अन्तर्वार्ता

शीर्ष नेताले कार्यकारी ठाउँ छाडिदिए राम्रो

एमाले महासचिव ईश्वर पोखरेल फेरि पनि महासचिवकै आकांक्षी बनेका छन्। नवौं महाधिवेशन मूल व्यवस्थापन समिति अध्यक्षसमेत रहेका पोखरेलसँग महाधिवेशन तयारी र नेतृत्व हस्तान्तरणका विषयमा गरिएको कुराकानी :



महाधिवेशन तयारी कसरी अघि बढ्दैछ? 
हामीले अहिलेसम्म भएका सबै तयारी साप्ताहिक रूपमा जानकारी गराएका छौंं। महाधिवेशनका लागि तीनप्रकारका तयारी हुन्छन्– दस्तावेज लेखन, प्रतिनिधि छनोट र नेतृत्व चयन। दस्तावेजलाई हामीले प्रतिनिधिसमक्ष पठाएका छौं, त्यसमाथि छलफल गरेर महाधिवेशनले पारित गर्छ। प्रतिनिधि छनोटमा भने पाँच प्रतिशत मनोनीत गर्नेबाहेक सबै काम सकिएको छ। पाँच प्रतिशत मनोनयन पनि गर्ने कि नगर्ने भन्ने विषय बाँकी नै छ। किनभने, हामीले टार्गेट गरेको संख्या १८ सय नाघेर २२ सय पुगिसकेको छ। मनोनीत गर्दा यो संख्या बढेर २३ सय पुग्छ। नेतृत्व भने महाधिवेशनले टुंग्याउँछ। 

नेतृत्व चयन कसरी हुन्छ? 
नेतृत्वका विषयमा आ–आफ्नै ढंगले कुरा भएका छन्। विचार, सिद्धान्त र पूर्वप्रतिबद्धताले निर्देशन गरेको आधारमा यो विषयको गाँठो फुकाए भइहाल्छ। विचार, सांगठनिक जीवनको लोकतान्त्रिकीकरण र नेतृत्व हस्तान्तरण भनिरहँदा कार्यकारी पदमा दुई पटकभन्दा बढी नबस्ने भन्ने पूर्वप्रतिबद्धता हो। त्यसैका आधारमा नेतृत्वको समाधान खोज्ने हो। 

तपाईंहरूको प्यानलमा अधिकांश पदाधिकारी दोहोरिँदैछन् नि! 
हाम्रोतर्फ प्यानल भनेर कहिल्यै घोषणा भएको छैन। अनौपचारिक ढंगले छलफल गर्ने क्रममा केपी ओली अध्यक्ष एवं रीतले वरिष्ठ उपाध्यक्ष, महासचिवमा चर्चा हुने गरेको हो। यतिबेला नेतृत्व हस्तान्तरण प्रक्रियालाई अघि बढाउने सिलसिलामा ओलीजी अध्यक्ष हुनु उचित हो भन्ने हाम्रोतर्फको साझा धारणा हो। पदीय हिसाबले को–को उठ्ने भनेर औपचारिक टुंगो गरेका छैनौं।

त्यसो भए तपार्इं महासचिवमा उठ्ने निश्चित भएको छैन?
मेरोबारेमा नेता/कार्यकर्ताले यो पद भनेर अनुमान मात्रै गरेका हुन्। अहिलेसम्म त्यस्तो केही टुंगो भएको छैन। व्यक्तिगत रूपमा भन्ने हो भने आठौं महाधिवेशनमा निर्वाचित भएर जे काम गरेँ त्यसको समीक्षा हुने पनि नवौं महाधिवेशन हो। म सांगठनिक व्यवस्थापनमा रुचि राख्छु र मैले गर्न सक्ने पनि त्यही हो। पार्टीलाई व्यवस्थित र संगठित रूपमा लैजाने रुचि र क्षमता छ। म क्रियाशील हुन्जेल यसमै केन्द्रित हुनुपर्छ भन्ने हो। त्यसैले पनि साथीहरूले महासचिव भन्नुभएको होला। छलफलमा जुन प्रकारको जिम्मा लिने टुंगो लाग्छ, त्यसका लागि तत्पर छु। 

नेतृत्व हस्तान्तरणको विषय अध्यक्षमा मात्रै लागु हुन्छ कि पार्टीका अन्य पदाधिकारीमा पनि?
नेतृत्व परिवर्तनका सन्दर्भमा हाम्रो स्पष्ट मान्यता के हो भने प्रमुख कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्नु हुँदैन। योबाहेक अन्य त्यस्तो योग्यता र मापदण्ड तोकिएको छैन। पहिलोपटक महासचिव भएको हुँ, अब हुँदा दोस्रोपटक हुने हो। 

महासचिवबाहेक अन्य पदमा जाने सम्भावना छैन? 
सरसल्लाह गरेर त्यसमा पनि टुंगो लगाउन सक्छौं। सांगठनिक रूपले सक्रिय कार्यकारी काम गर्न रुचि राख्छु र तुलनात्मक रूपमा त्यसमा क्षमता छ भन्ने लाग्छ। 

अध्यक्षका रूपमा प्रतिस्पर्धा गर्न चाहिँ खुट्टा कमाउनुभयो नि! 
आठौं महाधिवेशनको केही समयपछिदेखि नै मप्रति मित्रभाव राख्ने उत्साहित युवासाथीले मलाई अब पुरानो नेतृत्वले काम गर्दैन, तपार्इं तयार हुनुहोस् भन्नुभएको थियो। यस्तो भावनाको सम्मान पनि गर्छु। तर, कम्युनिस्ट पार्टीमा बलात परिवर्तनको अभ्यासले ठूलो क्षति गरेको छ। विश्वका ठूला देशका ठु–ठूला कम्युनिस्ट पार्टी त्यसबाट आक्रान्त भएका छन्। अर्को लोकतान्त्रिक विधिमार्फत स्वाभाविक प्रक्रियाबाट सहज नेतृत्व परिवर्तन गर्ने बाटो छ। नेतृत्वको विरासत रूपान्तरण गर्दै जानुपर्छ। एमालेभित्र पहिलो पंक्तिका नेता विभिन्न कारणले कमजोर हुनुभयो भनेर उनीहरूलाई अपदस्थ गरेर, साइड लगाएर, तेजोबध गरेर नयाँ नेतृत्व स्थापित गर्न मैले चाहिनँ। अहिलेको राष्ट्रिय राजनीतिले पनि त्यो अनुमति दिँदैन। एमालेको सांगठनिक जीवनका लागि पनि त्यो उचित हुँदैन। त्यसैले सहज परिवर्तनको बाटोमै जानुपर्छ। 

नेतृत्व युवा पुस्तामा ल्याउने नभई एउटा व्यक्तिबाट त्यही पुस्ताको अर्काेमा हस्तान्तरण गर्ने पक्षमा लाग्नुभयो नि! 
सबैभन्दा राम्रो विकल्प अघिल्लो पंक्तिमा रहेका नेताले अब कार्यकारी पदमा बस्दैनौं, नीतिमा निर्देशन गर्दै अभिभावकीय भूमिका बस्छौं र नयाँ नेतृत्वका लागि बाटो खोेलिदिन्छौं भन्नु उचित र बुद्धिमानीपूर्ण हुन्थ्यो। तर, पहिलो पंक्तिमा रहेका नेतामा कार्यकारी पदमा बस्ने आकांक्षा कायमै रहेको अवस्थामा दोस्रो विकल्पमा जानुपर्ने बाध्यता आइलाग्यो। दोस्रो विकल्पमा भइरहेका नेतामध्ये कसैलाई छान्नुपर्योस। विवेकसम्मत र न्यायोचित हिसाबले हेर्दा यसका लागि केपी ओली अगाडि देखिनुहुन्छ। झापा आन्दोलनको लिगेसीदेखि अनेक प्रकारका दुःखकष्ट, समपर्णको विषयदेखि चाहना राखेको, तर अवसर नपाएका कारणले पनि उहाँलाई एकपटक अवसर दिऊँ भनेर लागेका हौं। 

ओलीलाई अवसर दिन खोजेको कि नयाँ पुस्ताले आँट नगरेको? 
पहिलो पंक्तिका चार नेता झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओली र वामदेव गौतमले अब पार्टीको कार्यकारी पदमा रहँदैनौं नयाँ साथी आउनुहोस भनेको भए राम्रो हुन्थ्यो। म प्रस्तावित हुन खोजेको होइन, तर उहाँहरूले ढोका खोलिदिनुपर्थ्यो। टम्म ढोका लगाएर बस्नुभएको छ। यस्तो अवस्थामा ढोका खोल्न विद्रोहमा नै जानुपर्थ्याे। त्यस्तो विद्रोह राष्ट्रिय राजनीति र एमालेका लागि पनि उचित हुँदैन। स्वाभाविक लोकतान्त्रिक प्रक्रियाबाट जानुपर्छ। जनताको बहुदलीय जनवादले पनि त्यही निर्देशन गर्योा र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभवले यही छ। मलाई नेतृत्वमा पुर्यानउने प्रस्ताव सुखद भए पनि पार्टीको समग्र स्वास्थ्यका लागि ठिक हुँदैने। 

शीर्ष नेतालाई कार्यकारी भूमिकाबाट बिदा दिन सक्ने परिस्थिति बनाउन सकिँदैनथ्यो? 
राष्ट्रिय राजनीति धराप अवस्थामा छ। एमाले जस्तो भरोसायोग्य पार्टीभित्रका कुनै पनि अस्वस्थ गतिविधिले देशको हित गर्दैन भन्ने बुझाइ हो। पार्टीभित्र अनेक समूह छन् भनेर मानिसले बुझिरहेको अवस्थामा नयाँ समूह देखा पर्नु वाञ्छनीय हुँँदैन। 

पार्टीमा गभर्निङ काउन्सिल बनाएर चार नेतालाई राख्ने र पार्टीको नेतृत्वमा तपाईंलाई पुर्यागउने प्रयास भएको चर्चा पनि छ नि! 
प्रयास क–कसले गर्नुभएको छ थाहा छैन। तर, अघिल्लो पुस्ताका नेताले पटक–पटक नेतृत्व गर्नुभयो, आफ्नो योग्यता देखाउनुभयो र त्यसैअनुसारको योगदान गर्नुभयो। शीर्ष नेताले पार्टीको नीति निर्माणमा निर्देशन गरे र कार्यकारी ठाउँबाट अलग भई गभर्निङ काउन्सिलमा बसेर काम गरे सबैभन्दा उत्तम हुन्छ। शीर्ष नेताले ढोका खोलिदिए हामी नयाँ ढंगले छलफल गर्थ्यौं। पार्टीका लागि त्यो सबैभन्दा राम्रो हुन्थ्यो। यो विषयलाई स्वस्थ ढंगले अघि बढाउनुपर्छ, तर अस्वस्थ ढंगले अघि लैजान मिल्दैन। शीर्ष नेताको व्यक्तित्वमा अलिकति पनि क्षति पुर्यानउने गरी काम गर्नु हुँदैन। तर, शीर्ष नेताले यो कुरा बुझिदिए राम्रो हुन्थ्यो। 

अहिलेको केपी ओलीलाई नेतृत्वमा पुर्या उने सिन्डिकेटमा लाग्नुभयो भनिन्छ नि? 
पार्टीको नेतृत्व लिने भनेको नाटकको रिहर्सल होइन। नेतृत्वमा पुग्ने विषय भनेको परिस्थितिजन्य हो। आठौं महाधिवेशनका बेला नवौं महाधिवेशनमा के हुन्छ भन्ने थाहा थिएन। यो सिन्डिकेट खडा गरेर यसपछि यो भनिएको छ भन्ने कुरा अपरिपक्व अनुमान मात्रै हो। सिन्डिकेटमा जानु पनि हुँदैन। यो हास्यास्पद लाग्छ। नेतृत्व नाटकमा स्टेप मिलाए जस्तो हुँदैन।

प्रकाशित: १८ असार २०७१ २३:२३ बुधबार