अन्तर्वार्ता

एमाओवादी वर्षाको भेलजस्तै हो

एमाले अध्यक्ष झलनाथ खनाल एमालेका चुनावी कमान्डरसमेत हुन्। विद्यार्थी, युवा जस्ता फाँटका विवाद मिलाउन नसकेको, पार्टीलाई एकताबद्ध तुल्याउन नसकेको जस्ता आरोप खेपिरहेका खनाल अहिले सबै ठीकठाक भएको दाबी गर्छन्। आगामी चुनावमा धेरै ठाउँमा नेपाली कांग्रेससँग प्रतिस्पर्धा हुने ठान्ने खनाल माओवादी वर्षाको खहरे ठान्छन्। त्यसैले उनी भन्छन्– यो सुक्दो छ र अझै खुम्चन्छ किनकि ऊ हरेक कुरामा असफल भइसक्यो।चुनावमा आफ्नो पार्टी एक नम्बर हुने दाबी गनेर् खनालसँग चुनाव, उनकै पार्टीको आन्तरिक विवाद, सरकार र समसामयिक राजनीतिबारे नागरिकका विश्वमणि पोखरेल
उजिर मगरले गरेका कुराकानी :

निर्वाचन क्षेत्रका सबै एमाले नेता/कार्यकर्ता राजधानीमा नेताहरूको घरदैलोमा लाम देखिन्छन् नि? 
नेकपा (एमाले) राष्ट्रव्यापी संगठन भएको पार्टी हो। राष्ट्रको जिम्मेवार पार्टी भएकाले कार्यकर्तामा उत्साह, आकांक्षा जागेको छ। उनीहरू राजधानी आउनु स्वाभाविक हो। हामीले निर्वाचन क्षेत्रमा जान निर्देशन दिइसकेका छौं। कतिपय नेता/कार्यकर्ता अझै बाँकी हुनुहुन्छ। उहाँहरू क्रमशः निर्वाचन क्षेत्र जाँदै हुनुहुन्छ। उनीहरूलाई निर्वाचन क्षेत्रमा पुग्ने वातावरण बनाउँदै छौं। 

टिकटको आकांक्षा लिएर आएको हुल हो? 
स्वाभाविकरूपमा चुनावी सरगर्मीले सबैलाई छोएको छ। सिंगो राष्ट्र प्रभावित भएको छ। हाम्रो पार्टीमा मात्रै होइन, टिकट आकांक्षीलाई मात्रै होइन, सर्वसाधारण जनतालाई समेत चुनावी सरगर्मीले उत्तेजित बनाउँदै लगेको छ। अहिले त्यसैको हुल देख्नुभयो तपाईँहरूले। मान्छे परिचालित भएका छन्। कार्यकर्ता परिचालित हुनु त स्वाभाविक नै हो। 

यो माहोलले अब मंसिर ४ को चुनाव हुनेमा सबै ढुक्क भए भयो? 
मैले त पहिलेदेखि भनिराखेको छु। मंसिर ४ मा दोस्रो संविधान सभा चुनाव हुन्छ। फेरि पनि भन्छु– हुन्छ। मानिसको दिमागमा देबे्र/दाहिने जे लागे पनि चुनाव मंसिर ४ मै हुन्छ। 

निर्वाचन कार्यतालिका जस्तै सरकारले मनोनयन दर्ता मिति पनि सार्ने प्रस्ताव गरेअनुसार निर्वाचन आयोगले यस्तो मिति पनि सार्‍यो। यो किन आवश्यक पर्‍यो? 
लामो समय वार्तामा लाग्यौं। नेकपा–माओवादीलगायत् अन्य पक्षसँग वार्तामा लाग्यौं। त्यसले गर्दा समय त्यता बित्यो। हाम्रो तयारी पुगेन। तयारी नपुगेका कारण मनोनयन दर्ता गृहकार्यका लागि समय अपुग हुने भयो भनेका हौं। आन्तरिक तयारीका कामले यथोचित समय भएन। त्यही कुरा हामीले सरकारसँग गरेका हौं। सरकारले निर्वाचन आयोगलाई आग्रह गरेको हो। यो आपसी व्यवस्थापनको पातो हो। 

मनोनयन दर्ताको म्याद बढाउने प्रस्ताव कुनै एक दलको चाहनाले आएको हो कि ४ दलकै सहमतिमा? 
यो कसैको इन्टे्रष्टमा होइन। हामी ४ दलले सामूहिकरूपमा मनोनयनको म्याद बढाउनुपर्छ, आन्तरिक गृहकार्य पुगेको छैन भनेका हौं। आन्तरिक व्यवस्थापन गर्न सकेनौं, हामी चारै दल वार्तामा ब्यस्त भयौं। आन्तरिक व्यवस्थापनका लागि यो सामूहिक प्रस्तावका रूपमा ल्याएका हौं।

वार्ताको ढोका खुलै रहेकाले अझै वैद्य माओवादीलाई फकाउन त्यसो गरिएको भनिन्छ नि? 
कुनै पनि डेमोत्रे्कटिक मुलुकमा, कुनै पनि डेमोत्रे्कटिक पार्टीले विपक्षीसँग वार्ताको ढोका बन्द गर्दैन। हाम्रो पनि वार्ताको ढोका खुला छ। उहाँहरु पुनर्विचार गरी चुनावमा आउन चाहनुहुन्छ भने हामी त्यसका लागि तयार छौं। 

वैद्य माओवादीसँग लामो वार्तामा बस्नुभयो। के उनीहरू चुनावमा आउलान् जस्तो लाग्छ? 
वैद्यजीको माओवादीले जुन दृष्टिकोण, अवधारणा बनाएको छ, त्यस हिसाबले अहिले उनीहरू चुनावमा आउन सक्ने अवस्था देखिन्न। हामीले उहाँहरूलाई मंसिरकै चुनावमा आउन भन्यौं। मंसिरको चुनावको अर्कै ऐतिहासिकता छ भनेका हौं। तर उहाँहरू आउन नसक्ने बताउनुभयो। आफ्नै अडानले उहाँहरूलाई चुनावमा आउन दिएन। उहाँहरू चुनावमा आउँछौं पनि भन्नुहुन्छ। तर अडान कायम राख्नुहुन्छ। जुन अडानले मंसिरको चुनावमा उहाँहरु आउनुहुन्न। वैद्यहरुको विचारले, दृष्टिकोणले, उहाँहरूभित्र रहेको जडसूत्रवादी चिन्तनले चुनावमा आउन दिएन। 

वैद्य माओवादीको चुनावमा नआउने चाहना देख्नुभयो कि अडानमात्रै राखेको? 
व्यावहारिकरूपमा उहाँहरुको अडान, चिन्तन, दृष्टिकोणकै कारण चुनावमा आउन सक्नुभएन। 

वैद्य माओवादीले चुनावमा सहभागी नभए बिथोल्ने कुरा गरिरहेको छ नि? 
कसरी जानुहुन्छ, त्यो गम्भीर विषय हो। निर्वाचनमा सहमति नराख्ने, विमति राख्ने उहाँहरूको कुरा हो। यो संविधानबमोजिम छ। तर अरुले निर्वाचन गर्ने अधिकार, हक हो। त्यो हकलाई कुनै पनि ढंगले निषेध गर्ने हक छैन। शान्तिपूर्ण ढंगले विरोध, असहमति राख्न सक्नुहुन्छ। निर्वाचन बहिष्कार गर्नुहुन्छ कुनै आपत्ति छैन तर उहाँहरू जबर्जस्त गरेर आउनुहुन्छ भने राज्यले सहन गर्न सक्दैन। 

मतपेटिकामा बम खस्ने, भौतिक कार्बाही गर्ने जस्ता अभिव्यक्ति आइरहेको छ नि उहाँहरूबाट? 
गाडी जलाउने, मतपेटिका फुटाउने, मतदातालाई मतदानबाट वञ्चित कोसिस गर्ने यी सबै फौजदारी मुद्दाका कुरा हुन। फौजदारी अपराधका कुरा हुन। उहाँहरूले मुलुकका लागि हुने निर्वाचनमा कुनै पनि फौजदारी अपराध गर्नुहुने छैन भन्ने आशा गरौं। उहाँहरूले त्यसो गर्नुभयो भने फौजदारी अपराध हुन्छ। त्यस्ताखालका हर्कत भएपछि राज्य आफ्नो कानुन, ऐन लगाउन तयार हुन्छ। 

वैद्य माओवादीलाई ठूलै शक्ति मानेर हो राज्यले सुरक्षा नीति लिएको? 
आगामी निर्वाचन देशको भाग्य फैसला गर्ने चुनाव हो। यो सामान्य किसिमको संसद, नयाँ सरकार बनाउनेखालको चुनाव होइन। संविधान बनाउने चुनाव सफल बनाउन राज्यले सम्पूर्ण शक्ति परिचालन गर्नुपर्छ। एउटा नेपाल प्रहरी मात्रै होइन, सशस्त्र मात्रै होइन, नेपाली सेनालाई समेत प्रयोग गरेर नेपाली जनतालाई निर्भिकता साथ मतदान गर्ने वातावरण तय गरिनुपर्छ। स्वतन्त्रताका साथ निर्वाचन सम्पन्न गर्न सुरक्षा नीति बलियो बनाउनुको विकल्प छैन। 

अघिल्लो संविधान सभाका झण्डै ७० जना जति लिएर बसेको वैद्य माओवादीको सहभागिताविना अर्को संविधान बन्ला र? 
नेकपा–माओवादीले जतिसुकै कोसिस गरे पनि निर्वाचन बिथोल्न सक्दैन। निर्वाचन बिथोल्नका लागि ऊसँग पर्याप्त जनशक्ति छैन। उनीहरूको शक्ति, कार्यकर्ता पूरै परिचालित हुन सक्दैनन्। त्यो आफैँ विभाजित हुन्छ। एउटा सानो सेक्सनमात्रै सम्भवतः बहिष्कारका लागि उत्रन्छ। आमजनताले बहिष्कारलाई समर्थन गर्ने कुनै सम्भावना छैन। राष्ट्रिय/अन्तर्राष्ट्रिय कुनै पनि समुदायले त्यसलाई समर्थन गदर्ैैनन्। त्यसैले निर्वाचन सम्पन्न गर्न हामी सबैले राम्रो तयारी गर्नुपर्छ। 

वैद्य माओवादीलाई छाडेर गए पनि संविधान बन्छ भन्ने निष्कर्षमा चार दल पुगेको हो? 
– हामीले नेकपा–माओवादीलाई छाडेर जाने भनेकै छैनौं। अहिले पनि सँगै जाऔं भनेका छौं। हामी निर्वाचन प्रक्रियाबाट जाऔं भनेका छौं। तर उहाँहरू आफैँ छाडेर जाँदै हुनुहुन्छ। आफँै छाडेर जानुहुन्छ भने हामीले के भन्ने?

प्रसंग बदलौं, पार्टीभित्र टिकट कसरी मिलाउँदै हुनुहुन्छ? 
हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक परिपाटी, मान्यताबाट काम गर्छ। त्यही आधारमा पार्टीले टिकट वितरण गर्छ। हामीले प्रत्येक क्षेत्रको क्षेत्रीय कमिटीबाट सिफारिस मागेका छौं। त्यसैको आधारमा जिल्ला कमिटीका सिफारिस, अञ्चल कमिटीको सिफारिसलाई ध्यान दिएका छौं। हिजो हामीले सबै अञ्चल इन्चार्जहरूबाट सुझाव लिएका छौं। केन्द्रीय कमिटीका इन्चार्जहरूसँग समेत छलफल गरेका छौं। टिकट वितरणका लागि केन्द्रीय कमिटीले निर्णय गर्नमात्रै बाँकी छ। धेरै कुरा समाधान भइसकेका छन्। केही विवाद भएका ठाउँमा मिलाउँदै छौं। सन्तुलन मिलाएर उम्मेदवारको लिस्ट सार्वजनिक गर्छौं। 

सन्तुलन मिलाउने भन्नाले पार्टीभित्र गुट कायमै छ भन्नुभएको हो? 
धेरै कुरा सन्तुलन मिलाउनुपर्छ। पार्टीभित्रको पनि सन्तुलन मिलाउनुपर्छ। तपाईंहरुले भने जस्तो नेताहरूको पनि सन्तुलन मिलाउनुपर्छ। जस्तै– जाति, भाषा, लिङ्ग, क्षेत्रमा समेत सन्तुलन मिलाउनुपर्छ। हाम्रो समाजमा जुन जुन ठाउँमा सन्तुलन मिलाउनुपर्ने हो, त्यहाँ मिलाएर उम्मेदवार घोषणा गर्र्छौं।

गुटहरू मिलाउन नसक्ने झलनाथ खनाललाई कमजोर नेतृत्व अर्थात् अध्यक्ष भन्छन नि? 
यो तपाईँहरू जस्ता मिडियाले हल्ला गरेको हो। नेकपा (एमाले)को अध्यक्ष कमजोर छ कि छैन भन्ने थाहा पाउन हाम्रो विधान पढ्नूस्। त्यो विधानले अध्यक्षलाई के/कति अधिकार दिएको छ त्यो हेर्नूस्। त्यही विधानअनुसार पार्टीलाई नेतृत्व गरिरहेको छु। अहिले यो सम्पूर्ण चुनावको कमान्डरसमेत मै हुँ।

सबै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस भयो। सबै क्षेत्रको रिपोर्टका आधारमा अबको चुनावपछि एमालेको स्थान कहाँ हुने देख्नुहुन्छ? 
पटक–पटक एमालेले २ सय ४० क्षेत्रको लेवलबाट हेरेको छ। हामीले माथिबाट राजनीतिक आँकलन गरेर, राजनीतिक आकांक्षा राखेर महत्वाकांक्षा राखेर विभिन्न किसिमको योजनामात्रै बनाउने होइन। हामीले २ सय ४० क्षेत्रमा हाम्रो अवस्था कस्तो छ भनेर मूल्याकंन गर्ने हो। हामी कम्तिमा पनि सयभन्दा बढी सिट जित्छौं। यो हिसाबले एमाले पहिलो पार्टी बन्छ। एमाले बहुमत लिने पार्टी हुनेछ। एमालेको बहुमत र लोकतान्त्रिक शक्तिको दुई तिहाई मत मिलाएर नयाँ संविधान बनाउने छौं।

एमालेलाई सधैं ढुलमुले नीति अख्तियार गर्छ भन्ने आरोप छ नि?
यी भन्ने संस्था, पार्टीहरू द्वैध चरित्र भएकाहरू हुन। जनताको बहुदलीय जनवाद मान्ने एमालेलाई यो आरोप लगाउनु गलत हो। एमाले स्थिररूपमा जनताको बहुदलीय जनवाद अंगिकार गरेर हिँडेको पार्टी हो। उग्रवामपन्थी सोच राख्नेहरू बदलिँदै छन्। दक्षिणपन्थी यथास्थितिवादीहरू पनि बदलिँदै छन्। जनताको बहुदलीय जनवाद एमालेको कार्यदिशा हो। जुन कार्यदिशाअनुसार एमाले अघि बढेको छ। कुनै ढुलमुल छैन। एमाले दूरदृष्टिका साथ अघि बढ्ने पार्टी हो। कसैले ढुलमुले भन्नु सरासर गलत हो। अरू सबै दल एमालेको कार्यदिशा वरपर घुम्दैछन् भन्ने पुष्टि इतिहासले पुष्टि गर्नेछ। 

इतिहासको कालखण्डमा तपाईँ त पाँचौ महाधिवेशनमा जनताको बहुदलीय जनवादविरुद्ध उत्रनुभयो। 'जवज' लाई दक्ष प्रजापतिको टाउको भन्नुभाथ्यो नि? 
यो विल्कुल गलत कुरा हो। तपाईँले हाम्रो पार्टीको इतिहास हेर्नुभयो भने चौथो महाधिवेशन २०४६ सालमा सम्पन्न भयो। त्यही बेला अब आउने जनवाद भनेको बहुदलीय जनवाद हुन्छ भनेका थियौं। त्यतिबेला पार्टीको नेतृत्व मैले गरेको थिएँ। पाँचौ महाधिवेशनमा त्यो बहुदलीय जनवादलाई कमरेड मदन भण्डारीको नेतृतवमा कार्यक्रमिक दस्तावेजीकरण गरिएको हो। र, महाधिवेशनमा उहाँले पेश गर्नुभएको हो। अब हाम्रो कार्यदिशा जनताको बहुदलीय जनवाद हुन्छ भन्नुभएको हो। त्यो अत्याधिक बहुमतले पारित भएको हो। मेरा केही मतभिन्नता थिए। ती मतभेद समयक्रममा समाधान भएका छन्। मेरै नेतृत्वमा आठौं महाधिवेशनमा आइपुग्दा जनताको बहुदलीय जनवाद पार्टीको मार्गदर्शनको एक अंग हो भनेर पारित गरेको छु। बाहिर चलखेल गर्नेहरुको कुतर्कबारे केही भन्नु छैन। 

तपाईँ अध्यक्ष भएपछि भातृ संगठनहरू युवा, विद्यार्थीमा धेरै विवाद देखियो नि? यो तपाईँको नेतृत्वप्रति उपहास भएन र? 
आठौं महाधिवेशनपछि पार्टीभित्र विवाद देखिएको हो। विशेष गरेर वैैचारिक, राजनीतिक भन्दा अलिकति निजात्मक समस्या छन्। यी निजात्मक समस्याले पार्टीभित्र खास गरेर गुटबन्दी सिर्जना गर्‍यो। अहिले हाम्रो पार्टी एक ढिक्का छ। गुटका केही प्रतिविम्बहरू जनवर्गीय संगठनहरूमा देखापरेका छन्। प्रतिविम्ब देखा पर्दापर्दै पनि उनीहरू एक ढिक्का भएर अघि बढेका छन्। एमालेलाई संगठनात्मकरूपले एक बनाएर वैचारिक र राजनीतिकरूपमा विभिन्न बहस चलाएर निष्कर्ष निकालेर अघि बढेका छौं। 

निजात्मक समस्या भन्नुहुन्छ, युवा संघलगायत्मा बाहुबलका आधारमा निर्णय गर्ने र तपाईँको कमान्ड नस्वीकार्ने काम भएको छ नि ? 
कुनै पनि अराजकतावादी, गुण्डागर्दी चरित्रहरू, बाहुबलको आधारमा अघि बढ्नेको विरोध गर्छौं। यी सबै निम्न पुँजीवादी चरित्रका आधार हुन। कम्युनिस्ट पार्टीभित्र पनि यस्ता प्रवृत्तिको प्रतिविम्ब हुन सक्छन्। यस्ता प्रवृत्तिविरुद्ध निरन्तर, अविछिन्नरूपमा पार्टीले वैचारिक संघर्ष गर्छ। क्रान्तिकारी पार्टीका रूपमा एमालेलाई स्थापित गर्छौं।

पार्टी अध्यक्षले भेला रोक्न पत्राचार गर्दागर्दै युवा संघको एक पक्षले त मानेन नि?
त्यो पनि गलत प्रवृत्ति हो। मैले भनेको एक सेक्सनले मान्यो। एउटाले मानेन। त्यसपछि विवाद भयो। विवाद मिलाउन एउटा अधिकार सम्पन्न तीन सदस्यीय टोली गठन भयो। टोलीले निष्कर्ष निकाल्यो। टोलीको निर्णयअनुसार आत्मालोचना, आलोचना गरेर अहिले मिलेको छ। अहिले युवा संघ एक ढिका भएको छ। कहिलेकाहीँ समस्या आउँछन्। समस्यासँगै समाधान गरेर संगठन मजबुत बनाएर अघि बढाएका छौं।

यही बेला युथ फोर्स ब्युँताउने काम भयो नि? 
युथ फोर्स ब्युँताएका छैनौं। युवा संघभित्र एउटा युथ फोर्स भनेर विभाग बनाएका छौं। त्यो युवा संघको विभाग हो। राष्ट्रव्यापी संगठन भनेर युथ फोर्स बनाएका छैनौं। सुरक्षाका अनेक संगठन बनाउन सक्छौं तर युथ फोर्स ब्युँताएको भने होइन। 

युथ फोर्स सुरक्षाका लागि गठन गरिएको हो? 
युथ फोर्स सुरक्षाका लागि हो। सम्पूर्ण युवा पंक्तिलाई समेट्न गठन गरिएको हो। यो विभागले कुन ढंगले काम गर्छ, हामी मूल्यांकन गर्छौं। 

लामो समयदेखि विवादमा अल्भि्कएको अखिलको सम्मेलन आजै (बिहीबार)देखि सुरू भएको छ। विवाद साम्य पार्छ सम्मेलनले? 
अखिलको सम्मेलन आजदेखि सुरु भएको छ। म उद्घाटन गर्न जाँदैछु। यो सम्मेलनले अखिलको अग्रगति, प्रगतिमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। म अखिललाई हार्दिक शुभकामना दिन चाहन्छु।

पार्टीभित्रका केही युवा जनताको बहुदलीय जनवादको नयाँ विश्लेषण हुनुपर्छ भनेर बहसमा उत्रेका छन् नि?
जनताको बहुदलीय जनवादले नेपाली समाजमा उत्पन्न भएका कुनै पनि प्रकारका चुनौती र समस्या हल गर्नुपर्छ। नेपाली क्रान्ति, समाज अघि बढिरहेको छ। नेपाली जनताको चेतना खुलेको छ। यी सबैलाई अघि बढाउन जनताको बहुदलीय जनवादले समायोजन गरेर जानुपर्छ भन्ने हो। यसलाई अपडेट बनाउने जुन सोच आएको छ, त्यो राम्रो हो। यो सोचबारे नवौं महाधिवेशनमा गम्भीररूपमा छलफल गर्ने छौं। पार्टीव्यापी छलफल गर्नेछौं। अहिले हामी चुनावी प्रक्रियामा केन्द्रित भएका छौं।

पार्टी हेडक्वार्टरले नै बहसलाई थाँती राख्न निर्देशन दिएको हो? 
हो, अहिले यसलाई थाँती राखेर चुनावमा होमिन निर्देशन दिएका हौं। निर्वाचन नजिक आइसकेकाले पार्टीको सम्पूर्ण जिम्मेवारी चुनाव भएकाले त्यसलाई थाँती राखेका हौं। बहस, विवादका कुराहरू थाँती राखेका छौं। केन्द्रीय समितिले निर्णय गरेरै थाँती राखेको छ। बहस हुन्छन्। नवौं महाधिवेशन एमालेको अत्यन्तै रोचक, रोमाञ्चकारी हुनेछ। बहस के विषयमा हुन्छन् बुझ्न, लेख्न तम्तयार हुनुहोस्। अहिले पार्टी पुरै चुनावमा केन्द्रित हुन्छ।

रोचक हुने महाधिवेशनमा अध्यक्षको भूमिका के हुन्छ त? 
भूमिका त्यही बेला हेर्नुहोस्। निश्चितरूपले आफ्नो भूमिका लिएर आउँछु। म विचारको मान्छे हुँ। मेरो विचार नवौं महाधिवेशनमा प्रष्ट हुनेछ। 

पार्टीले बहुमत लिने दाबी गर्दै गर्दा पहिचानको मुद्दा लिएर उपाध्यक्ष अशोक राईसहितको टिम बाहिरिएको छ। यो अवस्थामा पहिचानबारे एमालेको प्रष्ट्याइँ के हो? 
एमाले राज्य पुनर्संरचना गर्ने पक्षमा छ र अन्य दल पनि छन्। यसमा चारवटा पक्ष छन्। एउटा जातिको आधारमा संघीयता हुनुपर्छ भन्ने। यो गलत सोच हो। अत्यन्त दक्षिणपन्थी सोच हो। र, यो राष्ट्रिय एकता विरोधी सोच हो। यो सोचका आधारमा राज्य पुनर्संरचना गर्न सक्दैनौं। दोस्रो भाषाका आधारमा पुनर्संरचना गर्नुपर्छ भन्ने सोच छ। भाषाका आधारमा मात्रै पनि गर्न सकिन्न। सबैतिर ती कुरा लागु हुन पनि सक्दैन। यो पनि गलतै सोच हो। हामी त्यो आधार मात्रैबाट पनि जान सक्दैनौं। तेस्रो भूगोलको आधारमा गर्नुपर्छ भनिएको छ। तराई, पहाड र हिमाल प्रदेश तीन फरक फरक भनिएको छ। यो अर्को राष्ट्रलाई नै विखण्डन गर्ने सोच हो। यो वास्तवमा अराष्ट्रियय सोच पनि हो। देश विरोधी सोच हो। राष्ट्रिय एकता विरोधी सोच हो। यो आधारमा पनि राष्ट्रको पुनर्संरचना गर्न सकिन्न। हाम्रो सिंगो राष्ट्र नै बहुपहिचानको राष्ट्र हो। बहुपहिचानका आधारमा राष्ट्र पुनर्संरचना गर्छौं। हामी क्षेत्र, जिल्ला, गाउँ सबैको धरातल हेर्दा त्यही देख्छौं। त्यसो भएको हुनाले बहुपहिचानको आधारमा राज्य पुनर्संरचनाको पक्षमा छौं। त्यही अवधारणामा हामीले ७ प्रदेश प्रस्ताव गरेका छौं। 

बहुपहिचानका आधार के/केलाई मान्ने नि? 
बहुपहिचानमा जाति, भाषा, भूगोल, ऐतिहासिकतालगायत सबै चिज हुन्छ। ती सबै चिजको 'कमन' का आधारमा बहुपहिचान मान्छौं।

जस्तो बहुपहिचानको उदाहरण दिनुपर्दा? 
यसको उदाहरण, जस्तो– नेवाः, ताम्सालिङ र वागमती हुन सक्छ।

आठौं महाधिवेशनमा तपाईँका प्रत्यासी केपी ओली नवौं महाधिवेशनमा पुनः आकांक्षी देखिएको र अहिले तपाईँचाहिँ माधव नेपालसँग लहसिएको भनिन्छ नि? 
मैले केपी ओलीजीसँग पार्टीमा एकता कायम गर्नुपर्छ भनेर ११ बुँदे सहमति गरेको छु। कमरेड माधवकुमार नेपालसँग पनि एकताबद्ध भएर जानका लागि सहमति गरेको छु। मैले दुवै नेतासँग गरेको सहमतिले पार्टी एक ढिक्का देखिएको छ। नवौं महाधिवेशन एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नका लागि यी सहमति भएका छन्। त्योभन्दा पहिला यो पार्टीको एकता निर्वाचनमा प्रतिविम्बित गर्र्छौं। त्यो बेला एमालेलाई पहिलो पार्टी बनाउँछौं।

नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई आफ्नो उत्तराधिकारी बनाउँदै हुनुहुन्छ भन्ने छ नि?
यी सबै हल्लाका कुरामात्रै हुन। हाम्रोबीचमा त्यस्तो कुनै छलफल पनि भएको छैन, सहमति पनि भएको छैन। बरु पार्टी एक ढिक्का बनाएर नवौं महाधिवेशन एकताको महाधिवेशन बनाउने तयारीमा जुटेका छौं। 

पहिलो पार्टी बन्ने दाबी गर्दै गर्दा मुख्य प्रतिस्पर्धी कुन पार्टी हो? 
अहिलेको चुनावलाई भन्नुभयो भने धेरै ठाउँमा कांग्रेससँग प्रतिस्पर्धा हुन्छ। त्यसैगरी विभिन्न ठाउँमा एकीकृत माओवादीसँग प्रतिस्पर्धा हुन्छ। कतिपय ठाउँमा मधेसी मोर्चासँग पनि प्रतिस्पर्धा हुन्छ। ठाउँ हेरेर प्रतिस्पर्धा हुन्छ। धेरै ठाउँमा कांग्रेससँगै प्रतिस्पर्धा हुन्छ। 

कांग्रेससँग त २०४८ देखि नै प्रतिस्पर्धा गरेको अनुभव छ तपाईंहरूसँग। एकीकृत माओवादीलाई कसरी आँकलन गरिराख्नुभएको छ? 
एनेकपा (माओवादी) भनेको वर्षाको भेलजस्तै हो। वर्षात्को भेल उर्लेको बेलामा त्यो सबभन्दा ठूलो दल बन्यो। सबभन्दा ठूलो दल बनेर राष्ट्रको ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो गर्न सकेन। त्यो पार्टी पूर्णरूपले असफल भयो। नीति, सिद्धान्त, कार्यनीति सबै उसका असफल भए। अबका दिनमा एकीकृत माओवादी झन्झन् खुम्चिँदै जानु छ। आउने निर्वाचनमा एकीकृत माओवादीको भविष्य देख्दिनँ। एकीकृत माओवादी पहिलेको तुलनामा धेरै खुम्चन्छ। 

उच्चस्तरीय राजनीतिक समितिले के कति काम गर्न सक्यो, भन्न चाहनुहुन्छ? 
उच्चस्तरीय राजनीतिक समितिले कतिपय राजनीतिक समस्या समाधान गर्न, सहमति निर्माण गर्न, मुलुकमा राजनीतिक वातावरण निर्माण गर्न, निर्वाचनका प्रक्रिया अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। अब पनि समितिले भूमिका निर्वाह गर्छ।

समितिले सरकारलाई कत्तिको नियन्त्रणमा राख्न खोजेको छ? 
सरकार अनियन्त्रित नै भएर गएको छैन। केही केही निर्णयमा अलिक स्वतन्त्रतावाद हावी हुन खोजेको हो कि भन्ने देखिएको छ। यदि सरकारले पोलिटिकल पार्टीहरुको सरसल्लाह छाड्यो भने यसले बाटो बिराउँछ। त्यसलाई आलोचना गर्ने अवस्था आउँछ। अहिलेसम्म त्यस्तो गम्भीर कुरा देखा परेको छैन। मूलभूत कुरा भन्दा राजनीतिक दलहरूकै सल्लाहमा सरकार अघि बढेको छ। 

सरकारमा स्वतन्त्रतावाद हावी भएको भन्नुभयो। कुन कुन विषय छन् त्यस्तो? 
यी कुरालाई प्रेसमा बहसका लागि नभनौं।

छलफलमै आयो नि सरकारका अध्यक्ष खिलराज रेग्मीलाई राष्ट्र संघ नजान भन्दा पनि मान्नुभएन चार दलको आग्रहलाई? 
मुलुकको आवश्यकताअुनसार कुनै पनि सरकार चल्नुपर्छ। त्यो आवश्यकता सरकारले कति गहिराईबाट लिन्छ भन्ने हामीले हेर्ने कुरा हो। हामीले दिने सरसल्लाह दिइसकेका छौं। सुझाव दिएका छौं। कसरी लिने भन्ने कुरा सरकारको हो। सबै विवादका कुरा छ भन्ने छाडौं। अहिले सरकार र उच्चस्तरीय राजनीतिक समितिबीच राम्रो सम्बन्ध छ। सम्बन्धकै आधारमा मुलुक हाँकिरहेका छौं। 

दलका नेताहरू चुनावमा होमिने, एक आपसमा प्रतिस्पर्धी बन्दै आरोप/प्रत्यारोपमा उत्रने, यही बेला पारेर सरकार्के आफूखुसी गर्ने सम्भावना त हुँदैन? 
यो सरकार एउटा सहमतिबाट बनेको हो। यो कुनै भुइँफुट्टा भएर बनेको सरकार होइन। सहमतिको परिधिभित्र रहेर काम गर्नुपर्छ। त्योभन्दा बाहिर गरेर काम गरे सरकारमा समस्या उत्पन्न हुन सक्छ। जहाँसम्म चुनावी सरगर्मीको कुरा बढ्दै जाँदा एक आपसमा कडा आलोचना हुन सक्छ तर हामीले सबै कुरा हेक्का राखेर राजनीतिक सहमति गरेर जानुपर्छ। सरकारलाई व्यवस्थापन गरेर जाने कुरालाई हामीले हेक्का राख्नुपर्छ।

तपाईँलाई ढिला गरी दिल्लीको निम्तो आयो नि? 
भारतका विदेश सचिव, नेपालस्थित राजदूत अस्ति आउनुभएको थियो। उहाँहरुले भ्रमणका लागि निम्ता दिनुभएको छ। त्यो निम्ता ग्रहण गरेको छु। उपयुक्त समयमा भारत भ्रमण गर्छु। चुनाव अघि वा पछि भन्न सक्दिनँ।

एमालेका सबै शीर्ष नेताहरू प्रत्यक्षमा जानुहुन्छ कि समानुपातिकमा बस्नुहुन्छ? 
हामी शीर्ष नेताहरू चुनावमा जाने चुनौती आएको छ। त्यो चुनौतीलाई सबै नेताले सामना गर्नुपर्छ। त्यो चुनौती सामना गरेरमात्रै हामी जनतामा स्थापित हुन्छौं। पार्टीलाई जनतामा स्थापित गर्छौं। 

शीर्ष नेताहरू हार्ने डरले दुई ठाउँबाट उठ्न लागेका छन् भनिन्छ नि? 
म इलाम १ बाट उठ्छु। त्यसबाहेक विभिन्न ठाउँबाट प्रस्ताव आएको छ। जस्तो तराईका केही क्षेत्र, ललिपुरको १ नम्बरबाट समेत प्रस्ताव आएको छ। चुनावी माहोल बनाउनका लागि दुई ठाउँबाट उठिन्छ।

२०६४ को चुनावमा उपत्यकामा जिरो भएको एमाले अहिले उपत्यका कब्जा गर्ने योजनामा छ भनिन्छ नि? 
पहिले एमाले उपत्यकामा शून्य भयो। अब अरू पार्टीलाई शून्य बनाउने योजनामा एमाले लागेको छ।

प्रकाशित: ३ आश्विन २०७० २३:२८ बिहीबार