मलेसियामा नेपालीको रोजगारको अवस्था कस्तो छ?
हाम्रो अनुमानमा अहिले मलेसियामा करिब ७ लाख नेपाली कामदार छन्। यो वर्ष २ लाख थपिने अनुमान छ। झन्डै भुटानको जनसंख्या बराबर नेपाली मलेसियामा काम गरिरहेका छन्। यीमध्ये ८५ प्रतिशतले राम्रैसँग काम गरेका छन्। उनीहरूले घरमा रेमिट्यान्स पनि पठाएका छन्। बाँकी १५ प्रतिशतले दुःख पाएका छन्।
के कारणले दुःख पाएका छन्?
यहाँको प्रमुख समस्या भनेको नेपालमा भएको सम्झौता अनुसार काम र तलब नपाउनु हो। भने अनुसारको काम र सेवा सुविधा नपाएपछि नेपालीले यहाँ कम्पनी छोडेर अवैधानिक बनेर काम गरिरहेका छन्। यसले गर्दा समस्या झन् बढेको छ। अवैधानिक भएर काम गरेपछि कयौं नेपालमा जेलसमेत परेका छन्।
नेपालीका समस्या समाधान गर्न दूतावासले के गरिरहेको छ?
दूतावासमा सम्झौता अनुसार काम र तलब नपाएको गुनासो आयो भने सम्बन्धित निकायलाई फोन गरेर हुन्छ या नेपालको मेनपावरलाई फोन गरेर हुन्छ हामीले समस्या समाधान गरिदिने गरेका छौं। त्यति गर्दा पनि समस्या समाधान भएन भने सम्बन्धित कम्पनी र मेनपावरलाई पत्राचार गरेर भए पनि यहाँका पीडित नेपालीलाई न्याय दिलाइरहेका छौं। तर केही यस्ता समस्या पनि हुन्छन् कि हामीले यहाँबाट कम्पनीमा फोन गरेर समस्याबारे बताउँछौं र समस्या हाटाउन अनुरोध गर्छौं। कम्पनीले हुन्छ अब हामी त्यस्तो समस्या हुन दिनेछैनौं भनेर कामदार फिर्ता लैजान्छन्। तर, पछि फेरि समस्या जस्ताको तस्तै भएको अवस्था पनि छ। यस्तो भएको अवस्थामा पीडितहरू फेरि हामी कहाँ आउनु भयो भने यहाँको सरकारलाई नै पत्रचार गरेर उक्त समस्याको समाधानका लागि पहल गर्ने गरेका छौं।
नेपाली महिला कामदारको अवस्थाचाहिँ कस्तो छ?
वास्तवमा भन्नुपर्दा यहाँ नेपाली महिलाको मात्रै हैन, महिला–पुरुष सबै नेपाली कामदारको अवस्था अत्यन्तै दयनीय छ। निकै दुःख पाएका छन्। यहाँका अधिकांश कम्पनीमा काम गर्ने नेपालीको अवस्था हेर्ने हो भने मन रुन्छ। मेनपावरले नेपालमा मलेसिया आकर्षक गन्तव्य हो भनेर गलत प्रचार गर्ने गरेका छन्। यो देश नेपालीका लागि उनीहरुले भनेजस्तो आकर्षक छैन। यतिसम्म असुक्षित छ कि यहाँ नेपाली लुटिइन्छन्।* यस्ता घटनाबारे मैले यहाँको गृह मन्त्रालयलाई जानकारी गराएको छु। रोक्ने प्रतिबद्धता जनाएको छ, मन्त्रालयले। महिलाको हकमा अझ बढी असुरक्षित छ मलेसिया। महिलालाई काम गर्न निकै अप्ठेरो छ। तनावबीच महिलाहरूले काम गरिरहेका छन्। सुरक्षाको कुनै ग्यारेन्टी छैन्।
यसमध्ये पनि प्रमुख चुनौती के हो?
यहाँ सबैभन्दा ठूलो डर महिलालाई सुरक्षाको छ। कयौं नेपाली महिला बलात्कृत भएका घटना छन्। तीमध्ये केहीलाई यहाँको प्रहरीले पक्राउ पनि गरेको छ। कतिपय बलात्कार घटनामा दोषीको पहिचान नै हुन सकेको छैन।
यो समस्या समाधानमा के गरेको छ त दूतावासले?
यहाँका कम्पनीहरूले महिला कामदार ल्याउन अनुमति माग्न आएपछि हामीले त्यो कम्पनीको अनुगमन गरेर मात्रै अनुमति दिने या नदिने निर्णय गर्ने गरेका छौं। अनुमति लिन आउनेमध्ये ६० प्रतिशत कम्पनीमा महिला कामदार ल्याउन दिएका छैनौं, किनकी त्यहाँ महिला राख्ने होस्टेल असुरक्षित छन्।
मलेसियाको जेलमा पनि धेरै नेपाली छन्। उनीहरू के कारणले जेल परेका हुन्?
खासै ठूला अभियोगमा नेपाली यहाँका जेलमा छैनन्। प्रायः नेपाली अवैध भएको भनेर जेलमा छन्। तर हामीले यसलाई त्यति ठूलो 'इश्यु' नबनाइदिन मलेसिया सरकारलाई अनुरोध गरेका छौं। अवैधानिक नेपालीलाई जेलमा नभई डिटेन्सन क्याम्पमा राख्न भनेका छौं। जेलमै लग्यो भने त्यहाँ नै दुईतीन महिना बित्ने भएकाले बरु सिधै डिटेन्सन क्याम्पमा राख्यो भने हामीले निःशुल्क हवाइटिकट उपलब्ध गराएर स्वदेश पठाउन सक्छौं।
केही नेपाली यहाँ बलात्कारको अभियोगमा जेल परेका छन्। यसमा पनि कोही नेपालीलाई आक्षेप मात्र लागाइएका छन्, केहीले दोषी छन्। कोही चोरीको अभियोगमा परेका छन्।
कति नेपाली डिटेन्सन क्याम्पमा छन्?
पहिले हामीले तथ्यांक निकाल्दा ६ सय ४६ नेपाली डिटेन्सन क्याप्ममा थिए। त्यसबेला हामीलाई डिटेन्सन क्याम्पमा भएका ती नेपालीलाई उद्धार गर्नका नेपाल सरकारबाट २० लाख रुपैयाँ आएको थियो। त्यही रकमबाट हामीले नेपालीलाई निःशुल्क हवाइटिकट उपलब्ध गराएर नेपाल फर्कायौं। अझै २ सय नेपाली डिटेन्सन क्याम्पमै छन्। हामीलाई नेपाल सरकारबाट अरु २० लाख रुपैयाँ पनि आएको छ। त्यो पैसा बराबरको टिकट हामीसँग सुरक्षित नै छ। हाम्रो चाहना डिटेन्सन क्याम्पमा लामो समय बस्न नपरोस् भन्ने हो। तर मलेसियाको डिटेन्सन क्याम्पले एकैपटक आवश्यक विवरण हामीलाई उपलब्ध नगराउने भएकाले हामीले अहिले तत्कालै डिटेन्सन क्याम्पमा रहेका नेपालीलाई स्वदेश फर्काउन सकिरहेका छैनौं। अब जनवरीको पहिलो साता ३१ जनाको विवरण डिटेन्सन क्याम्पले हामीलाई उपलब्ध गराउने जनाएको छ। त्यसपछि हामी उनीहरूलाई हवाई टिकट निःशुल्क दिएर नेपाल पठाउँछौं।
मलेसिया सरकारले अवैध विदेशी कामदारलाई स्वदेश फर्काइरहेको छ। यहाँ कति नेपाली अवैधानिक भएर काम गरिरहेका छन्? अहिसम्म कति नेपाली अवैधानिक भएर नेपाल फर्किए?
मलेसियामा करिब ३५ हजार नेपालीले अवैध भएर काम गरेको अनुमान छ। मलेसियाको अध्यागमन विभागका पूर्व कर्मचारीहरूको समूहसँगकोे सहकार्यमा अवैधानिक नेपालीका लागि सहजरूपमा नेपाल पठाइरहेका छौ। अहिलेसम्म २० हजार जनाले एकतर्फी यात्रा अनुमतिपत्र लिइसकेका छन्। अझै करिब १५ हजार अवैध नेपाली आउन बाँकी छ। अवैधानिक नेपाली दूतावासमा आएर एक हजार ३ सय ४० रिङ्गेट तिरेर यही डिसेम्बर ३१ तारिखसम्म सजिलै घर जान सक्छन्। हामीलाई आशा छ। अवैध रूपमा बसेका बाँकी नेपाली पनि घर फर्किनु हुनेछ। जो अवैध भएर बस्नुहुन्छ। उहाँहरूले दुःख पाउनुहुन्छ।
*सच्याइएको।
प्रकाशित: १३ पुस २०७१ ०३:४९ आइतबार