२०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी हुँदा नेपाल लामो राजनीतिक संक्रमण, आन्दोलन र संविधान निर्माणको बहसबाट गुज्रिरहेको थियो। संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र मौलिक हकलाई संस्थागत गरेको वर्तमान संविधान दुईवटा संविधानसभाको लामो प्रयास र राजनीतिक संघर्षपछि जारी भएको हो।
संविधान जारी भएको ११ वर्ष पुग्दा पनि यसको कार्यान्वयन, राजनीतिक स्थिरता, संवैधानिक संस्थाको भूमिका, मौलिक हकको प्रत्याभूति र संविधान संशोधनका विषयमा बहस जारी छ।
यही सन्दर्भमा नागरिक फ्रन्टलाइनका लागि नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीद्वारा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग संविधान निर्माणको क्षण, त्यसबेलाको परिस्थिति र वर्तमान संवैधानिक अवस्थाबारे गरिएको संवादको सम्पादित अंश:
संविधानसभाबाट नयाँ संविधान जारी हुँदाको क्षणमा तपाईंको मनमा के कुरा खेलेको थियो? ऐतिहासिक उपलब्धिको खुसी कि संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्न नसकेकोमा चिन्ता?
२००७ सालको राजनीतिक परिर्वतनमा मेरो योगदान नभए पनि विद्यार्थीकालदेखि नै प्रजातन्त्रका संघर्ष र आन्दोलमा म सक्रिय हुँदै आएको छु। २०१७ सालपछिका सबै लोकतान्त्रिक आन्दोलनमा संलग्न थिएँ। देशमा लामो संघर्ष र बलिदानीपछि संविधानसभाबाट संविधान जारी भएको हो।
नेपाली जनताको आर्शीवादले त्यो संविधान जारी गर्ने मौका मैले नै पाएँ। त्यस ऐतिहासिक दिन आउनका लागि नेपाली जनताको ठुलो संघर्ष र बलिदानी छ। जनताको त्यही ‘क्लाइमेक्स’ को रूपमा दुई दुई वटा संविधानसभा गठन भयो र संविधान निर्माण भयो। देशका विभिन्न जातजाति, धर्म, वर्गसहितको प्रतिनिधित्व हुनेगरी ६०१ जना सदस्य रहेको संविधानसभा गठन भएको थियो र संविधान आयो।
संविधानसभबाट संविधान दिने बेलामा मधेसमा गोली चलिरहेको थियो। हामी मिलेर संविधान ल्याइरहेका थियौं। त्यस दिनलाई केही पर सारेर मधेसलाई पनि समेटेर जाँऊ भन्ने मेरो चाहना थियो किनकि संविधान भने देशको मूल कानुन हो। यो दुई सय, पाँच सय वर्षका लागि निर्माण गरिन्छ। त्यसमा पनि संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, समानुपातिकता, धर्म निरपेक्षतासहितको संविधान निर्माण भइरहेको थियो। त्यस्तो अवस्थामा लोकतान्त्रिक प्रक्रियाबाट आएको मान्छेलाई मुलुकको एउटा भाग आन्दोलनमा हुँदा स्वाभाविक रूपमा पीडा हुने नै भयो।
मान्छेहरूले भन्छन्– बेस्ट संविधान हो। म बेस्ट भन्दिनँ। म लोकतन्त्रका लागि यो वर्किङ संविधान हो भन्छु। यो संविधानलाई राम्रोसँग संरक्षण गर्न सकियो भने देशलाई चाहिँ अगाडि बढाउन कुनै अप्ठ्यारो पर्दैन। भारतका नेता भीम अम्बेकरले भन्नुभएको थियो– संविधान कस्तो छ होइन, संविधान चलाउने नेताहरू कस्ता छन् भन्ने महत्त्वपूर्ण कुरा हो। यसलाई राम्रोसँग चलायो भने लोकतान्त्रिक संविधान बन्छ।
त्यसले लोकतन्त्रको मन्दिर संविधानसभाबाट नेपाली जनताका प्रतिनिधिहरूले निर्माण गरेको जनताको नासो जनभावनाअनुसार ढोगेर समर्पण गरेको हुँ। तर, संविधान जारी गर्दा जति खुसी थिएँ, त्योभन्दा धेरै पीडा जनकपुर, वीरगन्ज, जलेस्वर, सप्तरीलगायत मधेसमा गोली चलिरहेकाले भएको थियो।
म चाहन्थेँ, लोकतान्त्रिक प्रक्रियामा तपाईं मधेस देशभित्र छ, संविधान जारी गर्ने समय केही दिन सारेर भए पनि समस्या समाधान गरेर जाऊँ। त्यसमा सरकार र दललाई सहमत गराउन सकिनँ। राष्ट्रपतिका रूपमा मेरो भूमिका सरकार, दल, संविधानसभासहितको पक्षसँग समन्वय गराउने थियो र मैले पहल पनि गरेँ तर भएन।
अर्को कुरा, म संविधानभन्दा बाहिर जान सक्दैनथेँ किनभने कांग्रेस, एमाले, माओवादी, संविधानसभा र सरकार एक ठाउँमा थिए। संवैधानिक दायित्वअनुसार संविधान घोषणा गरेँ तर अहिले सम्झँदा बहुतै राम्रो काम गरेँ भन्ने लाग्छ। मैले पीडा लिएर पनि जुन संविधान घोषणा गरेँ, त्यो संविधानलाई अहिले सबै भूभाग, क्षेत्र र समुदायले स्वीकार गरेर निर्वाचनसहितका सबै प्रक्रियामा सहभागी भएका छन् र देश अघि बढेको छ।
संविधान जारी गर्नुपूर्व तपाईंले प्रमुख दल, तत्कालीन प्रधानमन्त्री र संविधानसभा अध्यक्षलाई बोलाएर मधेसको समस्या समाधान गर्नु भन्दा पनि सुनुवाइ भएन?
भएन। त्यसबेला मेरो काम समन्वयकारी थियो। संविधान बनाउने काम संविधानसभाको हो अनि पोलिटिकल पार्टीको काम हो। लामो संघर्षबाट निर्माण हुन लागेको संविधान नेपाली जनताको चाहनाअनुसार लोकतान्त्रिक बनोस् र सदियौं वर्ष चलोस् भन्ने थियो। त्यसअनुसार प्रयास गरेँ। मधेसको समस्या पनि समाधान गरौं, जनजाति या थारुको समस्या राम्रोसँग सुनौं अनि संविधान जारी गरौं भन्ने थियो। त्यो नहुँदा मनमा खुसी थिएन। देश यो संविधानमार्फत अगाडि बढिराखेको छ। अहिले म खुसी छु। मलाई लाग्छ कि यो संविधान सही ढंगले अगाडि बढोस्। देश र संविधान लोकतान्त्रिक विधिबाट अघि बढोस्। मेरो चाहना यही छ।
तराई मधेसको समस्या समाधान नभए संविधान जारी गर्न आउँदिनँ पनि भन्नुभयो होइन त्यतिबेला प्रमुख दल, प्रधानमन्त्री र संविधानसभा अध्यक्षलाई?
सुशीलजी (सुशील कोइराला) प्रधानमन्त्री हुनुहुन्थ्यो। मैले उहाँलाई भनेँ– हेर्नुस्, म देशको राष्ट्रपति छु, नेपाली नागरिक छु, त्यही मधेसबाट जन्मेर आएको छु, त्यहाँ गोली चलिरहेको छ, त्यसमा म खुसी छैन। सम्पूर्ण देशवासी खुसी भए मात्र म खुसी हुन्छु। त्यसैले केही दिन संविधान जारी गर्ने समय सारेर भए पनि उनीहरूलाई सुनाैं भनेर बुझाउने प्रयास गरेँ तर त्यो भएन। मैले विधिलाई पालना गर्नुपर्ने थियो। त्यो काम गरेँ। लामो संघर्षको उपजका रूपमा संविधान जारी गर्दा पीडा र खुसी दुइटै थियो।
लोकतन्त्रको मन्दिरबाट जनतालाई संविधान दिन पाएकोमा खुसी थिएँ भने मधेसको जुन समस्या थियो, त्यसले चाहिँ पीडा दिएको थियो। राष्ट्र सफल होस्, प्रजातान्त्रिक प्रक्रियाबाट नै अगाडि बढोस्, सबै नेपालीले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक सबै अधिकार उपयोग गर्न पाऊन्, राष्ट्र सबल बनोस् भन्ने मनमा थियो।
त्यो कुरा त प्रधानमन्त्री, संविधानसभा अध्यक्ष र प्रमुख तीन दललाई बुझाउन सक्नुभएन कि बुझ्न चाहेनन्?
संविधान जारी गर्ने मिति सार्दा यहाँ अनेक चलखेल हुन्छ, भोलि संविधानसभाबाट संविधान घोषणा हुन सक्दैन, बाह्य फोर्सहरू खेल्छन् भन्ने थियो होला उहाँहरूलाई। तर मलाई त्यसमा विश्वास थिएन। नेपाली जनताको प्रतिनिधि, प्रमुख राजनीतिक दलहरू एक ठाउँमा बसेपछि यहाँ कसले खेल्छ ? यो सब गलत हो, त्यो विश्वास दिलाउन मैले सकिनँ।
मलाई पनि केहीले यो इसारामा चलिरहेको छ पनि भने। नेपाली जनताको सामने ११ वर्षपछि पनि फेरि दोहोर्याएर भन्छु, मलाई ‘कन्फिडेन्स’ थियो, पार्टीहरू एक ठाउँमा रहे अनि सदन, सरकार र राष्ट्रपति संस्था मिलेर १०/१५ दिन समय सारेर मधेसको समस्या पनि समाधान गरेर जान सकिन्थ्यो, कसैको केही लाग्दैनथ्यो।
छिमेकी मुलुक भारतका विदेश सचिव आएर तपाईंहरूलाई संविधान जारी नगर्न भनेको होइन र?
राजनीतिक दलहरू, सरकारलाई भनेका होलान्। मलाई व्यक्तिगत रूपमा कुनै कुरा आएका होइनन् किनकि दलका नेताहरूलाई, सरकारका मान्छेहरूलाई उहाँले भेटिरहनुभएको थियो। फेरि संविधान बनाउने संविधानसभा तथा दलहरूको काम हो, राष्ट्रपतिको काम समन्वय गर्ने मात्र हो। ममाथि कुनै दबाब थिएन।
त्यसो भए प्रमुख दलहरूको मधेसलाई हेर्ने दृष्टि नै सकारात्मक रहेनछ भन्ने बुझौं कि तपाईंले मधेसलाई अलि धेरै माया गर्नुभयो संविधान जारी गर्ने बेलामा भन्ने बुझौं?
मेरो जुन पोजिसन थियो, त्यसअनुसार काम गर्ने हो र गरेको हुँ। मधेसमा आन्दोलन, तोडफोड भइरहेका बेलामा म कांग्रेसको महामन्त्री थिएँ, त्यसबेला मैले नै भनेको थिएँ, सबैलाई आआफ्नो अधिकार माग्ने अधिकार छ तर हामीले राष्ट्रको एकतालाई मजबुत गर्नुपर्छ, पहाडे–मधेस मिलेर जानुपर्छ भन्ने मान्छे हुँ। जुन बेला मधेसबाट पहाडेलाई खेद्ने काम भइरहेको थियो, त्यो बेला हिमाल, पहाड र तराई यो भूगोल हो, त्यसमा हामी विभिन्न जाति, धर्म, वर्गका मानिस बसिरहेका छौं, हामी पहिले नेपाली हौं, हामी नेपाली एक भएर जानुपर्छ, देशको एकतालाई मजबुत गरेर जानुपर्छ भन्ने मान्छे हुँ। राष्ट्राध्यक्षको जिम्मेवारीमा छ, उसले मधेसलाई मात्रै बढी माया गर्ने कुरा नै हुँदैन। मैले देशलाई माया गरेको हुँ। यहाँ सबैको अधिकार बराबर छ। सकेसम्म सबैको चित्त बुझाएर जानुपर्छ भन्ने मात्र हो। मलाई फलानालाई माया गर्ने मान्छे होस् भन्नुभयो भने ममाथि अन्याय हुन्छ।
मुलुकको राष्ट्राध्यक्षले गरेको आग्रहलाई पनि दलहरूले नमान्ने, हामीले कस्तो राष्ट्रपति संस्था बनाएका रहेछौं त, अधिकार केही नभएको कमजोर?
होइन। हामी कुन सिस्टममा छौं, त्यो बुझ्नुपर्छ। हामीले जुन सिस्टमलाई आत्मसात् गरेका छौं, त्यो ‘पार्लियामेन्ट्री’ सिस्टम हो। जहाँ तीन वटा पिलर हुन्छन्, विधायिका, न्यायपालिका र कार्यपालिका। त्यसपछि संवैधानिक निकायहरू, निजामती, सुरक्षासहितका अन्य अंगहरूले काम गर्छन्। सबै संविधानप्रदत्त संस्थाहरूले काम गर्ने हुन्। विधायिका, न्यायपालिका र कार्यपालिका अभ्यासले चल्छन् र यसका आआफ्नै सीमा छन्। त्यसलाई पालना गर्नुपर्छ। आफ्नो परिधिभित्र बसेर काम गर्नुपर्छ। एकले अर्को संस्थालाई पूरै सम्मान दिनुपर्छ। संसारभरि नै हाम्रोजस्तो लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास यसरी नै हुनुपर्छ।
आजको दिनमा तपाईंले भन्नुभएअनुसार विधायिका, न्यायपालिका र कार्यपालिकाले एकअर्कालाई सम्मान गरिरहेको पाउनुहुन्छ?
हामी संविधान दिवसका बेलामा छौं। यही बेलामा मेरै मुखबाट यसमा धेरै भन्न नलगाउनुहोस्। संविधानसभाबाट जारी भएको यो संविधान सदियौंसम्म चलोस् र हामी सबै नेपालीको भलो होस्, हाम्रो भावना यही छ। अहिले सदन पनि कमजोरजस्तो देखिन्छ। कार्यपालिकाबाट पनि अलि धेरै परिपक्व निर्णय भइरहेकोजस्तो लाग्दैन। न्यायपालिकालाई पनि हस्तक्षेपजस्तो गरिएको देखिन्छ।
आजको दिनमा एउटा नेपाली र पूर्वराष्ट्राध्यक्षका नाताले यसमा अझ सुधार होस् र राम्रो होस् भन्ने मेरो चाहना छ। यसमा धेरै कुरा नभनौं तर अहिले त्यति राम्रो भइराखेको छैन। सदन पनि जुन मर्यादाअनुसार चल्नुपर्ने हो, म देखिराखेको छैन। कार्यपालिकाले पनि संवैधानिक निकायहरूमाथि हस्तक्षेप गरिरहेजस्तो देखिन्छ। न्यायपालिकाले विधि, विधान र परम्पराअनुसार काम गरेजस्तो देखिँदैन।
जनताले राजतन्त्र फालेर गणतन्त्र ल्याए, शासन व्यवस्था मात्र होइन, व्यक्ति पनि परिवर्तन भए तर जनताको जीवनमा केही परिवर्तन आएन भन्ने गुनासो तीव्र छ?
जनताको चाहना र अपेक्षाअनुसार काम भएका छैनन्। तर, जनताको जीवनमा केही परिवर्तन भएन भन्ने कुरामा मेरो सहमति छैन। हामी धेरै ठुलो उपलब्धि पाएका छौं र विकास निर्माणको काम भएको छ। २००७ साल, २०१७ साल वा २०४६ सालअघिसम्म हाम्रो अवस्था के थियो? हामी कहाँ थियौं र आज कहाँ छौं भन्ने हेर्नुपर्छ।
बोल्नका लागि धेरैले ज्यान गुमाउनुपरेको छ, जेलनेल र संघर्ष गर्नुपरेको छ, अहिलेको अवस्था त्यसै आएको होइन। लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो यो। बाटोघाटो, पुलपुलेसा, स्वास्थ्य, शिक्षा, सञ्चारको अवस्था के थियो? केही वर्षअघिसम्म कालोपत्र गरेको सडक भेटाउन मुस्किल थियो तर अहिले धेरै ठाउँमा बाटो पुगेको छ।
नेपालीहरू देशभित्र मात्र होइन, बाहिर पनि नेतृत्व गर्नसक्ने अवस्थामा पुगेका छन्। कृषि, पर्यटन अगाडि बढेका छन्। जलविद्युत्मा पनि हामीले निकै राम्रो गरिरहेका छौं। हामीले विकासको मोडल समयानुकूलको बनाउन सकिरहेका छैनौं। तपाईंले भन्नुभएजस्तो जति हुनुपर्ने थियो, त्यो भएन, संस्थाहरू जति मजबुत हुनुपर्ने हो, त्यो भएनन् भन्न चाहिँ सकिन्छ। केही भएन भन्ने चाहिँ होइन।
गत वर्षको भदौमा तन्देरी पुस्ता सडकमै उत्रिएर विद्रोह गरे?
शासन व्यवस्थामा रहेका नेपाली कांग्रेस, एमालेसहितका दलले नेपाली जनताले के भनिरहेका छन् ? के चाहिरहेका छन् ? भनेर नाडी समात्नुपर्ने थियो, त्यो हुन सकेन। भदौ २३ गते जुन ‘मुभमेन्ट’ भयो, त्यसलाई ‘सेफ ल्यान्ड’ कसरी गराउने भन्ने बुद्धि, ज्ञान र क्षमता भएन। एमाले र कांग्रेसका लिडरहरूको शासन गर्ने क्षमता नभएको हो। बच्चाहरूको नरसंहार भयो, त्यसले जनतामा वितृष्णा फैलियो। त्यसैको ‘रियाक्सन’ भयो। २४ गते जुन घटना भयो, अहिलेसम्म छानबिन भएको छैन। त्यस घटनाबाट हामी सबै नेपाली दुःखी छौं।
आन्दोलनमा उत्रिएका पुस्ताले त दल र तिनका नेता मात्र होइन, अहिलेको शासन व्यवस्थाका विषयमा पनि प्रश्न उठाएर संविधान संशोधनका कुरा उठाएका थिए नि?
युवाहरूको माग शासन पारदर्शी हुनुपर्यो, भ्रष्टाचार हुनुभएन, आफ्नै देशमा काम गर्न पाऊँ, शिक्षादीक्षा, स्वास्थ्यको अवस्था राम्रो होस्, नेपालमै बसेर उपार्जन गर्न पाऊँ भन्ने माग न हो।
संविधान संशोधन?
संविधान संशोधन त सुरुदेखि उठेको विषय हो। समय र आवश्यकताअनुसार, लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार संविधान संशोधन हुँदै जान्छन्। त्यो संसारभरिको प्रक्रिया हो।
संविधानमा यति धेरै मौलिक हक राखेका छौं, तर त्यसको कार्यान्वयन हुनै सकेको छैन। किताबमा मात्र लेखेर जनताले परिवर्तनको अनुभूति कसरी गर्न सक्छन् र?
केही काम भएका छन्, केही हुँदै छन् तर केही पनि नभएका होइनन्, भएका छन्। कतिपय प्रक्रियामा छन्। लोकतन्त्र भनेको प्रक्रिया हो, सबै एकै पटक हुँदैन। हिजो बोल्न पाउनुपर्छ भन्दा कतिले बलिदानी दिनुपर्यो, आज हरेक नेपालीले छाती फुलाएर आफ्नो अधिकारको कुरा गर्न सक्ने र पाउने अवस्था सिर्जना भएको छ। कानुनले होइन, शासन चलाउने मान्छेले गलत गर्छ भने त्यहाँ हामीले औंला उठाएर प्रश्न गर्न पाउने अवस्था आएको छ।
संविधान जारी गर्दा दलहरूसहित सबैले भनेका होइनन्, अब संविधान जारी भयो, मुलुकमा राजनीतिक स्थायित्व हुन्छ, आर्थिक विकासले गति लिन्छ भनेर ? तर, मुलुकमा सरकार गठन र विघटनको दुश्चक्र रोकिएको छैन। राजनीतिक अस्थिरता कायमै छ?
राजनीतिक नेतृत्व सक्षम भएन। त्यसैले यस्ता घटना भइरहेका छन्। विगतदेखि अहिलेसम्म पार्टीमा बेमेल भयो, व्यवस्थित ढंगले चल्न सकेनन्। हामी पूर्ण लोकतान्त्रिक प्रणालीमा छौं तर त्यसअनुसार शासन व्यवस्था चलाउन सकिरहेका छैनौं। त्यो नेतृत्वको गल्ती र कमजोरी हो। पार्टीहरूमा सुझबुझको कमी हो।
संविधानको मर्मअनुसार अघि बढ्न दलहरूलाई तपाईंको के सुझाव छ?
त्यो काम पत्रकार, विद्वान्हरूको हो, जुन लेखिरहनुभएको छ। सरकारमा रहेका दल र सरकारलाई मेरो आग्रह छ, संयमतासाथ विधिअनुसार र संविधानको मर्म बुझ्दै लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्नुहोस्। पुराना दल, जसको लामो संघर्ष र इतिहास छ। आफ्नो स्वार्थ छोडेर लोकतान्त्रिक विधि र प्रक्रियाबाट देश र आफ्नो पार्टीलाई पनि अघि बढाउनुहोस्। आफ्नो फाइदाका लागि होइन, लोकतन्त्रलाई मजबुत बनाउन विधि–विधानअनुसार समन्वय गर्नुहोस्।
गल्ती भएको छ भने त्यसलाई सुधार गर्दै, इतिहासलाई समेट्दै देश र जनताको पक्षमा काम होस्। बहुदलीय व्यवस्थामा दलहरू नै मुख्य खम्बा हुन्। उनीहरू कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ। म प्रार्थना गर्छु, तपाईंहरूले विधि र विधानबाट पार्टी र राष्ट्रलाई चलाउनुस्। अप्ठ्यारोमा मिलेर लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार अघि बढ्ने हाम्रो संस्कार हो। त्यसले नै देश सफल हुन्छ र लोकतन्त्र पनि।
आजको दिनमा दलहरू लोकतान्त्रिक बाटोमा हिँडिरहेका छैनन् भन्ने तपाईंको बुझाइ छ?
लोकतान्त्रिक विधि र प्रक्रियाबाट गइरहेका छैनन् र विकृतिहरू भइरहेका छन्। कांग्रेसले समयमा अधिवेशन गराइदिएको भए अहिलेको अवस्था आउने थिएन। कांग्रेससहितका दललाई विगतमा कहाँ–कहाँ गल्ती भयो भन्ने सिंहावलोकन गरेर अघि बढ्ने सद्बुद्धि मिलोस्। नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि कसरी काम गर्न सकिन्छ भन्नेमा लाग्नुपर्यो।
सरकार र राष्ट्रपतिलाई तपाईंको के सुझाव छ?
सरकार संयम भएर विधि–विधानअनुसार काम गरोस्। वर्तमान राष्ट्रपतिले अहिलेको बेलामा सरकारलाई सल्लाह दिनुहोस्। राष्ट्राध्यक्ष सरकारको सल्लाहकार हुन्छ। सरकार प्रमुख र राष्ट्र प्रमुख मिलेर अघि बढ्दा देश र जनताको भलो हुन्छ।
आजको दिनमा संविधानको एउटै मात्र धारा संशोधन गर्न प¥यो भने तपाईं के संशोधन गर्नुहुन्छ?
मैले यो वा त्यो भन्ने कुरा होइन, त्यो संविधानविद्, संसद्, दलहरूलाई सोध्नुपर्छ। मैले अघि पनि भनेँ, संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुँदै जान्छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनबाट नै संघीयताको विषयमा प्रश्न उठाइसक्यो?
अब संविधानबाट ‘ब्याक ट्र्याक’ गर्ने होइन, सरकार र सत्तारुढ दलले संघीयतालाई नै आत्मसात् गर्दै अघि बढ्नुपर्छ। हाम्रो विविधतालाई एकतामा जोड्न संघीयता आवश्यक छ।
राष्ट्राध्यक्षको भूमिकामा यो गल्ती गरें, यो काम गर्न पाइनँ भन्ने केही लागेको छ?
मैले सार्वजनिक रूपमा भनिसकेको छु– कार्की (लोकमान सिंह कार्की) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति गरेको चाहिँ त्रुटि भयो। संविधान, लोकतन्त्र र देशको रक्षाका लागि लोकतान्त्रिक विधि र परम्पराअनुसार नेपाली सेनाको प्रमुखलाई हटाउने सरकारको निर्णय बदर गरेको हुँ। त्यो राष्ट्रको सर्वोत्तम हितमा काम गरेको हुँ।
पेसाले चिकित्सक मान्छे कांग्रेसको राजनीति गर्दै राष्ट्राध्यक्षको भूमिकामा पुग्नुभयो। जीवनको उत्तरार्धमा नेपाली नागरिक तथा देशविदेशले कसरी सम्झे हुन्थ्यो भन्ने लाग्छ? गणतन्त्र नेपालको पहिलो राष्ट्रपति कि संविधानसभाबाट संविधान जारी गर्ने राष्ट्रपति?
यो संविधान लोकतान्त्रिक छ, गणतान्त्रिक छ, समावेशी छ। यो संविधान बाँचेर गयो भने देशको पनि भलो हुन्छ। नेपाली जनतालाई भलो हुन्छ। त्यसले संविधानसँग नै मेरो इतिहासचाहिँ जीवित रहन्छ। यो संविधान जुन दिन रहँदैन, त्यस दिन ‘आए राम गया राम’ जस्तो हुन्छ। म पनि मानिस हुँ, मेरो इतिहास पनि बाँचोस् भन्ने लोभ छ।
यो संविधानको दीर्घजीवन हुनेमा द्विविधा छ तपाईंलाई?
छैन। नेपाली जनतामा धेरै सुझबुझ आएको छ, त्यसैले संविधान बचाएर लैजान्छन् भन्नेमा मलाई विश्वास लाग्छ।
मनको कुनामा आशंका चाहिँ छन्?
डर होइन, व्यवहारमा जे देखिएको छ, त्योभन्दा राम्रो काम गरिदिए हुन्थ्यो भन्नेचाहिँ छ।
प्रकाशित: ३ आश्विन २०८३ ११:०४ शनिबार