के तपाईलाई भारतले साच्चै प्रधानमन्त्री खोजेको हो?
बाबुराम भट्टराई : यो झुटो दुष्प्रचार हो। मेरो चरित्रहत्या गर्ने प्रयत्न हो। विगतदेखि नै मैले लोकतन्त्रको निम्ति, नेपालको आर्थिक सामाजिक रूपान्तरणका निम्ति जुन अभियान चलाएको थिएँ, त्यससँग सहमत हुन नसक्ने असाध्यै पुरानो रुढिवादी चिन्तन राख्ने मान्छेहरूले यस्तो प्रचार गर्ने गरेका हुन्। त्यसमा कुनै सत्यता छैन।
भनेपछि तपाइँको चरित्र हत्या गर्ने प्रयास तपाइँकै पार्टी अध्यक्षले गरेका हुन्, रूढिवादी चिन्तन पनि पार्टी अध्यक्ष प्रचण्डले नै गरेछन्। किनभने उनैले भन्या हो यो कुरा।
भट्टराई : पार्टीका अध्यक्षमाथि नै आक्रमण गर्न त म चाहन्न। तर जुन ढंगले विभिन्न सञ्चारमाध्यमबाट यी कुरा प्रवाहित भइरहेको छ, त्यसको पछाडि गम्भीर षडयन्त्र देखिरहेको छु। कुनै कुराको चित्त बुझेन भने विचार-बहस चलाउनुपर्छ। त्यसरी कसैलाई विदेशीको एजेण्टको रूपमा प्रस्तुत गर्ने यो तरिका सही राजनीतिक संस्कार होइन।
सञ्चारमाध्यमले तपाईँलाई विदेशीको एजेण्टका रूपमा प्रस्तुत गरेको होइन नि। तपाईले पनि प्रचण्डको टेप सुनिसक्नु भयो होला। दोष त सञ्चारमाध्यमलाई लगाउनु भएन, प्रचण्डलाई नै लाउनुपर्यो नि। होइन त?
भट्टराई : यसबारे आज पार्टीको केन्द्रीय समितिमा पनि छलफल भयो। र पत्रकार सम्मेलनमा पनि उहाँले भन्नुभएको छ, भारतका केही पक्षहरूले उहा"लाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने प्रयत्न गरे र केहीले मलाई बनाउनुपर्छ भने। त्यसकारण दुईथरीले दुई थरी खेले भनेर उहा"ले प्रष्टिकरण दिनुभयो।
प्रचण्डले पनि क्या स्पष्टिकरण दिन्छन् हगि पछि, जुन टेप आएको छ, त्यसमा आफूलाई बनाउनुपर्छ भनेर भनेकै छैनन्। तर प्रष्टिकरण दिँदा चाहिँ आफूलाई पनि प्रधानमन्त्री बनाउन खोज्या थ्यो भने, त्यसकारण सञ्चारमाध्यको त गल्ती भएन नि, होइन?
भट्टराई : हामीले पार्टीको बैठकमा बोलेको र सार्वजनिक ढंगले सबैको अगाडि बोलेको कुरालाई नै मान्नुपर्छ। फेरि उहा"ले बोल्दाखेरि भारतको एउटा लबीले उहाँलाई पनि प्रधानमन्त्री बनाउने प्रयत्न गरेको थियो र अहिले मेरो नाम पनि सार्यो भनेर स्पष्टीकरण दिनुभएको छ।
तर तपाईंलाई बारम्बार भारतसँग किन जोडिरहन्छन् प्रचण्डले? पहिले पनि तपाईलाई पार्टी विरुद्धको कारबाही फिर्ता लिन दबाब दियो भनेर त्यत्रो टेपमा भनियो। अहिले पनि फेरि भारतसँगै जोडियो। किन त्यसो गरिरहेको होला?
भट्टराई : हेर्नोस्, हाम्रो संस्कार अलि कमजोरै छ। त्यसैको अभिव्यक्ति होला। म कसैलाई आरोपित गर्न चाहन्न। विभिन्न फरक मत आउन सक्छन्, विमति आउन सक्छन्। तर त्यसो हुँदैमा कसैको चरित्र हत्या गर्ने ढंगले जानुचाहिं राम्रो संस्कार होइन। जे कुरा आउँछ आफूलाई चित्त नबुझेको विमतिको, त्यसलाई स्पष्ट ढंगले राख्नु राम्रो हुन्छ।
तर तपाइँहरुका पोलिट्ब्यूरो बैठकमा नराखेर प्रचण्डले त्यो कुरा अर्कै ठाउँमा राखिदिए। हगि?
भट्टराई : म त्यसरी पनि प्रस्तुत गर्न चाहन्न। कुरा स्पष्ट भइसकेको छ, उहाँले स्पष्टीकरण दिइसक्नुभएको छ। म त्यही स्पष्टीकरणलाई नै मानेर जानु उपयुक्त मान्छु।
(बीबीसी नेपाली सेवासँग मंगलबार साँझको कुराकानी)
प्रकाशित: २१ पुस २०६६ २१:२६ मंगलबार