेट–स्पिच’ले कतै नागरिकका सुसम्बन्ध खलबलिन्छन् कि भन्नेमा पनि प्रहरी त्यत्तिकै सचेत रही आफ्नो जनशक्तिलाई सुविचारित किसिमले परिचालन गरेको छ। शान्तिसुरक्षालाई अझ सुदृढ तुल्याउँदै नागरिकलाई विश्वास, भरोसा र आफ्ना निर्णय सहज रूपमा गर्न सक्ने वातावरण सृजना गर्न प्रहरी अत्यन्त सचेतका साथ अगाडि बढेको छ।
तीन तहका सरकार तथा अन्य सुरक्षा निकायसँग प्रहरीको सहकार्य, सहयोग र समन्वय कस्तो रहेको छ ?
नेपालमा मात्र होइन, संसारभरि नै राज्यका संयन्त्र मजबुत हुनुपर्छ । त्यस्ता संयन्त्रको समन्वयात्मक र साझेदारीपूर्ण क्रियाकलापले शान्तिसुरक्षालाई सुदृढ तुल्याउने हो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा गृहसहित सरोकारवाला मन्त्रालयका बीचमा नियमित सम्पर्क र समन्वय छ।
मुलुकको विशिष्ट अवस्थामा सबै निकायका बीचमा छलफल गरी सुरक्षाका रणनीति तय गर्दै अगाडि बढेका छौँ। समग्रतामा सबै संयन्त्रको समन्वयात्मक परिचालनले नै सुरक्षा व्यवस्था सामान्यीकरण हुँदै आएको छ। आगामी दिनमा पनि प्रधानमन्त्रीज्यूको मार्गदर्शनबमोजिम शान्तिसुरक्षालाई मजबुत बनाउँदै नागरिकलाई राहत दिन र सहजीकरणमा सबै संयन्त्र लाग्नुपर्छ भन्ने भावनालाई आत्मबोध गर्दै सुरक्षा निकाय समन्वयका साथ परिचालित हुनेछ।
प्रहरी संयन्त्र कार्यक्षेत्रमा अरोरात्र खटिएको छ, प्रहरीप्रतिको जनविश्वास र भरोसा कायमै छ तैपनि समाजमा हार्दिकता, सहिष्णुता र सामाजिक एकतामा खलल आएको हो कि भन्ने बुझाइप्रति यहाँको धारणा के छ ?
पछिल्लो दशकयता नेपाली समाज समग्रतामा कर्मवादभन्दा भौतिकतातर्फ उन्मुख भएको छ । अहिले भौतिकताका सामाजिक सञ्जालसहित थुप्रै उपयोग गर्ने विषयवस्तु छन् । धेरै मानिसलाई ती प्रविधि सहज रूपमा सित्तैमा प्राप्त भएका हुन् भन्ने लाग्छ । त्यस्ता प्रविधिको प्रयोगबाट सामाजिक सञ्जालमार्फत हुने गलत र भ्रामक सूचनाले विशिष्ट खाले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छ । तथापि, समाजको परिवर्तन यहाँमात्रै भएको होइन, संसारका सबै मानिसले नयाँ प्रविधिको प्रयोग गर्दै आएका छन् ।
सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्नुपर्छ भन्ने विषय विद्यालय तहदेखि नै सुस्पष्ट गर्दै लैजानुपर्छ । समाजलाई सेवावाद, कर्मवाद र हार्दिकतातर्फ लैजान सबै तह र तप्काको उत्तिकै भूमिका रहन्छ । नेपाली समाजलाई सही मार्गमा लैजादै कानुनी शासन स्थापना गर्न प्रहरी अहोरात्र खटिआएको छ । त्यस्ता प्रविधिको प्रयोगबाट हुने खरावीबारे समाजलाई सुसूचित गर्दै नागरिक–समुदाय–प्रहरी साझेदारीमार्फत काम गरिरहेको छ । आगामी दिनमा त्यसखाले गतिविधि न्यूनीकरण हुँदै जाने अपेक्षा छ।
सुनसरी घटनाबाट उत्पन्न परिस्थिति र अवाञ्छित गतिविधि देशमा सदाका लागि अन्त्य गर्न के–कसरी काम गर्नुपर्छ भन्ने लाग्छ ?
नेपाली समाजको मेलमिलापपूर्ण, सद्भावपूर्ण र साझेदारीपूर्ण चरित्रका कारण सुनसरीबाट पश्चिमका जिल्लातर्फ जाँदै गरेको घटनालाई सबै नागरिकको शान्तिप्रतिको कामनाले समयमै स्थगन गर्न सकियो। पछिल्लो समय देखासिकीले हाम्रा आफ्ना मौलिक धार्मिक अनुष्ठानबाट विचलन हुन खोजेको भान हुन्छ। त्यहाँ जुन परिदृश्य देख्यौँ, धार्मिक सद्भाव र नागरिक सुसम्बन्ध नै खल्बलिन्छ कि भन्ने अवस्थालाई न्यूनीकरण गराउन सबैको भूमिका रह्यो।
त्यो अत्यन्त महत्त्वपूर्ण विषय हो। नेपाली समाजको चरित्र र संरचनालाई मजबुत बनाउँदै मौलिक पहिचान तथा धार्मिक अनुष्ठानलाई सुदृढ तुल्याई नागरिकबीचको सुसम्बन्धलाई बढाउन सुरक्षा निकायको मात्रै भूमिका हो भन्ठान्नु त्रुटिपूर्ण हुनेछ। राजनीतिक, बौद्धिक र अध्यात्मिक नेतृत्वसँगै सबै तह र तप्काका महानुभावको यसमा उत्तिकै भूमिका रहन्छ। मुलुकलाई सत्मार्ग, विकास, उन्नति, सदाचार र भाइचारातर्फ डोहोर्याउने एउटा महत्त्वपूर्ण कडी राजनीति हो भने दोस्रो मुलुकको संस्कृति हो। राजनीति र संस्कृतिको सदाचारपूर्ण अनुपम सङ्गम बनाउँदा त्यस प्रकारका घटना न्यूनीकरण हुँदै जान्छन्।
सामाजिक सद्भावलाई खलबल्याउन खोज्नेलाई कानुनी प्रक्रियाद्वारा अधिनमा ल्याउन सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ तर सुरक्षाकर्मीको मात्रै भूमिकाले हुन्छ भन्न मिल्दैन। सुरक्षाकर्मी, राजनीतिक दल र नेताहरु, अध्यात्मिक क्षेत्रका विशिष्ट महानुभाव जसले राष्ट्रलाई शान्त, सुखी, सदाचारपूर्ण र समृद्ध देख्न चाहनुहुन्छ, उहाँहरुबाट भूमिका खेल्नुपर्छ।
शान्तिका अग्रदूत गौतम बुद्ध जन्मिएको, शान्तिपूर्ण बहादुर नेपालीको पहिचान भएको, सिर्जनशील नेपालीको विशिष्ट पहिचानको रूपमा तराईदेखि हिमालसम्म फैलिएको नेपालको विशिष्ट पहिचान दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ।
त्यस प्रकारको सदाचारपूर्ण समाज निर्माण विद्यार्थीदेखि शिक्षकसम्म, घरपरिवारदेखि बौद्धिक व्यक्तित्वसम्म, धार्मिक पूजाआजादेखि विशिष्ट महानुभावसम्म, कार्यकर्तादेखि नेतृत्वसम्मले हृदयङ्गम गर्ने विषय हो। त्यसलाई गम्भीरतापूर्वक सबै तह–तप्काकाबाट महसुस गरिए नेपाल शान्ति, विकास, समृद्धिको पथबाट छिटो पाइला चाल्न सक्छ। त्यस कार्यमा शान्ति सुरक्षामा अग्रपङ्क्तिमा खटिने प्रहरीलाई सहज हुन्छ। कानुनले सबैलाई पक्रिएर तथा थुनेर कारबाही गर्नुभन्दा शान्तिपूर्ण समाजमा रही खुशी भएर बाँच्ने अवसर प्रदान गर्छ।
पछिल्ला दिनमा कानुन कार्यान्वयन र जनताको जिउधनको सुरक्षामा खटिएका प्रहरीलाई सडकमै गालीगलौज, दुर्व्यवहार र अपमान गरिएको देख्दा सङ्गठन प्रमुखका हैसियतले यस्ता घटनालाई कसरी लिनुभएको छ ?
संसारभरि नै आइसक्रिम र मःम बेच्ने अथवा मिष्ठान्न स्वादन गराउनेभन्दा प्रहरी पेसा अलि खरो, क्रियाशील र छुच्चो हुन्छ नै। यो पेसाकै विशिष्टता हो। त्यसकारण नेपाल प्रहरीका सकल दर्जा मुलुकको संविधान, ऐन/कानुनको अधीनमा रही आफ्नो भूमिका निर्वाह गर्ने क्रममा बाहिरबाट आउने आक्षेप, लाञ्छना, गालीगलौज व्यक्तिगत रूपमा होइन, नागरिकका असन्तुष्टि प्रस्फुटन हुन् भन्ने कोणबाट बुझ्छन्।
तालिममा सिकाइएका ज्ञानका आधारमा निर्वाह गर्नुपर्ने भूमिकाको सन्दर्भमा सकल दर्जाको साझा बुझाइ हुन्छ तर पनि सबैले राम्रो बोली र असल व्यवहार गरिदिए हुन्थ्यो भन्ने चाहिँ लाग्छ। यसमा समाजले बोक्दै गरेका तथा सिर्जना गरेका कतिपय शैली र व्यवहारले असर तुल्याएको हुन्छ।
असल नियतका साथ काम गरिदासमेत कसैले गाली गर्यो र लाञ्छना लगायो भने दुःखी नबनाउने त होइन, तर त्यसमा दुःख मानेर बसिराख्ने छुट भने प्रहरी, एम्बुलेन्स, अग्नि नियन्त्रक र चिकित्सकजस्तो विशिष्ट पेसाको मान्छेलाई नहुँदोरहेछ। त्यसकारण अत्यावश्यक सेवाका व्यक्तिको हैसियले हामीले हाम्रो पेसा सुरु गर्दा नै स्वाभाविक आउने विषय हुन् भनी त्यस्ता घटनालाई पचाउन कोसिस गर्छौँ र पच्छ पनि। त्यस्ता विषय आउँदासमेत विचलित नभई मुलुकको शान्ति सुरक्षामा प्राप्त भूमिकामा खरो हुनुपर्छ भन्ने चेतना र नयाँ अभ्यासका घटना झेल्दाझेल्दै आएका विषय हुन्।
महानिरीक्षकज्यू, सडकमा खटिने कतिपय प्रहरीबाट आर्थिक चलखेल हुने तर नागरिकमैत्री बोली व्यवहार भने नहुने भन्ने गुनासोका विषयमा यहाँको के भनाइ छ नि ?
हो, नागरिकको स्पन्दनलाई बुझेर प्रहरीले बोली र व्यवहार गर्नुपर्छ भन्ने बेलायती भनाइ छ। मूलभूत रूपमा प्रहरी सबै नागरिकसँग समान व्यवहार गर्दै, कानुनको समान प्रयोग गर्दै, ‘प्रिन्सिपल अफ इनोसेन्स’ का आधारमा काम गर्दै जाने हो। अर्कातर्फ सरुवा–बढुवा सहज, सहर र पायक पर्ने ठाउँ परोस् भन्ने एउटा मानवीय पक्ष हुनसक्छ।
बढुवा व्यक्तिको विशिष्टता र सम्मानको विषय भएकाले स्वभाविक चाहना हुन्छ। सरुवा र बढुवाका अनुकूलताका स्वाभाविक चाहनासँगै प्रहरी नागरिकसँग असल, सबल, सक्षम, विशिष्ट र शिष्ट हुन जरुरी छ। नागरिकले जस्तोसुकै व्यवहार गरे तापनि प्रहरीले असल व्यवहार गर्नुपर्छ भन्ने सिकाइबाट आजसम्म आइपुग्दा थुप्रै परिवर्तन भएको छ।
जुनसुकै आन्दोलन वा घटनामा प्रहरीका सकल दर्जाले जोखिम मोलेर अग्रमोर्चामा रही अहोरात्र खटिन परे तापनि त्यस अनुसारको सेवा–सुविधा नपाएपछि पछिल्लो समय राजीनामा दिने बढ्दो प्रवृत्तिलाई कसरी हेर्नुभएको छ ?
विगतमा नेपालको फौजी अर्थात् सेना र प्रहरीलाई आकर्षक सेवाको रूपमा लिने गरिएकामा पछिल्लो समय यसप्रतिको आकर्षण घटेको भर्नाबाटै स्पष्ट हुन्छ। केही समय मुलुक द्वन्द्वबाट गुज्रनुपरेको र सेवासुविधाको अवस्थाका कारण यो सेवामा आकर्षण पहिला जस्तो छैन। सेवासुविधा, सम्मान, बस्ने, खाने र विसर्जन गर्ने ठाउँ अनुकूल हुनुपर्छ।
जोकोहीले पनि आफूलाई अनुकूल हुने ठाउँ खोज्नु भनेको पानीले सतह मिलाएजस्तै हो। हरेक नागरिकले आफूलाई के अनुकूल हुन्छ भन्ने हेर्छ नै। प्रहरी पेसा नभई सेवा र विशिष्ट जीवनशैली भएकाले विशिष्टतामा उसका सामान्य सुविधाका विषय अन्योन्याश्रित भएरै आउँछन्। पहिला समाज मुलुकभित्र सीमित थियो, अहिले विश्वव्यापीकरण भएका कारण देशाटन र तीर्थाटनमा निस्कने, अनि आफ्नो हितलाई मध्यनजर गरी अन्यन्त्र आकर्षक रोजगारीका लागि अवसर प्राप्त हुँदा राजीनामा दिनेजस्ता विषय अस्वाभाविक होइनन्।
बरु यसमा यसो भन्न सकिएला हामीले तालिम प्रदान गरी क्षमतावान, योग्य, सीपयुक्त र काबिल बनाएका अधिकृत राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा नै ‘सेलेबल’ रहेछन्। उनी यहाँमात्रै होइन, अन्तरराष्ट्रिय रूपमा पनि प्रतिस्पर्धाबाट जान सक्दा रहेछन् भनी पहिचान दिने अवस्था पनि हो । सकल दर्जालाई देश र नागरिकमा समर्पित तुल्याएर टिकाइराख्न बिदा, जोखिमपूर्ण भत्ता, बासस्थान, उपयुक्त कार्यालय र समयानुकूल रासनको व्यवस्थाका लागि पहल भइरहेको छ।
नेपाल प्रहरीको अझै पनि कतिपय स्थानमा भवन छैन, तत्कालै सबै बनाउन आर्थिक स्रोत अभाव छ, पछिल्लो समय स्थानीय तहसँग भवन निर्माणका लागि अनुरोध गरिएको हो ?
हाम्रो स्वीकृत दरबन्दीका दुई हजार ६६० प्रहरी एकाइ छन्। नागरिकको मागका आधारमा ९७० वटा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। त्यस्ता अस्थायी प्रहरी चौकीका कुनै भवन छैन। स्थायी रूपमा स्वीकृत दरबन्दीका युनिटभित्र पनि आधाभन्दा बढी भवनविहीन छन्। अहिलेको रफ्तार र लगानीले ती सबै प्रहरी एकाइ निर्माण सम्पन्न गर्न झन्डै १०५ वर्ष लाग्नसक्ने प्राविधिकको भनाइ छ।
त्यसकारण नागरिकको सेवामा समर्पित प्रहरी दिनभरि ड्युटीबाट खटिएर बेलुकी एउटा छहारीमा कमसेकम अलि ढुक्कले बस्न सकोस् भन्ने हाम्रो अपेक्षा छ। अहिले २८५ वटा भवन अत्यन्त जर्जर, जोखिमपूर्ण, दयनीय भएकाले स्थानीय तहमार्फत ती भवन यथाशीघ्र छिटो बनाउने व्यवस्थान भएमा नागरिकको सुरक्षार्थ अहोरात्र खटिने प्रहरीले उत्प्रेरणा प्राप्त गर्न सक्नेछ। त्यसका लागि सङ्घीय मन्त्रालयले स्थानीय तहसम्म ‘सर्कुलर’ जारी गरेको छ। त्यसलाई स्थानीय तहले साँच्चिकै हाम्रै शान्तिसुरक्षाको लागि आवश्यक प्रहरी भएको महसुस गर्दै ती ठाउँमा आधारभूत संरचना निर्माणको व्यवस्थापन भएमा न्यूनतम् मानवीय सुविधाका व्यवस्थित गर्न उत्प्रेरणा हुनेछ।
बदलिँदो सुरक्षा चुनौतीबीच प्रहरी प्रशासनलाई जवाफदेही, जनमुखी, पारदर्शी तुल्याई सेवाप्रति सदैव समर्पित बनाउँदै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा के–कस्ता नीति र कार्यक्रम अघि बढाउँदै हुनुहुन्छ ?
समाज पनि बदलिँदो छ, मानिस पनि बदलिँदो छ, प्रविधि पनि बदलिँदो छ। समाज विश्वव्यापीकरण र भूमण्डलीकृत भएको छ। यी सबैका बीचमा हाम्रा कार्यशैली र सोच पनि त्यत्तिकै परिवर्तन हुनुपर्नेछ। अहिले परम्परागत कार्यशैलीले आधुनिकताको सम्बोधन गर्न सक्दैन। त्यसकारण प्रहरीलाई उत्प्रेरित र स्वचालित रुपमा काम गराउन नयाँ कार्यसम्पादन सूचक तयार गरेर प्रहरी कमान्डरलाई दिएका छौँ। त्यो पूर्वानुमानयोग्य छ।
त्यसमा उनीहरूले के काम गरे, कति अङ्क आउँछ भन्ने स्पष्ट हुन्छ। दैनिक मूल्याङ्कन भई मासिक रिपोर्ट कार्ड जान्छ । यसले कमजोर अङ्क ल्याउनेले अर्को महिनामा सुध्रिने प्रण गर्नुपर्ने हुन्छ। राम्रो ल्याउनेले आफ्नो राम्रो स्थितिलाई कायम राख्नुपर्ने हुन्छ। हामीले उत्प्रेरणा र सन्तुलनको दुवै कल्पना गरेका छौँ। त्यसले थुप्रै प्रहरी कर्मचारीलाई परिस्कृत गर्दै लगेको छ।
अर्कातर्फ प्रविधिको प्रयोग गर्दै नागरिकले प्रहरी कार्यालयसम्म धाउन नपरोस् आफ्ना आवेदन र निवेदन घरबाटै दिन सकियोस् भनी अहिले सफ्टवेयरको विकास गरेर ‘नेपाल पुलिस एप’मार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको छ। पछिल्लो समय आधुनिक किसिमका अपराध, प्रविधिगत अपराध, आर्थिक अपराध वृद्धि हुँदै गएपछि जनशक्तिलाई त्यसैमा परिचालन गर्नुपर्ने हुँदा त्यस्ता प्राविधिक प्रहरी कर्मचारी थप्न आवश्यक देखिएको छ।
त्यस्ता जनशक्तिको क्षमता, चाहना, सीपका आधारमा छनोट गरी कार्यविधि पनि बनाएर राख्ने अर्को जमर्को गरिएको छ। अन्तरराष्ट्रिय रूपमा यहाँ बसेर बाहिर अपराध गर्न सक्ने, बाहिर बसेर यहाँ अपराध गर्न सक्ने हुनाले हाम्रा अन्तरराष्ट्रिय सम्बन्ध र इन्टरपोलको माध्यमले अन्तरराष्ट्रिय सम्बन्ध स्थापित भएको छ।
‘पुलिस–टु–पुलिस’को ‘अन्डरस्ट्यान्डिङ’को माध्यमले पनि अन्तरराष्ट्रिय सम्बन्ध भएको छ। अपराध नियन्त्रण गर्न सिङ्गापुर, कोरिया, भारतका मुलुकसित हाम्रो साझेदारी पनि हुने गरेको छ। अब हामी परम्परागत किसिमले होइन, प्रविधिका साथ काम गर्न जनशक्ति भर्नादेखि माथिल्लो तहसम्म सुधार प्रयासको तयारी गरेका छौँ।
प्रकाशित: २७ श्रावण २०८३ १२:४४ बुधबार