अन्तर्वार्ता

विश्व स्तरका लागि तयार भइसकेका छैनौं

क्रिकेट नेपालमा अहिले निकै चर्चित छ। बंगलादेशमा विश्व कप खेलेर फर्किएको टोलीले यसमा गरेको उच्च प्रदर्शनका कारण दुई सातासम्म सम्मान र पुरस्कार थाप्नमै बितायो। क्रिकेट टोलीको सफलताका कारण पूरा नेपाली खेलकुद पछिल्लो समय तातेको छ। त्यसैले क्रिकेट फेरि एकपटक चर्चाको शिखर चढेको छ। नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विघटनसहितका माग राख्दै राष्ट्रिय टोलीले राष्ट्रिय प्रतियोगितासमेत बहिस्कार गर्योन। माग पूरा नभए अन्तर्राष्ट्रिय प्रतियोगितासमेत नखेल्ने चेतावनी दियो। खेलाडीलाई अनुशासनका पर्यायी भनिन्छ। खेल बहिस्कार गर्दा अनुशासन उल्लंघन भएको स्वीकार्दे खड्का स्पष्टीकरण दिन्छन्– ‘आन्दोलन हाम्रो इच्छाले गरेको होइन। यसको तरिका पनि गलत थियो तर हामीले सिस्टमका लागि आन्दोलन गरेका हौं।' उनले ठोकुवा गरे– ‘यही अवस्थामा क्रिकेट उभो लाग्दैन।' क्यान र खेलाडीबीच बुधबार तीन बुँदे सहमति भएपछि क्रिकेट खेलाडी मैदान फर्कने भएका छन्। राष्ट्रिय टोलीका कप्तान एवं आन्दोलनका कमान्डर पारस खड्कासँग विश्वमणि पोखरेलअजय फुयालले गरेका कुराकानी :

क्यानविरुद्ध आन्दोलन गर्नुभयो, केका लागि थियो आन्दोलन?

आन्दोलन हाम्रो इच्छाले गरेको होइन। इच्छाविपरित गरेको हो। आन्दोलन गर्ने तरिका पनि गलत थियो। तर, हामीले सिस्टमका लागि आन्दोलन गरेका हौं। हामीले सिस्टमबाट राखेप हुँदै मन्त्रालयमा कुरा राख्न गएको भए जति पनि समय लाग्थ्यो। तर हामी चाँडै निकास चाहन्थ्यौं। अहिले यसका लागि सही समय थियो। अहिले नेपालमा क्रिकेटको मोह छ। तर क्रिकेट संघ जहिले स्थापना भयो, कहिल्यै पनि राम्रो तरिकाले चलेन। सबै भोलेन्टियर पदाधिकारी हुनुहुन्छ। अनि आफ्नो काम सबै भ्याएरमात्र क्रिकेटमा समय दिने गर्नुहुन्छ। सिस्टममा वा संस्थाका रूपमा क्यान कहिल्यै चलेन। प्रशासनले काम नगरिरहँदा ठीक विपरित खेलाडीले चाहिँ सधैँ राम्रो गरे। २००२ मा यु–१९ विश्वकप नेपालको क्रिकेट विकासमा स्टेपिङ स्टोन थियो। हामीले त्यो बेला बंगलादेश र पाकिस्तनलाई हरायौं। न्युजिल्यान्डमा भएको त्यो विश्वकपमा हामीले सानो स्कोर रक्षा गरेर जितेका थियौँ। त्यसपछि उमेर समूहमा राम्रो हुँदै गयो। 

२००४ मा हामीले दक्षिण अफ्रिकालाई हरायौं। सिनियर टिम अझै राम्रो गरिरहेको थिएन। हामी अझै इमर्जिङ नेसन्समा थियौं। भुटान, माल्दिभ्ससँग खेलिरहेका थियौं। त्यसपछि २००६ मा हामीले प्लेट च्याम्पियनसिप जित्न सफल भयौं। सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हरायौं। यु–१९ ले राम्रो गरिरहेको थियो। म आफैँले पनि तीन वटा यु–१९ विश्व कप खेलेँ, २००४ देखि २००८ सम्म। २०१० मा आएर सिनियर टिमले बल्ल एउटा स्टेप पार गर्योण। डिभिजन ५ को उपाधि जित्यो। त्यो सिनियर टिमको पहिलो उपाधि थियो। २०१० देखि अहिलेसम्म सिनियर टोली विश्व कपसम्म पुग्यो। यो चार वर्ष सिनियर टोलीको सक्सेस पिरियड हो। त्यसअघि यु–१९ को सक्सेस थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा अघि बढ्न सिनियर टोलीको एकदम महत्वपूर्ण भूमिका हुनुपर्थ्यो। यो होल प्रोसेसमा क्यानको भूमिका छैन म भन्दिन तर अत्यन्तै न्युन रह्यो। उहाँहरु हामी खेलाडीलाई भत्ता दिन्छौं, त्यही नै नेपाल क्रिकेटलाई योगदान भन्नुहुन्थ्यो। भौतिक पूर्वाधार विकासको अवस्था हेर्ने हो भने खोइ त? केही छैन।

नेपाली क्रिकेट अगाडि आउनुमा खेलाडीकै मुख्य भूमिका छ भन्ने हो? क्यानले सिरियसली नलिएको हो?

हो। खेलाडी र प्रशिक्षकको ठूलो भूमिका छ। क्यान सिरियस कहिल्यै छैन। क्यानको पनि योगदान नै नभएको होइन तर अत्यन्तै थोरै छ। जति हुनुपर्ने हो भएको छैन। क्यान खेल विकासको गतिअनुसार अघि बढ्नै सकेन।

आन्दोलनमा उठाएका १० बुँदे माग सम्बोधन भएको हो?
त्यो १० बुँदा हाम्रो सानो मागमात्र थियो। हामीले त्यो माग राखेपछि क्यानले सम्बोधन गर्ला भन्ने आशा गरेका थियौं तर त्योभन्दा अघि पनि १५ दिनअघि मौखिकरूपमा सबै पेश गरिसकेका थियौं। उहाँहरुले पनि मौखिकरूपमै लिखित दिने प्रतिबद्धता जनाउनुभयो। तर त्यसपछि उहाँहरुमा जाँगर देखिएन। उहाँहरुले पूरा बेवास्ता गरेपछि हामीले १० बुँदा दियौं। हामीले बुँदा तयार गरे कति हुन्छ कति। हामीले आफ्ना लागिमात्र गरेको होइन। नेपाली क्रिकेटका लागि आवाज उठाएको हो। उहाँहरुमा नेपाली क्रिकेटप्रति माया देखिएन। क्यान कहिल्यै पनि क्रिकेटप्रति गम्भीर भएर लागेन। जुन मायाले खेलाडीले खेल्छ, त्यो भावना क्यानमा नदेखिएपछि हामी बाध्य भएर आन्दोलित भएका हौँ। बुँदाहरु थप बुझाउनै बाँकी छ।

अब वार्ताबाट योजना तथा अनुगमन समिति बनाउनुभएको छ। समितिले नै गर्ने हो त सब काम?
खेलाडीले बुझेअनुसार हामी सदस्यसचिवलाई विश्वास गर्न सक्छौं। हामीले पहिल्यै भनेका छौं कि हामी क्यानलाई विश्वास गर्न सक्दैनौं। क्यानका पदाधिकारीहरुले पनि वार्तामा आफ्ना गल्ती, कमीकमजोरी स्वीकार्नुभयो र एकजुट भइसकेको बताउनुभयो। उहाँहरुले मौखिकरूपमा अब क्रिकेट विकासमा लाग्छौं भनेर प्रतिबद्धता जनाउनुभएको छ। सदस्यसचिवकै नेतृत्व भएकाले हामी आशावादी छौं। उहाँको नेतृत्वमा नेपाली खेलकुद सिस्टममा चलिरहेको छ। त्यसैले उहाँले यहाँ पनि सिस्टम बसाल्न योगदान गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं। उहाँ पनि एउटा खेलकुदको माथिल्लो निकाय भएकाले आशा गर्न सकिन्छ। मन्त्रालयको पनि प्रतिनिधि हुने भएकाले क्यानले मान्नुपर्छ। हामी पनि गर्न सकिने कामका मात्र योजना बनाउँछौं। हामीले क्रिकेट बुझेका छौँ, नेपालको अवस्था बुझेका छौँ, बजेटबारे जानकारी छ। त्यसैले नेपाली क्रिकेटलाई सबै परिधिभित्र रहेर कसरी अघि बढाउन सकिन्छ भन्नेबारे अध्ययन गरेर योजना ल्याउँछौं। त्यसैले अब समितिमार्फत काम गर्दा धेरै समस्या समाधान होलान्।

भनेपछि माग सम्बोधन भयो?
हामीले त क्यान विघटन नै हुनुपर्छ भनेको तर नेपालको ऐन कानुनमा त्यस्तो प्रावधान रहेनछ। क्यानको आफ्नै विधानमा पनि विघटन हुनै नसक्ने अवस्था रहेछ। यहाँ क्यानको यस्तो प्रोटेक्टेड सिस्टम रहेछ। तर खेलाडीको भविश्य पनि त्यस्तै प्रोटेक्टेड सिस्टम भएको भए खेलाडीले अझ राम्रो प्रदर्शन गर्ने थिए। नेपालले अझ ठूला सफलता हासिल गर्ने थियो।
तपाईँहरुले थिति बसाल्नुपर्छ भनेर आन्दोलन गर्नुभयो तर निर्वाचित संघ विघटन गर्नुपर्छ भनेर आफँैले चाहिँ सिस्टम र कानुन मिच्नुभयो नि?
हामी सिस्टमभन्दा बाहिर गएको कुरा स्वीकार्छौं तर हाम्रा भोगाईले हामीलाई त्यसका लागि बाध्य बनायो। हामी विश्व कप खेलेर आइसक्यौं तर मेरो पनि भविश्य सुरक्षित छैन। नेपाली क्रिकेटको भविश्य सुरक्षित छैन। हो, अहिले क्रिकेटको बेग्लै रौनक छ। विशेष क्रेज छ। बच्चा बच्चाहरु ब्याट लिएर निस्कन्छन्। अब तर यी बच्चाको क्रिकेट खेल्ने चाहना सुरक्षित गर्न राम्रो आधार बनाउने जिम्मेवारी हाम्रो हो भन्ने बोध भयो। पक्कै पनि मानिस अहिले क्यानलाई विश्वास नगर्लान्, सरकारलाई विश्वास नगर्लान् तर हामीलाई विश्वास गर्छन् किनभने हामी कुनै पार्टी वा सोर्सफोर्सले आएको हो्इन। सबै खेलाडी आफ्नै मेहनत र क्षमताका आधारमा यहाँसम्म आएका हौं। त्यसमा क्यान र प्रशिक्षकको योगदान होला। यो अवस्थामा हामीले अब स्ट्यान्ड लिनुपर्ने बेला आएजस्तो लाग्यो। क्यानलाई सिस्टममा ल्याउनैपर्ने थियो। त्यसो गर्न सकिएन भने भोलि गएर हामी हराउने अवस्था आउँछ। पूरा क्रिकेट फेरि हराउने अवस्था आउँछ। अबका केही वर्ष टिमले कुनै प्रतियोगिता नजित्न सक्ला। सायद अर्को विश्व कप खेल्न अर्को १० वर्ष कुर्नुपर्ला। यो विश्व कप पनि हामी रनरेटका आधारमा धेरै गाह्रो गरी खेल्न पाएका हौं। सजिलै आएको होइन यो सफलता। हङकङसँग अन्तिम बलसम्म कुर्नुपर्यो । शरदले सही फिनिसिड गर्योह। भगवानले वा भाग्यले पनि मेहनत गरेका कारण साथ दिएको हो। सधैँ यस्तो फेभरेबल अवस्था आउँदैन। अब अगाडि बढ्न यस्तो बेस बनाउनुपर्योग जसले १० वर्षभित्र नेपाललाई क्रिकेटमा सफल देश बनाओस्। हामीले गरे त्यो सम्भव पनि छ। त्यसका लागि हामीले बिताएको १० वर्षको अनुभवका कारण सिस्टम बसाल्न एकपटक आफूलाई नै जोखिममा राखेर सिस्टम बाहिर गएर प्रयास गरेका हौं।

विश्व कप खेलेर फर्किंदा लोकप्रिय भएको मौका छोपेर क्यानमाथि आक्रमण गर्नुभएको हो?
आक्रमणभन्दा पनि हामीले कमाएको जनताको माया र इज्जत हो। हामी जुन तरिकाले गयौं त्यो गलत थियो तर त्यो गएको तरिकाभन्दा हाम्रा माग कसैले नाजायज भनेमा हामी फेस गर्न तयार छौं। हामीले मागेको कुरा कुनै पनि पूरा गर्न नसकिने र नाजायज थिएनन। क्यान विघटनको कुराचाहिँ हामीले गल्तीका रूपमा स्वीकारिसकेका छौं तर त्यो बाध्यात्मक कदम थियो। हामीले ८/९ महिनाअघिदेखि क्यानसँग बस्न अनुरोध गर्यौं तर उहाँहरुले कहिले अध्यक्ष छैन, कहिले महासचिवले भ्याएन, कहिले कोषाध्यक्ष ब्यस्त भनेर आलटाल गरिरहनुभयो। हामीले विश्वकप खेलेर फर्किंदा पनि उहाँहरुसँग समय पाएनौं। हामी यसरी एकैपटक बाहिर आएका होइनौं। धेरै प्रयास सफल भएनन्। त्यसपछि बाध्यताले यस्तो परिस्थिति सिर्जना गर्योए।

खेलाडीले खेल्दिन भन्नु त अनुशासन मिचेको भएन र?
खेलाडीले किन खेल्दिन भन्यो त? हामीलाई अझ धेरै खेल्न मन छ। हामीले जुन विश्व कप खेल्यौँे, त्यो वातावरणमा सधँै खेल्न पाए कस्तो हुन्थ्यो जस्तो लाग्छ। अहिले पनि आँखा चिम्लियो भने म त बंगलादेशको मैदानमै पुग्छु। मलाई फेरि त्यो वातावरणमा खेल्नु छ। ममात्र होइन, हरेक खेलाडी त्यो चाहन्छ र त्यसका लागि हामी सबै मेहनत गर्छौं तर खेल नै खेल्दिन भनेको आफैँलाई सेक्रिफाइज गर्न खोजेको हो। हामी क्यानको नयाँ नेतृत्व आउन अझ दुई वर्ष कुर्न पनि तयार थियौं तर अहिलेको समय फेरि नआउन सक्थ्यो। नयाँ पिँढीमा क्रिकेटप्रतिको जुन जोश र उत्साह अहिले आएको छ त्यसलाई उपयोग गर्न केही गर्नैपर्ने अवस्था थियो। हामीले खेल्न पुगेर यस्तो कदम चालेको होइन। अझ धेरै खेलिरहन पाउन, आफूभन्दा कम उमेरका किशोर र बालकहरुलाई खेल्न दिलाउन बाध्य भएर यस्तो कदम चालेका हौं। आफू र करियरलाई जोखिममा राखेर हामीले भविष्यका लागि यस्तो काम गरेका हौं।

तपाईँहरुको आन्दोलनले नयाँ आउने खेलाडी र क्रिकेटप्रेमीमा कस्तो सन्देश गएजस्तो लाग्छ?
हामीले नयाँ पिँढीकै लागि आधार बनाउन यो काम गरेका हौं। हामीले कुनै नाजायज कुरा गरेका छैनौं। हाम्रो तरिका गलत भए पनि काम सही थियो। सबैले त्यही भनेका छन्। स्वयं क्यान जसको विरुद्धमा हामीले आन्दोलन गर्यौंा, उहाँहरुले पनि हामीलाई गलत भन्न सक्नुभएको छैन। बरु आफ्नै गल्ती स्वीकारेर आगामी दिनमा नदोहोर्या उने वचन दिनुभएको छ। फेरि आन्दोलनले एउटा राम्रो निकास त निकाल्यो नि। हामीले आफ्ना लागि नभई देशको क्रिकेटका लागि गरेको भन्ने नै होलाजस्तो लाग्छ।

अर्को प्रसंग, विश्व क्रिकेटमा नेपाली क्रिकेटको स्तर कहाँ देख्नुहुन्छ?
हामी आफँैले गरेको प्रदर्शनको स्तरसम्म पुग्न सकेका छैनौं। विश्वकपका तीन खेलमा गरेको प्रदर्शन पनि हाम्रो स्तरभन्दा धेरै माथि थियो। हामीले गर्नुपर्ने धेरै काम छन्। त्यसैले हामीले आवाज उठाएका हौं। इमानदारीपूर्वक भन्ने हो भने हामी विश्वस्तरका लागि तयार भइसकेका नै छैनौं। ठूलो ग्याप छ, हामी र अरु विकसित देशबीचमा।

विद्यमान घरेलु क्रिकेट संरचनाले नेपाली क्रिकेट अघि बढ्न सक्छ?
असम्भव। यही अवस्थामा क्रिकेटमा उभो लाग्न सक्दैन। हामी पछिल्लो धेरै वर्षदेखि २५ खेलाडीको बीचबाट राष्ट्रिय टोली छानिरहेका छौं। हामीसँग विकल्प नै छैन। भएकाको पनि स्किल विश्वस्तरमा प्रतिस्पर्धा गर्न पर्याप्त छैन। राष्ट्रिय टिमका हरेक खेलाडीको पछाडि पाँच/सात जना विकल्प हुनुपर्छ। कुनै पनि खेलडीको पोजिसन टिममा सुरक्षित हुनुहुँदैन। न्युजिल्यान्डमा हालै भएको एक दिवसीय विश्व कप छनोटलाई नै हेरौँ। हाम्रो प्रदर्शन त्यहाँ निकै कमजोर रह्यो। म आफैँ पूरा फिट थिइन, सुवास (खकुरेल) पनि घाइते थियो। तर दुई जना नभएरमात्र त्यस्तो कमजोरी भएको हो त? पक्कै होइन। हामी भएको भए अझ नराम्रो हुन पनि सक्थ्यो। खासमा हाम्रो टोली त्यो स्तरका लागि तयार नै थिएन। यो सब क्रिकेट संस्कारको पनि कुरा हो। राष्ट्रिय टिमबाहिरबाट नयाँ प्रतिभा आउन सक्ने सम्भावना नै अत्यन्तै न्युन छ। जति राम्रो खेलाडी भए पनि उसले खेल्ने भनेको वर्षमा एउटा प्रतियोगिता हो। त्यसमा तीन म्याच खेल्दा नयाँ खेलाडीले आफूलाई प्रमाणित नगर्न पनि सक्छ। अहिले मैले पनि त्यसैगरी आउने हो भने राष्ट्रिय टोलीमा पर्न गाह्रो छ। वर्षभरीमा पाउने तीन खेलमा रन हान्न सकेन भने ऊ जति क्षमतावान भए पनि टिममा पर्दैन। अनि कसरी हुन्छ विकास? कसरी नयाँ प्रतिभा आउन सक्छन्। नयाँ प्रतिभा आउने ढोका नै साँघुरो छ।

कस्तो सुधार गर्नुपर्छ त?
होम एन्ड अवे पद्धतिमा लिग हुनुपर्छ। हरेक क्षेत्र स्वायत्त र सक्षम हुनुपर्छ। सबै क्षेत्रसँग विकास निर्देशक भयो भने उसले पदाधिकारीलाई क्षेत्रीय प्रतियोगिता गर्न, प्रायोजक खोज्न र विकासका अन्य कार्यक्रम गर्न बाध्य पार्न सक्छ। हामीकहाँ अहिले भएका ९ क्षेत्र र २ क्लबले होम एन्ड अवेमा खेल्दा देशभर क्रिकेटको क्रेज विस्तार हुन्छ। क्षेत्रीय र राष्ट्रिय स्तरमा एकदिवसीय, दुई दिवसीय र ट्वान्टी–२० क्रिकेटको होम एन्ड अवे लिग भयो भने धेरै खेलाडी आउन सक्छन्। खेलाडीले धेरै म्याच खेल्न पाउँछन्। साथमा स्कुल क्रिकेट र उमेर समूहको क्रिकेट पनि हुनुपर्छ। विश्वभर स्कुल क्रिकेटबाटै प्रतिभा आएका हुन्। श्रीलंकाको इतिहास हेर्ने हो भने पनि स्कुल क्रिकेटबाटै उदाएका खेलाडीले १९९६ मा विश्व कप जिताए। केही समयअघि म व्यावसायिक क्रिकेट खेल्न क्यानडा गएको थिएँ। त्यहाँ पनि यु–१३, यु–५, यु–१७, यु–१९ हुँदै ४० वर्षमाथिका लागि समेत क्रिकेट हुने व्यवस्था रहेछ। प्रतिभा आउने त्यसरी हो। हामीकहाँ भिजन नै भएन। गर्ने चाह पनि भएन।

भौतिक पूर्वाधार नि?
हाम्रो अर्को सबभन्दा ठूलो समस्या भौतिक पूर्वाधार हो। खेल्ने ठाउँ नै पर्याप्त छैन। भएकाको पनि संरक्षण छैन। कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा लाखौं खर्च गरेर पुल्चोक र टुँडिखेलमा पिच बनाए पनि प्रतियोगिता सकिएसँगै त्यसको संरक्षण नहुँदा प्रत्येक पटक त्यत्तिकै खर्च गरिरहनुपर्ने अवस्था छ। महेन्द्रनगरमा दुई वर्षअघि राष्ट्रिय प्रतियोगिताका लागि ३० लाख खर्च गरेर मैदान बनाइयो। त्यसपछि के भयो त? कसैलाई थाहा छैन। यसरी खुद्रेरूपमा गरिएका खर्चले मात्र दर्जनौं मैदान र ठूलो रंगशाला बनाउन भ्याइसकिन्थ्यो होला। तर क्यानले त्यस्तोमा कहिल्यै ध्यान दिएन। नेपाली क्रिकेटलाई अघि बढाउने हो भने अब भौतिक पूर्वाधारमा ध्यान दिन ढिलो भइसकेको छ।

केही छैन भन्नुहुन्छ तर विश्व कप त पुग्नुभयो। के विश्व कप फ्लुकमा पुगेको भन्न खोज्नुभएको हो?
खासमा चाहिँ हो तर फ्लुक भन्ने शब्दचाहिँ प्रयोग नगरौँ। यसलाई फ्लुक होइन भनेर प्रमाणित गर्ने हो भने आगामी दिनमा कम्तिमा ट्वान्टी–२० विश्व कपमा लगातार पुग्न सक्नुपर्छ। त्यसका लागि थिति बसाल्नुपर्छ।

क्यानले केही गरेन भन्नुभयो। किन गरेन जस्तो लाग्छ?
क्यान पदाधिकारीको प्राथमिकतामा क्रिकेट कहिल्यै पनि परेन। उहाँहरु कोही राजनीतिज्ञ हुनुहुन्छ, कोही व्यापारी हुनुहुन्छ, सबैको आ–आफ्नै व्यवसाय छन्। त्यहाँबाट बचेको समयमा मुड चले क्रिकेटबारे सोच्ने हो। यसरी त हँुदैन नि। त्यही भएर मैले क्यानमा व्यावसायिकरूपमा प्रशासन, दैनिक कामकाज र आर्थिक पक्ष हेर्ने कर्मचारी चाहिन्छ भनेको। भोलिन्टियर भन्ने पदाधिकारी भएसम्म काम हुन गाह्रो हुन्छ। सबैले आ–आफ्नो क्षेत्रमा जिम्मेवारी पूरा गरेको भए यस्तो अवस्था आउने थिएन। अर्को समस्या क्यान पदाधिकारीमा सधैँ अहं भयो।

क्यानलाई अहं भयो भन्नुभयो। यो त तपाईँहरुमा पनि देखियो नि?
हामी पनि क्यानको यही सिस्टममा हुर्केकाले भयो होला। फेरि हामीले त मैदानमा आफूलाई प्रमाणित गरेका छौं नि। आफ्नो काममा शतप्रतिशत समय दिएका छौं नि। त्यसो भएपछि अहं गर्न सुहाउँछ पनि तर उहाँहरुले त काम गर्नुभएकै छैन।

ट्वान्टी–२० विश्व कपलाई कसरी सम्झनुहुन्छ?
हामी युएईमा हङकङसँग अन्तिम बलसम्म संघर्ष गरेर विश्व कपमा छानिएका हौं। धेरै कुराको संयोग मिलेर हामी विश्व कपसम्म पुग्यौं। जुन हाम्रा लागिमात्र नभई सम्पूर्ण नेपाली क्रिकेट र नेपाली खेलकुदकै लागि ठूलो कुरा थियो। हामीले आफ्नो क्षमताभन्दा माथिको काम गरेका थियौं। जहाँसम्म बंगलादेशमा विश्व कप खेल्दाको अनुभव छ, त्यो करियरको अहिलेसम्मको सबभन्दा विशेष अनुभव हो। बंगलादेशमा हाम्रो हैसियत भारत र अस्ट्रेलियाको टिमजस्तै थियो। हामी पहिलो पटक यति ठूलो अन्तर्राष्ट्रिय मञ्चमा देशका लागि खेल्दै थियौं। जहाँसम्म प्रदर्शनको कुरा छ, हामीले विश्व कपका तीनवटै खेलमा आफ्नो स्तरभन्दा धेरै माथिको प्रदर्शन गर्यौं । हङकङसँग न्युजिल्यान्डमा एक दिवसीय विश्व कप छनौटमा १० विकेटले हारेका थियौं। पूरा टिमलाई त्यसको इख थियो। जुन हामीले मैदानमा प्रमाणित गर्यौं । बंगलादेशसँग अन्तिम दुई/तीन ओभरमा राम्रो फिनिसिङ गर्न नसक्दा स्कोर १ सय २६ मात्र भएको हो। नत्र १ सय ४० हुन सक्थ्यो। त्यसो भएको भए नतिजा जे पनि हुन सक्थ्यो तर १ सय २६ पनि नराम्रो स्कोर थिएन। अफगानिस्तानसँग पनि राम्रो खेल्यौं। हामीले योभन्दा राम्रो क्रिकेट खेल्न सक्दैनथ्यौं। सक्नेजति गरेका हौं। त्यसैले विश्व कपको प्रदर्शनबाट पूरा सन्तुष्ट छौं।

अफगानिस्तानसँग नेपालको इतिहास राम्रो थिएन तर विश्व कपमा जित्दा टिमलाई कस्तो अनुभव भयो?
हामी अफगानिस्तानसँग धेरै पटक नजिक पुगेर पनि हारेका थियौं। एसिसी इमर्जिङ टिम्स कपमा हामी जितको निकै नजिक पुगिसकेका थियौं। हामीलाई जित्न ११ रन आवश्यक हुँदा पाँच विकेट र तीन ओभर बाँकी थियो। तर, हामी तीन रनले हार्यौं१। चार विकेट रनआउटमा गए। हामी त्योबेला निकै निराश भएका थियौं। अफगानिस्तानसँग हाम्रो प्रतिद्वन्द्विता बेग्लै भइसकेको छ। अफगानिस्तानलाई यस्तो खेलमा हराउनेछौं कि त्यो पूरा विश्वले हेरेको हुनेछ भनेर म भन्ने गर्थेँ। भयो पनि त्यस्तै। हामीले विश्व कपमा अन्तर्राष्ट्रिय टेलिभिजन क्यामेराको अगाडि पूरा विश्वलाई देखाएर अफगानिस्तानलाई हरायौं तर त्यसलाई हामीले एउटा खेलको जित–हारभन्दा माथि राखेनौं। म व्यक्तिगतरूपमा धेरै उत्साहित वा निरुत्साहित हुन्न। पूरा टिम पनि भएन। सायद हामीले धेरै भावुक भएर खुसी मनाउने सफलता अझै आइसकेको छैन। भविष्यमा आउला, अनि म आफैँलाई पनि थाहा नभएको भावना आउला र उत्साहित पार्ला।

अब कति वर्ष क्रिकेट खेल्नुहुन्छ?
मलाई खेल्न त सधैँ मन लाग्छ तर म सधैँ एक पटकमा दुई वर्षको योजना बनाएर अघि बढ्छु। आगामी दुई वर्ष पक्का खेल्छु। त्यसपछि आफँैले समीक्षा गर्छु र निर्णय लिन्छु।

खेल्न छाडेपछिको योजना के छ?
क्रिकेटमा योगदान गर्न खेलाडी नै हुनुपर्छ भन्ने छैन। म कुनै न कुनै भूमिकामा रहेर क्रिकेटमा योगदान गरिरहनेछु। मेरो विचारमा प्रशिक्षक बन्नु मेरो सबभन्दा पछिल्लो प्राथमिकता हो। किनकि म सिकाउन सक्दिन। अहिले पनि ब्याट कसरी समाउने र बलिङ कसरी गर्ने भनेर म सिकाउन सक्दिन। सायद प्रशासनमा मेरो क्षमता र अनुभव काम लाग्लाजस्तो लाग्छ। तर कुनै भूमिकामा नरहे पनि क्रिकेटमा योगदान भने गरी नै रहनेछु। काम गर्न क्रिकेटमै भूमिका चाहिन्छ भन्ने मलाई लाग्दैन।

पारस खड्कालाई भविष्यको क्यान अध्यक्षका रूपमा हेर्न सकिन्छ?
सोच्दा ठूलै सोचौं। भविष्यमा म प्रधान मन्त्री पनि हुन सक्छु नि। यसको मतलब म राजनीतिमा लाग्छु भनेको होइन। भविष्यबारे मैले कुनै योजना बनाएको छैन तर असम्भव पनि केही छैन। हुन सकिन्छ।

तपार्इँ क्यान अध्यक्ष भए अहिले आफैँले उठाएका मुद्दा समाधान गर्न सक्नुहुन्छ?
म अध्यक्ष भएको भए यस्ता मुद्दा आउनै दिन्नथेँ। अहिले उठेका मुद्दा भनेको काम गर भनेको हो। काम गरे भइहाल्यो नि। अहिले पनि गर्न नसकिने के कुरा उठाएका छौं र हामीले? इच्छाशक्ति र भिजन भए सहजै सब थोक पूरा हुन सक्छन्।


प्रकाशित: ४ वैशाख २०७१ २१:१३ बिहीबार