स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था – नेपाल (इप्पान) र इभेन्ट सोलुसन प्रालिको सहकार्यमा यसवर्ष नेपालको ऊर्जा क्षेत्रको विकास, पर्यटन प्रवर्धन, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले इप्पान र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ गर्न लागिएको छ।
पाँचौं संस्करणको यस एक्स्पोमा मुलुकको ३० हजार मेगावाट ऊर्जा उत्पादनको लक्ष्यमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो –२०२७’ को तयारी, अन्तर्राष्ट्रिय सहभागिता, बिटुबी छलफल, लगानी प्रतिबद्धता, व्यवस्थापकीय चुनौती र एक्स्पोको दीर्घकालीन योजना तथा गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको ‘अतिवेगको सुनामी’ वा ‘जलप्रलय’ र त्यसपछि कालिगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीपछिको विपत्तिबाट उठेर क्षतिग्रस्त हाइड्रोपावरहरू पुर्ननिर्माण गरी विद्युत् उत्पादनमा फर्किन आगामी दिनमा के गर्नुपर्छ र अब नेपालको जलविद्युत् विकासको मोडल नै पुर्नविचार गर्नुपर्ने अवस्थाबारे इप्पानका अध्यक्ष मोहनकुमार डाँगीसँग नागरिककर्मी मधुजंग पाण्डेले गरेको र्वार्ताको सारसंक्षेप:
पाँचौं संस्करणको ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुँदैछ। विगतका संस्करणभन्दा यस पटकको एक्स्पो के अर्थमा फरक र विशेष हुनेछ?
हिमालयन ग्रिन इनर्जी एक्स्पो नेपालको ऊर्जा क्षेत्रलाई राष्ट्रिय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय लगानी, प्रविधि र व्यावसायिक साझेदारीसँग जोड्ने महत्वपूर्ण मञ्च हो। विगतका चार संस्करणबाट प्राप्त अनुभवलाई आधार बनाएर पाँचौँ संस्करणलाई अझ व्यापक र परिणाममुखी बनाउने हाम्रो लक्ष्य छ।
यसपटकको एक्स्पोको मूल सन्देश उत्थानशील ऊर्जा, समृद्ध नेपाल रहेको छ। जलविद्युत् मात्र नभई सौर्य ऊर्जा, वायु ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारीसाधन र आधुनिक प्रसारण प्रणालीलाई पनि एउटै मञ्चमा प्रस्तुत गरिनेछ।
हाम्रो उद्देश्य प्रदर्शनी आयोजना गर्नु मात्र होइन, नेपालमा लगानीको वातावरण निर्माण गर्ने, प्रविधि भित्र्याउने, अन्तर्राष्ट्रिय कम्पनीलाई नेपाली ऊर्जा बजारसँग जोड्ने र ३० हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुर्याउने हो।
सन् २०१८ मा पहिलोपटक ‘हिमालयन हाइड्रो एक्स्पो’ सुरु गरिएको थियो। त्यो बेलादेखि अहिलेको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’सम्म आइपुग्दा इप्पानले के कस्ता उपलब्धि गर्यो त?
स्वदेशी तथा विदेशी लगानीकर्तालाई एउटै छानामुनी सहभागी गराएर आयोजना गरिंदै आएको यस एक्स्पोले ऐतिहासिक छलाङ मारेको छ। सुरुमा इप्पानको एक कार्यसमितिले तीन वर्षमा एउटा मात्र एक्स्पो गर्दै आएको थियो। अहिले एक्स्पोको महत्त्व निकै प्रभावकारी किसिमले बढेकै कारण अहिले हामीले हरेक वर्ष एक्स्पो आयोजना गर्ने निणर्य गरेका छौं।
सन् २०१८ मा पहिलो एक्स्पो सुरु हुँदा नेपालमा विद्युत् उत्पादन निकै न्यून थियो र लोडसेडिङ अन्त्यको सुरुवाती चरण चलिरहेको थियो। सन् २०२६ सम्म आइपुग्दा नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट नाघेको छ।
मुलुकको कुल विद्युत् उत्पादन क्षमतामा निजी क्षेत्रको योगदान तथा उत्पादनको हिस्सा करिब ८० प्रतिशत रहेको छ। जसले देशलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा पुर्याएको छ।
हिमालयन ग्रिन इनर्जी एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य के हो ? तयारी कहाँ पुग्यो?
नेपालको ऊर्जा क्षेत्रको विकास, पर्यटन प्रवर्धन, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले इभेन्ट सोलुसन प्रालिसँगको सहकार्यमा हामीले पाँचौं संस्करणको ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ एक्स्पो आयोजना गर्दैछौं। सरकारको ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यमा टेवा पुर्याउनु यस एक्स्पोको मुख्य उद्देश्य हो।
हाल स्टल बुकिङ, स्वदेशी तथा विदेशी सरोकारवालाहरूसँगको समन्वय र प्राविधिक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। अहिले स्टल बुकिङ करिब पूरा भइसकेको अवस्था छ। स्वदेशी तथा विदेशी उर्जा उत्पादकहरू, डेभलपर्स उपकरण निर्माताहरूलाई सहभागी गराउने काम पनि अन्तिम चरणमा छ।
यस एक्स्पोबाट विद्युत् उत्पादनको प्रक्रियादेखि आयात–निर्यात व्यापारको अवस्थासमेत सबै जानकारी पाउन सहज बनाएको छ। हामी विद्युत् उत्पादककालाई आवश्यक पर्ने सबै सामाग्री र प्राविविध ज्ञान एउटै ठाउँमा उपलब्ध गराउनका लागि यो एक्स्पो निकै उपलब्धिमूलक फलदायी हुने अपेक्षा छ। यस एक्स्पोमा विदेशी सहभागिता पनि निकै उत्साहजनक हुने छ। ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो–२०२७’ नेपालको ऊर्जा क्षेत्रको विकास, विस्तार र अन्तर्राष्ट्रियकरणका लागि आयोजना गर्न लागिएको महत्त्वपूर्ण कार्यक्रम हो।
नेपालको ऊर्जा क्षेत्र अहिले उत्पादन क्षमता विस्तारको चरणमा छ। सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य हासिल गर्न ठूलो लगानी, अत्याधुनिक प्रविधि, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ।
यही आवश्यकतालाई सम्बोधन गर्दै विदेशी डेभलपर्स, ऊर्जा क्षेत्रका उत्पादक, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, उपकरण निर्माता, प्रविधि प्रदायक, नीति निर्माता र विज्ञहरूलाई एउटै मञ्चमा ल्याउनु हाम्रो मुख्य उद्देश्य हो। यसले नेपालको ऊर्जा क्षेत्रलाई जलविद्युत्मा मात्र सीमित नराखी समग्र हरित तथा स्वच्छ ऊर्जा प्रणालीको विकासमा सहयोग पुर्याउनेछ।
एक्स्पोमा अन्तर्राष्ट्रिय सहभागिता कस्तो रहने छ? अन्य मुलुकका लगानीकर्ता, प्रविधि उत्पादक र ऊर्जा कम्पनीहरूको सहभागिता सुनिश्चित गर्न के तयारी भइरहेको छ?
गत भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको जलप्रलयको प्राकृतिक विपत्तिपछि नेपालको ऊर्जा बजारमा अन्तर्राष्ट्रिय समुदायको चासो थप बढिरहेको छ।
विशेषगरी भारत, चीन, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका ऊर्जा कम्पनी, उपकरण उत्पादक, लगानीकर्ता, वित्तीय संस्था र प्रविधि प्रदायकलाई यस एक्स्पोमा सहभागी गराउने हाम्रो प्रयास छ।
नेपालमा जलविद्युत् उत्पादनको सम्भावना ठूलो छ। त्यसलाई उपयोग गर्न भने आधुनिक प्रविधि, ठूलो पुँजी, दक्ष जनशक्ति र क्षेत्रीय ऊर्जा बजार आवश्यक हुन्छ। यस एक्स्पोले यी सबै पक्षलाई एउटै ठाउँमा जम्मा गराउनेछ।
हामीले अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि छुट्टै प्रदर्शनी क्षेत्र, व्यावसायिक भेटघाट तथा लगानीकर्तासँग प्रत्यक्ष छलफल गर्ने व्यवस्था अघि बढाएका छौं। अघिल्ला संस्करणमा पनि विदेशी कम्पनी र अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलको सहभागिताले सकारात्मक वातावरण बनाएको थियो।
एक्स्पोमा कति लगानी प्रतिबद्धता र व्यावसायिक सम्झौता हासिल गर्ने लक्ष्य छ?
यस एक्स्पोमा हाम्रो मुख्य जोड एक्स्पोलाई व्यापारिक तथा लगानीको मञ्चका रूपमा स्थापित गर्नु हो। एस एक्स्पोमा आएका कम्पनी, लगानीकर्ता र नेपाली ऊर्जा उद्यमीबीच प्रत्यक्ष छलफल गराएर संयुक्त लगानी, प्रविधि हस्तान्तरण, उपकरण खरिद, निर्माण सम्झौता र वित्तीय सहकार्यका सम्भावना खोजिनेछ। जसका लागि बीटुबी म्याचमेकिङ, लगानीकर्ता भेटघाट र छुट्टै वार्ता कक्षको व्यवस्था गरिएको छ।
जलविद्युत् आयोजनाका प्रवर्धक र अन्तर्राष्ट्रिय वित्तीय संस्थाबिच प्रत्यक्ष संवाद गराउनु पनि हाम्रो प्राथमिकता हो तर लगानी प्रतिबद्धता र वास्तविक लगानी एउटै कुरा होइन। त्यसैले एक्स्पोमा भएका समझदारी र सम्झौताहरूको कार्यान्वयन अवस्था पछिसम्म अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्छ।
करिब ३० हजारबढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेका छौं। हाम्रो सफलता कति अवलोकनकर्ता सहभागी भन्नेभन्दा पनि कति सम्झौता कार्यान्वयनमा गए भन्ने आधारमा मापन हुन्छ। हामीले यस एक्स्पोबाट अबौंको लगानी प्रतिवद्धता हुने आशा गरेका छौं। अझै प्रयास जारी छ।
एक्स्पोको व्यवस्थापन, प्रदर्शनीस्थल, प्रायोजन, अन्तर्राष्ट्रिय प्रतिनिधिको आवागमन र निजी क्षेत्रको सहभागितामा के–कस्ता चुनौती छन?
हामीले विगतका वर्षदेखि गर्दै आएको अन्तर्राष्ट्रिय स्तरको एक्स्पो आयोजना गर्दा व्यवस्थापनका धेरै पक्षमा ध्यान दिनुपर्छ। प्रदर्शनीस्थलको व्यवस्थापन, स्टल निर्माण, विद्युत् तथा सञ्चार सुविधा, सुरक्षा, यातायात, आवास, अन्तर्राष्ट्रिय प्रतिनिधिको भिसा सहजीकरण र व्यावसायिक भेटघाटको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। त्यसैले इप्पान र इभेन्ट सोलुसन संयुक्त रूपमा यस तयारीमा जुटेको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलको ठाउँ जे जस्तो छ त्यसैलाई राम्रो बनाएर व्यवस्थापन गर्दै आएका छौं। यसपटक ६० प्रतिशत विदेशी र ४० प्रतिशत स्वदेशी प्रदर्शनीकर्ताको सहभागिता रहनेछ। यसपालि १०० भन्दा बढी स्टल र ३० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता सुनिश्चित गर्न हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, कम्पनीहरूसँगको समन्वय र सरोकारवालाको सहभागिता विस्तारलाई प्राथमिकता दिएका छौं।
नेपालको ऊर्जा क्षेत्रप्रति अन्तर्राष्ट्रिय लगानीकर्ता तथा प्रविधि कम्पनीहरूको आकर्षण बढिरहेको छ। त्यसैले हामीले प्रदर्शनीलाई व्यावसायिक रूपमा उपयोगी बनाउने प्रयास गरिरहेका छौं।
अघिल्ला एक्स्पोभन्दा यस एक्स्पोमा के फरक छ?
अहिले हामीले उर्जा र पर्यटनलाई सँगै जोडेका छौं। यसपाली सरकारले लिएको ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई सहयोग गर्ने पक्ष नै फरक छ। यसका लागि निजी क्षेत्र सक्षम छ। यसवर्ष हामीले ऊर्जा, ग्रिन हाइड्रोजनसँगै नेपालको पर्यटन प्रवर्धनलाई पनि सँगै जोडेका छौं। जसका लागि विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार संरक्षण क्षेत्र, पाटन र भक्तपुर दरबार संरक्षण क्षेत्र लगायत ७ वटा सम्पदा हुँदै देशको सबैभन्दा जेठो हाइड्रोपावर फर्पिङसम्म विद्युतीय गाडी (इभी) र्याली आयोजना गर्ने भएका छौं। यो पनि अघिल्लो संस्करण भन्दा फरक प्रस्तुति हो।
त्यस्तै पर्यटन प्रवर्धनलाई पनि हाइड्रोसँग जोड्ने प्रयत्न गरेका छौं। हामीले सन् २०१८, २०१९, २०२२ र २०२४ मा आयोजना भएका ‘हिमालय हाइड्रो एक्स्पो’बाट धेरै अनुभव र उपलब्धि हासिल गरेका छौं। ती अनुभवलाई आत्मसात् गर्दै यस पटकको एक्स्पोलाई अझ व्यापक, व्यवस्थित र व्यावसायिक बनाउने तयारी गरिरहेका छौं।
यो एक्स्पोलाई दीर्घकालीन ऊर्जा व्यापार, लगानी र प्रविधि हस्तान्तरणको संस्थागत मञ्च बनाउन के योजना बनाउनुभएको छ?
हामीले एक्स्पोलाई प्रत्येक संस्करणमा अझ विकसित हुने दीर्घकालीन व्यावसायिक प्लेटफर्म बनाउन खोजेका छौं। नेपालको ऊर्जा क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने काम तीन दिनको प्रदर्शनीबाट मात्रै सम्भव हुँदैन। त्यसैले आगामी दिनमा अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन, नियमित लगानीकर्ता संवाद, प्रविधि प्रदर्शनी, अनुसन्धान तथा नवप्रवर्तन, ऊर्जा उद्यमीहरूको नेटवर्किङ र क्षेत्रीय व्यापार साझेदारीलाई निरन्तरता दिने छौं।
नेपालको जलविद्युत् उत्पादन बढ्दै जाँदा बजार, प्रसारण लाइन, ऊर्जा भण्डारण र निर्यातका विषय पनि उत्तिकै महत्त्वपूर्ण भएकाले यस एक्स्पोले यस्ता विषयमा नीति निर्माता, लगानीकर्ता र निजी क्षेत्रबीच निरन्तर संवाद गराउने आधार तयार गर्ने छ भन्ने हामीलाई लागेको छ।
गत भदौ १० गतेको भोटेकोसी–त्रिशूलीमा आएको जलप्रलय, त्यसपछि कालीगण्डकी र बुढीगण्डकीको बाढीले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विद्युत् उत्पादन पुनःस्थापनाको काम कहाँ पुगेको छ?
भदौ १० गते आएको विपत्ति सामान्य बाढी थिएन । त्यसलाई हामीले जलप्रलय तथा प्राकृतिक विपत्ति भनेका छौं। त्यो अतिवेगसहित आएको गेग्य्रान, लेदो र हिमपहिरोको विनाशकारी घटना थियो। जसले जलविद्युत् आयोजना, सडक, पुल, प्रसारण लाइन र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
इप्पानले संकलन गरेको प्रारम्भिक विवरणअनुसार भोटेकोसीको बाढीले मात्र १२ वटा जलविद्युत् आयोजना र एउटा सौर्य आयोजना प्रत्यक्ष प्रभावित भएको छ। उत्पादनरत आयोजनाहरू बन्द हुँदा विद्युत् उत्पादनमा समेत असर परेको छ। निर्माणाधीन आयोजनाहरूको काममा पनि प्रभावित बनाएको छ।
अझै सम्बन्धित बिमा कम्पनीबाट एकिन क्षतिको विवरण संकलन तथा सर्भे गर्ने काम जारी भएकाले पूरै विवरण आइसकेको छैन। विद्युत् आयोजनाको बाँध, हेडवक्र्स, सुरुङ, पेनस्टक, पावरहाउस, सबस्टेसन र प्रसारण संरचनाको विस्तृत प्राविधिक मूल्यांकनको काम सकिएपछि मात्र एकिन विवरण आउने छ।
अझै कुन आयोजना तत्काल मर्मत गरेर सञ्चालन गर्न सकिन्छ, कुन आयोजनाको पुनर्निर्माण आवश्यक छ तथा डिजाइन नै परिवर्तन गर्नुपर्छ भन्ने निर्णय लिनुपर्ने भएकाले सम्पूर्ण प्राविधिक प्रतिवेदन तयार भएपछि मात्र वास्तविक विवरण आउने छ। यसमा निजी क्षेत्र र सरकारी निकाय लागिरहेको अवस्था छ। जसका लागि सरकारले प्याकेज घोषणा गरेको छ।
बाढीपछि सरकारले राहत, पुनर्निर्माण र वित्तीय सहजीकरणमा कस्तो भूमिका निर्वाह गरेको छ?
अहिले सरकारले राहत तथा पुनर्निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गरेको छ। जलविद्युत् आयोजना अर्बौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका दीर्घकालीन पूर्वाधार हुन्। यस्ता आयोजना प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त हुँदा प्रवर्धक कम्पनीले मात्र त्यसको भार थेग्न सक्दैनन् । यसमा सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र विकास साझेदार सबैको सहकार्य आवश्यक हुन्छ।
सरकारले प्रभावित आयोजनालाई विशेष पुर्ननिर्माण प्याकेज दिनुपर्छ। सहुलियतपूर्ण पुनर्कर्जा, ऋणको पुनर्तालिकीकरण, ब्याजमा सहुलियत, कर छुट र आवश्यक नीतिगत सहजीकरण गर्नुपर्छ।
यसैगरी बिमा दाबीको छिटो मूल्यांकन र भुक्तानी हुनुपर्छ। प्राकृतिक विपत्तिमा परेका आयोजनालाई सामान्य व्यावसायिक जोखिमका आधारमा मात्र हेर्नु हुँदैन। राष्ट्रिय ऊर्जा सुरक्षासँग जोडेर पुनर्निर्माणको विशेष व्यवस्था गर्नुपर्छ भन्ने निजी क्षेत्रको माग थियो। अहिले सरकारले सोही अनुरूपको काम अघि बढाइरहेको छ।
यस विपत्तिले नेपालको जलविद्युत् विकासको परम्परागत मोडलबारे पुनर्विचार गर्नुपर्ने अवस्था आएको हो?
हो। अब हामीले जलविद्युत् विकासको मोडललाई नयाँ दृष्टिकोणबाट हेर्नुपर्छ। विगतमा आयोजनाको सम्भाव्यता अध्ययन गर्दा नदीको बहाव, विद्युत् उत्पादन क्षमता र आर्थिक प्रतिफललाई बढी प्राथमिकता दिइन्थ्यो।
अब जलवायु परिवर्तन, हिमताल विस्फोट, हिमपहिरो, गेग्य्रानसहितको बाढी र भौगर्भिक जोखिमलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ भन्ने नयाँ पाठ हामीलाई सिकाएको छ।
अब विद्युत् आयोजना निर्माण गर्नुअघि विस्तृत जलवायु जोखिम मूल्यांकन, भौगर्भिक अध्ययन, बाढीको चरम अवस्था र सम्भावित गेग्रानको बहावसमेत विश्लेषण गर्नुपर्छ। आवश्यकताअनुसार पावरहाउस, हेडवक्र्स, सबस्टेसन र पहुँचमार्गको स्थान परिवर्तन गर्नुपर्छ।
नदीको प्राकृतिक बहाव क्षेत्र र जोखिमयुक्त भूभागमा संरचना निर्माण गर्ने पुरानो अभ्यासलाई पुनर्विचार गर्नुपर्ने अवस्था उत्पन्न भएको छ। एक पटक यस्तो क्षति भयो भनेर हामी जलविद्युत् विकास रोक्ने पक्षमा छैनौ तर अबको विकास सुरक्षित, दिगो र विपद् प्रतिरोधी हुनुपर्छ।
विद्युत् उत्पादन क्षमता बढाउनेसँगै लगानी र पूर्वाधारको सुरक्षा पनि सुनिश्चित गर्नुपर्छ भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ। यस घटनाले एउटा नदी करिडोरको मात्र समस्या होइन, समग्र नेपालको जलविद्युत् क्षेत्रको जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकताबारे नयाँ पाठ सिकाएको छ। अब देशभरका सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजनाको जोखिम अडिट गर्नुपर्छ।
विशेषगरी हिमाली तथा पहाडी नदी बेसिनमा रहेका आयोजनाको जोखिम वर्गीकरण गर्नुपर्छ। हिमताल, हिमनदी, पहिरो र बाढीको निरन्तर निगरानी गर्न आधुनिक प्रविधि प्रयोग गर्नुपर्छ। मौसम पूर्वानुमान, स्याटेलाइट निगरानी, रियल टाइम सेन्सर र स्वचालित चेतावनी प्रणालीलाई आयोजनासँग जोड्नुपर्छ। यसअघि पनि हामीले विद्युत् आयोजनाको सुरक्षा एकदम बलियो बनाएका थियौं।
प्रकाशित: ७ मंसिर २०८३ ०८:३१ सोमबार