वामपन्थी नेता राधाकृष्ण मैनाली नेपालको प्रगतिशील राजनीति र जनआन्दोलनका अनुभवी व्यक्तित्व हुन्। उनी २०४६ सालको जनआन्दोलनका अगुवा नेतामध्ये एक हुन्। लामो समयसम्म वामपन्थी आन्दोलन, श्रमिक अधिकार र लोकतान्त्रिक परिवर्तनका लागि सक्रिय रहँदै आएका मैनालीले नेपालको राजनीतिक सङ्क्रमणका निर्णायक क्षणहरूमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। मुलुकको सामयिक परिस्थितिबारे उनले नागरिक फ्रन्टलाइनको बुधबारको अंकमा प्रधान सम्पादक गुणराज लुइँटेलसँग खुलेर संवाद गरेका छन् । प्रस्तुत छ– मैनालीसँग संवादको सम्पादित अंश।
विगतजस्तो राजनीतिमा सक्रिय देखिनु हुन्न। पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?
पहिले पार्टीमा आफ्ना गतिविधिलाई सञ्चालित गरेर जाने स्थिति थियो। करिब नौ–दश वर्षदेखि कुनै पनि दलमा आबद्ध छैन। राजनीतिक चाखले मुलुकको अवस्थाको मूल्यांकन गर्न भने छाडेको छैन। त्यो हिसाबले वैचारिक रूपले अझै पनि सक्रिय छु। अनि अहिले मिडिया हिजोभन्दा सजिलो र मैत्रीपूर्ण छ। कुदीकुदी गाउँमा गएर गर्ने भाषणभन्दा सशक्त रूपले घरमै, कोठैमा बसेर पनि मिडियामार्फत जनतासँग कुरा गर्न पाइने अवस्था छ। यसैमा अहिले सक्रिय छु। त्यसका निम्ति मिडियाले पनि साथ दिएकै छ। साथै, आफ्नो लागेका कुरा भन्दै आएको छु तर हामीले दिएको सुझाव सल्लाहलाई लिएर नेताहरूले आफू सुध्रिने ठाउँमा चाहिँ गएनन्। उनीहरूको ढिपीले देश बिग्रँदै गयो।
तपाईंले धेरै खालका धेरै चरणका राजनीतिक उथलपुथल पनि देख्नुभयो। तपाईंको अनुभवमा कुन समय बढी ठिक थियो जस्तो लाग्छ?
सात सालको क्रान्तिबारे त खासै थाहा भएन । १७–१८ वर्षको उमेरदेखि पञ्चायतलाई भोगियो–देखियो। युवापन अथवा अहिलेको भनेको जस्तो जेनजीपन पनि पञ्चायतकालमै आयो। त्यतिखेरको समयको जेनजीजस्तै विद्रोही पनि भइयो। पञ्चायतकालभरिको पछिल्लो समय १६ वर्ष त जेलमै बसेँ। पञ्चायतको मिठास भनेको दमन नै हो। त्योभन्दा पञ्चायतको केही स्वाद पाइएन। दमन र लाठीको स्वाद पाइयो। सँगैका साथीहरूले जीवन दान दिनुपर्यो।
२०४३ सालमा जेलबाट छुटेर २०४५ सालको अन्त्यदेखि पञ्चायतविरोधी आन्दोलनमा मोर्चा बनाएर लागेँ। त्यसका लागि वाममोर्चा बनाइयो। नेकपा मालेमा त्यतिखेर मदन भण्डारी महासचिव भएको बेलामा वाममोर्चा बनाउन चिन्तनगत रूपले पनि हामीलाई धेरै सजिलो भयो। पहिले हामी अलि कठोरतावादी थियौं। सबैलाई गाली गर्ने आफू मात्र राम्रो भन्ने सोचमा थियौं। सबैका राम्रा पक्षलाई समेटेर सात पार्टीको वाममोर्चा बनाउन सजग भयो र त्यो वाममोर्चाले विरोधी मोर्चा कांग्रेससँग अर्को मोर्चा बनाउँदै राजतन्त्रको निरङ्कुुशताविरुद्ध लड्न सफल भइयो।
संविधानसभाले बनाउने संविधान नेपाल अनुकूल हुँदैन भन्ने गणेशमानजीको तर्क पछि संविधानसभाले बनाएको संविधानले पनि पुष्टि गरिसकेको छ। किन त्यसले बनाएको संविधान १० वर्ष पनि नटिकेर अहिले जेनजीको विद्रोह भयो?
बहुदलीय व्यवस्थामा पनि किन कुनै सुधार आएन?
निर्दलयीयता हटाएर बहुदलीयता ल्याइयो तर नेताहरूमा बहुदलीय आचरण देखिएन। कांग्रेसमा पनि फुट भयो । गणेशमान सिंह, भट्टराई (कृष्णप्रसाद भट्टराई) कांग्रेसबाट बाहिरिए। त्यहाँ गिरिजाको नेतृत्वमा प्रशासनिक कांग्रेस बन्यो। सरकारी उद्योगहरूलाई बेच्ने मुनाफा खाने कुरामा कांग्रेस गयो। अनि कांग्रेसले जे कुरा गरेर आफू धनाढ्य हुन गएको थियो, बिस्तारै एमाले पनि त्यही बाटोमा लाग्यो। मदन भण्डारीको अवसानपछाडि एमालेको बाटो पनि कांग्रेसकै बाटो पछ्याउँदै अगाडि गयो।
पछि त्यसलाई फाइदा उठाउँदै देशीविदेशी शक्तिहरूसँग मिलेर वाम आन्दोलन नामको माओवादी फेरि २०५२ सालदेखि सशस्त्र गतिविधिमा लाग्यो। माओवादी पनि देश परिवर्तनका निम्ति लागेको रहेनछ भन्ने कुरा त पछिल्ला गतिविधिले देखायो। ठुला क्रान्तिको कुरा गर्ने माओवादी खुला परिवेशमा आयो। ऊ पनि कांग्रेस एमालेले जे गरेको थियो, त्यही काममा लाग्यो। माओवादी युद्ध आइसकेपछि पनि गणतन्त्र त आयो तर शब्दमा आयो व्यवहारमा आएन। आम मान्छेले सोचेका थिए– गणतन्त्र आएपछि देशको गरिबी हट्छ, देशको भ्रष्टाचार हट्छ अनि त्यसमा सुशासन आउँछ। त्यो सब निराशामा परिणत भयो।
नेताहरू फेरि आएर हिजो बहुदल आउँदाका नेताहरू भन्दा पनि गनाउने भए। सबै कमाउन लागे। अनि बहुदल गणतन्त्र आइसकेपछि तीन/चार वटा नेताहरू पालैपालो प्रधानमन्त्री बने। कहिले शेरबहादुर, कहिले ओली, कहिले माधव त कहिले झलनाथ प्रधानमन्त्री बन्ने। प्रधानमन्त्री बन्ने परिवर्तन नगर्ने, पुराना र इमानदार मान्छेहरू पार्टीबाट निकालिन थाले। कांग्रेसबाट गणेशमान, कृष्णप्रसाद निकालिए। यता एमालेमै भन्ने हो भने मदन भण्डारीको अवसानपछि सिपी, मोहनचन्द्र निकालिए। पछि माधव, झलनाथ र वामदेव निकालिए। यसरी ओली अगाडि आए।
जनता किन निराश भए?
एकलौटी सत्तामा रमाएका नेताहरू भ्रष्टाचारमा डुब्न थाले। कांग्रेस, एमाले, माओवादी गिरीबन्धुदेखि नक्कली भुटानी शरणार्थी र विभिन्न हवाई काण्डका केसहरू २१ वटा बाहिर आए। तर कुनै पनि छानबिन भएनन्। अब मलाई लाग्दैन, त्यो केस आएका सबै भ्रष्टाचारै होलान्। त्यो पनि लाग्दैन। होइन भन्ने पनि आधार छैन। यी सारा कुराले मान्छेले गणतन्त्र आएपछि मूलधार भनेको भ्रष्टाचार गर्ने कुरो बुझे।
गणतन्त्रकालमा यसलाई सुधार्ने काम भएन। सुधार नभएपछि देशमा निराशा आयो। विभिन्न कठोर यातना भोगेर आएका नेताहरू भ्रष्टाचारमा डुबेको सुनियो। सत्ताको माथिल्लो पिँढीमा त ओली पुगे तर उनले त्यो हामी गोलघरमा हुँदा गरिएका कल्पनाको एक प्रतिशत कहीं प्रयोग गरेनन्।
मान्छे दुःख पाएको बेलामा देशका बारेमा सोच्ने, सत्तामा पुगेपछि कमाउने कुरोमा लाग्ने। जस्तो अहिले जेनजीकै आन्दोलनमा शेरबहादुरजीको घरमा जे सम्पत्ति देखापर्यो भनियो। त्यस्तै प्रचण्डको घरमा, उनको छोरीको घरमा जे देखियो भनियो, अनि उनीहरूका सन्तानका ब्याग र घडीका मूल्यहरू जो बाहिर सुन्नमा आए, त्यो एकदमै नराम्रो कुरा थियो। उद्योग गरेर त्यति सम्पत्ति कमाएको भए त अति राम्रो हुन्थ्यो। तर राज्य दोहन गरेर किन कमाउनुपर्यो? यसबाट नेता पनि बदनाम भए, राजनीति पनि बदनाम भयो।
नेताहरू पूरै असफल भए भन्ने तपाईंको निष्कर्ष हो?
नेताहरू असफल नै भए। दलै असफल भयो त भन्दिनँ तर दल पनि दलदलको अवस्थामा पुगे। किनकि हिजो ओलीजीले दुईचोटि प्रतिनिधिसभा भंग गर्नुभयो र अदालतले हटाएर उहाँलाई बालुवाटारबाट घरको बार्दलीमा पुर्यायो। तैपनि पार्टीका नेताहरूले उहाँमाथि प्रश्न उठाउन सकेनन्। यहाँसम्म जेनजी आन्दोलनको क्रममा एकै दिन चार हजार गोली प्रहार भएछ। झोला बोक्ने विद्यार्थीमाथि गोली चलाइएको थियो। भोलिको आक्रोशमा प्रधानमन्त्रीबाट उनी भाग्नुपर्ने अवस्था आयो। यस्तोमा पार्टीका कार्यकर्ताले सत्ताबाट हट्नुस् भन्ने अवस्थामा पुग्न सकेनन्। यो दुःखको अवस्था हो।
एमालेमा मात्र होइन, कांग्रेसमा पनि त्यही छ। अब शेरबहादुरजीलाई त्यत्रो झडपबाट सेनाले बल्ल बल्ल बचायो। सेनाले त्यति धेरै कसरत नगरेको भए शेरबहादुर अहिले सिंगापुर जाने अवस्थामा हुनेथिएनन्। त्यति गरेर बचाएर पनि उहाँले पार्टी अध्यक्षबाट अर्को पार्टी अध्यक्ष छान भन्न नसकेर अहिले पनि सांसद पुनःस्थापना भए पनि प्रधानमन्त्री हुन्छु कि भन्ने आशामा कार्यवाहक मात्र दिएर सिंगापुर जानुभएको छ। उहाँको भित्री आशय के हो भने अब कहीं प्रतिनिधिसभा फर्किहाल्यो भने सबैभन्दा ठुलो पार्टी त कांग्रेस नै हो। अनि कांग्रेसको संसदीय दलको नेता त म नै हुँ। सिंगापुरबाटै प्रधानमन्त्री भएर आइपुग्छु भन्ने आशयका साथ उनी अडिएका छन्।
यसबाट हामीले के बुझ्ने?
अझै पनि नेताहरू देश बनाउन होइन, आफू कसरी प्रधानमन्त्री बन्ने मुडमै रहेको देखिन्छ। उति बेला बरु राजाले जन आवाज बुझेर निर्दलबाट बहुदल माने। पञ्चहरू पनि बहुदलीय चुनावमा आए तर अहिलेका नेताहरू जेनजीको आवाज बुझ्न सकेको देखिँदैन। अहिले जेनजीहरूले उठाएको माग संविधान फ्याँक्ने र संविधान रद्द गर्ने थिएन। संविधान संशोधनको थियो। प्रत्यक्ष कार्यकारीको कुरा थियो। त्यति न हो।
प्रत्यक्ष कार्यकारी राजतन्त्रजस्तै निरंकुश हुने डर होला नि?
त्यस्तो हुँदैन। त्यसले राम्रो गरेन भने पाँच वर्षपछाडि त्यो नेता चेन्ज हुन्छ। अर्को नेता आउँछ। किन त्यसरी राजतन्त्र आउँदा पाँच वर्षपछाडि त्यो हट्ने सम्भावना नहुन सक्छ। तर राष्ट्रपति या प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री निरंकुश भयो भने पाँच वर्षपछाडि हट्छ। र अर्को लोकतान्त्रिक प्रणालीमा आउँछ। यही परिवेश चाहियो भनेर जेनजीहरूले राखेको मागलाई यी नेताहरू कसैले स्विकारेनन्।
दलहरूले किन नमानेका होलान्?
विगतमा प्रचण्डले जित्छन् भनेर मानेनन्। अहिले अर्कोले जित्छ भनेर डराए। यसमा डराउनुपर्ने कुरै छैन। एउटा प्रणाली बनाएपछि त्यसमा जो छिर्न सक्छ, जसलाई जनताले पत्याउँछ। प्रचण्डै आए पनि प्रणालीमा आउनुपर्थ्याे। त्यस्तै, ओली वा शेरबहादुर नै आए पनि सिस्टममा आउनुपथ्र्यो। वा त्योभन्दा अरू नै कुनै मान्छे आएको भए भने प्रणालीमा आउँथ्यो। प्रणाली चलाउँथ्यो। त्यो हुनेबित्तिकै चुनावमा खर्च गरेर पैसा कमाउन आउने मनोवृत्ति रोकिथ्यो। सांसद चुनावमा नीतिगत रूपले राम्रो व्याख्या गर्ने राम्रो योजना बनाउने मान्छे आउँथ्यो। त्यो पैसा खर्च नगरीकन आउँथ्यो। यहाँ आएर कमाउन सकिँदैन भन्ने थाहा हुन्थ्यो तर त्यो पद्धति आउन जेनजीहरूले गरेको आन्दोलनलाई सुशीला कार्कीजीको मन्त्रिपरिषद् बनाउने दिनमै तुहाइयो।
कसरी तुहाइयो?
जेनजीहरू राजनीतिक सचेत थिएनन्। एउटा आक्रोश थियो । संसदीय व्यवस्थाले भ्रष्टाचार मात्रै चलायो। गरिबी मात्रै बढायो भन्ने आक्रोश थियो उनीहरूमा। आमजनताबाट चुनिएको राष्ट्रपति भन्ने माग त राखे तर त्यतिखेर सुशीलाजीको मन्त्रिपरिषद् बन्ने बेलामा यो संविधान संशोधनलाई एक नम्बरमा उभ्याउन सकेनन्। एक नम्बरमा पहिले संविधान संशोधन गर अनि निर्वाचन गर भन्ने ठाउँमा पुगेको भए जेनजी आन्दोलन ऐतिहासिक हुन्थ्यो तर त्यो हुन सकेन।
अव के हुन्छ?
अहिले राम्रो भए चुनाव हुन्छ। यिनै अहिलेका पुराना पार्टी नै आए भने संविधान संसोधन हुँदैन। जेनजी आन्दोलनको मर्म बर्बाद हुन्छ । अवसर त्यस्तो हालतमा पुगेको छ। अहिले जेनजी र दलको बैठक भएर पनि चुनाव नै गर्ने हो। चुनाव नै गर्दा एउटा संयोग पुराना दल सबैले हारेर जेनजीले जित्छ। यो त मान्छेको मनको लड्डु मात्रै हो। त्यो हुँदैन। अब दुई तिहाइ मत नयाँ मान्छेहरूको आउँदै आउँदैन। दुई तिहाइ मत नआई संविधान संशोधन हुँदैन। संविधान संशोधन नभएपछि यही संविधान बस्छ।
यस्तै गरी भ्रष्टाचार गरेर खाने दिन अगाडि आउँछन्। नेताहरूले खोज्या यही हो। एकातिरबाट नेताहरू प्रतिनिधिसभा फर्काउने कुरोमा लागेका छन्, अर्कातिरबाट नेताहरू चुनाव नहोस् भन्ने कुरा चाहेका छन्। किनभने उनीहरूलाई चुनाव भए हारिन्छ भन्ने डर पनि छ। त्यसकारण चुनाव भाँड्ने अवस्थामा कतिपय लागेका छन्। चुनाव लगार्दे २०८४ मा पुर्यायो भने जितिन्छ भन्ने भ्रममा पनि उनीहरू छन्। उनीहरू युवाको आन्दोलनलाई तुहाउन लागि परेका छन्।
यस्तो भए के हुन्छ?
आन्दोलन तुहियो भने देशमा अर्को ठुलो दुर्भाग्य हुन्छ । त्यसपछाडि के हुन्छ भन्न सकिन्न।
यहाँले अघि पनि कार्यकारी प्रमुखको यहाँले कुरा गर्नुभयो। नेपाल चाहिँ धेरै लामो समयसम्म तानासाही चल्यो र एउटा व्यक्ति भयो भने स्वेच्छाचारी हुँदो रहेछ भन्ने हो। अब नेपाल फेरि त्यो खालको बाटोमा गयो भने स्वेच्छाचारिता बढेर झन् समस्या हुँदैन?
हिजो राजाको तानासाही र निर्वाचित राष्ट्रपतिको तानासाही एउटै हुँदैन। यसको आवधि तोकिएको हुन्छ। पाँच वर्ष चार वर्ष वा ६ वर्षपछाडि उसको निर्वाचन हुन्छ। माथिल्लो संयन्त्रमा रहेको मन्त्रिपरिषद् वा राष्ट्रपतिको टिमले शुद्धता अपनायो भने तल ब्युरोक्रेसीमै त्यसको सकारात्मक असर आउँछ। त्यो विगतमा देखिएको थियो।
म मनमोहनजीको मन्त्रिपरिषद्मा पनि मन्त्री थिएँ। त्यो नौ महिनामा भ्रष्टाचारको मात्रा जिरोमा त होइन, पहिलेको मात्रा घटेर धेरै तल आएको थियो। प्रधानमन्त्रीले पैसा खाएन भने मन्त्रीले पनि पैसा खान डराउँछ। त्यही अनुसार कर्मचारीतन्त्र पनि डराउँछ। यसको उदाहरण डा. भगवान कोइराला हुन्। उनले घाटामा गएको अस्पताल नाफामा पुर्याएर छाडेको कुरा धेरैलाई थाहा छ।
जेनजीले उठाएको कुरा कस्तो लाग्छ?
जेनजीले उठाएका कुरा सही थिए तर ओलीले राजीनामा दिएपछि मुलुकमा शासक राष्ट्रपति भए। राष्ट्रपति रामचन्द्र पौडेलका काम संविधान बचाउने रह्यो। कांग्रेसकै सरकार बचाउने कुरोमा लागेर जेनजीका राम्रा माग पनि छोपिए र हटाइए। अहिले चुनाव गर्ने भनिएको छ। यो धेरै राम्रो भने चुनाव हुन्छ। चुनाव भएपछि त यिनै आउने रे। बाउरेको मान्छे सरकार आउने। भ्रष्टाचार त कन्ट्रोल हुँदैन। अनि नयाँ ठाउँमा त आउँदैन।
चुनाव हुन्छ त समयमै?
फागुन २१ मा चुनाव नहुन सक्ने सम्भावना पनि छन्। एक त प्रतिनिधिसभा फर्काउने कुरो अगाडि आएको छ। अब अदालतले के भन्छ ? दलहरू र वकिलको टिमचाहिँ अब यो संविधानलाई नै बिउँताउने नाममा संसद् फर्काउन खोजिरहेका छन्। मलाई अहिलेसम्म के लाग्छ भने अब यो न्यायाधीश, वकिलहरू यथास्थितिवादी चिन्तनका मान्छे हुन्। उनीहरूले परिवर्तनभन्दा पनि अहिले कानुनमा के छ, त्यसलाई टिकाउने हो। अब न्यायाधीशहरूले व्याख्या गरेभन्दा संविधान बाहिरबाट जाँदैन नि । उनीहरूले संविधानकै व्याख्या गर्ने हो।
यस्तो भयो भने के होला त?
यो संविधानलाई सुधार न्यायाधीशले होइन, राजनीतिक मान्छेले चाहने हो। अहिले जेनजी र नेपाली जनमानसले यो संसद्का यी नेताहरू भ्रष्ट भए भनेको छ। त्यसैले संसद् फर्कियो भने ती चुप लागेर बस्छन् कि बस्दैनन् भन्ने हो । चुप लागेनन् भने फेरि द्वन्द्व सुरु हुन्छ अनि चुनाव हुँदैन।
अनि चुनाव नभए त सेना नै आउनुपर्ने भयो। चुनाव भएन भने फागुनपछाडि सुशीलाजी त सत्ता छोड्छिन्, किनकि उनी विगतमा न्यायालयकै मान्छे हुन्। उनको पनि त्यही प्रतिबद्धता हुन्छ। त्यही भएर उनले म फागुनमा पछाडि बस्दिन भनेकी हुन्।
त्यसैले उनले त्यतिखेर राजीनामा दिइन् भने फेरि रिक्तता हुन्छ फेरि सेना आउँछ। त्यो सेना आइसकेपछिको स्थिति अब सजिलै गरी सेनाले फेरि सरकार बनाएर चुनाव गर्छ, कि सेना नै बस्छ, कि सेनाले अर्को विकल्प खोज्छ, कि यी समस्याहरू अगाडि आउँछन्। त्यही कारण चुनाव भएन भने त्यसमा यी नेताहरूले जुन अमनचैन हाम्रो फर्किन्छ भन्ने ठान्छन्, त्यो फर्किंदैन।
चुनाव नभएपछि फेरि हामी प्रतिनिधिसभा पुनःस्थापना गर्छौं र फेरि हामी घोडा चढेर सत्तामा जान्छौं भन्ने कल्पनासाथ प्रतिनिधिसभा फर्काउने भन्ने भ्रम पालेका छन् उनीहरूले तर त्यो हुँदैन। त्यस्तो अवस्था आउनेबित्तिकै देशमा अर्को उपद्रव सुरु हुन्छ र फेरि सेनाले अभिभावकत्व बोक्नु पर्ने हुन्छ। सेनाले अभिभावकत्व बोकिसकेपछि यी नेताहरूलाई नै सेनाले बोकेर हिँड्छ भन्ने कुराको खण्डन त हिजो जेनजीको आन्दोलन आउँदा जसरी भाग्नुपर्यो, सेनाले यिनीहरूलाई बचाउन बोक्यो तर सत्तामा राख्न त बोकेन।
नेताहरूले यो बुझका छैनन् त?
त्यो स्थितिलाई उनीहरूले अहिले नै बुझ्नुपर्ने हो। अहिले नै बुझेर सकेसम्म संविधानलाई सुधार गर्न लाग्नुपर्ने। मुख्य मुख्य नेताहरूले सत्ता छोड्ने, पार्टीको सत्ता छोड्ने र नयाँ नेताहरूको नेतृत्वमा पार्टीको नेतृत्व जिम्मा लगाउने हो। हामी संसद्मा आयौं भने यो यस्तो राष्ट्रपतीय पद्धतिको यो खाकामा हामी संविधान संशोधन गर्छौं भन्ने हो। अहिले त्यो ठाउँमा जाने र यी पुराना नेताहरूले सत्ता छोड्ने हो भने चुनाव हुन्छ।
संविधान संशोधन कसरी हुन्छ त?
अहिले मात्र होइन, विगतमा पनि अपरिवर्तनीय भनेका संविधान फेरिएका हुन्। यो कुनै कानुनले होइन, जनआवाजले फेरिएको हो। त्यस्तै जनआवाज अहिलेको विद्रोह पनि हो। त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्ने हो भने धेरै हदसम्म समाधान हुन्छ। अनि त्यो संशोधित संविधानलाई पछिल्लो आउने नयाँ पार्लियामेन्टले अनुमोदन गर्छ।
भनेपछि अब जेनजीहरूले राजनीति बुझेका छन् त ? जस्तो अहिलेसम्म त के छ भने उनीहरू एउटा सीमित माग लिएर आएका थिए। तुरुन्तै सफलता पनि प्राप्त भयो तर अब यो अहिले जुन परिवर्तनको चाहना छ, त्यसतर्फ उनीहरू जान सक्छन् जस्तो लाग्छ कि लाग्दैन?
होइन, मलाई के लाग्छ भने जस्तो त्यसको विपरीत जे हँुदैछ, संसद् फर्काउने अथवा चुनाव हुन नदिने अनि त्यसपछि आफ्नो राज फर्काउने। जुन पोलिटिकल पार्टीहरूले चाहिँ त्यो त्यो परोक्ष भूमिका प्रत्यक्ष रूपमा पार्न खोजिराखेका छन्। यसको प्रतिक्रिया के हुन्छ भने युवा मात्र होइन कि यी नेतादेखिबाहेकको मासमा भर पर्छ।
मलाई लाग्छ, अहिले नै एमाले र कांग्रेसका कार्यकर्ता संविधान संशोधन गरेर पुराना नेताहरूले सत्ता छोडेर अगाडि जानुपर्छ भन्ने भावना त बढेको छ। जेनजीको आन्दोलनपछि धेरै ठाउँमा सकारात्मक प्रभाव पनि देखिन थालेको छ।
त्यसैले यसलाई बेवास्ता गरेर ससद् फर्काएर मात्रै अगाडि जाने कुरो गरे भने अब मलाई चाहिँ जेनजी मात्र होइन, अरू ठुलै मास पनि उपद्रवमा आउँछ। आन्दोलनमा आउँछ। त्यो आन्दोलनमा आएपछि यी नेताहरूले आफ्नै स्वराज ल्याउन खोजेको कुरो टुट्छ। अनि स्वराज ल्याउन खोजेको टुटेपछि त ऊ सेना नै अगाडि आउनुपर्ने स्थिति आउँछ।
नेपालको जहिले पनि संविधान फेर्न खोजिन्छ। शासकीय सुधार क्रमशः गर्दै नगएर हरेक पल्ट संविधान मात्रै फेर्दा कहीँ पनि पुगिँदो रहेछ भन्ने प्रष्ट भइसकेको छ। फेरि नयाँ संविधान फेर्यो भने पनि त त्यही होला नि?
होइन, मलाई लाग्छ संविधान फेर्नेभन्दा पनि अहिले जेनजीले उठाएको कुरा संविधान सुधार्ने हो। यही संविधानलाई सुधार, यही संविधानलाई सुधार्ने भन्या छन्। अनि राष्ट्रपति पद्धति ल्याएर अघि बढे केन्द्रीकृत शासन प्रणाली देशमा यो राजनीतिक अराजकतालाई नियन्त्रण गर्छ। भ्रष्टाचार त्यहाँबाट नियन्त्रण हुन्छ। त्यहाँबाट गरिबी हट्ने कुरो आउँछ।
जुन कार्यकारीको कुरा छ, यो कार्यकारी ल्याउनलाई पनि त कहीँ न कहीँबाट विचार आएको होला नि? त्यस्तो व्यवस्था कति दिगो हुन्छ?
होइन, कार्यकारी अहिले उठेको माग हो। यसका लागि कुनै दलका मान्छेलाई फूलपाती लगाइरहनुपर्दैन। अहिले उठाएको यो कार्यकारी प्रमुखको माग जेनजीको माग हो। उनीहरूले यो संसदीय व्यवस्थाले भ्रष्टाचार बढायो भने देखे। अनि अराजकता बढायो भन्ने देखेर त्यो युवा मस्तिष्कले भन्यो। त्यही भएर यो राष्ट्रपतीय पद्धतिमा जाऔं भनेका हुन्।
अब राष्ट्रपतीय पद्धतिमा जाँदा को आउँछ भन्ने कुरो ठुलो होइन। मान्छेले जसलाई चुन्छन्, त्यो पद्धतिमा त्यो राष्ट्रपति हुने हो। जस्तो हिजो २०४७ को संविधान खारेज गरेर २०७२ को संविधान आयो। त्यो त परिवर्तन नै गर्न नपाइने भन्ने संविधान थियो।
नत्र यस्तै हो भने कांग्रेस, एमाले, माओवादी समाजवादीका नेताहरू सबै मिलेर पनि देशमा नयाँ चुनावै भयो भने देशमा परिवर्तन गर्दैनन्।
किन र?
आम मान्छेले सोचेका छन्, यी नेताबाट देशमा परिवर्तन हुँदैन। एक त यिनीहरूले जित्तै जित्दैनन्। जितिहाले पनि यी नेताहरूबाट परिवर्तन हुँदैन। त्यसकारण मेरो आग्रह छ कि नेताहरूले आफ्नो बाटो छोड्दिऊन्। नयाँ नेताहरू ल्याउन संविधान सुधारको बाटोमा जाऊन अनि त्यो सुधारिएको संविधानअन्तर्गत त्यसलाई अग्र बाटोमा लिएर जाऊन्।
नत्र नेताहरूले गडीबडी गरे भने त सेना आएर राजतन्त्र पनि फर्काउन सक्छ । त्यो पनि उनीहरूले बेलैमा बुझे हुन्छ । किन देशमा गडबडी हुँदै गयो भने जेनजीले ओलीलाई लखेट्छ भनेर कसले अनुमान गरेको थियो र।
राजतन्त्र कुनै दलले चाहेमा आउँछ र?
कुनै एउटा भन्दा पनि कांग्रेसले भन्यो भने त सातै दिनमा फर्किन्छ। किन तलको जगमा अहिले पनि सजिलो मतदाताको ठुलो संख्या भनेको कांग्रेसकै छ। अनि एमालेकै वरिष्ठ पिँढी ६० नाघेको ठुलो पिँढी राजै चाहिन्छ भन्छन् । उनीहरूले बोलाए आउँछन् । नत्र आउँदैनन्।
अर्को खेल पनि छ। यी नेताले गल्ती गरे भने यी दुइटा खेलले स्थिति यिनीहरूले नसोचेको ठाउँ देश पुग्न सक्छ। त्यसकारण यिनीहरूले सुधारिएर जाने हो भने अहिले पनि गणतन्त्रै सुधारिएर अगाडि जान्छ। राजतन्त्र फर्किने सम्भावना कम छ तर यिनीहरूले भाँडभैलो गरे भने नसोचेको राजतन्त्र पनि फर्किन्छ। किन त्यो एउटा विकल्प शक्तिको रूपमा उभाइरिराखेको छ।
प्रकाशित: १५ कार्तिक २०८२ ०८:४८ शनिबार