नेपालको राजनीतिमा जातीय मुद्दा अचानक आएको तर सहजै अवतरण नहुने उनको विश्लेषण छ। आफूलाई तान्न खोज्ने जनजातिवालालाई उनले भन्दिए– 'म नेपाली, संगतले कांग्रेस र जातले गुरूङ हुँ, यसबाहेक मसँग अरु नखोज।' कांग्रेस राजनीति, संविधान सभालगायत् सामयिक मुद्दामा गुरूङ र नागरिकका विश्वमणि पोखरेलबीच भएका कुराकानी :
चुनाव लाग्यो भन्छन्, के तयारी गर्दै हुनुहुन्छ?
चुनावको कुरा भएको धेरै भयो। चुनाव हुन्छ भन्नेहरू पनि छन् र हुँदैन भन्नेहरू पनि त्यत्तिकै छन्। चुनावभन्दा बाहिर रहेकालाई ल्याएर मात्र चुनाव गर्नुपर्छ भन्नेहरू पनि छन्, उनीहरूलाई छाडेर चुनावमा जानुपर्छ भन्नेहरू पनि छन्। चुनाव कसरी हुन्छ त हेरौं न भन्ने पनि छन्। चार पार्टीका मानिसचाहिँ चुनाव गर्नुपर्छ भन्दैछन् र चार पार्टीले भनझैं सरकार पनि चुनाव गराउने कुरा गर्दैछ। चुनाव हुन्छ कि हुँदैन भन्ने अवस्था छ।
अहिले पनि मंसिर ४ मा चुनाव हुन्छ कि हुँदैन भन्ने अवस्था छ र? पार्टीहरू त चुनावको तयारीमा जुटिसकेका छन्, होइन र?
त्यस्तै छ। उम्मेदवारी दर्ताको दिन आइसकेको अवस्था भए पनि चार पार्टीबीच कुनै कुरा भयो भने चुनाव हुँदैन।
तपाईँ आफ्नै तयारीचाहिँ के छ?
मेरो आफ्नो तयारी केही छैन। जहिले पार्टीले तयारी गर्छ, त्यही मेरो तयारी हो। पार्टीको तयारी मेरो तयारी हो।
तपाईँलाई पार्टीले कसरी लिइरहेको छ? पार्टी नराम्ररी पराजित भएको अवस्थामा पनि तपाईँ इलामबाट निर्वाचित हुनुभएको थियो। तपाईँबारे पार्टीले सोचिरहेको होला होइन?
पार्टीले कसरी हेर्छ? उम्मेदवारी दर्ताको दिन आउँदासम्ममा मेराबारे पार्टीले कसरी हेर्छ, त्यस दिनसम्म पर्खनुपर्छ। किनभने अहिलेसम्म कसैका बारे पनि केही भन्न सकेका छैनन्। सबै त्यसकै प्रतीक्षमा छन्। पार्टी पनि त्यसमै लागिपरेको छ।
उमेदवारका आकांक्षी टिकट मागरे हिँडिरहेका छन्। तपाईँ आफूचाहिँ प्रत्यक्ष वा समानुपातिक कसरी सभासद् बन्न चाहनुहुन्छ? के गर्दै हुनुहुन्छ आफ्नो तर्फबाट?
मेरो नाम प्रत्यक्षबाट पनि आएको छ। समानुपातिकबाट पनि आएको छ जिल्लाबाट। पार्टीले के भन्छ, त्यही हो।
तपाईँको चाहनाचाहिँ के त?
मेरो खासै चाहना छैन। पार्टीले जे भन्छ त्यही हो।
तपाईँ लामो समयदेखि जित्दै आउनुभएको, वरिष्ठ नेता हुनुहुन्छ तर पनि म यसरी चुनाव लड्छु भन्ने धारणा छैन भन्नुहुन्छ, किन हो?
यसो छ, पार्टीका मानिसमा धेरै महत्वाकांक्षा बढेर गएको छ अहिले। मेरै जिल्ला इलाममा पनि तपाईँ बसिदिनुपर्छ भन्नेखालका कुरा आएका छन्। केन्द्रीय कार्यसमितिका केही पदाधिकारीले तपाईँ समानुपातिक बसिदिएर अन्य जिल्ला जिल्लामा प्रचारमा जानुपर्छ भनेका छन्। मलाई पार्टीले यस्तो काममा जानुपर्छ भन्यो भने त्यतै जानुपर्छ।
कांग्रेसमा हालै संसदीय बोर्ड बन्यो। त्यसमा अन्तिम समयमा आएर तपाईँको नाम काटियो भनिँदैछ। कसरी लिनुभएको पार्टीको पछिल्लो राजनीतिलाई?
अन्तिममा काटियो भन्ने कुरा कसैलाई थाहा छैन। थियो कि थिएन। अन्तिममा काटिएको हो वा होइन, कसैले भन्न सक्ने कुरा भएन। पार्टीका पदाधिकारीले मलाई संसदीय बोर्डमा राख्ने कुरा गरेका पनि थिएनन्। मलाई कसैले भनेनन्। हल्ला आएको थियो। तँ पर्छस् पर्छस् भन्थे। मलाई घरमा आएर पर्छस्, पर्छस् भन्नेहरूलाई यो तपाईँहरूको सदासयता हो भन्थेँ। कतिपय साथीलाई अटाउनुपर्ने होला। को अट्ने को नअट्ने भन्ने होइन। पार्टीको सिद्धान्त, आदर्श र दर्शन, विचारको आवश्यकता भयो, त्यो आवश्यकता पूरा गर्ने ठाउँ हो त्यो। मैले संसदीय बोर्डलाई त्यही रूपमा लिएको छु। अन्तिम समयमा मेरो नाम काटिएको कुरा सत्य, असत्य जे पनि हुनसक्छ। पार्टीले निर्णय गरिसकेको छ। पार्टीलाई मान्नुपर्छ।
अहिले जसरी संसदीय बोर्ड गठन भएको छ, त्यहाँ आएका अनुहारबारे के भन्नुहुन्छ?
कसैको अनुहारबारेमा बोल्नु राम्रो होइन। कसैको अनुहारले केही पनि देखाउँदैन। अनुहारलाई केही भन्नुहुँदैन। तर केन्द्रीय कार्यसमितिभित्रै केही सदस्यले तपार्इँहरूकै पत्रिकाले लेखेअनुसार पार्टी लिलामीमा चढ्यो भनेका छन्। यस्ता अभिव्यक्ति कार्यसमितिका साथीहरूले बैठकमा उचालेका थिए रे?
रेका कुरा गर्नहुन्छ। तपाईँ आफैँ बैंठकमा हुनुहुन्नथ्यो?
म बैठकमा थिएँ, म केन्द्रीय सदस्य हो तर बैठकको आखिरतिर म केही समय बाहिर आएका बेला केन्द्रीय सदस्यले पार्टी लिलामीमा चढेको कुरा गरेको भनेर तपार्इँको पत्रिकाले लेखेको छ।
संसदीय बोर्ड गठनका क्रममा बागबन्डाका कुरा पनि भए। कसरी लिनुभएको छ, संसदीय बोर्ड गठन प्रकरणलाई?
मैले पहिल्यैदेखि भागबन्डा हुनुहुँदैन भन्दै आएको छु। अहिले पनि भागबन्डा भयो भन्न्ने सुन्दैछु। भागबन्डामै बोर्ड बन्यो भन्ने पनि सुन्दैछु। अघिल्लो पटक संविधान सभा निर्वाचनमा पनि यो कुरा उठेको हो। चलेको हो। म त बारम्बार भागबन्डाको विरोधमा बोल्दै आएको छु। हाम्रो पार्टीको नियममा संसदीय बोर्डले तयार गरेको उमेदवारको नामावली केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्छ। अघिल्लो संविधान सभा निर्वाचनको बेला गिरिजाप्रसाद कोइराला सभापति हुनुहुन्थ्यो। उहाँकहाँ अनुमोदन गराउन लैजाने क्रममा एक जना केन्द्रीय सदस्यले गिरिजाबाबुलाई यहाँ ६० र ४० को भागबन्डा भएको छ रे, म ६० मा परेँ कि ४० मा परेँ थाहा पाउनुपर्यो भनेर सोधेका थिए। त्यसबेलाका सभापति गिरिजाप्रसादले मैले पनि त्यसै भयो भन्ने सुनेको छु, म दुई महिनाभित्र सबै कुरा सल्ट्याउँछु भन्नुभएको थियो तर अहिले पनि भागबन्डा भयो भनेर सुन्दैछु।
तपाई आफैँचाहिँ आफूलाई कता राख्नुहुन्छ? संस्थापन पक्ष वा देउवा पक्ष?
न संस्थापन पक्ष, न अर्को पक्ष। म कांग्रेस पक्ष।
तपाईँ पार्टीमा आदर्श, विचार र सिद्धान्तका आधारमा चल्ने कुरा गर्नुहुन्छ। अहिलेको कांग्रेसलाई कसरी हेर्ने? तपाईँको विश्लेषण....
पार्टी लिलामीमा चढ्यो भन्नेसम्मका कुरा आएका छन्। पार्टी लिलामीमा चढछ् कसरी, चढाइन्छ कसरी? त्यही त्यो हो भने त्यो पार्टी सिद्धान्त, आदर्श र विचारबाट बाहिर गयो। यदि त्यो होइन भने पार्टीलाई सच्याउन र बाटोमा ल्याउनमात्र पार्टी लिलामीमा चढेको कुरा गरेका हुन भने अझै पनि बाटोमा ल्याउन सकिन्छ। त्यो काम केन्द्रीय कार्यसमिति र पदाधिकारीको हो।
तपाईँलाई के लाग्छ, के साँच्चिकै नेपाली कांग्रेस लिलामीमा चढेको हो?
मलाई के लाग्छ भन्ने होइन। मैले तपाईँहरूकै पत्रिका नागरिकमा पढेको हो। नागरिकले साँचो लेखेको भनेर मैले पढेको। तपाईँहरूले झुटो लेख्नुहुन्न भने त्यो कुरा सत्य हो। पत्रिकाले सत्यको आधारमा लेखेको हो भने मैले पत्याउनुपर्यो।
लिलामीको अवस्थाबाट पार लगाउने उपाय छन्?
पार्टी लिलामीमा चढेकोसम्म कुरा भइसकेपछि पार्टी सभापति र पदाधिकारीले त्यस्तो कुरालार्ई महत्व दिएर हेर्नुपर्यो। त्यसलाई गोप्यरूपमा राख्ने होइन। के भएको हो, त्यो भन्ने मान्छेलाई सोधेर उपाय निकाल्नुपर्छ।
संसदीय बोर्डमा भागबन्डाको कुरा छ र सँगसँगै कोइराला परिवारका सदस्यबीचको व्यवस्थापनका कुरा पनि आए। के भन्नुहुन्छ पार्टीमा विकसित यस्ता प्रवृतिबारे, यसलाई कसरी लिने?
कोइराला परिवारभित्रै समस्या आयो भने, आएको छ भने, आउँछ भने, अहिलेका सभापति कोइराला हुनुहुन्छ। यसअघिका सभापति पनि कोइराला हुनुहुन्थ्यो। त्यो बेला समस्या आएन। अहिले समस्या आउनुका कारण के हुन? ती त कोइराला परिवारका कुरा भए। पार्टीका कुरा होइनन्।
कांग्रेस कसरी चल्दैछ? कांग्रेससँगको लामो सहकार्यका आधारमा अहिलेको अवस्था कसरी आँकलन गर्नुहुन्छ?
मैले चार वर्षदेखि भन्दै आएको छु। यसरी बुझिदिनुहोला– म कांग्रेस हुनुको नाताले कांग्रेस खोज्दैछु कांग्रेसभित्र।
कांग्रेस भनेको के त?
हो, कांग्रेस भनेको के हो? मैले यही प्रश्न केन्द्रीय कार्यसमितिमा सोधेको छु। त्यही कुराले मलाई पोलेको छ। २००३ सालदेखि बीपीले कांग्रेसलाई कसरी लिएर जानुभयो? त्यो हेरौं। कहिले संघर्ष गराउनुभयो, कहिले मेलमिलाप गराउनुभयो। उहाँ कहिल्यै विचलित हुनुभएन र त्यसले ठक्कर पनि खाएन। उहाँ जे लिएर आउनुहुन्थ्यो, त्यसको अन्त्य राम्रो हुन्थ्यो। जस्तो मेलमिलापको नीति लिएर आउनुभयो। त्यसबेला गणेशमानजी भारतमा बस्नु स्लो प्याइजन, नेपालमा आउनु आत्महत्या भन्नुहुन्थ्यो। गणेशमानलाई पनि सम्झाउनुभयो र सँगै लिएर आउनुभयो। त्यसपछि यहाँ उहाँहरूलाई झुण्डाइनुपर्छ, फाँसी दिनुपर्छ भन्नेसम्मका कुरा चले। त्यहीबीचमा यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ मारिएका थिए। त्यसबेला नेपाल आउने हामी पहिलो ब्याच हो। म, बासु कोइराला, धर्म गौतम आएका हौं। हामी कात्तिक २५ गते आयौं, बीपीहरू पुस १६ गते आउनुभयो। त्यसबेला विपरित अवस्थामा पनि आउनुभयो। बीपीको विचारले जित्यो। त्यसको परिणाम जनमत संग्रह भयो। जनमत संगह स्वीकार्नुभयो। स्वीकारेन भने विप्लव हुन्छ भन्ने थियो उहाँको। उहाँ विचलित हुनुहुन्थेन। अहिले पार्टीमा भने विचलन आएको छ। यसरी गुजि्रएको कांग्रेसमा म कांग्रेस खोज्दैछु, कांग्रेसमा कांग्रेस हुनुका नाताले।
कहिलेसम्म फेला पार्नुहुन्छ तपाईँले खोजेको कांग्रेस?
मैले मेरा निम्तिमात्र होइन। कांग्रेस जो बीपीको विचार, प्रजातान्त्रिक समाजवादमा विश्वास गर्छन्, त्यसकै आधारमा हिँड्नुपर्छ भनेर बीपीले भन्नुभएको छ, त्यही बाटो हिँड्नुपर्छ भन्ने हो।
बीपीले देखाएको खास बाटो के त? शिक्षक, विद्यार्थीलाई पाठ बुझाएजस्तो ठ्याक्क ठ्याक्क भन्नुपर्दा कस्तो हो बीपीको बाटो?
कांग्रेस र प्रजातन्त्र भनेको एउटै हो। त्यसबेला प्रजातान्त्रिक समाजवाद भनेको वालिग मताधिकारका आधारमा चुनावमा लड्न पाउने हो। त्यसबेला वा पञ्चायतका बेला बिपीले भनेको। वितरणबारे कम्युनिष्टहरूले भन्ने जस्त्ाो सबैलाई वितरण होइन भन्नुहुन्थ्यो। एक माना दूध गाउँमा बाँड्दा एक एक चम्चा पनि पुग्दैन। त्यसकारण उत्पादन बढाउनुपर्छ र सबैलाई एक एक माना पुग्नेगरी उत्पादन गनुपर्छ भन्नुहुन्थ्यो। पार्टीलाई प्रजातान्त्रिक सोच चिन्तनसाथ लान सकियो भने मुलुकमा प्रजातन्त्र बाँच्छ भन्ने उहाँको बाटो थियो। हामीले त्यही गर्नुपर्छ। कांग्रेसले २००७ सालदेखि अख्तियार गरेको बाटो छोड्नुहुन्न भन्ने हो। पार्टी आफ्नो बाटो छाडेर विचलित हुनुहुँदैन।
त्यसो हो भने तपाईँ अहिले लोकन्त्र खतरामा छ भन्ने मान्यतामा हुनुहुन्छ?
मैले भनेको छैन। चार पार्टीका नेताहरू भन्दैछन्, लोकतन्त्र खतरामा छ भनेर।
कोबाट खतरा रहेछ?
अहिलेसम्म त्यो भनेका छैनन्। अहिलेको अवस्था आउनु बाध्यता हो भन्छन्। त्यो बाध्यता के हो त्यो पनि भनेका छैनन्। त्यो अमूर्त शब्दको व्याख्या गरेका छैनन्। एउटा उदाहरण– एक जना नेताको मतदाता सूचीमा नाम छुट्यो रे। नेताहरूले अनुरोध गरे, जनताको नाम छुटेको छ भनेर नामावली संकलन गर्ने म्याद थपियो। कुनै पनि जिम्मेवार नेताले नाम छुटाउँदैन। छुटायो भने त्यसमा शंका गर्नुपर्छ। अहिले फेरि उमेदवारी दर्ताको म्याद पनि हामीलाई पुगेन भनेर अनुरोध गरे, त्यो मिति पनि सर्यो। अहिलेको अवस्थामा चुनावमा १४ अरब खर्च हुन्छ भन्दैछन्। कतिपय विश्लेषक पनि संविधान लेखिँदैन भन्दैछन्। यदि यो कुरा हो भने चार पार्टीले जे पनि गर्न सकेजस्तै जे गरे पनि भयो नि। निर्वाचन आयोगले पनि नामावली दर्ता, उमेदवार दर्ता आदिको मिति पनि सार्यो, चार दलको सिफारिसमा। त्यो हो भने चार दलले अघिल्लो संविधान सभामा भएका काम जो पास भएका छैनन्, तर ९० प्रतिशतभन्दा बढी काम भएका छन्। भइसकेका काम त बाहिर ल्याउन्। उनीहरूले सहमति गर्न नसकेका कुरा जनमत संग्रहमा जाऔं न।
तपाईँले भन्नुभएको कुरा त वैद्य माओवादीको जस्तै भयो होइन र?
यथार्थ हो कि होइन? चार पार्टीले गर्दा जे पनि हुने भएपछि सहमति भइसकेका कुरामा सहमति गर्दा भइहाल्यो।
तपाईँ लोकतान्त्रिक पद्धतिमा विश्वास गर्नुहुन्छ। जनतामा जाने कुराको विरोधमा किन? किन विमति?
सात सालदेखिको कुरा हो यो। सात सालदेखि भनिँदै आएको हो संविधान सभा। त्यसैबेलादेखि संविधान लेखिँदैन भन्ने विश्लेषक पनि छन्। उनीहरूका कुरा कहाँ पुग्यो? तिनीहरू जनता होइनन्?
किन लेखिएन संविधान?
संविधान सभामा पार्टीका शीर्ष नेता थिए। संवैधानिक समितिमा शीर्ष नेता थिए। संविधान सभाका समितिहरूले तयार पारेका प्रतिवेदनमा विवादित कुरा समेटेर संविधान बनाउने संवैधानिक समितिमा चारै पार्टीका नेताहरू थिए। उनीहरूले बनाएनन्।
तपाईँ विघटित संविधान सभाको पहिलो अध्यक्ष। नेपाललाई गणतन्त्र घोषणा गर्ने सभाको अध्यक्ष। तपाईँ आफँै कति जिम्मेवार हुनुहुन्छ संविधान सभाले संविधान बनाउन नसक्नुमा?
यसबारे मैले धेरै कुरा यसअघि नै गरिसकेको छु। म ज्येष्ठ सदस्यको नाताले सभाको अध्यक्षता गरेको मान्छे। मलाई एक दिन अध्यक्ष भनेको थियो, साढे तीन महिना त्यत्तिकै गयो। मलाई यो घमण्ड छैन कि मैले त्यो गणतन्त्र घोषणा गर्न पाएँ। त्यो एउटा कागताली परेको थियो। नियमित आकस्मिकताभित्रको कुरा। मैले गरेँ।
गणतन्त्र घोषणा गर्ने संविधान सभाको तपाईँ अध्यक्ष हुनुहुन्थ्यो तर अलिक अघि जुनबेला नेपाली कांग्रेसले महासमिति बैंठक बोलाएको थियो, जहाँ काग्रेसले गणतन्त्र नीति अनुमोदन गर्नुपर्ने थियो, त्यसबेला तपाईँको भूमिका संवैधानिक राजतन्त्रको पक्षमा हुनुहुन्थ्यो भनिन्छ नि?
त्यसबेलाको आन्दोलनको सेफ ल्यान्ड कहाँबाट कसरी भयो? सात राजनीतिक पार्टीले माओवादीलाई बन्दूकबाट प्रजातन्त्र आउँदैन भनेका थिए। नेपाली कांग्रेसले संसद पुनर्स्थापनाको एजेन्डा राखेको थियो। नेपाली कांग्रेस त्यही एजेन्डामा बस्यो। इतिहास साक्षी छ, संसद पुनर्स्थापना गरे, २०६३ चैत ११ मा। राजा ज्ञानेन्द्रले त्यही पुनर्स्थापित संसदका गिरिजाप्रसाद कोइरालालाई प्रधान मन्त्री नियुक्त गरेका होइनन्? ६०६४ जेठ ४ गते एउटा निर्णय गरेको छ, पुनर्स्थापित संसदले एउटा प्रस्ताव गरेको छ। प्रस्तावमा राजाको उत्तराधिकारी संसदले खोज्ने छ भनिएको छ, राजाको धन सम्पत्तिमा कर लाग्नेछ, राजालाई उजुरी लाग्नेछ भनेर ५ वटा प्रस्ताव पास गरेको छ। भोलिपल्टका पत्रपत्रिकाले संसदको त्यो निर्णयलाई म्याग्नाकार्टा भनेका थिए। त्यो प्रस्ताव सर्वसम्मतले पास भएको छ। कांग्रेसले गर्दा राजतन्त्र फाल्ने प्रस्ताव हुन सकेन भनेर कम्युनिष्टहरूले प्रचार गरेका हुन। मेरो भनाई, संसदले राजतन्त्र राख्नुपर्दैन भन्नुहुन्नथ्यो भन्ने हो। त्यो प्रस्ताव पास गर्ने काम कांग्रेसले मात्र गरेको होइन। मैले त्यो पृष्ठभूमिमा भनेको कुरा हो। त्यस सन्दर्भमा राजतन्त्रबारे भनेका कुरा हुन्।
अहिले के भन्नुहुन्छ त राजतन्त्रबारे?
मेरै अध्यक्षतामा संविधान सभाको बैंठकले गणतन्त्र घोषणा गरेको हो। मेरै मुखले गणतन्त्र घोषणा गरेको हो, त्यसमा अर्को पक्ष कसरी आउँछ?
तपाईँले उठाएका आवाज आमकार्यकर्ताको भावना जस्तै अनुभव हुन्छ तर पार्टीले ती आवाज सम्बोधन गरेको देखिँदैन नि?
२०१७ अघि बीपीले गरेका काम जनआवाज थिए कि कांग्रेसका मात्र काम थिए? तर राजा महेन्द्रले कू गरेपछि ती जनआवाज कुल्चिए। मेरा कुरा जनताले पत्याए भने त्यो जनआवाज। होइन भने त्यो फाल्तु कुरा भयो। त्यो विश्लेषकहरूले भन्ने कुरा हो। पार्टीले किन गरिरहेको छैन भन्ने कुरा छ। म बीपीले देशको बिग्रँदो अवस्थाबारे बोलेका कुरा त्यसबेलाका राजाले गरेनन् भन्ने सन्दर्भसँग जोड्छु। बीपीले राजा र मेरो गर्धन एकैं ठाउँ छ भन्दा कारबाही गर्नुपर्छ भन्नेहरू पनि थिए। तर आज ६० वर्षपछि कमल थापा बीपीले भनेको हामीले मानेनौं, हामीले बुझेनौं भन्दैछन्। उनीहरू बीपीले यथार्थ कुरा गरेका रहेछन् भन्दैछन्।
बीपीबारे त कमल थापा, पुष्पकमल दाहाल धेरै कुरा गर्छन्। तपाईँका कुरा पार्टीले सुनेन भन्ने प्रसंगमा बीपीलाई किन जोड्ने?
बीपी जस्ताको कुरा त मानिसले सुनेनन्। बीपीका कुरा मानिसले बुझेनन् भने म जस्ताको कुरा पार्टीका मानिसले सुनेनन् भनेर के भन्ने, मैले भनेका कुरा पार्टीले सुन्दैन भने मैले के भन्ने?
तपाईँको विचारमा बीपीलाई कांग्रेसले चिनेन?
बीपीलाई कांग्रेसले मात्र होइन, देशले नै चिनेन।
कांग्रेस पार्टीको पछिल्लो महाधिवेशनले एकता गरायो भनिएको थियो तर पार्टीमा एकता अहिलेसम्म पनि देखिँदैन किन?
यो पहिलादेखिकै कुरा हो। गिरिजाप्रसाद कोइरालाले अघिल्लो संविधान सभा निर्वाचनको बेलामै दुई महिनामै समस्या समाधान गर्ने कुरा गर्नुभएको थियो तर अहिले पनि भागबन्डाकै कुरा छ। यो सिलसिला जारी छ।
अहिले कांग्रेसमा भागबन्डाको प्रसंगमा सुशील कोइरालाले के गर्नुपर्छ जस्तो लाग्छ?
सुशील कोइरालालाई त गिरिजाबाबुले भनेरै जानुभएको हो। उनी त्यसबेला कार्यबाहक अध्यक्ष थिए। त्यसबेला गिरिजाप्रसादले सुशीललाई के गर्नुपर्छ, के गर्नुपर्दैन भन्नुभएकै होला।
गिरिजाप्रसादले त तपाईँसँग सल्लाह लिने गर्नुहुन्थ्यो भनिन्छ नि?
गिरिजा दाजुले कतिपय कुरामा सोधपुछ गर्नुहुन्थ्यो। दिएका सल्लाह कतिपय सुन्नुहुन्थ्यो, कार्यान्वयनमा ल्याउनुहुन्थ्यो। कतिपय कुरा त्यत्तिकै छाडिदिनुहुन्थ्यो। परिस्थितिअनुसार काम गर्नुहुन्थ्यो। सभापति हुनेबित्तिकै सुशीललाई कार्यबाहक दिनुभएको हो। सभापतिले किन कार्यबाहक दिनुभयो, त्यो म जान्दिन। कार्यव्यस्तता र अस्वस्थताका कारण हुनसक्छ, कार्यबाहक दिएको।
अहिलेका सभापतिले कस्तो सल्लाह माग्नुहुन्छ? कत्तिको भेटघाट हुन्छ तपाईँसँग?
केन्द्रीय समितिको बैठकका बेला देखभेट हुन्छ। त्यस्तै विभिन्न कार्यक्रममा भेट हुन्छ। त्यत्ति हो। अरु बेला भेटघाट हुँदैन।
तपाईँसँग कांग्रेसका बीपी, कृष्णप्रसाद, गिरिजाप्रसाद र अहिले सुशील सबैको कार्यकालको अनुभव छ। के/कस्तो फरक छ यिनको काम र कार्यशैलीबीच?
बीपीको कार्यकाल बैग्ले समय हो। त्यो बेग्लै कालखण्ड हो। गिरिजादाजुको कार्यकाल, प्रजातन्त्रका लागि संघर्षको कार्यकाल र प्रजातन्त्र प्राप्तिपछि पटकपटक प्रधान मन्त्री भएको कार्यकाल। कृष्णप्रसाद भट्टराईको कार्यकाल पनि सफल रह्यो। नेपाली कांग्रेसले गरेका आन्दोलन सेफ ल्यान्ड भएका छन्। सात सालमा पनि सेफ ल्यान्ड भयो। २०४६ सालको आन्दोलन पनि सेफ ल्याण्ड भयो। किसुनजीले छोटो समयमा संविधान दिनुभयो। २०४८ सालमा संसदमा काग्रेसको बहुमत आयो। गिरिजाबाबुको कार्यकालमा २०५१ मा कांग्रेस कमजोर भयो। २०५६ मा बहुमत ल्यायो। गिरिजाबाबुले २०६२/२०६३ को आन्देालन सेफ ल्यान्ड गराउनुभयो, संसद पुनर्स्थापना भयो। पछिल्लो सविधान सभाको निर्वाचन कांग्रेसका लागि निकै हानिकारक सावित भयो।
२०६२/६३ को आन्दोलन सेफ ल्यान्ड भएको भन्ने र, खै त संविधान?
सेफ ल्यान्ड किन नभन्ने? आन्दोलनको मुख्य माग संसद पुनर्स्थापना भएर मुलुक संविधान सभामा गएको हो तर संविधान सभाले संविधान दिन सकेन। संविधान सभाले गरेका काम च्यातेर फालेपछि कसरी संविधान लेखिन्छ? अघिल्लो संविधान सभाको टिकटको काम भइसकेपछि इलामका साथीहरूले त्रिचन्द्र कलेजमा बोलाएका थिए, चुनावबारे कुरा गर्न। तीनतीन मिति सरेर संविधान सभा चुनाव हुँदै थियो। मैले त्यहाँ संविधान सभा हुँदैन कि भन्ने डर छ भनें र संविधान सभा भयो भने पनि संविधान लेखिँदैन कि भनेको थिएँ। त्यसबेला मेरा इलामे साथीहरूले मुख पछाडि फर्काएर जिब्रो लेप्य्राएका थिए मलाई। सामुन्नेमा केही भनेनन्। पछि इलाममा पनि मैले त्यस्तै भनेँ, साथीहरूले पत्याएनन्। त्यो मेरो डर थियो।
अहिले के भन्नुहुन्छ, कतिपय संविधान सभा निर्वाचन नगरेर अन्य किसिमले संविधान लेखौं भन्ने पनि छन्?
अहिले त धेरैले भन्न थालेका छन्, संविधान सभाबाट संविधान लेखिँदैन भनेर। म के भन्छु भन्ने कुरा छैन। म जुन परिस्थितिमा छु, यत्ति हो। दोहोर्याएर संविधान सभाको चुनाव कहीँ भएको छैन।
तपाईँ संविधान सभाको निर्वाचन नभए पनि संविधान बनाउन सकिन्छ भन्दै हुनुहुन्छ। तपाईँका धारणा पार्टी संसदीय बोर्ड गठनलगायतका राजनीतिक घटनाक्रमप्रतिको आक्रोश त होइनन्?
मैले वास्तविकता भनेको हो। इतिहासको वास्तविकता हो। संसारको इतिहासमा नभएको कुरा गर्दैछौं।
जनता आफैँले संविधान बनायौं भन्न त पाएनन् नि? तपाईँले भनेजस्तै गर्ने हो भने...
संसारका जुनजुन देशमा संविधान बनेका छन्। संविधान बन्दाखेरीको अवस्था र त्यसबेलाको नेतृत्वलाई कसरी हेर्ने? भारतको संविधान बनाउँदा के भयो, अमेरिकाको संविधान बनाउँदा के भयो? हामीकहाँ त्यस्तो अभ्यास भएको छ? हामीकहाँ त्यस्तो सोच भएन।
आसन्न चुनावमा जातीयता र संघीयताका कुरा प्रवलरूपमा उठ्ने देखिन्छ। कस्तो छ तपाईँको विश्लेषण ?
२०१६ सालमा बीपी कोइरालाले जुन बेला विकेन्द्रीकरणको कुरा पनि उठेको थिएन, धनकुटालाई विभिन्न जिल्लामा बाँडे। नुवाकोट, रामेछापलाई विभिन्न जिल्लामा बाँडे। त्यसबेला विकेन्द्रीकरणको कुरा पनि उठेको थिएन। माग पनि भएको थिएन। बीपीले विकेन्द्रीकरण गरेका थिए। अब जातीयताको कुरा छ। यो मुद्दा अचानक आयो। कहाँबाट आयो थाहा छैन। उठान भएको छ, अन्त्य कसरी हुन्छ थाहा छैन। प्रचण्डले ज्यादा उठाएको हो यसलाई।
जातीयताको मुद्दाको उपचार के त?
पार्टीले यसबारे आफ्नो कुरा भनिसकेको छ। मेरो कुरा त्यही हो। मैले यसमा बेग्लै भन्ने कुरा छैन। मैलै भन्न पनि मिल्दैन। पार्टीले निर्णय गरिसक्यो। त्यही हो मेरो कुरा।
तपाइँलाई कांग्रेस पार्टीमा बसेर के हुन्छ र भनेर कतिपयले आफूतिर तान्ने प्रयास पनि गरिरहेका छन् भन्ने सुनिन्छ नि?
गलत। मलाई कसैले फकाएका छैनन्। जनजातिवालाले आउनुपर्छ भनेका थिए। मैले म नेपाली, संगतले कांग्रेस र जातले गुरूङ हुँ, यो भन्दा बढ्ता मबाट केही नखोज भन्दिएँ।
अघिल्लो संविधान सभा निर्वाचनअघि कांग्रेस संसदीय बोर्डमा हुनुहुन्थ्यो। अहिले पर्नुभएन। कस्तो अनुभव गर्दै हुनुहुन्छ र किन?
म पर्नुपर्छ भन्ने नियम छ र? त्यो बेला म महामन्त्री थिएँ, अहिले छैन।
प्रकाशित: १० आश्विन २०७० २३:४८ बिहीबार