अन्तर्वार्ता

वैद्यजी चुनावमा आए तालमेल हुने हामीसँगै हो

काठमाडौं- मूलधारे राजनीतिमा आएदेखि नै नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहँदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल यतिबेला आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरिरहेका छन्। कहिले अन्य दललाई आफ्नो एजेन्डामा नत्थी लगाएर ल्याउने त कहिले वाइसीएल लगाएर भए पनि चुनाव गराइछाड्ने जस्ता अभिव्यक्तिका कारण विवादमा आइरहने दाहाल अहिले भने पूरै चुनावमै ब्यस्त देखिन्छन्। वैद्य माओवादी चुनावमा आउन चाह्यो भने चुनावको मिति १०–१५ दिन सार्न सकिने भनाई राख्दै उनले नागरिकका प्रतीक प्रधान, विश्वमणि पोखरेल र उजिर मगरसँग भने– राष्ट्रपतिले शुक्रबार बोलाएको बैठकमा वैद्यजीहरु आफ्नो निष्कर्षसहित आउनेछन्। 


देश अहिले निर्वाचनमय बनेको हो अध्यक्षज्यू? 
निर्वाचनको वातावरण बनेको हो। पछिल्लोपल्ट संघीय समाजवादीका अशोक राईजीहरु समेत निर्वाचनमा आउने भनेपछि वातावरण बनेको छ। सरकार र निर्वाचन आयोगको तयारीले पनि देश निर्वाचनमय बनेको छ। निर्वाचन जनताले पनि चाहेका छन्। म देशको मुख्य मुख्य ठाउँमा पुग्दा निर्वाचनको माहोल देखेँ। जनता छिटोभन्दा छिटो चुनाव होस् भन्न चाहन्छन्। अन्तर्राष्ट्रिय समुदायसमेत चुनावकै पक्षमा देखिएको छ। 

एकीकृत माओवादी आफैँ चुनाव चाहँदैन भन्ने आरोप छ नि? 
यो कुरा मलाई अनौठो लागेको छ। हाम्रो पार्टीले निर्वाचनकै लागि सरकार छोड्यो। हामीले ११ बुँदे, २५ बुँदे सहमति गर्दा असारमा नै चुनाव गरौं भन्नेमा जोड दियौं। यो नेपाली जनता सबैलाई थाहा भएकै कुरा हो। सबैभन्दा पहिले निर्वाचनका लागि घोषणापत्र बनाउन, उम्मेदवार चयन गर्न समिति बनायौं। तलैबाट काम सुरु गरेको पार्टी हाम्रो पार्टी हो। तपाईंहरुले देख्नुभएकै छ, पहाड र मधेसका खासखास ठाउँमा म आफैँ पुगेर निर्वाचन गराउने वातावरण बनाएर आएको छु। र, पनि मानिस प्रश्न गरिरहेका छन्। यो कतै न कतै नियोजित ढंगले प्रचार त भएको छैन भन्ने मलाई लाग्या छ। जति छिटो चुनाव भयो, त्यो हाम्रा लागि राम्रो हो। मधेसमा हाम्रो पार्टीमा प्रवेश गर्नेको ठूलो लहर चलेको छ। निर्वाचनमा गए हामीले जित्छौं भन्नेमा पुगेका छौं। एकीकृत माओवादीले निर्वाचन सार्ने कहीँ कतै पनि कल्पना गरेको छैनौं। 

पदाधिकारी बैठकमा चुनाव नहुन सक्छ भन्नुभयो रे, बाहिर यस्तो कुरा आएको छ नि? 
मैले त्यसो विल्कुल भनेको छैन। मैले वैद्यजीहरुलाई चुनावमा लिन अन्तिम प्रयत्न गर्नुपर्छ भनेको हुँ। सार्ने कुरा मैले कहिल्यै गरेको छैन। 

वैद्यजीहरुलाई लिने अन्तिम प्रयासमा कत्तिको आत्मविश्वास छ?
एउटा कुरा के देखिन्छ भने वैद्यजीले नेतृत्व गर्नुभएको माओवादी पहिलेभन्दा अहिले विस्तारै चुनावमा आउन खोजेको देखिन्छ। चुनावी माहोल बन्दै गयो। सबै दल चुनावी प्रक्रियामा आएपछि वैद्यजीलाई राजनीतिक दबाब परेको छ। उहाँहरुको पार्टीभित्रको छलफल हेर्दा अलिकति …फेस सेभ' गरेर उहाँहरुले उठाएका केही कुरालाई सम्बोधन गर्दा वैद्यजीहरु चुनावमा आउनुहुन्छ जस्तो लाग्छ। 

फेस सेभ गराइदिन्छु भनिरहनुभएको छ नि?
हिजो पनि हाम्रो छलफल भयो। मंसिरमै चुनाव गर्ने र त्यसमा सहभागी हुने हो भने तपाईंहरुको गोलमेच सम्मेलन राख्ने भनेका छौं। राष्ट्रपतिले पनि बोलाइसक्नुभएको छ। त्यसलाई नै गोलमेच माने पनि भयो। अर्को गोलमेच गर्न पनि सकिने भयो। आखिर बाधा अड्काउ पनि फुकाउनुपर्ने। त्यसमा तपाईंहरुको ११ बुँदे, २५ बुँदे सहमतिमा केही गुनासा छन् भने त्यसलाई सच्चाउन सकिन्छ। उच्चस्तरीय राजनीतिक समिति भंग गर्न पनि तयार छौं भनेका छौं। उहाँहरुको बल सरकार बदल्नेमा बढी छ। चुनाव तयारीका लागि समय अलि पुगेन भन्ने अर्को ऐजेन्डा पनि उहाँहरुको छ। 

वैद्यजीहरु आउने हो भने मंसिर ४ गते कि मंसिरभित्र चुनाव भन्नुभएको छ त? 
चुनाव मंसिर ४ गते नै भन्ने छैन। पाँच, दश, पन्ध्र गतेसम्म हुन सक्छ। यदि उहाँहरु आउनुहुन्छ भने मंसिरभित्रमा चुनाव गर्न सकिन्छ। सिजनले हिमाली क्षेत्रमा केही समस्या हुन्छ। नत्र ८, १० दिन समय दिन कुनै समस्या छैन। उहाँहरुको पार्टी दर्ता भएको छैन। पार्टी दर्ता गर्न दिनुपर्यो।। नेताहरूकै मतदाता नामावली छैन। त्यो बनाउन दिनुपर्योह। उहाँहरु आउने हो भने ८, १० दिन सकिन्छ। 

वैद्यजीहरु चुनावमा आउँदा तपाईंँहरुको पार्टीले गरेको आँकलनमा प्रभाव पार्छ भनिन्छ नि? 
तपाईंहरुले भनेजस्तो होइन। उहाँहरु चुनावमा आएर हामीसँग तालमेल गरेर गए राम्रो हुन्थ्यो। उहाँहरु आएर आफ्नै ढंगले चुनावमा जानुभयो भने त्यो राम्रो भन्न मिल्दैन। उहाँहरू चुनावमा आउँदा पनि खासै त्यस्तो असर पर्दैन। तल जनतामा फुटको कुनै असर छैन। फुटको असर माथि देखिने र मिडियामा मात्रै देखिने हो। 

वैद्यजीको माओवादी यदि चुनावमा जाने हो भने एकीकृत माओवादीसँगै मिलेर जानुपर्छ भनेर नेत्रविक्रम चन्दले भनिरहनुभएको छ नि? 
उहाँले त्यो कुरा भन्नुभएको छ। चुनावमा जाने भएपछि एकीकृत माओवादीसँगै मिलेर जानुपर्छ भन्नुभएको छ। चन्दजीले यतिसम्म भन्नुभएको छ कि चुनावमा जाने हो भने पार्टी नै एकता गरेर जाऔं। हामीले पनि आउनुहोस् निर्वाचनमा जाऔं भन्ने हाम्रो पनि लाइन भएकाले विप्लवजी अलिकति लचिलो देखिनुभएको छ। यो प्रक्रियालाई उहाँले सकारात्मकरूपमा लिनुभएको छ।

उच्चस्तरीय राजनीतिक समिति सरकारलाई बाधा अड्काउ फुकाउ राष्ट्रपतिकोमा पठाउन दबाब दिने। उता राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउने। यसको तालमेल के हो? 
हामी ६ पक्षबीच तीन दिनअघि राष्ट्रपतिसँग छलफल भएको थियो। त्यतिबेलै राष्ट्रपतिले बाधा फुकाउनुअघि सर्वदलीय बैठक बोलाउँछु भन्नुभएको थियो। अघिल्लो पटक त्यस्तो राम्रो भएन। सबै दललाई सहभागी बनाउनुपर्योर भन्नुभएको थियो। शुक्रबार राष्ट्रपति भवनमा हुने बैठकबारे बुधबारै मन्त्रिपरिषद्का अध्यक्षसँग समेत छलफल भएको थियो। 

राष्ट्रपतिले डाकेको सर्वदलीय बैठकबाट केही नयाँ निकास निस्कन्छ त? 
राष्ट्रपति निवासमा हुने सर्वदलीय बैठकमा वैद्यजीहरू पनि आउनुहुन्छ। हिजो हामीले गम्भीररूपमा छलफल गरेका छौं। उहाँहरुलाई मंसिरभित्र चुनावमा आउनुहुन्छ भने तपाईंलाई के गर्दा हुन्छ, निष्कर्ष लिएर आउनूस् भनेका छौं। सम्भवतः उहाँहरू राष्ट्रपतिजीले बोलाएको बैठकमा निष्कर्ष लिएर आउनुहुन्छ। त्यसमा अन्य पार्टीबीच सहमति जुट्ला भन्ने लागेको छ। 

मंसिरमै चुनाव गर्ने भनेर छिमेकी मुलुक भारतले दबाब दिएको छ भनिन्छ नि? 
उनीहरूको दबाबले यहाँ खासै काम गरेको देख्दिन। ११ र २५ बुँदे सहमति गर्दा नै हामीले मंसिरउता चुनाव भनेका छैनौं। त्यो सहमति कसैको दबाबले भएको होइन। छिटोभन्दा छिटो चुनाव होस् भन्ने सबैको सहमति हो। त्यसमा अझ बढी चुनाव छिटो हुनुपर्छ भन्ने एकीकृत माओवादी हो। मंसिरपछि चुनाव गर्ने भन्ने यो सरकारलाई सहमति दिएकै छैनौं। त्यस कारण यहाँ भारतको दबाब भन्ने अर्थै आउँदैन। राजनीतिक सहमतिमा गरेको विषयलाई छिमेकीको दाबाब भन्नु अनावश्यक हो। 

राजनीतिक हिसावले वैद्यजीले नेतृत्व गर्नुभएको माओवादीलाई कत्तिको महŒव दिनुहुन्छ? 
अहिले संविधान सभाको चुनाव भएकाले र उहाँहरूसँग पनि हिजो संविधान सभामा रहेका दर्जनौं सभासद् छन्। यो अवस्था हेर्दा यो केही पनि होइन भनेर अवमूल्यन गर्नुहुँदैन। उहाँहरुलाई सहमतिमा लिनुपर्छ भन्ने हो। यो सजिलो त्यत्तिकै टार्ने कुरा होइन। संविधान सभाको हुँदैनथ्यो र संसदीय भएको भए त्यति महŒव दिनुपर्ने थिएन। सबैको सहमतिमा भएको संविधान सभाबाट संविधान बन्दा त्यसको आधिकारिक र ऐतिहासिक महŒव हुन्छ। एउटा सानै समूह भए पनि रिकजनाइज गरौं भन्ने हो। दर्जनौं सभासद् भएको समूहसँग सहमति नगर्दा भविष्यमा सरल ढंगले परिस्थिति अघि बढ्न सक्दैन। 

गठबन्धनका लागि पनि वैद्यजीहरुलाई लिनुपर्छ भन्ने हो? 
वैद्यजीहरु जुन राजनीतिक लाइन लिएर हामीबाट अलग्गिनुभयो, त्यो हेर्दा उहाँहरू चुनावमा आउनुहुन्छ जस्तो लाग्दैन। उहाँहरुको लाइनले चुनावमा आउन दिँदैन। उहाँहरुले १२ बुँदे सहमति, सेना समायोजन जस्ता उपलब्धिलाई गलत भन्नुभयो। संविधान सभा बुर्जुवाहरूको हो भन्दा हामीलाई पनि चुनावमा आउलान् भन्ने लाग्दैनथ्यो। कांग्रेस र एमाले भन्ने गर्थेँ– उहाँहरुको लाइनले चुनावमा आउन दिन्न। मैले त्यसो भन्दा कांग्रेस, एमाले उहाँहरु आउने भन्नुभएको छ भनेर पछि लागेको लाग्यै हुनुभयो। त्यतिबेला कांग्रेस र एमालेलाई के थियो भने वैद्यजीहरु आएर चुनाव लडिदिए एकीकृत माओवादीको सीट संख्या घट्थ्यो। दुई माओवादी लडिदिए हाम्रो सीट बढ्थ्यो। उनीहरुको त्यो निष्कर्ष हामी बुझ्थ्यौं। हामीले के भन्यौं भने उहाँहरु चुनावमा आउनुहुन्न, आइहाल्नुभयो भने पनि हामीसँग मिलेर जानुहुन्छ। कांग्रेस र एमालेलाई भ्रममा नपर्नूस् भनेको हँु। त्यत्रो संघीयता, पहिचानको शक्ति आएर कांग्रेस, एमालेसँग मिल्छ भन्नु अराजनीतिक हुन्छ भन्थ्यौं हामी। उहाँहरु आएपछि हाम्रो सीट घट्छ भनेर एकीकृत माओवादीले यसो भन्यो भन्थे कांग्रेस–एमाले। अहिले खुसीको कुरा के भने विस्तारै वैद्यजीले नेतृत्व गरेको माओवादी चुनावतिर आउँदैछ। चुनावमै आउने भएपछि हामीसँग गठबन्धन होस् भन्ने चाहन्छौं। मिलेर जाऔं। मिलेर जाँदा एउटा परिस्थिति बन्छ। अहिले उहाँहरु आउनुहुन्छ र गठबन्धन हुन्छ भनेर आउनूस् भनेकोचाहिँ होइन। आउनूस् हामीसँग मिलेर गए पनि हुन्छ, स्वतन्त्ररूपमा एक्लै गए पनि हुन्छ भनेका छौं। 

२ सय ४० निर्वाचन क्षेत्रमा केन्द्रीय नेताहरु पठाएर आफ्नो जनमत बुझेर आए। त्यसको रिपोर्ट कस्तो आयो? 
थोरै पहल गर्दा ९० सीट जित्छौं भन्ने रिपोर्ट आयो। अर्को ९० सीटमा प्रतिस्पर्धा छ अलि धेरै पहल गर्यौं भने जितिन्छ भन्ने छ। यसको अन्तिम निष्कर्ष बहुमत हाम्रो प्रष्ट आउँछ भन्ने हो। तर, त्यसको सर्त के छ भने पार्टी एक ढिक्का भएर अभियानमा जानुपर्छ भन्ने छ। यसो गर्दा बहुमतलाई कसैले रोक्न सक्दैन भन्ने नै रिपोर्टको सार हो। १ सय ८० सीटको रिपोर्ट हो। ९० सरल ढंगले, ९० प्रतिस्पर्धासहित आउँछौं भन्ने हो। यसको आधार के हो भने अघिल्लो संविधान सभा चुनावमा गाउँमा हाम्रो संगठन थिएन। अहिले हरेक गाउँमा संगठन छ। शान्ति प्रक्रियामा आउँदा जहाँ जहाँ लड्यौं त्यहाँ त्यहाँ मात्रै संगठन थियो। यो एउटा प्लस प्वाइन्ट छ। दोस्रो त्यतिबेला हामी नेकपा (माओवादी) थियौं। अहिले एकीकृत माओवादी। लाखौं मत पाएका पार्टीसँग एकता भयो। जस्तो एकता केन्द्र–मसाल, नवराज सुवेदी, डिलाराम आचार्यको समूह यस्ता थुप्रैसँग एकता गरेका छौं। अर्कोतर्फ मधेसमा म जाँदा एउटा जिल्लाबाट २ हजार, ५ हजार पार्टी प्रवेश गराएको छु। यस्ता आधारले पार्टी जोडिएको छ। हुन त अघिल्लो चुनावमा पनि हामीलाई कसले १ सय २० सीट लिन्छ भनेको थियो र? अझ तपाईंहरु त मिडियामै हुनुहुन्थ्यो (हाँसो...)। मिडियामा तपाईंहरुले नै २०, २५ भन्नुभएको हो। अहिले पनि तपाईंहरुले त्यही भन्नुभएको छ। पार्टी फुटेको छ भनेर। तपाईंले भनिदिएपछि झन् ऊर्जा थपिएको छ हामीलाई। माओवादीले फेरि जित्नुपर्योन भनेर कस्सिएका छौं। 

त्यो सर्वेक्षण त तपाईंहरु निकटकाले नै गरेका हुन। हामीले त सार्वजनिकमात्रै गरिदिएका हौं...
कसले सर्वेक्षण गर्योई, त्यो तपाईंहरुले जान्ने कुरा हो। त्यो ठूलो कुरो भएन। २ सय ४० क्षेत्रको रिपोर्ट बुझ्दा हाम्रो सीट बढ्छ भन्ने हो। 

एकताबद्ध भएर चुनावमा जाने भन्नुहुन्छ। पार्टीभित्र अझै गुट छ भन्नुभएको हो? 
महाधिवेशनअघिसम्म पार्टीमा अलग अलग विचार समूह भनेर छलफल चलेको थियो। महाधिवेशनमा गएपछि लाइन त एक ठाउँमा आयो। चार, पाँच वर्षसम्म छलफल चलेकाले तल कहीँ समस्या छ। साथीहरुले त्यो समस्या भइरह्यो भने चुनाव जित्न गाह्रो हुन्छ भनेकाले पार्टी एक ढिक्का भएर जानुपर्छ भनेको हुँ। 

समस्या तल हो कि माथि?
महाधिवेशनपछि माथि समस्या होइन। विस्तारित बैठकपछि संगठन अधिवेशन गर्ने र अहिले चुनावमा होमिन २ सय ४० क्षेत्रमै जाने भन्ने निर्णयले माथि समस्या छैन। माथिको स्पिरिड तलसम्म पुर्‍याउने समस्या हो। अहिले दोस्रो अभियान चलेको छ। तलको समस्या हल हुँदै गएको छ। 

लोकतान्त्रिक पद्धतिअनुसार पार्टी अघि बढ्दा महाधिवेशनको म्यान्डेट मान्नुपर्ने हो। तर, एकाएक पदाधिकारी भंग गरेर हेडक्वार्टर बनाउनुभयो नि? 
म्यान्डेट नमान्ने भनेका छैनौं। हामीले महाधिवेशनको म्यान्डेट मानेकै छौं। महाधिवेशनको म्यान्डेट भनेको पहिलो राजनीतिक लाइन, कार्यदिशा हो। त्यो इन्ट्याक्ट छ। दोस्रो केन्द्रीय समिति हो। हेडक्वार्टर महाधिवेशनले छानेको होइन। त्यो केन्द्रीय समितिले गरेको हो। तपाईंहरुलाई बाहिर के भ्रम पर्योक भने लौ महाधिवेशनको म्यान्डेट छोड्यो है भन्ने लाग्यो। महाधिवेशनले केन्द्रीय समिति चुन्यो। केन्द्रीय समितिले अध्यक्ष, उपाध्यक्ष, महासचिव चयन गरेको हो। हालमा केन्द्रीय समितिको निर्णय सुनाएका हौं। कतिवटा पद राख्ने/नराख्ने भन्ने अधिकार त केन्द्रीय समितिलाई छ। हामीले महाधिवेशनको म्यान्डेट कहीँ केही चलाएका छैनौं। 

पहिले एकल नेतृत्वको हेडक्वार्टर थियो। अहिले सामूहिक बनाउनुभयो नि? 
सजिलोका लागि बनाएको हो ४ जनाको हेडक्वार्टर। राम्रो त के हुन्थ्यो भने अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, स्थायी समिति, पोलिटब्युरो भइदिएको भए हुन्थ्यो। त्यो गर्दा संगठनसँग जोडिएका केही विषयमा छलफल गर्नुपर्ने भयो। छलफल गर्ने समय भएन। चुनाव आइहाल्यो। चुनावमा जाने कि छलफल गरेर बस्ने भन्दा चुनावमा केन्द्रित हुने निष्कर्षमा पुग्यौं। अहिले अध्यक्ष मात्रै राख्ने अरु सबै सदस्य बस्ने एक मतले निर्णय भएको हो। हेडक्वार्टर राख्ने पहिल्यै सल्लाह भइसकेको थियो। हिजोको पदाधिकारीलाई हेडक्वार्टर बनाएका हौं। 

नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीलाई राजीनामा गराउनुमा बाबुराम भट्टराईको दबाब छ भनिन्छ नि?
मैले राजीनामा मागेर भन्ने कुरा होइन। कस्तो भयो भने हाउसमा अध्यक्षमात्रै रहने सुझाव आयो। मैले भन्नुअघि नै उहाँहरुले राजीनामा बुझाउनुभयो। यसो गरे सजिलो हुन्छ भनियो। त्यसले निकास पनि दियो। 

बाबुराम भट्टराईले पद त्याग गरेपछि चुनावी अभियानमा गुटको समस्या देखियो भनिन्छ नि? 
गुटकै कुरा त होइन। अलिकता जटिलता देखिएको हो। त्यसलाई संगठनात्मक अधिवेशनमा गएर टुंग्याउने भनेपछि समस्या हल भयो। 

समस्या समाधान कि थाँती राखेको?
समाधान हो। बाटो त निस्कियो। समाधानको बाटो संगठनात्मक अधिवेशनमा जाने भनियो। त्यही समाधान हो। 

पार्टीभित्र बाबुराम भट्टराईको व्यवस्थापन चुनौती हो? 
बाबुराम भट्टराई र मेरो सम्बन्धको कुरा गर्नुहुन्छ भने २५ वर्षदेखिको हो। हामीबीच भेटघाट, छलफल भएको झण्डै ३० वर्ष भयो। हामी के भन्छौं भने एकता, संघर्ष रुपान्तरण, नयाँ आधारमा नयाँ एकता भन्ने सूत्र हुन्छ पार्टीमा। बाबुरामजी र मबीच त्यो चल्दै आएको छ। पाँचौं महाधिवेशन अयोध्यामा भएको थियो २०४१ सालमा। त्यहीँबाटै एक अर्कामा हाम्रो सम्बन्ध पुरक रह्यो। कहिले संघर्ष हुन्छ, कहिले एकता हुन्छ। बाबुराम र मेरो एकता–संघर्षले नै पार्टी जीवन, गति चलेको छ। उहाँले प्रचण्डसँगको सम्बन्धले के हुन्छ भन्ने बुझ्नुभएको छ। मैले पनि उहाँसँग सम्बन्ध हुँदा के हुन्छ बुझेको छु। कहिलेकाहीँ मुद्दामा राम्रै बहस हुन्छ। कतिपय अवस्थामा पार्टी त फुट्छ कि जस्तोसम्म पुग्छ। बाबुरामजीलाई व्यवस्थापनको चुनौतीका रूपमा हेर्दिनँ म। हामी दुईबीचको एकता, संघर्ष, रुपान्तरणले पार्टी, आन्दोलन र देशलाई यहाँसम्म ल्याएको हो।

उहाँ र मेरो सम्बन्धले सधै सकारात्मक भूमिका खेलेको छ। उहाँसँग अन्तरविरोध हुँदा पनि मैले सकारात्मक पक्ष खोज्छु। एकता हुँदा पनि समस्या कहाँ छ भनेर खोज्छु। तपाईं बाबुरामजीलाई कसरी बुझ्नुहुन्छ? 
बाबुरामजी नेपालको एउटा बौद्धिक व्यक्तित्व हुनुहुन्छ। अध्ययनशील हुनुहुन्छ, राम्रो पक्ष भइहाल्यो। उहाँ एउटा मेधावी विद्यार्थी पनि क्रान्तिमा आउनुभयो। भूमिगत हुनुभयो। जनयुद्धमा होमिनुभयो। हामी सँगसँगै छौं। अन्तर्विरोध चल्ने गरेका छन्। उहाँ कहिल्यै पनि नेतृत्वविरुद्ध आउनुभएन। लिडरसीप मैले लिनुपर्योस भनेर कहिल्यै भन्नुभएको छैन। कहिलेकाहीँ त संघर्ष निक्कै चर्को पर्छ। तपाईंहरुलाई थाहै छ, लाबाङ्गको बैठकमा उहाँलाई केन्द्रीय समितिबाट हटाउने प्रस्ताव गरेँ। उहाँको कमजोरी/अनुशासनलाई लिएर हटाउने निर्णय नै भयो त्यहाँ। त्यति हुँदा पनि उहाँले देशको पार्टीको लिडर त प्रचण्ड नै हो भनिरहनुभयो। 

त्यो बाबुरामको कमजोरी भयो...
कमजोरी होइन। उहाँले त्यसलाई ठिक ढंगले बुझ्नुभयो। 

उहाँ मूल नेतृत्व लिन सक्नुहुन्न भन्नुभएको हो?
त्यो बिल्कुल होइन। त्यो भनियो भने बाबुरामजीमाथि अवमूल्यन, अपमान हुन्छ। सत्य नै होइन। यहाँ कस्ता–कस्ता मान्छे लिडर भएर हिँडेका छन्। बाबुरामजी लिडर हुन सक्नुहुन्न भन्ने त कुरै भएन। उहाँ प्रचण्डकै नेतृत्वमा जाँदा आन्दोलन, देशलाई हाँक्न सकिन्छ भन्नुहुन्छ। 

तत्कालै पार्टीभित्र तपाईंको स्थान ओगट्ने चुनौती छैन?
त्यस्तो छैन। बरु मैले नै सार्वजनिकरूपमा भन्ने गरेको छु– यो कार्यकारी पदमा नबस्ने। धेरै समय एउटै व्यक्ति कार्यकारी पदमा नबस्ने विधि बनाउँदै छौं अहिले। दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा नबस्ने भनेका छौं। शान्ति प्रक्रियामा आउनुअघि चुनावाङ बैठकमै मैले भनेको थिएँ– आजीवन कार्यकारी पदमा बस्ने पद्दतिले कम्युनिस्टलाई फाइदा गरेको छैन। 

अब कति बस्नुहुन्छ त कार्यकारी पदमा?
अब, अर्को महाधिवेशन पाँच वर्षमा हुन्छ। त्यसपछि कम्तिमा पाँच वर्ष कार्यकारी पदमा बस्छु। पुस्ता हस्तान्तरण भनेका छौं। मैले राजनीति छोड्छु भनेको छैन। कार्यकारी पद छोड्ने भनेको हुँ। 

गोरखाको फुजेल काण्डमा पार्टी निकै मुछियो। आरोपी पक्राउ परेकाले देशभर आन्दोलन घोषणा गर्नुभएको छ। यो घटना के हो? प्रष्ट पारिदिनूस् न। 
कुनै घटना सही थियो कि बेठिक थियो भन्ने मुद्दा हैन अहिले। यो विस्तृत शान्ति सम्झौताभित्रको मुद्दा हो। यो संक्रमणकालीन न्याय प्रणालीअन्तर्गत पर्ने मुद्दा हो। त्यो मुद्दा अलग्गै टिपियो भने त १५ हजार मुद्दा टिप्नुपर्ने अवस्था आउँछ। को कसरी मारियो भनेर मान्छे उत्तेजित, भावुक बनाउने काम गर्नुको केही अर्थ छैन। बलात्कार गरेर हत्या गरेका, सामूहिक हत्या गरिएका घटना थुप्रै छन्। संविधान निर्माणका लागि संविधान सभा चुनावमा गइरहेका बेला, सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको तयारी भइरहेका बेला यो घटना बेठिक भन्यौं भने त शान्ति प्रक्रिया पुरै खलबलिन्छ। 
पहिलो चुनाव हुनुअघि आफू भाले नभएसम्म चुनावमा गइन्न भन्नुभएको थियो। अहिले आफू भाले भएर चुनावमा जान थाल्नुभएको हो? 
त्यो कुरा मैले कार्यकर्तालाई भनेको हो। त्यो पटक–पटक आउँछ। त्यो भनाईलाई फेरि भिडियो बनाइँदैछ भन्ने पनि सुनेको छु। त्यसले नकरात्मक/सकारात्मक असर पार्ला ठिकै छ। तर त्यो कुन परिस्थितिमा भनिएको थियो भन्ने बुझ्न जरुरी छ। कसरी सेना समायोजन गरियो भन्ने कुरालाई गहिरोरूपमा बुझ्नेले त्यसको मर्म बुझ्ला। दिल्लीमा पहिलो अन्तर्वार्ता दिँदा पनि मैले भनेको थिएँ। तपाईंहरुले संविधान सभामा गएर परिणाम स्वीकार्नुहुन्छ भनेर प्रश्न गर्नुभएको थियो। मैले त्यो बेला पार्टीको निर्णयअनुसार स्वीकारिन्छ भनेकै थिएँ। त्यो जनमत स्वीकार्ने भनेको हो। तपाईंहरुले जनताको जे निर्णय हुन्छ, त्यसलाई स्वीकार्ने भन्ने प्रचार गरिदिनुभयो, त्यसले राम्रो पनि गर्यो्। संविधान सभा चुनावै भनेर लडाइँ छाडेर शान्ति प्रक्रियामा आयौं। संविधान सभा चुनाव भनेरै सरकार छाडेर प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न दियौं। मैले उच्चस्तरीय राजनीतिक समितिमा भन्ने गरेको छु– परिणाम के आउँछ भन्नेतिर नजाऔं, जनमत स्वीकारौं। १२ बुँदे सहमतिलाई निरन्तरता दिऔं भन्ने मुख्य विषय हो। म के प्रष्ट गर्छु भने हाम्रो बहुमत आउँछ। 

मधेसबाट चुनाव लड्छु भन्नुको कारण के हो?
मधेसको जुन मुद्दा उठ्यो त्यो अत्यन्तै संवेदनशील कुरा हो। पहाड र मधेसबीच सम्बन्ध कायम राख्न मधेसबाटै चुनाव लड्छु। म मधेसबाटै चुनाव लड्छु। 

सरकारका सहयात्री मधेसी मोर्चाका नेताहरूको अहिले आलोचना गर्नुभएको छ नि? 
सरकार गठनमा मधेसी दल र मोर्चासँग सहकार्य भएको हो। हामीले त्यस्तो सबैको आलोचना गरेका हैनौं। संघीयता पक्षधर मधेसी जनताको मुद्दा उठाउने राष्ट्रिय ठूलो पार्टी हामी हौं। मधेसी जनताको हक अधिकार सुरक्षित हामीबाटै हुन्छ भनेर अपिल गरेका छौं। मधेसी मुद्दा मधेसी नेता, मधेस केन्द्रित पार्टीले लिएको होइन माओवादीले नै हो भनेका छौं। मधेसी समस्या सही नीति भएको पार्टीले समाधान गर्छ, त्यो नीति माओवादीसँग छ भनेका छौं। मधेसवादी दललाई गाली मात्रै गरेको छैन। कहाँ तालमेल गर्न सकिन्छ त्यहाँ गरौं पनि भनेका छौं। 

पार्टीभित्र अकुत सम्पत्ति छानबिन हुनुपर्छ भनेर अमिक शेरचनको नेतृत्वमा आयोग बनाइएको थियो। त्यसको प्रतिवेदन अझै सार्वजनिक नगर्नु स्वयं अध्यक्ष दोषी देखिएकाले भनिन्छ नि? 
शेरचन आयोगको प्रतिवेदन केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछौं। त्यसमा दोषी देखिएका साथीहरुलाई स्पष्टीकरण लिइसकिएको छ। उनीहरुलाई कार्बाही हुन्छ। म परेको भए पनि कार्बाहीमा पर्थें। जसरी बाहिर प्रचार भयो मेरोबारे झन् धेरै गहिरिएर अनुसन्धान भयो। मलाई आनन्द लाग्यो। गहिरिएर अध्ययन गर्दा केही भेटिएन। सम्पत्तिको नाममा एक कठ्ठा जमिनबाहेक केही छैन। त्यो पनि परिवारको नाममा छ। त्यो भरतपुरमा छ। 

तपाईंलाई व्यापारी अजय सुमार्गीसँग जोड्ने गरिन्छ नि जहिले पनि?
त्यो हावादारी कुरा हो।

प्रकाशित: २७ भाद्र २०७० ०९:४४ बिहीबार