साथीहरूसँगको संवादलाई महत्व दिएका छौं। साथीहरूको विश्वास जित्नु सबैभन्दा महत्वपूर्ण होजस्तो लाग्छ। कांग्रेसमा परिवर्तनको चाहना तीव्र छ, थुप्रै असन्तोष र असन्तुष्टि छन्। सबै विषयको ठोस निर्णय महाधिवेशनबाटै गर्ने हो भन्ने हामी बुझाउँदै छौं। समर्थन बढ्दै छ भन्ने अनुभव भएको छ।
ठोस निर्णय गर्ने हो भन्नुहुन्छ, तर महाधिवेशन त चुनावकेन्द्रित भएजस्तो लाग्दैन?
हो, चुनावकेन्द्रित देखिएको छ। विगतमा कतिपय राम्रा नीति पास भए। कतिपय नीति परिवर्तनलाई मद्दत गर्नसक्ने थिए। तर, पास भएका नीति कार्यान्वयन भएनन्। कार्यान्वयनभन्दा उपेक्षा गर्ने, लत्याउने काम भए। अब नीतिमात्र होइन, उम्मेदवारै परिवर्तन गर्नुपर्ने बेला छ। नीतिमात्र परिवर्तन गरेर हुँदो रहेनछ भन्ने बोध भएको छ। व्यक्ति परिवर्तन गर्नुपर्छ। विगतमा महत्वपूर्ण नीति कार्यान्वयन गर्ने इमान्दारी अभाव भयो। अहिले नीति बोक्ने व्यक्तिका पक्षमा कांग्रेस बिस्तारै तानिँदैछन्। कांग्रेस नीति गहिराइमा बुझेका र निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेतृत्वमा पुगे लागू गर्न उनीहरू इमान्दार हुन्छन् र मेहनत गर्छन् भन्ने बोध भएको छ। महाधिवेशन निर्वाचनमुखी भए पनि परिवर्तनलाई आत्मसात गर्छ भन्ने मान्यता हो। व्यक्ति उही भएकाले नीति अलपत्र परेको अवस्था छ। त्यसैले हामीमाथि भरोसा बढेको छ। हामी विचार स्थापना गर्ने हिसाबले मात्र होइन, परिवर्तनको सच्चा वाहकका रूपमा विजयदिशातिर अग्रसर छौं।
परिवर्तनकारी व्यक्ति आउनुपर्छ भन्नुहुन्छ, ८१ सदस्यीय केन्द्रीय समितिमा तपाईंहरू जम्मा चारजना उम्मेदवार हुनुहुन्छ। कसरी परिवर्तनकामी नीति ल्याउनुहुन्छ?
कांग्रेसमा नीति पास गर्न कठिन छैन भन्ने देखिसकेको छ। कार्यान्वयनमा कठिनाइ भएकाले महत्वपूर्ण पदमा परिवर्तनमुखी, इमान्दार र मेहनत गर्ने मानिस पुग्दा सजिलो हुन्छ भन्ने हाम्रो भनाइ हो। हामीलाई मद्दत गर्ने र सकारात्मक परिवर्तनमा योगदान दिने साथी धेरै छन्। हामीलाई विश्वास छ, ती साथीहरू केन्द्रीय समितिमा विजयी भएर आउँछन्। त्यसका निम्ति हामी गृहकार्य गर्दैछौँ।
परिवर्तनकामी कांग्रेस जुनसुकै गुटमा भए पनि विचारका आधारमा तपाईंहरूसँग नजिक छन् भन्नुभएको?
साथीहरू विभिन्न खेमामा छन्। तर, कसैले केन्द्रीय सदस्य उम्मेदवार घोषणा नगरेकाले हामी पनि विशेष तयारीमा छौं। दिनै परिस्थिति समीक्षा गरिराखेका छौं। हाम्रो उम्मेदवारी प्रतीकात्मकमात्र होइन। विजयी हुन आवश्यक तयारी गरेका छौं।
महामन्त्री पदमा किन यति धेरै आकर्षण? तपाईं, सुशील र देउवा दुवैले महामन्त्रीका उम्मेदवार महत्व दिँदै घोषणा गरे। के अर्थ राख्छ?
म हिजो सभापतिमा उठेको मानिस, आज महामन्त्रीमा उठ्दै छु। मलाई धेरैले तपाईं किन महामन्त्रीमा उठेको भन्दै प्रश्न गर्छन्। पार्टीको विधान परिवर्तनले महामन्त्रीको भूमिका र चयन प्रक्रिया आधारभूत रूपमा परिवर्तन गर्यो। पार्टीको काम आधारभूत रूपमा अघि बढाउने, सक्रियता दिलाउने काममा विधानले महामन्त्रीलाई विशेष जिम्मेवारी दिएको छ। यी सबै कारण होला, महामन्त्रीमा आकर्षण।
पदाधिकारी थप्ने गृहकार्य हुँदै छ, के भन्नुहुन्छ?
महाधिवेशन मुखमा यस्ता कुरा आउनु सकारात्मक होइन। अधिवेशन प्रक्रिया तलबाट सम्पन्न भइसकेको छ र केन्द्रीय अधिवेशनमा पनि उम्मेदवारी घोषणा भइसकेका छन्। यस्तो अवस्थामा पदाधिकारी थप्नु आफ्नो सुबिधाका लागि पहल गर्नु हो कि? हामी थप्ने पक्षमा छैनौं।
विरोधमा जानुहुन्छ?
औपचारिक प्रस्ताव आएको छैन। मैले यसबारे सभापतिका दुई उम्मेदवारसँग कुरा राख्दा उहाँहरूले आफ्नो प्रस्ताव भन्नुभएको छैन। पदाधिकारी थप्ने विषयमा सहमत हुँदैनौ। साथीहरूमा जागरूकता छ, त्यसको बोध नगरी जे पनि गर्न सक्छौं भन्ने मानसिकतामा जाँदा समर्थन प्राप्त हुन्छजस्तो लाग्दैन।
कांग्रेसले पोहोर महासमिति बैठकबाट विधानमा व्यापक परिवर्तन गर्यो? त्यसबेला यी कुरा उठेनन्?
किन नउठ्ने? हाम्रो प्रस्तावमा उपसभापति दुई, महामन्त्री तीन, सहमहामन्त्री तीन र सहायक महामन्त्री छजना थिए। पुनर्संरचना र प्रतिनिधित्व विस्तारको अहिले चलेको लहरमा सहयोग पुग्ने र मुलक संघीयतामा जाँदै गरेको अवस्थामा त्यसलाइ पनि मद्दत पुग्ने प्रस्ताव ल्याएका थियौं। विधान मस्यौदा समितिले निर्वाचन एक-एक पदमा मात्र गर्ने भनेर हाम्रो प्रस्ताव हटायो। निर्वाचन गराउने कि धेरै पद राख्ने भन्दा हामीले निर्वाचनकम समर्थन गर्यौं। आज के देखिएको छ भने हिजो हामीले पेस गरेका कतिपय विषय व्यवहारिक र आवश्यक रहेछन्। निर्वाचनको मुखमा परिवर्तन गर्न हुँदैन भन्ने हाम्रो तर्क हो। अहिले यस्तो काम गर्दा राम्रो सन्देश दिँदैन। चुनाव र आफ्नो सुबिधा ध्यानमा राखी कांग्रेसमा जतिबेला पनि विधानमा खेलवाड हुन्छ भन्ने सन्देश जान्छ।
तपाईंहरू गुटको विरोधमा उत्रिएको भन्नुहुन्छ, महाधिवेशनको माहोल हेर्दा गुटहरूको चेपुवामा पर्नुभएजस्तो देखिन्छ नि?
हाम्रो यात्रा कठिनाइको यात्रा हो। हामीले लामो समयदेखि नै यो यात्रालाई कहिले अलि मसिनो भएर, कहिले प्रभावकारी भएर चलाउँदै आएका हौं। अहिले पनि चुनौती नभएका होइनन्। चुनौती जति भए पनि सामना गर्न सकिन्छ।
भर्खरै जिल्ला भ्रमणबाट आउनुभयो, कस्तो अनुभव रह्यो?
म १७ जिल्ला पुगेँ। यसअघि पनि पटकपटक विभिन्न जिल्ला गएकै हुँ। साथीहरूसँग निरन्तर सम्पर्क छ। पछिल्लो चरणको भ्रमणबाट अधिवेशनका सन्दर्भमा साथीहरू उत्साही हुनुहुन्छ। संख्या बढेको छ। विगतमा जुन समुदायमा कांग्रेस पुग्न सकेको थिएन, अहिले प्रतिनिधित्वका हिसाबले पनि ती समूहमा पुग्दा कांग्रेसको राष्ट्रिय स्वरूप पुनर्जीवित हुँदै छ। साथीहरू परम्परागत गुटबन्दीमा बाँधिनेभन्दा स्फुर्त ढंगले विवेकपूर्ण निर्णय गर्ने पक्षमा छन्। भ्रमणले आत्मविश्वास बढाएको छ। साथीहरूको विश्वास बलियो आधार बनेको छ। साथीहरूमा कुरा सुन्ने र गहिराइमा बु‰ने तत्परता, जाँगर प्रशस्त बढेको पाएँ। सतहमा हेर्दा हिजोको ढाँचाले, दुई पार्टी एक बनेको अवस्थामा सजिलैसँग गुट बनाउने काम भएको छ। अहिले त्यसबाट मुक्त भएर सोच्ने संख्या पनि बढेको अनुभव भयो। तत्परतासाथ प्रश्न सोध्ने प्रवृत्ति देखिएको छ। गुटबन्दी साँघुरिदै छ र स्वतन्त्र निर्णय गर्नेको संख्या बढ्दै छ। मानिसमा हिजोदेखिको त्रास अझै छ केही मात्रामा। हाम्रो उम्मेदवारीले त्यो त्रासबाट मुक्त गर्न र त्रासको छायाँबाट उम्कन मद्दत गरेको छ।
हामीमा महत्व दिनुहुन्छ तपाईं, प्रकटमा थोरै हुनुहुन्छ। बाँकी पर्दापछि?
यो हाम्रो रणनीतिक तयारी हो। अहिले हामी दुई उम्मेदवार (भीमबहादुर तामाङ र आचार्य), चक्र बास्तोला र सुप्रभा घिमिरे छौं। हामीबाहेक अरू साथी हुनुहुन्छ जसले सहयोग गरिरहनुभएको छ। नदेखिएका साथीहरू हाम्रो अनुरोधमा महत्वपूर्ण काम गरिरहनुभएको छ। चुनावी र रणनीतिक कारणले यी सबै कुरा अहिले भन्न जरूरी छैन।
तपाईंहरूलाई फकाउने काम पनि भए होलान् नि?
फकाउनेभन्दा पनि छलफल-परामर्श गर्न खोज्नुभएको छ। हामी गुटबन्दीभन्दा बाहिरबाट आएका हुँदा धेरैलाई अनौठो लागेको छ। कतिपयलाई सामान्य लागेको छ। मैले शेरबहादुरजी, सुशीलजीसँग कुरा गरेको छु। अरू साथीले पनि कुरा गर्नुभएको छ। मैले दुवै सभापतिका उम्मेदवारलाई तपाईंहरूले विश्राम लिनुपर्छ भनेको छु। उहाँहरू आदरणीय भए पनि जे गर्न सक्नुहुन्थ्यो, गरिसक्नुभयो। अब अरूले भूमिका पाउनुपर्छ। नयाँ ढंगले कांग्रेस अघि बढाउन हामीलाई सघाउनोस् भन्ने हाम्रो अनुरोध छ।
उनीहरूको मनोविज्ञान त तपाईंहरूले प्रतिस्पर्धा गर्नेभन्दा कति भोट काट्ने भन्ने बुझिन्छ नि?
त्यो भ्रम तोडिन्छ। त्यसका लागि एक हप्ता पर्खनुपर्छ।
तपाईंले जित्दा र नजित्दा के फरक हुन्छ?
महाधिवेशन पार्टीलाई हलचलपूर्ण रुपान्तरण गर्ने प्रक्रिया हो। हामी विगत दुई वर्षदेखि लगातार प्रयत्नशील रह्यौं। महासमिति बोलाउने वातावरण बनायौं, विधानमा संशोधन गर्यौं। एक दिन उठेर हामी उम्मेदवार भएका होइनौं। श्रृंङ्खलाको कडी मात्र हो उम्मेदवारी। हामीले काम गरेर पार्टीमा रूपान्तरण गर्न सक्छौं भन्ने देखाइसकेका छौं। यो महाधिवेशन प्रतिनिधिहरूको पनि अग्निपरीक्षा हो, कांग्रेसलाई रुपान्तरित गर्ने कि खुम्च्याउँदै लैजाने भन्ने। उम्मेदवारका लागि त यसै पनि परीक्षा हो। भोट कति पाउँछ, त्यस आधारमा परीक्षा हुन्छ। कस्ता कुरा ल्याउँछ, त्यस आधारमा परीक्षा हुन्छ।
कांग्रेस कहिलेदेखि खुम्चँदै गएको?
५१ सालपछि खुम्चन थालेको हो। यो नेतृत्वको असफलता हो। नेतृत्व भनेको विचार र कार्यक्रमसहितको व्यक्ति हो। यसको तालमेल र संयोजन मिल्न नसकेकै हो। इतिहास र योगदानका कारण हामी केही समय त हिँडयौं। तर धेरै हिँड्नसक्ने अवस्थामा थिएनौं। ऊर्जा कम हुँदै गयो। खुम्चँदै, खुम्चँदै संविधानसभामा सबैभन्दा बढी खुम्चिँयौं। पार्टी खुम्चँदै जानुमा नीतिगत कुरा पनि छन्। कार्यशैलीका कुरा पनि छन्। कार्यक्रमका कुरा पनि छन्। सबै मिसिएका छन्। जो साथी महत्वपूर्ण जिम्मेवारीमा रहनुभयो, उहाँहरू जिम्मेवार हुनुहुन्छ। हामी केन्द्रीय कार्यसमिति भन्छौं, तर केन्द्रीय सदस्यलाई कुनै काम दिइएको हुन्न। सुझाव दिने निकायजस्तो। केही अघिसम्म त अनुमोदन गर्ने निकायजस्तै थियो। केहीपछि निर्णय गर्ने निकायसम्म बन्यो। कार्यान्वयन गर्ने पदाधिकारी नै हुन्। हाम्रो असफलताको लेखाजोखा महाधिवेशनले गर्नुपर्छ। साथीहरूले आत्मसमीक्षा गरेर अलग्गिँदा राम्रै हुने हो।
२०५१ पछिको प्रमुख जिम्मेवारी त गिरिजाबाबुको हो, अहिले उहाँ हुनुहुन्न, कसलाई दोष दिने?
शेरबहादुरजी तीनपटक प्रधानमन्त्री हुनुभयो। यो पार्टी राम्रोसँग चलेन भनेर अर्कै पार्टी खोल्नुभयो। परिणाम निस्किएन। सुशीलजी कार्यवाहक सभापति भएको तीन वर्ष भयो। गिरिजाबाबु प्रधानमन्त्री भएका हरेक क्षण सुशील कार्यवाहक नै हुनुभयो। एक किसिमले पार्टी चलाउने मुख्य व्यक्ति उहाँ नै हो। यो परिस्थितिलाई हामीले त्यसै पन्छाउन मिल्दैन। गिरिजाबाबुको नेतृत्व भए पनि यी कुरा थिए। उहाँहरूले सच्याउन, सुधार्न चाहेको भए पटकपटक अवसर थियो।
के कारणले उहाँहरूले यो अवस्थामा पुर्याउनुभएको भन्ने लाग्छ? के हो प्रमुख समस्या?
कुनै पनि नीतिगत निर्णयमा इमान्दार हुन नसक्ने, गम्भीरतापूर्वक नलिने, उपेक्षा गर्ने, बेवास्ता गर्ने प्रवृत्ति बढी देखिएको छ। गहिराइमा प्रवेश गरेर काम नगर्ने र सत्तालाई केन्द्रीय विषय बनाउने प्रवृत्ति छ। अब बिरासतले काम गर्ने समय समाप्त भइसकेको छ। प्रतिवद्धता, जागरुकता र ठोस दृष्टिकोणले र भोलिको गन्तव्य स्पष्ट देख्ने प्रवृत्तिले नेतृत्व दाबी गर्नुपर्छ। गिरिजाबाबुको योगदानको सम्मान गर्छौं तर उहाँका कमजोरीको समीक्षा गर्ने आँट हामीसँग हुनुपर्छ। अनिमात्र हामी नयाँ मूल्यको कांग्रेस बनाउन सक्छौं, पार्टीलाई पुनर्जीवन दिन सक्छौं। -विश्वमणि पोखरेल
प्रकाशित: २९ भाद्र २०६७ २२:०० मंगलबार