अन्तर्वार्ता

'विश्वकपमा छनोट हुन्छौं'

विश्वकप छनोटमा अमेरिकासँग खेल्नुअघि नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेसँग नागरिकन्युजका लागि अजय फुयालले गरेको कुराकानीको संक्षेप:भारत, इङ्ल्यान्ड र नेदरल्यान्ड्सको भ्रमण कस्तो रह्यो?
हामीले अभ्यासका लागि गरेका भारत, बेलायत र नेदरल्यान्ड्सको भ्रमण उत्कृष्ट थियो। हामीले बेलायत र नेदरल्यान्ड्सको कन्डिसन (अवस्था) सँग धेरै संघर्ष गर्नुपर्‍यो। तर, मैले चाहेको पनि त्यही थिएँ। यही भ्रमणले गर्दा यहाँको कन्डिसनसँग कसरी जुध्ने भन्ने केटाहरूले बुझेका छन्।

विश्वकपमा लगातार दोस्रोपल्ट छनोट हुने सम्भावना कत्तिको देख्नुहुन्छ?
यो सहज पक्कै हुने छैन। हामीले धेरै मिहिनेत गर्नुपर्छ। तर, हामी छनोट हुनेछौं।

नेपालको समूह र विपक्षीलाई कसरी हेर्नुभएको छ?
यहाँको कन्डिसनका कारण प्रतियोगिता धेरै चुनौतीपूर्ण हुनेछ। कुनै पनि खेल सजिलो नहुने हामीले बुझेका छौं। तर, प्रतियोगितामा सबैभन्दा बलियो प्रतिद्वन्द्वी आयरल्यान्ड हो। हामीले उनीहरूलाई हराउनुपर्छ।

प्रशिक्षकको नजरमा नेपाली टिमको बलिया र कमजोर पक्ष के हुन्?
बलिङ सधैँ हाम्रो बलियो पक्ष हो। टोलीका सिनियर ब्याट्सम्यानहरू पनि राम्रो लयमा आउँदैछन्। हामी प्रतियोगितामा केही आश्चर्यको आशमा छौं।

प्रतियोगिताअघिको अभ्यास तालिका निकै व्यस्त रह्यो। खेलाडीलाई यो व्यस्तताले नकारात्मक असर नगर्ला?
खेलाडीहरू शारीरिक रूपमा निकै राम्रो अवस्थामा छन्। प्रतियोगिताबाट राम्रो नतिजा ल्याउन हामीले यत्तिकै व्यस्त प्रशिक्षण र खेलतालिकामा मिहिनेत गर्नुपर्ने थियो। हामीले प्रतियोगिताअघि पर्याप्त अभ्यास खेल नपाएको भए हाम्रा केटाहरू पछि पर्न सक्थे। हामी अत्यन्तै राम्रो अवस्थामा आइपुगेका छौं।

अभ्यास खेलमा गरिएको ब्याटिङ लाइनअप परिवर्तनको असर कस्तो रह्यो?
हामीले सबै खेलाडीलाई चुनौती दिएका छौं। केहीले त्यो चुनौती पार गरेका छन् भने केही संघर्षरत अवस्थामा छन्। तर, सबै खेलाडी राम्रो अवस्थामा छन्। सबैलाई टिममा आफ्नो भूमिकाबारे राम्रो जानकारी छ।

प्रतियोगितामा पनि ब्याटिङक्रम परिवर्तन गर्नुहुन्छ?
मध्यपंक्तिमा कुनै हेरफेर हुँदैन। शीर्षपंक्ति र पुछारमा केही फरक आउन सक्छ।

समर्थकलाई केही भन्न चाहनुहुन्छ?
प्रदर्शनमा धेरै कुरा निर्भर रहन्छ। हामी लगातार दोस्रोपटक विश्वकपमा छनोट हुने एकमात्र लक्ष्य लिएर मैदान उत्रिँदैछौं। नेपाली टोलीका लागि सबैभन्दा ठूलो सम्पत्ति भनेकै समर्थकको माया हो। त्यसैले नेपाली क्रिकेटको लागि महत्वपूर्ण यो समयमा पनि म समर्थकसँग हामीप्रतिको विश्वास कायम राख्न अनुरोध गर्न चाहन्छु। हामी विश्वकपमा छनोट हुनेछौं।

प्रकाशित: २४ असार २०७२ २०:१३ बिहीबार