अन्तर्वार्ता

‘विश्वासघात गरें भने पाप लाग्दैन?’

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा चुनाव चिह्न लौरो भएका स्वतन्त्र उमेदवार हर्कराज राई (साम्पाङ) निवार्चित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी सत्तारूढ दलको लोकतान्त्रिक बाम गठबन्धनका उमेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गरे। कम्युनिष्ट गढ मानिन्छ– धरान। यसपाली भने स्वतन्त्र उमेदवार साम्पाङले प्रमुख पदमा जिते। धरानको प्रमुखमा निर्वाचित साम्पाङसँग नागरिक संवाददाता रोहित राईले गरेको संक्षिप्त कुराकानीः

गठबन्धन र नेकपा एमाले जस्ता ठूला दललाई पराजित गर्नुभयो, कस्तो महसुस गर्नुभएको छ?

उहाँहरू हार्नुभएको छैन। उहाँहरूकै भोटरले मलाई भोट दिनुभएको छ। उहाँहरूसँगै हामी सबैले जितेका छौं। यो स्वतन्त्रको जित हो, त्यसैले सबैको पार्टीले जितेका छन्। कुनै पात्रले हार्‍यो, जित्यो भन्ने छैन। उहाँहरूको चाहना भित्रबाट थियो, त्यसले गर्दा कुनै पार्टीले हार्‍यो भन्ने नै छैन। हामी सबैले एकसाथ जितेका छौं किनभने स्वतन्त्र साझा उमेदवारले जितेको छ।

अगाडि कसरी काम गर्नुहुन्छ?

म उहाँहरू सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्नेछु। यो सार्वजनिक चासो हुनेक्षेत्रमा एक्लैले मेरो खुसी गर्न हुँदैन र सक्दिन पनि। त्यसो भएर हामी सबै सहकार्य गरेर अघि बढ्नेछौं।

तपाईंको पहिलो प्राथमिकता के हुन्छ?

मेरो पहिलो प्राथमिकता खानेपानी हुन्छ। खानेपानीको चुहावट छ। मर्मतसम्भारमा लापर्बाही देखिएको छ। ती सबै काम कुराको लागि म सधैं फिल्डमै हुनेछु। समाधान नभएसम्मका लागि म फिल्डमा हुनेछु। खानेपानीको प्राकृतिक मात्र होइन, कृत्रिम समस्या पनि छ। चुहावट र वितरणमा हुने अनियमितता रोक्न म हरदम फिल्डमा पुग्नेछु। दीर्घकालीन समाधानको लागि सप्तकोशीबाट पानी ल्याउनेछौं। स्वास्थ्य सेवाको लागि बिपी प्रतिष्ठानमा सुधार गर्नुपर्ने छ– यसलाई पनि प्राथमिकतामा राखेको छु।

तपाईंको स्वभाव विद्रोही खालको छ, मेयरको जिम्मेवारीमा पुगेपछि भूमिका कस्तो हुन्छ?

अब मेरो भूमिका परिवर्तन भयो। पहिला म कराइ मात्र रहन्थें; अब त्यस्तो हुनेछैन। अब त तपाईंहरूले कराउनु भयो भने पनि म हाँसिरहनेछु।

प्रायः मान्छे सत्ताको कुर्सी पाएपछि बिग्रन्छन्, तपाईं पनि त्यस्तै पो भइहाल्नुहुन्छ कि?

म बिग्रँदिन। यत्रो जनताले एउटा व्यक्तिलाई जिताइदिनु भएको छ। उहाँहरूले गर्नुभएको विश्वासलाई मैले घात गरें भने पाप लाग्दैन? म भावुक मान्छे पनि हुँ। देश र जनताकै लागि म यो लाइनमा आएँ। पार्टी विनै एक्लै संघर्ष गरें; कहिले एक्लै कुदें; कहिले थोरै समर्थकको साथ पाएँ। लामो समय मैले निरन्तर गरेको संघर्षलाई आज धराने जनताले मूल्यांकन गरेर अगाध माया दर्शाउनु भएको छ। उहाँहरूले यत्रो माया दिनुभयो– विश्वास गर्नुभयो। अनि मैले धोका दिन मिल्छ? मिल्दै मिल्दैन नि।

नगरपालिका र विपी प्रतिष्ठानमा धेरै बेथिति छन्, तिनलाई कसरी सफा गर्नुहुन्छ?

त्यहाँ के के बेथिति छन् भन्ने मलाई थाहा छ। पहिला म अभियन्ताको रूपमा कराउँथें? अहिले म त्यहाँ गइसकेपछि नारा जुलुस गर्छु भन्ने होइन। भूमिका र शैली मेरो परिवर्तन हुन्छ तर मेरो एक खालको पहल, सरोकार र दबाब रहन्छ। त्यो पनि कानुन बमोजिम हुनेछ।

स्थानीय तहको सरकार प्रमुख हुनुभयो, तपाईंले संघ र प्रदेशसँग पनि बजेटको लागि समन्वय गर्नुपर्छ, त्यसबेला पत्याएनन् भने के गर्नुहुन्छ?

त्यो अवस्थामा त सरकारको औचित्य पनि सकिन्छ नि! मैले एक भोट पाएर जितेको होइन। सार्वभौम धराने जनताका प्रतिस्पर्धीहरूमध्ये पहिलो मत ल्याएर जितेको हुँ। म स्थानीय सरकार प्रमुख बन्ने हो। स्थानीय, प्रदेश र संघमा समन्वय नै भएन भने सरकार कहाँ रह्यो? पार्टी नै चाहिन्छ भन्ने कुरा छैन। सार्वभौम धराने जनताको अभिमतलाई सम्मान गर्दै जाने हो नि– मैले। पुरानो बुझाइबाट मुक्त हुनुपर्छ। विभिन्न पार्टीबाट कार्यपालिकामा गए पनि काम मिलेरै गर्नुपर्छ। म सबैलाई मिलाउँछु।

प्रकाशित: १० जेष्ठ २०७९ ०१:३८ मंगलबार