यो पार्टीको आन्तरिक चुनाव हो। म अहिले पनि महामन्त्री छु, महाधिवेशनको तयारी पनि गर्दैछु। महामन्त्रीको जिम्मेवारी पूरा गर्नैपर्यो। अर्कोतर्फ उमेदवार भएपछि त्यसको तयारी पनि गर्नैपर्यो।
केमा धेरै लाग्नु भएको छ त?
अहिलेसम्म त महामन्त्रीकै काममा धेरै व्यस्त छु। बल्ल आजदेखि उमेदवारीको प्रचार गर्ने केही समय पाएको छु। देशभरका तीन हजार बढी महाधिवेशन प्रतिनिधी काठमाडौं आउनेछन्। उनीहरूसँग प्रत्यक्ष भेटेर, पत्राचार, टेलिफोन, एसएमएसमार्फत सम्पर्क गर्ने योजना छ। धेरैसँग सम्पर्क भएको छ। मैले अहिलेसम्म गरेका काम, मेरो भूमिका र जिम्मेवारी अनि आगामी दिनमा के गर्नसक्छु भन्ने नै मेरो उमेदवारीका आधार हुन्।
बुँदागत रूपमा तपाईका खास एजेन्डा चाहिँ के हुन् त?
नेपाली कांग्रेसलाई मुलुकलाई नेतृत्व दिने पार्टी बनाउनु आजको पहिलो आवश्यकता हो। दोस्रो, पार्टीलाई वैचारिक, सैद्धान्तिक, नीतिगत विषय स्पष्टताका साथ कार्यान्वयनमा ल्याउनसक्ने बनाउनु हो। मैले नौवटा बुँदा भन्ने गरेको छु। राष्ट्रियता, लोकतन्त्र र समाजवाद त पुरानै भए। यिनमा परिवर्तन आवश्यक छैन। यीबाहेक अहिले मुलुक गणतन्त्रमा पुगेको छ, संघीय प्रणालीमा जाँदैछ। समावेशी र समानुपातिक राज्य व्यवस्था र धर्म निरपेक्षताका विषय छन्। मुलुक अहिले पनि हत्या र हिंसाको राजनीतिबाट मुक्त हुनसकेको छैन। हत्या, हिंसाको साटो वैचारिक राजनीति र अहिंसाको बाटो अपनाउनु आवश्यक छ। कांग्रेसले यिनै विषयमा आफूलाई तयार गर्नुपर्छ भन्ने मेरो मान्यता हो। राष्ट्रिय सबाललाई नचिन्ने र त्यसमा भूमिका खेल्न नसक्ने पार्टी असार्न्दभिक हुँदैजान्छ। यसैले मेरो एजेन्डा परिवर्तनका लागि कांग्रेसलाई तयार गर्नु हो। परिवर्तनका सन्दर्भमा तीन किसिमको भूमिका हुनसक्छ - परिवर्तनको विरोध, समर्थन र नेतृत्व। नेपालमा भैरहेको परिवर्तनमा कांग्रेसले नेतृत्व गर्नुपर्छ। मेरो उमेदवारीको एजेन्डा यही हो।
शान्ति प्रक्रिया र संविधान निर्माण हाम्रा राष्ट्रिय एजेन्डा हुन्। संविधान निर्माण परिवर्तनको एजेन्डा हो। परिवर्तनका क्षेत्र पहिचान भैसकेका छन्। नेपाल राजतन्त्रबाट गणतन्त्रमा जानु, एकात्मकबाट संघीय राज्यप्रणलीमा जानु, हिन्दूराज्यबाट धर्म निरपेक्षतामा जानु, प्रत्यक्ष निर्वाचनबाट समानुपातिक र प्रत्यक्ष मिश्रित निर्वाचन प्रणालीमा जानु पार्टीमा समावेशी चरित्र प्रवेश गराउनु चानेचुने परिवर्तन होइनन्। यसैले परिवर्तनको नेतृत्व गर्न कांग्रेस तयार हुनुपर्छ। त्यसका लागि हत्या र हिंसा होइन, अहिंसा र वैचारिक मार्ग लिनुपर्छ।
कांग्रेस गुटका आधारमा चुनावमा जाँदैछ। यस पटक दुई पार्टीबीच प्रतिस्पर्धा भएजस्तो निकै चर्को गुटबन्दी देखिएको छ। यस्तो अवस्थामा परिवर्तनका विषय कसरी सम्बोधन होलान् र?
दुईटा गुट वा पार्टीजस्तो होइन। निर्वाचन भएपछि उमेदवार हुन्छन्। कांग्रेसले संस्थागत रूपमा निर्वाचन प्रणाली अपनाएको छ। राजनीतिक पार्टी लोकतान्त्रिक भए नभएको मापन गर्ने एउटा आधार संगठन निर्माणमा निर्वाचन प्रणाली छ कि छैन भन्ने पनि हो। यसलाई गुट भन्न मिल्दैन। 'लाइक माइन्डेड' साथी एक ठाउँमा हुने त भैहाल्छ नि।
तपाई किन शेरबहादुर देउवा समूहमा ?
शेरबहादुरजीसँग मेरो तीस वर्षभन्दा बढी लामो समयदेखिको सम्बन्ध हो। उहाँ नेविसंघको अध्यक्ष हुँदा म सदस्य थिएँ। परिवर्तनका एजेन्डाले पनि म उहाँसँग नजिकिएको हुँ। विगतमा आएका सबै परिवर्तनका एजेन्डा हामीले ल्याएका हौँ। हामीले ...कदमजम' भनेर ल्यायौँ। समावेशी नारा र त्यसअनुसारको कार्यक्रम अघि बढायौँ। त्यो कदमजम आदिवासी, जनजाति, महिला, दलित भनेर परिभाषित भएको छ। हामीले कर्णाली पिछडिएको क्षेत्र भनेर आरक्षण गरेका थियौँ। कदमजम समावेशी एजेन्डा हो। त्यो एजेन्डा ल्याउन शेरबहादुरको नेतृत्व भएकोले सहज भएको हो। संविधान सभाका एजेन्डा पनि शेरबहादुरजीकै नेतृत्वमा भएकोले हामीलाई सजिलो भयो। एकात्मक राज्य प्रणाली अन्त्य गर्नुपर्छ र संघीय संरचनामा जानुपर्छ भनेर हामीलेनै बहस र छलफल चलाएका हौँ। शेरबहादुरकै नेतृत्वमा गणतन्त्रको प्रस्ताव पास भएको हो, हामी कांग्रेस प्रजातान्त्रिकमा हुँदा। कांग्रेस प्रजातान्त्रिक हुँदा हामीले समावेशी र धर्म निरपेक्षता, गणतन्त्रको एजेन्डाको आधार भूमि निर्माण गर्न जति सजिलो भयो, त्यस्तो अरू नेतामा मैले पाइन । मैले आफूलाई परिवर्तनको पक्षमा उम्याएको छु। मैले परिवर्तनलाई आत्मसात गर्ने मानिस रोज्नुपर्यो वा परिवर्तनको बाटो नछेक्ने मानिस खोज्नुपर्यो वा आफै परिवर्तनको वाहक हुनुपर्यो। यीनै आधारमा हाम्रो समूह बनेको हो।
समूहमा अरू कहिले थपिँदैछन्? केन्द्रीय सदस्यको पनि प्यानल बन्ला नि हैन?
स्वःफूर्त समूह बन्यो भने बेग्लै तर, नियोजित रूपमा बन्दैन।
तपाईँलाई त देउवा प्यानेलको 'किङ्ग मेकर' भन्छन्। कस्तो छ तपाईँहरूको चुनावी लेखाजोखा?
म जित्नेमा आशावादी छु। सुरुका दिनमा हाम्रो पक्षमा समर्थन छैन भनेर अखबारले लेखेका थिए। अहिले स्पष्ट देखिएको छ। देशभरीका २४० निर्वाचन क्षेत्रबाट परिणाम आएपछि हाम्रो अवस्था स्पष्ट भएको हो।
कांग्रेसमा त संस्थापन र तपाईहरूको ६० र ४० प्रतिशतको हैसियत होइन र?
त्यो त गिरिजाबाबुले बनाएको पार्टी एककरणको फर्मूला हो। त्यो अवस्था अहिले छैन। अहिले उता पटि्टका कति यता आएका छन् यताका उता गएका छन्।
अहिले कांग्रेस लगभग दुईटा पार्टीजस्तो भएर चुनावमा जाँदैछ। महाधिवेशनपछि यो गुटको राजनीति सकिएला?
दुईटा पार्टी भन्न मिल्दैन। यो चुनावी प्रतिस्पर्धामात्र हो। महाधिवेशनपछि चुनावी परिणाम जस्तो आउँछ त्यसैअनुसार जान्छ।
विगतभन्दा यो महाधिवेशन केमा फरक छ त?
यो महाधिवेशन धेरै अर्थमा फरक छ। यो महाधिवेशन गिरिजाबाबु पुस्ताको अनुपस्थितिमा भैरहेको छ। यसले ८६ सदस्यीय केन्द्रीय समितिमा ६४ जनाको निर्वाचन गर्नेछ। पहिले महासमिति सदस्यमात्र केन्द्रीय तहमा उमेदवार बन्नसक्थे, अहिले महाधिवेशन सदस्य पनि उमेदवार बन्न पाउँछन्।
यी त संरचनागत पक्ष भए। नेपाली कांग्रेस २०४८ पछि लगातार खस्कँदो छ। यस महाधिवेशनले पार्टीमा ऊर्जा दिन्छ भन्ने ठान्नु भएको छ?
निश्चय पनि दिन्छ। ऊर्जा दिने एउटा आधार ठूलो संख्याको सहभागिता हो भने दोश्रो नीतिगत आधार छ। यसपालीको सहभागिता व्यापक छ। महाधिवेशन तयारीका क्रममा गाउँगाउँमा कांग्रेस अधिवेशनको अभियान चल्यो। चार हजार बढी गाउँमा एकै दिनमा गाउँ कमिटीको चुनाव भयो। गाउँगाउँमा राजनीतिक गतिविधी विस्तारित भएको छ। कांग्रेस पार्टीको चुनावभन्दा पनि संसदीय चुनावजस्तो अनुभव भएको थियो। त्यसले कांग्रेसमात्र होइन सबै पार्टीका मानिसको ध्यान खिचेको थियो। कांग्रेस महाधिवेशनको गाँउदेखि राष्ट्रियस्तरसम्म चर्चा छ। महाधिवेशनले नेपालको राजनीतिमै प्रभाव पारेको छ। अब कांग्रेसको अवस्थामा धेरै सुधार आउँछ। अब चुनाव भयो भने धेरै ठाउँमा हामी जित्छौँ। कांग्रेससँग गाउँगाउँका कार्यकर्ता जोडिएका छन्। यो भनेको जनता जोडिनु हो। यस्तो अवस्था निर्वाचनमा अनुकूल परिणाम आउने आधार हो।
तपाईको समूहले नजिते कांग्रेस फेरि विभाजित हुने शंका केहीले गरेका छन् नि?
त्यस्तो शंका गर्नेहरू अज्ञानी हुन्। नभए ती इर्ष्यालु वा शंकालु हुन्। यो निराधार कुरा हो। हामी हार्ने कुरै आउँदैन।
देउवा समूहले चुनाव जित्न साम,दाम,दण्ड,भेद सबै उपाय अपनाउँछ भनिएको छ। के के गर्दै हुनुहुन्छ?
हामीले त्यस्तो कुनै उपाय अपनाएका छैनौ। कांग्रेसमा नीतिगत, वैचारिक र व्यावहारिक कुरा हुन्छ।
यस पटक उमेदवारहरू त उत्तराधिकारको दाबी गर्दैछन् रे नि? सुशील कोइराला गिरिजाबाबुको, तपाईँ महेन्द्रनारायण निधिको र प्रकाशमान सिंह गणेशमान सिंहको उत्तराधिकार खोज्दै हुनुहुन्छ रे। हो?
महेन्द्रनारायण नीधिको छोरा हुनुमा म गौरव गर्छु। उत्तराधिकार त शासकको हुन्छ। कांग्रेसमा महेन्द्रनारायण निधिको शासन थिएन। त्यसैले उत्तराधिकारको पनि कुरै आउँदैन। राजनीतिमा मेरो आफ्नै पनि ठूलो लगानी छ। म २०२५ सालदेखी कांग्रेस राजनीतिमा लागेको हुँ। महेन्द्रनारायण निधी राजनीतिमा कार्यरत हुँदै म पनि राजनीतिमा लागेको हुँ। मैले एसएलसी टेष्ट परीक्षा जलेश्वर जेलबाट दिएको हो। आईकमको जाँच जलेश्वर जेलबाटै दिएको हो। म महेन्द्रनारायण निधिको छोरा भएकै कारणले मात्र यहाँसम्म अइपुगेको होइन। म संघर्ष गरेर राजनीतिमा आएको हुँ। पिताजीको कारणले मप्रति सहानुभूति हुन्छ भने त्यो कुन पाप भयो? अरूको बारे म टिप्पणी गर्र्न चाहन्न।
गुटबन्दीकै विरोधमा भनेर उमेदवारी परेको छ। उनीहरूले वैचारिक पक्षलाई महत्व दिएको भनेका छन्। कसरी लिनु भएको छ?
हामीले पनि विचारविहीन त हैनौ। हाम्रो एजेन्डानै परिवर्तन हो। हाम्रो समस्हको उम्मेदवारी विचारकै आधारमा छ।
आरक्षणबाट ठूलो संख्यामा आएकाहरू महाधिवेशनमा निर्णायक हुनसक्छन् त?
कांग्रेसलाई सबैको पार्टी बनाउन आरक्षण जरुरी थियो। पार्टीलाई समावेशी बनाउन आरक्षण चाहिएको थियो। राज्य र शासन प्रणाली समावेशी बनाउन कांग्रेसलाई पनि समावेशी बनाउनुपर्थ्याे। नेपालको विविधता पार्टी प्रतिविम्बित हुनुपर्थ्यो। त्यसैले नेपाली कांग्रेसले महिला, मधेसी, जनजाति, दलित आदिवासी, मुसलमानका नाममा आरक्षण गरेके हो। अपाङ्गता भएका र तेस्रो लिङ्गी पनि कांग्रेसमा छन्। कांग्रेस अहिले सबैको पार्टी भएको छ। सबैको भूमिका हुन्छ, यही समूह निर्णायक हुन्छ भन्ने होइन।
कांग्रेसमा समूह बनाउँदा महामन्त्री पलदाई किन यति महत्व दिइएको हो?
उपसभापतिहरू पनि महामन्त्रीमा लड्दैछन् । नेपाली कांग्रेसको विधानमा कार्यकारी अधिकार भएको पदमा कि सभापति हो कि महामन्त्री। त्यसकारण महामन्त्रीमा आकर्षण भएको हुनसक्छ। पहिले महामन्त्री लगायत सबै पद मनोनीत हुनेगर्थ्यो। अहिले महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्य पनि निर्वाचित हुने भएकोले निर्वाचनलाई समूहगत बनाउन पनि यस्तो भएको हुनसक्छ। अर्को, सभापतिलाई दैनिक काम गर्न महामन्त्रीको सहयोग आवश्यक हुन्छ। महामन्त्रीले सभापतिलाई कार्यसञ्चालनमा सहयोग गर्ने विधानमा व्यवस्था छ। त्यसैले सभापतिहरूले उमेदवारी दिँदा आफूअनुकूलको महामन्त्री खोज्छन्।
अहिले पनि महामन्त्री नै हुनुहुन्छ, फेरि महामन्त्रीमै निर्वाचित हुनुभयो भने के फरक हु्न्छ र?
अहिले मैले पार्टी र देशको परिवर्तनका लागि जति काम गरिराखेको छु, जितेमा अहिलेभन्दा बढी भूमिका खेल्छु। अहिले म मनोनीत महामन्त्री छु अब निर्वाचित हुन्छु।
प्रस्तुती : विश्वमणि पोखरेल
प्रकाशित: ३१ भाद्र २०६७ ०६:४१ बिहीबार