अन्तर्वार्ता

इरानविरुद्ध उपाधि जित्ने लक्ष्य छ : कप्तान भण्डारी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी (साम्बा)ले त्रिदेशीय वुमेन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा उपाधि जित्ने लक्ष्य रहेको बताएकी छिन्। उनले आज हुने इरानविरुद्धको खेलमा उपाधि जित्ने लक्ष्य रहेको बताएकी छिन्। यसै क्रममा नागरिककर्मी प्रतिश्ना रेगमीले कप्तान भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ:

आज हुने इरानसँगको मैत्रीपूर्ण खेलको तयारी कस्तो छ?
यहाँको स्टेडियमको अवस्था हेरेर तयारी गरिरहेका छौँ। हामी मानसिक र शरीरिक रूपमा तयार छौँ।

इरानी टोलीलाई कसरी लिनुहुन्छ?
इरान मात्र होइन, भारत र इरान दुवै टोली एसियन कपमा छनोट भइसकेका छन्। जसले गर्दा उनीहरूको आत्मबल पनि बढी छ। यसै अनुसार हामी पनि तयारी अवस्थामा छौं।

आज हुने इरानविरुद्धको खेलमा तपाईँहरूको लक्ष्य के हो?
हामी खेलाडीको हिसाबले देशको लागि खेल्ने हो। देशकै लागि जित्ने लक्ष्य लिएका छौँ।

नेपाली महिला फुटबल टोली अहिले कस्तो अवस्थामा छ?
नेपाली महिला फुटबल टोलीको यो प्राइम टाइम हो। यो टाइमलाई सबैले संरक्षण गरेर अगाडि बढ्नु पर्ने हुन्छ। यस कारण यो टाइमलाई सबैले संरक्षण गरिदिनुहुन आग्रह गर्छु।

तपाईँको टोलीमा अन्डर १९ का दुई जना खेलाडी आउनुभएको छ। उहाँहरू थपिएपछि कस्तो छ टोलीको अवस्था?
दुई जना बहिनीहरू टिममा आउनुभएको छ। उहाँहरूको टेस्ट हुन बाँकी छ। यद्यपी उहाँहरू राम्रो खेलाडी हो। उहाँहरूको खेलप्रतिको लगन देख्दा हाम्रो टिम झनै बलियो हुन्छ जस्तो लाग्छ मलाई।

तपाईँहरू एसियन कपबाट एक कदमले चुक्यौँ, यस्तो टुर्नामेन्टले नेपाली टोलीका लागि के महत्व राख्छ?
यस्ता टुर्नामेन्टले खेलमा हाम्रो अवस्था के छ र हामीले अझै कति तयारी गर्नुपर्छ भनेर थाहा पाउँछौँ। यस कारण यस्ता टुर्नामेन्टहरूमा अझै धेरै भाग लिने मौका पायौँ भने हामीलाई सिक्ने र मजबुत हुने अवसर मिल्छ।

अहिले नेपाली महिला फूटबल टोलीको बलियो पक्ष के हो?
बलियो पक्ष भनेको हामीले उपाधि जित्छौँ भनेर मानसिक रूपमा तयार हुनु नै हो।

टोलीमा दुई जना खेलाडी फर्किनुभएको छ। यसले तपाईँहरूलाई कस्तो फाइदा हुन्छ?
पहिलेदेखि नै उहाँहरू टिममा महत्वपूर्ण खेलाडीको रूपमा हुनुन्थ्यो। दुर्घटनावश उहाँहरू केही समयका लागि बाहिर हुन पुग्नुभयो। तर अब उहाँहरूको कमब्याक सँगै हाम्रो टिम झनै बलियो भएको महसुस गरेको छु। उहाँहरूको खेल राम्रो होस् भनेर कामना गर्छु।

तपाईँ पहिला टोलीमा सदस्य भएर खेल्दै हुनुहुन्थ्यो तर अहिले कप्तानको जिम्मेवारी बहन गर्दा कत्तिको गाह्रो महसुस गर्नु भएको छ?
कप्तानको जिम्मेवारी बहन गर्न गाह्रो होइन। किनभने हामी २३ जना खेलाडीमा हामी सबै कप्तान नै हौँ। हामी सबैले मिलेर खेल्ने हो। एएटा व्यक्तिभन्दा पनि टिमले खेल्ने हुँदा सहज भएको छ।

अहिले तपाईँ भारतमा हुनुन्छ। होम ग्राउन्डलाई कतिको सम्झनुहुन्छ?
एकदमै।

प्रकाशित: ७ कार्तिक २०८२ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App