अन्तर्वार्ता

ओली प्रधानमन्त्रीभन्दा शक्तिशाली भएः अमरेशकुमार सिंह (भिडियो सहित)

राजनीतिक विश्लेषणका 'अक्टोपस' भनेर चिनिएका कांग्रेस सभासद अमरेशकुमार सिंहलाई धेरैले शक्तिकेन्द्रका रुपमा बुझ्छन्। नेपाली राजनीतिमा संकट पैदा भएको बेला उनको सक्रियता एकाएक बढ्छ। शीर्ष नेताको बैठकमा समेत उपस्थिति जनाउने सिंहका विश्लेषण कतिपय अवस्थामा सही सावित पनि भएका छन्। जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सिंहसँग नागरिकन्युजका लागि कृष्ण ढुंगाना, मदन कोइराला, प्रशान्त लामिछानेले गरेको कुराकानी:

संविधान निर्माण प्रक्रियाका पर्दा पछाडि–अगाडि दुवै खाले बैठकमा देखिनुहुन्छ। अहिले दलहरुबीच किन यति धेरै बेमेल भएको ?
समस्या शीर्ष नेताबीचको इगोमा छ । हामीलाई चाहिएको कुरा गर्न हामी स्वतन्त्र छौं र यो देशको निर्णायक शक्ति भनेको हामी नै हौं भन्ने दम्भले काम गरेको छ । अहिले सत्तापक्ष र विपक्षीबीचमा जुन सिकिमको संवादहीनताको स्थिति छ त्यसले द्वन्द्व अझ गहिरो हुने खतरा छ । जुन तरिकाले केपी ओलीले मधेसीलाई होच्याउने काम गर्नुभयो, आदिवासी जनजातिलाई होच्याउने काम गर्नुभयो त्यसले थप विवाद बढाएको छ । साँच्चै भन्ने हो भने अहिले केपी ओली प्रधानमन्त्री सुशील कोइरालाभन्दा शक्तिशाली हुनुहुन्छ। सायद भोलि प्रधानमन्त्री बन्नुभयो भने पनि उहाँ यति शक्तिशाली हुनुहुनेछैन । उहाँ अहिले मुलुकको डिफ्याक्टो प्रधानमन्त्री नै हो।

तस्विरः केशव थोकर

एमाओवादी विपक्षी मोर्चा यो हदसम्म अत्तालिएर संविधान निर्माण प्रक्रियाविरुद्ध उभिनुका पछाडि केपी ओली मात्रै कारण हुन् त ?
यहाँ नेताहरुको इगोले पनि काम गरेको छ । जुन तरिकाले देशमा शान्ति बहाल भएको थियो त्यसको गलत व्याख्या गर्ने, गलत ट्रेण्डलाई देशमा लाद्न खोज्ने र व्यक्तिगत दम्भको कारणले संविधान निर्माण प्रक्रिया प्रभावित भएको छ । श्रीलंकमा १५ प्रतिशत तमिलका कारण कत्रो रक्तपात भयो । नेपालमा ३० प्रतिशतभन्दा बढी मधेसी छन् । श्रीलंका र नेपालको स्थिति फरक छ । हेरक कारणले यहाँ कोही राजपाक्षे बन्न सक्दैन । मलाई लाग्दैन सुशील कोइराला वा केपी ओली अर्को राजपाक्षे बन्नुहोला । तर नेपालको अहिलेको राजनीतिमा ओलीले सबै कुरा घुमाएका छन् । प्रधानमन्त्री सुशील कोइराला समेत ओलीविरुद्ध जान सक्नुहुन्न । म एकदम व्यवहारिक कुरा गर्दैछु । अहिले देशको सुरक्षा निकाय केपी ओलीको नियन्त्रणमा छ । एमालेको भागमा परेका १० मध्ये ९ वटा मन्त्रालय उनको कब्जामा छन् । आफ्ना पार्टीका मन्त्रालयहरु सबै ओलीले चलाएका छन् । त्यँहा माधव नेपालको कुनै जिम्मेवारी छैन । पहिलै गृहमन्त्रीको अनुभव भएकाले केपी ओलीबाट मन्त्रालयहरुमा हुने सरुवा बढुवादेखि डन प्रवृत्ति संरक्षण गर्ने सबै काम भइरहेको छ । गुण्डागर्दी गर्ने मान्छेलाई मन्त्री बनाइएको छ । यसले के पुष्टि गर्छ ? हेर्नोस् उनले पहाडे भावनालाई उछालेर अल्पसंख्यकलाई क्रस गर्न खोज्दा धेरै कुरा बिग्रिएका छन् । प्रक्रियामा गएर सत्ता लम्ब्याउने खेल अन्त्य नभएसम्म अहिलेको द्वन्द्व अन्त्य हुँदैन ।

भिडियो

फेरि कांग्रेस–एमालेको गठबन्धन भत्काएर एमाओवादी–मधेसवादी सहितको सरकार बनेपछि मात्र संविधान जारी हुने अवस्था आउने भन्न खोज्नुभएको हो ?
अहिले शान्ति प्रक्रियाका विरोधीले सत्ता चलाइरहेका छन् । शान्ति प्रक्रियाका विरोधीले नेतृत्व गरेका कारणले पनि समस्या भएको हो । अहिले केपी ओली र प्रचण्डबीचको लडाइ होइन, शान्ति प्रक्रिया विरोधी लडाइ हो । संविधान जारी गर्ने सुत्र सहमतिभन्दा अरु हुनै सक्दैन । ओलीले पहाडे खस, ब्राम्हण क्षेत्रीलाई उचालिदिएका छन् । जसले बाहुन क्षेत्रीको सहयोगमा जितेर आएको छ । उसले त्यसको विरोधमा कसरी बोल्न सक्छ ? त्यही भएर कांग्रेसका बरिष्ठ नेताहरु यसको विरोधमा जान सकिरहनु भएको छैन । केपी ओलीका कारण माधव नेपाल समाप्त भए ।

तस्विरः केशव थोकर
कांग्रेस सभासद तपाइँको स्वर विपक्षीको भन्दा चर्को सुनियो त...
म नेपाली कांग्रेसको सिपाही हुँ, पार्टीलाई घाटा हुने काम म गर्दिन। कांग्रेस अहिले ऐतिहासिक क्षणमा सत्तामा छ । सरकारमा पुगेको बेला पार्टी सिध्याउने खेल हुनुहुँदैन, यो बेला अझ दूरदर्शी हुनुपर्छ भन्ने मेरो विचार हो । हेर्नोस् ०६२÷६३ को आन्दोलन र मधेस आन्दोलनपछि कांग्रेस स्थिति कमजोर भयो । त्यो बेला जुन पात्र र प्रवृत्तिका कारण पार्टीले पराजय ब्यहो¥यो ती गल्ती अब दोहोरिनु हुन्न भन्ने हो । तर बिडम्बना त्यस्ता पात्र अहिले पनि छन्, क्याविनेटमा पनि छन् । अब संघीयता नदिएर, विकास नदिएर र देशको अधिकांश भूभागलाई देशको मुख्य भागमा नजोडिकन राज्य चलाउन सक्ने स्थिति छैन । निश्चय नै म संविधान निर्माणकै पक्षमा छु । तर दम्भका भरमा हैन सहमतिमै संविधान बन्नुपर्छ । केपी ओलीले जुन चार सय एकको सहमति नै सहमति भन्ने भाषा बोलिरहेका छन् त्यसको कुनै भर छैन । जस्तो मैले आफ्नो अडान पार्टीमा राखेको छु । त्यो अझ सम्वोधन भएको छैन । मैले पनि एउटा फरक एजेण्डाको नेतृत्व गरिरहेको छु । म अहिले चुप लागेर बसे पनि मेरो समय आएपछि त म पनि बोल्छु नि । कांग्रेस नेता भए पनि यसमा मेरो भिन्न धारणा छ । मेरो चिन्ता भनेको कांग्रेस कसरी बलियो बन्छ भन्ने हो । यस्तै अवस्था रह्यो भने भोलीका दिनमा एमाले ठूलो दल बन्ला । हामी एमालेको पछि किन लाग्ने ? कांग्रेसले भोलीको भिजन दिनसक्नुपर्छ भन्ने मेरो धारणा हो । नेतृत्व र भिजन दिनलाई पनि देशको सबै भूभागको मानिसालाई समेटेर लैजानुपर्छ।

भिडियो

 

तपाइँको पार्टीले प्रक्रियामा जाने निर्णय गरिसकेको छ । संविधान सभामा मतदान भयो भने तपाइँ के गर्नुहुन्छ ?

संविधान त प्रक्रियाबाटै बन्ने हो । तर बहुमतीय प्रक्रियाको पक्षमा म छैन । कांग्रेसलाई घाटा हुने काम गर्नुहुँदैन भन्ने हो । पार्टी सभापति एवं प्रधानमन्त्रीले पनि यो कुरा बुझ्नु भएको छ कि दुई तिहाइ प्रक्रियाबाट संविधान बन्दैन, सत्ता मात्र लम्बिन्छ । अहिलेको सरकारको आयु मात्र लम्बिन्छ । मतदान भएको खण्डमा के गर्छु भनेर अहिलै नै भन्नु छिटो हुन्छ । संविधानसभामा ह्विप लाग्दैन । त्यो भोलीको कुरा हो अहिले त्यस विषयमा केही नभनौं ।

पहिला महन्थ ठाकुर, विजय गच्छदारहरु पनि यस्तै कुरा गर्दागर्दै कांग्रेसबाट बाहिरिए । तपाइँको पनि लाइन त त्यस्तै देखियो त !
त्यस्तो हैन । म हिजो पनि कांग्रेस थिएँ, आज पनि कांग्रेसै हुँ र भोलि पनि कांग्रेसै रहनेछु । म पार्टीभित्रै लड्छु । समावेशी एजेण्डा, मधेसका एजेण्डा, संघीयताका एजेन्डा जतिसकुै एजेण्डा भएपनि म पार्टीभित्र बसेर बहस चलाउँछु । लड्छु ।

तस्विरः केशव थोकर

तपाइँलाई धेरैले शक्ति केन्द्रको मान्छे पनि भन्छन्, राजनीतिक वार्ताको सूत्रधार पनि ठान्छन् । तटस्थ भएर भनिदिनोस् नेपालको संविधान निर्माण प्रक्रियामा भारतको भूमिका कस्तो पाउनु भएको छ ?
संविधान निर्माणमा भारतको मात्र हैन अन्तर्राष्ट्रिय समुदायकै चासो छ । सबै अन्तर्राष्ट्रिय शक्तिहरु सहमतिबाटै संविधान जारी होस भन्ने पक्षमा छन् । भारतमा नरेन्द्र मोदीभन्दा ठूलो र आधिकारिक त कोही छैन । सरकारको कार्यकारी प्रमुखै उनै हुन् । ट्रमा सेन्टरमा मोदीले सहमतिबाटै संविधान जारी गर्न दिएको सुझाव सबैले सुनेकै छन् । यदि नेपालमा सहमतिको संविधान बनेन् भने छिमेकीको दुर्दशा हुन्छ, दुःख बढ्छ भनेरै भारतका भिजिनरी प्रधानमन्त्रीले सहमतिलाई जोड दिएका हुन् । उनले सार्वजनिक रुपमै बोलेको कुरालाई इफ, बट लगाएर आफू अनुकूल व्याख्या गर्न जरुरी छैन । खासमा नेपालमा कोही पनि नेतृत्व दिने नेता भएनन् । सब सत्ताका दलाल व्यापारी मात्र भए । सत्ताको व्यापारबाट अकूत सम्पत्ति कमाउने ध्याउन्नमा कुद्नेले देशको हित गर्न सक्दैनन्।

भ्रम दिने काम त पत्रकारको हो नि! (भिडियो)

भिडियोः मदन चौधरी

प्रकाशित: २८ माघ २०७१ ०३:४४ बुधबार