अन्तर्वार्ता

‘चुनाव नभए वैधानिक संकट आउँछ’

जनताले पनि निर्वाचन चाहनुपर्‍यो

हरि शर्मा नेपाली समाज र राजनीतिलाई गहिरोसँग अवलोकन गर्ने र त्यसमा देखिएका प्रवृत्तिबारे विश्लेषण गर्न सिपालु अध्येता हुन्। गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपछि मुलुकमा भएका घटनाप्रति उनको आफ्नै विश्लेषण छ।

आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार बनेको सय दिन पुगेको छ। बितेका यी सय दिनमा मुलुकको राजनीतिमा अनेकन् धु्रवीकरणका प्रयास भएका छन्। प्रमुख दलहरू आन्तरिक सुदृढीकरणमा लागेका छन्। नेकपा (एमाले) ले आफ्नो ११ औं महाधिवेशन सम्पन्न गरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका निम्ति अध्यक्ष निर्वाचित गरिसकेको छ। नेपाली कांग्रेस भने आफ्नो महाधिवेशन मिति तोक्नै संघर्षरत छ।

आगामी फागुन २१ गते निर्वाचन गराउने प्रयोजनले बनेको सरकारले आफ्ना काम गरिरहेको छ। यी सामयिक विषयमा केन्द्रित रही बुधबारको नागरिक फ्रन्टलाइनमा शर्माले प्रधान सम्पादक गुणराज लुइँटेलसँग संवाद गरेका छन्। प्रस्तुत छ - उक्त संवादको सम्पादित अंश।

जेनजी विद्रोहपछाडि सबैजसो दल अहिले आन्तरिक तयारीमा लागेका छन्। एमालेको महाधिवेशन भयो, कांग्रेस पनि तयारीमा छ। यसलाई विद्रोह पछाडिको दबाबका रूपमा लिन सकिन्छ?

जेनजी विद्रोह, आन्दोलन वा ‘डिस्ट्रक्सन’ जे भनौं, त्यो यति चाँडो र गतिमा भए पनि त्यसको दूरगामी असरहरू परेको हामी देख्दै छौं। एक थरी मान्छेहरू यसलाई षड्यन्त्रको आँखाबाट हेर्छन् तर म यसलाई षड्यन्त्र भन्दा लोकतन्त्रवादीको हैसियतले लोकतन्त्र र षड्यन्त्रको सिद्धान्त सँगै जाँदैन भन्ने मान्यता छु। जे भयो, त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुबाहेकको उपाय छैन।

किन भयो, कसरी भयो, त्यो इतिहासकारहरूले भोलि अन्वेषण गर्लान्। हामी जुन समय बाचेका छौं, त्यो बाँचेको समयको विरोधाभासबाट निस्केको विद्रोह वा झिल्कोजस्तो लाग्छ। राजनीतिक परिवर्तनको कुरा गर्दागर्दै पनि दलहरू गतिशील नहुनु, केही वर्चस्वशाली वर्ग र नेतृत्वले राजनीतिमा पकड जमाउनु, व्यापारिक क्षेत्र पनि सानो वर्ग र समूहको घेरामा बस्नु, सहर र गाउँबिचको खाडल बढ्दै जानु, अन्तर्राष्ट्रिय रूपमा बसाइँसराइ तेज हुनु र त्यसमाथि प्रविधिको प्रबल विकास हुुनु हो। त्यसकारण यो विद्रोहको आधारभूत भूमि बनेकोजस्तो मलाई लाग्छ।

जेनजी विद्रोहको पनि आज (बुधबार) सय दिन ठ्याक्कै पुगेछ। यसलाई फर्केर हेर्दा दल मात्रै होइन, संघसंस्था, राजनीतिक तथा सामाजिक संस्था सबैमा जबरजस्त आन्तरिक र संवादको द्वन्द्व प्रकट भएको छ। अघिल्लो पुस्ताविरुद्ध नयाँ पुस्ताजस्तो भएको छ। अघिल्लो पुस्ता (बुढो पुस्ता) जसले ती संस्था चलाइरहेको थियो, अब नयाँ पुस्ताले के गर्ने? हाम्रो भूमिका कहाँ हुने? सायद यो नभएको भए राजनीतिक दलहरू एमाले वा कांग्रेसको महाधिवेशन यति चाँडो हुँदैनथ्यो कि! पुस्तान्तरण वा पुस्ताबिच, अन्तरपुस्ता–सम्बन्धको कुराको आवश्यकता थियो। तर यति वेग र गतिमा यो घटना घट्यो कि हरेकलाई थर्काएर कम्पन सिर्जना गरेको छ। त्यो कम्पनलाई सही रूपमा बुझ्न सक्यौं भने सायद नेपाली समाज अगाडि बढ्न सक्छ।

 यस किसिमको ठुलो विद्रोह वा यस किसिमको ध्वंसको तपाईंले कहिले अनुमान गर्नुभएको थियो?

जेनजी विद्रोहबारे धेरै मानिसले धेरै कुरा लेख्नुभएको छ। दुर्भाग्यवश मैले यसमा धेरै बोलेको छैन। हामी यस्तो समयमा बाँचेका छौं कि हरेक विषयको विश्लेषण गर्ने सैद्धान्तिक धरातल खलबलिएको बेला छ। सामाजिक मूल्यमान्यता, संस्थाहरूका मूल्यमान्यता पनि विश्वव्यापी रूपमै खलबलिएको अवस्थामा छन्।

 यसकारण हामीसँग यसलाई विश्लेषण गर्ने र समात्ने हाँगो छैन। कुनै पनि आन्दोलनले गति लिन, तयारी र परिचालनका निम्ति त्यही किसिमको समय लाग्थ्यो। यो त दुई घण्टामा सकियो। तयारी गर्न कति दिन लाग्यो, कसले यो आयोजना गर्‍यो, कसले त्यो मिम बनायो, कसले पोस्टर डिजाइन गर्‍यो भन्नेमा आन्दोलन गर्ने साथीहरूकै बिचमा पनि मतैक्य छैन।

राज्य संयन्त्रमा काम गर्ने मान्छेले पाँच हजारभन्दा बढीको भिड जम्मा हुँदैन भनेकोमा पच्चिसौं हजार मान्छे जम्मा हुन्छन्। त्यसपछि संसद् भवनमा जान्छन्। जो भाइबहिनीहरू योभन्दा अघिको कुनै पनि आन्दोलनमा सहभागी नभएको आँकलन गरिन्छ तर पनि त्यो भवनमा एकाएक जुन किसिमको हिंसात्मक गतिविधि सरकारको तर्फबाट पनि, आन्दोलनको तर्फबाट पनि भयो। त्यो देख्दा कहीं तयारी थियो कि भन्ने लाग्छ तर मानिसहरूसँग कुरा गर्दा जुन किसिमको तयारी थियो, त्यो तयारीले यो किसिमको ध्वंस गर्न सक्दैन। किनभने नैतिक प्रश्न जन्मन्छ। जुन किसिमको आगजनी, लुटपाट र हत्या भयो, त्यो तयारीका साथ आउँदै आउँदैन। यसकारण बडा अनौठो किसिमको समयमा हामी छौं। त्यही भएर विश्लेषण गर्न जटिल छ। सजिलो विश्लेषणका निम्ति मानिसहरू षड्यन्त्रको सिद्धान्तमा व्याख्या गर्छन्।

एकातिर लोकतन्त्र, अधिकार, सुशासन, सामाजिक सञ्जालको प्रतिबन्ध हटोस् भनेको, अर्कातिर वाक् तथा प्रकाशन स्वतन्त्रताका निम्ति हिँडेको आन्दोलन षड्यन्त्रबाट निर्देशित हुन्छ भनेर कसरी भन्ने? तर जुन किसिमको गति र ध्वंस भयो, त्यसलाई केले व्याख्या गर्छ? अहिलेसम्म हामी रनभुल्लमा परेका छौं। त्यसकारण जे भयो, त्यसलाई स्विकारेर हिँड्नुबाहेक विकल्प छैन।

सायद सामान्य अवस्था भएको भए ईश्वर पोखरेल (केपी शर्मा ओलीविरुद्ध) उठ्न सक्थे कि सक्दैनथे भन्ने कुरा त्यो पार्टी भित्रकै मान्छेले बताउलान् तर बाहिरबाट हेर्दा त्यो सम्भव भएको देखिन्छ। कांग्रेसभित्र पनि गगन थापाको घर जलिसकेपछि उनले जुन किसिमको अपिल गरे, त्यसपछि जुन किसिमको परिचालन भयो। कांग्रेसभित्र पहिलेदेखि नै उनको अलिअलि प्रभाव त थियो।

 अहिले नेपाली कम्युनिस्ट पार्टी भएको छ। पुष्पकमल दाहालजी बडा चलाख रहेछन्। आफूलाई कार्यवाहक वा संयोजकमा लगे। उनी बडा तदारुकतासाथ चलाखीपूर्ण तरिकाले पार्टीलाई साँच्चै नै परिवर्तन गरेँ भन्छन्। त्यो हेर्न बाँकी छ तर उनले एक किसिमको शृङ्गारिक चित्र सिर्जना गरे। पार्टीमा मात्रै होइन, त्यसले हरेक ठाउँमा यसको प्रभाव परेको देखिन्छ।

अब के गर्ने?

कसरी भएको थियो, के भएको थियो भन्ने कुरामा जान समाज अलमलिने हो कि त्यो दिन जे भयो त्यसबाट सकारात्मक शिक्षा लिने? किनभने हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ। एउटा राष्ट्रको इतिहासमा अप्ठ्यारा परिस्थितिहरू पनि आउँछन्। परिस्थितिहरूलाई सही रूपमा हेरेर यसबाट हामीले के सिक्नुपर्छ भनेर अगाडि जानुपर्छ। पुस्तान्तरणको संवाद चलेको छ। राजनीतिक सुधारका प्रक्रियाहरू अगाडि बढेका छन्।

नेपाली समाजले नयाँ विचारका रूपमा अगाडि बढ्न सक्ने सम्भावना देखिएको छ। चुनावका लागि दलहरू दर्ता भइराखेकै छन्। नयाँ राजनीतिक गठबन्धन बन्ने, नयाँ मानिसहरू एक ठाउँमा आउने, नयाँ पार्टीहरू बन्ने, पुराना पार्टीहरूबाट टुक्रेर अरू ठाउँमा जाने एक किसिमको राजनीतिक गतिशीलता यसले लिएर आएको छ।

चुनाव एउटा मौका हो। चुनाव भनेको ठुलो परिचालनको समय हो। सामाजिक परिचालन, आर्थिक परिचालनको समय हो। मान्छेका घरमा, नेताहरूको घरमा वा विभिन्न ठाउँमा थिग्रिएर रहेको पैसा बजारमा आउँछ। विचार पनि बजारमा आउँछ र सामान्य रूपमा साधन स्रोत पनि बजारमा आउँछ। त्यसले समाजलाई अगाडि बढाउँछ जस्तो लाग्छ। किनभने अबको समयको विश्लेषण गर्दा चुनावबाहेक अर्को परिस्थिति हामीसँग छैन।

चुनावैमा जानुपर्छ?

भदौ २३ र २४ गतेको घटना र त्यसको पृष्ठभूमिमा भएका क्रियाकलापले तत्कालीन सरकारले वैधानिकता गुमाएकै हो। किनभने सुशासन र स्वतन्त्रताको बन्देजका सन्दर्भमा दम्भी नेतृत्व हामीले त्यो बेला देखेका थियौं। त्यो सन्दर्भमा यसले आफ्नो वैधानिकता गुमाएको हो। तर त्यो हुदाँहुदै पनि कानुनी आधार गुमाएको थिएन।

कानुनतः संसद् पुनर्स्थापित हुन पनि सक्छ तर के शासन गर्ने वैधानिकता यिनमा छ? जुन किसिमको हत्या, नरसंहारको खरानीमा बसेर उठिएको छ, भ्रष्टाचारका कुराहरू देखिएको छ, सानो वर्ग र समूहले सत्तालाई कब्जा गरेको परिस्थिति छ। त्यो स्तरमा हेर्दा त शासन गर्ने नैतिक आधार त गुमाइसकेको छ। विघटन हुने बेला त्यही दिन पनि मलाई लागेको थियो– भोट त मैले पनि हालेको हुँ। त्यहाँ जम्मा भएको जुलुसको आधारले सरकार कसरी जान्छ? भन्ने प्रश्न ममा नउठेको होइन।

चुनावले वैधानिकतालाई पुनर्ताजगी प्रदान गर्छ। चुनावबाहेक वैधानिकतालाई सबल गर्ने अर्को उपाय छैन। त्यसकारण पार्टीहरू चुनावमा लागिराखेका छन्। त्यो राम्रो पक्ष हो। अब सरकारले गर्न सक्छ सक्दैन, सरकारलाई मात्रै दोष दिने हो कि ! हामी नागरिकले पनि चुनाव चाहियो भन्नुपर्छ भन्ने लाग्छ।

२००७ साल, २०४६ साल वा २०६२/६३ मा आन्दोलनपछि भएका ठुला परिवर्तनजस्तै भदौ २३ र २४ को घटनालाई राजनीतिक कोसेढुंगाको रूपमा हेर्न सकिन्छ?

राष्ट्रको इतिहासमा विभिन्न कोसेढुंगाहरू आउँछन्। यो पनि एउटा महत्त्वपूर्ण कोसेढुंगाका रूपमा आएको छ। नयाँ पुस्ताले आफ्नो किसिमको माग गर्‍यो भन्ने। तर हरेक यस्ता ठाउँ नयाँ पुस्ताले लिएर आउने हो।

२००७ सालमै ३५/३६ वर्षका मानिसहरू मन्त्री भएका थिए। पहिलो मन्त्रीपरिषद्मा बिपी गृहमन्त्री हुँदा ३६/३७ वर्षको हुनुहुन्थ्यो तर अहिलेको पुस्ता सूचनाप्रतिको पहुँच र सूचनालाई आफ्नो अनुकूल बनाउने वा सूचनालाई सम्प्रेषण गर्ने, त्यसपछि संसारसँग जोडिने र यसको राजनीतिक भाषा र विचार गर्ने शैली पूर्णतः फरक छ। अहिलेको पुस्ता समय र स्थानको प्रभावबाट जन्मेको हो। हामीले त्यसलाई बुझ्ने कोसिस गर्नुपर्छ।

यसले दलहरूलाई फेर्छ भन्ने लाग्छ तपाईंलाई?

फेर्नुपर्छ भन्ने लाग्छ तर फेरिएनन् भने बढारिन्छन्। त्यसमा कसैलाई माया गरिरहनुपर्ने जरुरी छैन। काम गरेपछि पेन्सन पाइने हो, मलाई लाग्छ, दलहरूले संघर्षको पेन्सन खाइसके। एक जना मान्छे पाँच पाँच पटक प्रधानमन्त्री भइसके। बिसौं वर्षदेखि पार्टीका अध्यक्ष र सभापति भएर बसेका छन्। यिनले पाउनुपर्ने के हो? मैले बुझेको छैन। मैले पनि सानै उमेरमा कुनै नेतृत्वसँग काम गरेँ। मैले पाइसकेँ। अझ मैले पाउनुपर्ने के छ भनेँ भने अहिलेको समयको आकांक्षाभन्दा म प्रतिरोधी हुन्छु। त्यसकारण अलिकति पुनर्विचार गर्नुपर्छ।

नेपाली राजनीतिको विडम्बना के छ भने मैले अहिलेसम्म गल्ती गरेँ भन्ने नेता देखेको/सुनेको छैन। अस्ति गगन (नेपाली कांग्रेसका महामन्त्री)ले ६ वटा गल्ती गरेँ भनेर केन्द्रीय समितिमा बोलेछन्। यत्रो राजनीतिक यात्रा गर्दा भ्रष्टाचार, सुशासन, न्यायका सन्दर्भमा जुन संविधान बनायौं, त्यो संविधानको मर्मलाई बोकेर हिँड्ने सन्दर्भमा केही कमीकमजोरी भएको छन् भन्ने कुरा शब्दजाल र आत्मालोचनाको रूपमा सुनिन्छ। यसलाई वास्तविक रूपमा हामीले सुनेका छैनौं। मलाई लाग्छ, अहिलेको पुस्ताले त्यो कुरालाई राम्ररी बुझेको छ।

२००७ सात सालदेखि नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू निरन्तर क्रियाशील हुँदै आएका छन्। यिनीहरूको काम, अहिलेसम्मको गति हेर्दा र अस्तिको आन्दोलन हेर्दा अब कांग्रेस र कम्युनिस्टहरूको नेपालमा भविष्य कस्तो देख्नुहुन्छ?

विचारको अवसान त कहिल्यै हुँदैन। २००७ सालको क्रान्ति पनि नेपाली कांग्रेसकै आह्वानमा भएको हो। राजाको वैधानिक नायकत्वमा प्रजातन्त्र स्थापना गर्ने भनेर गरेको हो। सबै खाले मानिसहरू त्यो बृहत्तर आन्दोलनमा थिए। सात सालको क्रान्तिले सामाजिक रूपान्तरणको ठुलो काम गर्‍यो। भातभान्साको प्रश्न थियो, जातवादको थियो। नेपाललाई आधुनिकीकरण गर्ने किसिमको थियो। त्यसपछि विभिन्न आन्दोलन पनि भए।

२०४६ सालको जनआन्दोलनले हामीलाई नागरिक अधिकार स्थापित गर्न मद्दत गर्‍यो। २०६२/६३ को आन्दोलनले राज्यको पुनर्परिभाषा, राज्यको चरित्रमा कुरा गर्‍यो। यत्रो लामो परिवर्तनका विभिन्न शृंखलाका कडीहरूलाई जोड्न नसकेका कारण पनि हामी अझै अलमलिएका छौं तर यो सबै बिचमा पनि नेपाल एउटा सानो देश, दुई ठुला छिमेकीका बिचमा भएको भूपरिवेष्टित भन्दाभन्दै पनि हामीहरू सधैं संसारसँग जोडिएका रहेछौं।

प्रथम विश्वयुद्ध होस्, चाहे द्वितीय विश्वयुद्ध होस्, चाहे शीतयुद्धको समय होस्, प्रविधिको कारण, अहिलेको जेनजी मुभमेन्टको पृष्ठभूमिमा श्रीलंकाको आन्दोलन, बंगलादेशको आन्दोलन वा ट्युनिसियाको आन्दोलन आदिबाट पनि हाम्रा भाइबहिनीले सिकेका रहेछन्। त्यसकारण अहिलेको आन्दोलन विश्व परिवेशमा आएको प्रविधि र चेतनाका कारण आएको तौरतरिकाको परिवर्तन हो। जेनजीको नेपाली भाषामा अर्थ के हो हामीले अहिलेसम्म भन्न सकेका छैनौं। नेपालीमा कसैले नवयुवा भन्ने शब्दावली प्रयोग गरिन्छ तर हामीलाई सजिलो जेनजी नै लागेको छ।

त्यस कारण त्यो अवधारणा हो। त्यो अवधारणा हाम्रैबिचमा आयो। किन आयो भन्दाखेरि हामीसँग त्यो उमेर समूह छ। हामीसँग प्रत्यक्ष रूपमा छ। हामीले त्यो प्रविधि उत्पादन नगरे पनि त्यसको प्रयोगबाट हामी प्रभावित भएका छौं। त्यसकारणले जेनजी आन्दोलनको विश्वदृश्य पनि छ। संसारभरि जेनजी आन्दोलनलाई हेर्दा यसले सामाजिक रूपमा बहुत ठुलो उथलपुथल लिएर आएको छ तर राजनीतिक रूपमा खासै ठुलो परिवर्तन यसले गरेको छैन भन्ने तुलनात्मक अध्ययनहरूले देखाएका छन् तर म प्रार्थना के गर्छु भने नेपालमा पनि एउटा सही रूपमा राजनीतिक परिवर्तनलाई अगाडि बढाओस्। राजनीति गति शून्यताको स्थिति नआओस् भन्ने मेरो कामना छ। कामना गरेर मात्रै हुँदैन रहेछ। तर हुन्छ के हेर्नु छ।

जेनजी मुभमेन्टको पृष्ठभूमिमा यी दलहरूमा हुनुपर्ने के हो?

जेनजी मुभमेन्ट नभएको भए पनि दलहरूमा विचारको नवीनता हुनुपर्‍यो। एकै खाले विचारले सधैंभरि हाँक्न सकिँदैन। नेतृत्व परिवर्तन सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सामान्य मान्छेले त्यो पार्टीमा परिवर्तन आएछ, विचारमा परिवर्तन आएछ भन्ने कुरालाई बुझ्न त्यहाँ कस्ता मान्छे छन् भनेर हेर्छन्। कस्तो व्यवहार छ भनेर हेर्छन्।

२०४८ देखि त हामीले यही देखिरहेका छौं। २०६२/६३ पछिको पुस्ताले को देख्यो ? शेरबहादुरजी देख्यो, प्रचण्ड देख्यो, केपी शर्मा ओली देख्यो। त्यही तीन जनाको घुमाइफिराई देख्यो। मलाई व्यक्तिगत रूपमा उहाँहरूबारे केही भन्नु छैन तर नयाँ पुस्ताका भाइबहिनीहरू वा साथीहरू हुनुहुन्छ, उहाँहरूलाई त्यसले छुँदै छोएन।

मैले २०३५ सालमा डन्डा खाएँ होला, जेल गएँ होला, २०४२ सालमा वा २०६२/६३ मा टियर ग्यास खाएँ होला। २०६२/६३ मा जन्मेको मान्छे त अहिले २०/३० वर्ष हुन लागिसक्यो। त्यही मान्छे घुमफिर गरेको छ। उनीहरूले परिवर्तन, स्वतन्त्रताको अनुभवलाई नैसर्गिक रूपमा लिएका छन्। हामीले लडेर आएको भनेर लियौं। त्यही भएर अहिले पनि खतरा खतरा भन्दै छौं। उनीहरूले खतरा देखेकै छैनन्। किनभने बोल्न/लेख्न पाउने अधिकारलाई कसैले खोस्नै सक्दैन, इन्टरनेट बन्द गर्नै सक्नुहुन्न।

यो पुस्ताले त तपाईंको सेन्सरसिप देखेकै छैन। हामीले देखेको हुनाले हामी डराउँछौं। हामीलाई ‘हाउगुजी’ छ। तर के छ भने टेक्नोलोजी जुन विश्वव्यापीकरणमा जोडिएको छ, विचार भाव जसरी जोडिएको छ, त्यसलाई कसैले खोसेर लान सक्छ जस्तो मलाई लाग्दैन।

अर्को कुरा अराजकता चाहिँ हुन सक्छ। किनभने कसैले कसैलाई नटेर्ने परिस्थिति, एक्लै बस्ने रुचाउने भइसकेको छ। सामूहिकताको अवशेष अवसान भएको हो कि! अर्को कुरा एलगोरिदमले जे हेर्‍यो, त्यही देखाउँदो रहेछ। यसैले त्यो बाँधिरहेको छ। त्योभन्दा फर्केर जान सक्ने स्थिति छैन। त्यसले के देखाउँछ भने हामी खुला छौं भन्दा पनि हामी बन्द छौं। कसरी सामूहिकताको निर्माण गर्न सकिन्छ भन्ने कुरा अबको चिन्ता हो।  

समाजलाई डोर्‍याएर लैजाने काममा दलहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। २००७ सालदेखि आएका दलहरूले यो समयलाई बुझेर अगाडि जान सकेनन् भने अब ‘राम राम’ भन्नेबाहेक के हो जस्तो लाग्न थालिसकेको छ। समय अनुकूल हुन सकेन भने समयले बढारेर जान्छ। त्यही भएर अहिले सबैलाई असुरक्षाको डर छ।

तर हामीले पाएको स्वतन्त्रता गुम्दैन भन्नेमा तपाईं ढुक्क हुनुहुन्छ?

म ढुक्क किन छु भन्दा त्यो जानेबित्तिकै त जुन किसिमको अर्थव्यवस्थाको कल्पना गरेका छौं, त्यो अगाडि बढ्दैन। जेल बसेको मान्छे भएको हुनाले भन्न सक्छु - जेलमा भन्दा ठुलो स्वतन्त्रता कहीं हुँदैनथ्यो। त्यहाँ पढ्न लागेको कुरा पढ्न पाइन्थ्यो। त्यहाँ जति नारा लगाए पनि हुन्थ्यो। यो इन्टरनेटको जमानामा अभिव्यक्तिको स्वतन्त्रतालाई बन्द गर्दिए पनि भिपिएनबाट चलाउँछन्। इन्टरनेटबाटै त्यत्रा मान्छे (जेनजी आन्दोलनमा) जम्मा हुनसक्ने रहेछन्। त्यो सम्भावना त्यसले देखायो।

राजनीतिक व्यवस्थामा समस्या होला तर वैयक्तिक स्वतन्त्रता र आम स्वतन्त्रतामा फायर वाल लगाए पनि त्यसलाई नाघ्ने प्रविधिहरू छन्। त्यसकारण मान्छे आफूलाई लागेका कुरा बोल्न र अन्तर्वस्तु हुन सक्ने सम्भावना देख्छु तर त्यो अन्तर्वस्तु हुने, जोडिने, एकै ठाउँमा आउने प्रयोजन, सामाजिक प्रयोजन आजभन्दा १० वर्ष, २० वर्ष अगाडि नहुन पनि सक्छ।

तर यो अहिलेको इन्टरनेटले वा सामाजिक सञ्जालले लोकतन्त्रलाई खान्छ भन्ने भय पनि देखिन्छ। यसलाई कसरी हेर्नुभएको छ?

त्यो त सही भय छ। तपाईंले एकदम सही अर्को पाटो निकाल्नुभयो। प्रविधिले हरेक कुराको समाधान दिन्छ। प्रविधिका कारण हरेक कुरा सम्भव छ भन्ने छ। प्रविधि र एउटा मान्छेबिचको सम्बन्धमा सबै कुरा तय हुन्छ भनिन्छ। त्यसलाई ‘टेक्नोलिबटेरियन’ भन्ने फ्रेमवर्क आएको छ। त्यो बडा अधिनायकवादी प्रवृत्ति छ। किनभने प्रविधि भन्दा भन्दै पनि यसको प्रयोग विकेन्द्रित छ तर प्रविधिको नियन्त्रण चाहिँ केन्द्रकृत छ। जस्तोः गुगल, एक छिन बन्द भए सारा हाहाकार हुन्छ। फेसबुक एक जनासँग छ। एउटा कम्पनीमा हो। एउटा कर्पोरेट संस्था हो। त्यो एकल छ। जस्तो एलन मस्कले ट्विटर लिनेबित्तिकै त्यसको चरित्र परिवर्तन भयो। ‘एक्स’को चरित्र भयो।

हरेक मानवीय समस्याहरूको समाधान प्रविधिले दिन्छ भन्दा सुरुका दिनहरूमा एकदम पाच्य लाग्थ्यो। तर प्रविधि दुईधारे तरबार हो। यसलाई धेरै अप्ठ्यारोसँग सोच्नुपर्दैन। मेरिसेलीको ‘फ्रान्कस्टाइन’ भन्ने किताबमा हामीले के देख्छौं भने - उनले रोबट बनाउँछिन्, रोबटले मान्छेलाई नै खान्छ। प्रविधिबारे थुप्रो पश्चिममा उपन्यासहरू लेखिएका छन्। रोबोटसँग भागाभाग थियो तर नैतिक प्रश्न बलियो छ। अब अहिले हामी प्रविधिबाट फाइदा पनि भएको छ र प्रविधिको डर पनि हामीलाई छ।

हामी प्रविधिलाई प्रयोग गरिरहेका छौं। नेपालमा, हामीले प्रविधि बनाएका छैनौं। हाम्रा मान्छेहरू बल्ल पढ्ने र पहिलो पुस्ता प्राविधिक अन्वेषणको काम गर्दै हुनुहुन्छ। प्रयोगकर्ता भएका कारण हामीलाई कसैले प्रयोग गरिदिन्छ भन्ने खतरा छ तर यसलाई प्रयोग गरेर हामी नै अधिनायकवादी हुने भन्ने सम्भावना मैले देखेको छु।

त्यसो भए चुनावबाहेकको विकल्प छैन?

चुनावबाहेक अर्को कुनै विधि हामीसँग छैन, जसले हाम्रो राजकीय सत्ताको वैधानिकतालाई पुनस्र्थापित गर्छ। चुनावले दलहरूको वैधानिकतालाई पनि पुनर्स्थापित गर्छ। म ठुलो छु भनेर के गर्ने? नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी भनेको त्यही भएर मलाई लोकतान्त्रिक पार्टी भएको हुनाले अलिकता पक्षधरता छ तर चितवनका मान्छेले कांग्रेसलाई भोट नहालेको कति वर्ष भइसक्यो? राजनीतिक दल हुनुको अर्थ स्वतन्त्र प्रवाहमा छोडिदिने हो भने छोडिदिँदा भैगो।

कांग्रेस कम्युनिस्ट बनाएर किन राख्ने? दल एउटा चुनावको बेलामा बनाऔं र भोट हाल्न लगाए भइहाल्यो। दल हो भने सामाजिक रूपान्तरण, अर्थतन्त्रको अजेन्डा के हो ? त्यसमा प्रतिबद्ध हुनुपर्‍यो। सत्ताले मात्रै पुगेन भन्न खोजेको हो। जनतासँग जोडिने बाटो चाहियो।

प्रश्नले लोकतन्त्रलाई जोगाउँछ। गुनासोले लोकतन्त्रलाई कमजोर बनाउँछ। गुनासो होइन प्रश्न गरौं। गुनासोले हामीलाई रोगी बनाउँछ। ‘सबै चोर हुन्’, ‘जो आए पनि त्यस्तै हो’ भन्न थाले हामी मनोरोगी हुन्छौं। के देश मनोरोगी हुने हो? समाज मनोरोगतिर जाने हो या उपाय खोज्ने हो। हामी निराश हुने हो भने बस्नु किन पर्‍यो? आशा छ र बस्ने हो, गर्ने हो। मुलुक यति सजिलै सिद्धिन्छ जस्तो चाहिँ मलाई लाग्दैन। किनभने सिद्धिने भए त तपाईंले विभिन्न आन्दोलन गर्नुभयो। संक्रमण आयो, भुईंचालो गयो, विदेशीहरूको वक्रदृष्टि पनि पर्छ भन्छन्। यति गर्दागर्दै पनि हामी चलिराखेका छौं। देश र समाज चलायमान हुनका निम्ति नागरिक चेतनाको ठुलो भूमिका छ। त्यो नागरिक चेतनाले प्रश्न गरिरहनुपर्छ। र जेनजी आन्दोलनले प्रश्नको उजागर गरेको हुनाले हामी ठिकै ठाउँमा छौं।

 तपाईंले प्रसङ्ग उठाई हाल्नुभयो। विदेशीको वक्रदृष्टि छ कि छैन नेपालमा?

भन्छन् सबैले। मैले पनि विभिन्न स्थानमा बसेर काम गरेँ। ‘भाइ फुटे गवार लुटे’ भन्छन्। हामी आफू बलियो भयौं भने कसैले केही गर्न सक्दैन। हाम्रो लोकतन्त्र बलियो भए, हाम्रो सार्वजनिक नीति, हाम्रा प्राथमिकरणहरू निर्धारण गर्ने विषयमा छलफल हुनुपर्छ। नेपालमा एउटा राजनीतिक संस्कृति नै भइसक्यो– केही कुरा भयो भने विदेशीलाई देखाउने। त्यो सबैभन्दा सजिलो उपाय रहेछ।

 वास्तवमा लोकतन्त्रमा आफ्नो काम अर्कालाई दोषी देखाउने षड्यन्त्रबाट हामीलाई मुक्ति चाहिएको छ। किन दुई ठुला मुलुकहरूले हामीलाई यहाँ खलबलाउन खोज्छन्? हामी खलबलियौं भने उनीहरू खलबलिन्छन् कि खलबलिँदैनन्? हाम्रो नेतृत्वले स्पष्ट रूपमा यो मेरो ठाउँ हो, मेरो निर्णय गर्ने अधिकार हो, तिमीहरू हामी सबैको सहअस्तित्वमा यो क्षेत्र समृद्ध भएर जाने हो, यसकारण हामी कसैको प्रतिस्पर्धामा छैनौं भन्नुपर्छ।

त्यो पृथ्वीनारायण शाहको समयदेखि होस्, चाहे त्यो बिपी कोइरालाको समय। विभिन्न समयका सरकारहरूको चुनौती भूराजनीतिलाई व्यवस्थापन गर्नु र बुझ्नु हो। आफू सत्तामा हुँदा एकथोक गर्ने र सत्ताबाट गए गाली गर्ने प्रवृत्ति हाम्रो छ। हामीहरूको विश्लेषण पनि त्यस्तै हुन्छ। त्यो मलाई ठिक लाग्दैन। दुइटा ठुला छिमेकीहरूले यहाँको अस्थिरताबाट पाउँछन् के भन्ने कुरा मैले अहिलेसम्म बुझ्न पाएको छैन। विदेशीको इसारा आफ्नै मान्छेलाई तर्साउनका लागि पनि प्रयोग गर्छन्। जस्तो सुकै भए पनि हामीले साथी बदल्न सक्छौं, छिमेकी बदल्न सक्दैनौं। त्यसकारण हामी यिनीहरूसँग बाच्नुपर्छ। चीन ठुलो राष्ट्र छ। त्यसको संवेदनशीलतालाई पनि बुझ्नुपर्‍यो। भारत दक्षिणमा महत्त्वपूर्ण देश छ। त्यसको संवेदनशीलता पनि बुझ्नुपर्‍यो। आत्म स्वाभिमानलाई पनि जोगाउँदै अगाडि जानुपर्‍यो। नेतृत्वका लागि त्यही त चुनौती हो।

फागुन २१ गतेलाई चुनाव तोकिएको छ। चुनाव भएन भने के हुन्छ?

चुनाव नभए एक किसिमको वैधानिक संकट आउँछ। आन्दोलनको जनादेशले, त्यो दिनको संवादले, ६ महिना नै किन भन्दा नेपालको संविधानले ६ महिनाभन्दा बढी संसद्बिनाको परिकल्पना गरेको छैन। त्यसकारण संकट आउँछ। अब एक थरीले यत्रो आन्दोलन भइसकेपछि संविधान के हो पनि भन्छन्। यो विशिष्ट परिस्थिति हो पनि भन्छन् तर के छ भने राजनीतिक सुझबुझका साथमा हामी गयौं भने निर्वाचन हुँदा र नहुँदा पनि हामीले बाटो निकाल्नुपर्ने हुन्छ। किनभने राजनीति भनेको सम्भावनाको खेल मात्रै होइन, सम्भावना पनि हो। सम्भावना खोज्ने पनि हो।

योबिचमा अर्को ढंगले कुरा पनि उठिरहेको छ। प्रतिनिधिसभा पुनस्र्थापित गर्ने, त्यो प्रतिनिधिसभाले जेनजीका मागहरू पुरा गर्ने, तिनलाई पनि त्यसमा ल्याउने र संविधान संशोधन गरेर फेरि संसद् विघटन गरेर चुनावतिर जाने।

यो लामो बाटो किन रोजेको होला। यो कुरा मैले बुझेको छैन। तर यसले हाम्रो गतिलाई अझ तितरबितर पार्छ। एउटा गति समातेर त्यही बाटोमा लाग्नुपर्छ। अघि नै भनिसकेँ, सही रूपमा राजकीय वैधानिकता निर्माण गर्ने निर्वाचन हो। निर्वाचनमा तलमाथि गर्न हुँदैन।

यो सरकारका कामलाई कसरी हेरिराख्नुभएको छ?

भागेका कैदीहरूका नाममा केही हुन्छ भन्ने डर थियो। मलाई लाग्छ, धमाधमसँग पुलिस प्रशासनले काम गरिरहेकै देखेको छु। सरकारले शान्ति स्थापना गरेकै जस्तो लाग्छ। प्रहरीको मनोबल खस्केको भन्दाभन्दै पनि त्यसको दुई दिनपछि सडकमा हिँड्दा चप्पल लगाएको ट्राफिक प्रहरी उभिएको देख्दादेख्दै पनि अहिले फेरि जस्ताको तस्तै काम सुरु भइराखेको छ। यो सबै संयन्त्रमा नेपाल प्रहरीलाई सलामै गर्नुपर्छ।

प्रकाशित: ५ पुस २०८२ ०६:४१ शनिबार