दुई दशकअगाडि पिचएचडी शोधकार्य गरेदेखि आजसम्म उनी हिमाल र हिमनदीसँग जोडिएका छन्। सगरमाथा क्षेत्रमा सात पटकसम्म पुगेर उनले विभिन्न अध्ययन गरेका छन्। उनी र उनको टोली खुम्बु हिमनदीमा अन्यत्रभन्दा किन छिटो हिउँ पग्लिरहेको छ भन्ने विषयमा अध्ययन गर्न गत साता सगरमाथा क्षेत्रमा पुगिसकेका छन्। उनी हुन्, बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डंकन क्विन्से। एक महिना लामो सगरमाथा अध्ययन मिसनमा जानुअघि नागरिक दैनिकका स्पेसल एसायनमेन्ट इडिटर श्रीराम सुवेदीले उनीसँग काठमाडौंमा उक्त मिसन, जलवायु परिवर्तनले सगरमाथालाई पारेको प्रभाव र अन्य विषयका कुराकानी गरेका छन्। प्रस्तुत छ– उनीसँग गरिएको कुराकानीको सारसंक्षेप ः
बेलायतदेखि हजारौँ माइलको यात्रा गरेर सगरमाथा क्षेत्रको अध्ययन गर्न आउनुभएको छ। सगरमाथासँग तपाईको साइनो के हो?
म सन् २००४ देखि नेपाल आइरहेको छु र त्यहीबेला मैले पिएचडी गर्दै थिएँ। मलाई त्यतिबेला हिमालका हिमनदीहरू जलवायु परिवर्तनसँगै कसरी परिवर्तन भइरहेका छन् भन्नेमा रुचि थियो। त्यसबेलादेखि म हिमालहरूको सर्वेक्षण, हिमनदीहरूको अध्ययन र जलवायु संकटका कारण हिमनदीहरू कसरी प्रभावित भइरहेका छन् भन्ने थाहा पाउन लगातार नेपाल आइरहेको छु। सगरमाथा भ्रमण यो पटक सातौं हो।
मलाई नेपाल संस्कृतिका हिसाबले धनी लाग्छ। हामीले अध्ययन गरिरहेका विषयसँग यहाँका मानिस र वातावरण प्रत्यक्ष जोडिएका छन्। नेपालको पहाडी क्षेत्रमा हामीले देखेका परिवर्तनहरू ऐतिहासिक दृष्टान्तभन्दा बाहिर छन्। यो परिवर्तनले पर्वतीय क्षेत्र र तल्लो तटीय क्षेत्रमा बस्नेलाई वास्तविक हिसाबले प्रभाव पारिरहेको छ।
मेरा लागि र विज्ञानको हिसाबले यो एकदमै महत्त्वपूर्ण पक्ष हो। किनभने अहिले भइरहेको वातावरणीय परिवर्तन र मानिसमा यसले पारेको प्रत्यक्ष प्रभावलाई हामी यहाँ जोड्न सक्छौं। हुन पनि हामी नेपालमा गाउँ, पर्वतीय शृंखला र हिमनदीहरू एकआपसमा जोडिएका छन्। मानिस र वातावरणबीचको त्यो सम्बन्ध धेरै विशेष छ र यसले मलाई बारम्बार नेपाल फर्काइरहन्छ। हामी पछिल्ला वर्षहरूमा भइरहेका परिवर्तनलाई मात्रात्मक रूपमा निर्धारण गर्न सक्षम भएका छौं। यिनै हिसाबले सगरमाथाले मेरो हृदयमा विशेष स्थान ओगटेको छ।
विज्ञानका हिसाबले सगरमाथाको समग्र स्वास्थ्य कस्तो छ? साँच्चै चिन्तित हुनुपर्ने अवस्था आएको हो?
पछिल्ला वर्षमा देखिएका घटनाक्रम र प्रमाणका आधारमा यो स्पष्ट रूपमा ‘संकट हो’ भन्न सकिन्छ। नेपालका हिमालको स्वास्थ्य राम्रो छैन। हिमाल शृंखलाको स्वास्थ्य समयसँगै साँच्चै खस्कँदै गएको छ। अहिले हामी तपाईंले भने झै एक संकटको बीचमा छौं।
हामीले प्रत्येक वर्ष गर्ने हिमनदीको मापनबाट त्यो देख्न सक्छौं। त्यो मापन भूउपग्रहका माध्यमबाट गर्न सकिन्छ। यसले हामीलाई देखाउँछ कि सगरमाथा हुँदै बग्ने हिमनदीहरू लगातार संकुचित (ग्लेसियर रिट्रिट) हुँदै छन्। कतिपय स्थानमा यो संकुचन केही मिटरले भएको छ। त्यसैले हामी देख्न सक्छौं कि अहिले हिउँ हराउने दर समयसँगै बढ्दै गइरहेको छ र त्यसको प्रभाव हामी हिमनदीहरूको सतहमा देख्न सक्छौं।
यसअघि जमेका हिउँ र बरफको ठाउँमा अहिले जताजतै पग्लेको पानी देख्न सकिन्छ। भूपउपग्रहबाट अहिले ती स्थानमा कतै पोखरी र कतै ताल देख्न सकिन्छ। यसले भित्री तहमा जमेका हिउँका तहहरू सतहमा देखिन थालेका छन्। हिउँ पग्लँदा पर्वतीय धारहरू अस्थिर हुँदै गएका छन्। यसले हिमपहिरोको जोखिम बढाएको छ।
संक्षेपमा, हामी भन्न सक्छौं कि हामी अहिले संकटको बीचमा छौं। हिमालहरूको स्वास्थ्य खस्कँदै गइरहेको छ। यसलाई रोक्न हामीले तत्काल केही कदम चाल्नुपर्छ।
तपाईंहरूको यस पटकको अध्ययन मिसनको उद्देश्य के हो? मिसन पूरा भएपछि हामी के आशा गर्न सक्छौं?
हामीले यसअघि पनि खुम्बु हिमनदीमा बरफको तापक्रम पत्ता लगाउन अध्ययन गरेका थियौं। पृथ्वीको सबैभन्दा उच्च स्थानबाट तल झर्दै गरेको यो हिमनदीमा बरफ धेरै चिसो हुनेछ भन्ने हामीले अपेक्षा गरेका थियौं। जब हामीले सगरमाथा आधारशिविर र त्यसभन्दा तलको हिउँको तहमा १९० मिटरसम्म ड्रिल गर्यौं र तापक्रम मापन सेन्सरहरूमार्फत तापमान लियौं, त्यहाँ सबैभन्दा चिसो हिउँ पनि मात्र माइनस ३.३ डिग्रीमा थियो। त्यो हाम्रा लागि आश्चर्यजनक नतिजा थियो। जुन वातावरणमा यो थियो त्यो त्यसअनुरूप थिएन। यो एक प्रकारको हामीलाई जाग्नका लागि घण्टी (वेक अप कल) थियो।
अहिलेको मिसनले त्यही अप्रत्याशित नतिजाको गहिराइसम्म पुग्न र गुत्थी पत्ता लगाउने उद्देश्य लिएको छ। सगरमाथाको ६ हजार मिटर उचाइमा रहेको पश्चिमी क्षेत्र ‘वेस्टर्न सिडब्लुएम’को सतही तापक्रम माइनस ५, माइनस १० अथवा माइनस १५ डिग्री सेल्सियस हुँदासमेत हामीले त्यहाँ पग्लेको पानी देखेका छौं।
यो त्यो उचाइमा हुने कडा सूर्यको तापले हुन सक्छ।
यसरी पग्लिएको पानी अपेक्षाकृत तातो हुन्छ। जब यो सतहमा रहेको हिउँ र बरफमा प्रवाहित हुन्छ, यो पुनः जम्छ र यो प्रक्रियामा यसले ताप छोड्छ। हामीलाई लाग्छ कि त्यो तापले बरफलाई गठन हुने बिन्दुमै तातो बनाइरहेको छ।
यसरी हिउँ तल बग्नुअघि नै तातो बनेको हुनुपर्छ। त्यसैले यो अध्ययनको क्रममा हामी गुत्थी पत्ता लगाउने प्रयास गर्नेछौं। यो अहिले एउटा हाइपोथेसिस (परिकल्पना) हो र हामी यसलाई परीक्षण गर्न गइरहेका छौं। यो प्रक्रिया कति महत्त्वपूर्ण छ भनेर हामी परीक्षण गर्नेछौं र मिसनले यो विषयमा थप ‘बुझाइ’ दिनेछ। सँगसँगै हामी भविष्यमा यी हिमनदीहरू कसरी विकसित हुनेछन् भनेर आकलन मोडेल बनाउन र ‘सिमुलेट गर्न’ सक्षम हुनेछौं।
यदि हामीले यो प्रक्रियालाई अहिल्यै यो सही हिसाबले बुझ्न सक्यौं भने यो अत्यन्त ठुलो विषय हुनेछ। हामीले धेरै राम्रो भविष्यवाणी गर्न सक्छौं। अनि सन् २०५०, २०७५, २१०० सम्म हिउँ र हिमनदी कति समयसम्म टिक्नेछन् भन्ने विषयमा आकलन गर्न धेरै सजिलो हुनेछ।
पग्लिनुभन्दा पनि सूर्यको उच्च तापका कारणले हिउँ सिधै वाष्पीकरण, उध्र्वपातन भइरहेको भनिन्छ। के तपाईंको तर्क यही हो?
हो, यो प्रक्रियाको एक भागको रूपमा उध्र्वपातन पनि रहेको छ। तर अहिले हाम्रो मिसनको प्रमुख उद्देश्यमा यसलाई हेरेका छैनौं। हामीलाई लाग्छ कि हिउँ र बरफभित्र पग्लिएको पानी प्रवेश गर्दा कस्तो प्रक्रिया र प्रतिक्रिया देखिन्छ भन्ने कुरा हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण विषय हो। यसले हिमनदीहरू भविष्यमा कति समयसम्म टिक्नेछन् भन्नेमा सबैभन्दा ठुलो प्रभाव पार्नेछ। त्यसैले हामी त्यही प्राथमिक उद्देश्यमा केन्द्रित छौं।
हो, हामीले पर्याप्त तथ्यांक पनि संकलन गर्नेछौं, जसले हामीलाई सगरमाथा क्षेत्रमा उध्र्वपातन प्रक्रिया र वाष्पीकरणले कसरी बरफका पिण्डको तापक्रमलाई प्रभाव पारिरहेका छन् भन्ने विषयमा थप जनाकारी मिल्नेछ।
नेपालले जलवायु परिवर्तनबारेमा विश्वको ध्यान आकृष्ट गर्न आगामी मे महिनाको १६ देखि १८ गतेसम्म ‘सगरमाथा संवाद’ आयोजना गर्दैछ। त्यसमा हिमाल र हिमनदीको सन्दर्भलाई नेपालले कसरी अधिकतम पैरवी र वकालत गर्न सक्छ?
मलाई लाग्छ नेपालले सगरमाथाको विषय विश्वव्यापी मञ्चमा राख्नुपर्छ। यो संवाद त्यसो गर्ने उत्तम अवसर हो। यो विषयमा गरिने कार्यशाला अथवा सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरूले सरकारका मन्त्रीहरूले हिमालले भोगेको वर्तमान संकट बुझ्न सक्छन् र उनीहरू विश्वका अन्य नेताहरूसँग यसबारेमा कुरा गर्न सक्छन्।
यसरी नेपालले नेतृत्व तहमा र निर्णय गर्न सक्ने तहलाई प्रभाव पार्न सक्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने, हामी यस्तो यात्रामा अथवा बाटोमा छौं, जहाँ आगामी एक पुस्ताभित्रै केही क्षेत्र लगभग बस्न अयोग्य हुनेछन्। हामी त्यही चरम परिदृश्यको संघारमा छौं। त्यसैले हामी निर्णय गर्न सक्ने मानिसलाई प्रभाव पार्न सक्षम हुनुपर्छ।
विश्वका लागि महत्त्वपूर्ण वातावरण र हिमालको अवस्थाबारे नेपालले आफ्ना कुरा विश्वव्यापी मञ्चमा राख्नुपर्छ। त्यसो गर्दा तथ्यांकसहित प्रस्तुत हुुनु पर्छ। यसले विषयको गम्भीरतालाई प्रष्ट पार्न सहयोग पुग्छ।
सगरमाथा विश्वव्यापी सम्पदा हो, साझा सम्पत्ति हो। यसको संरक्षण गर्न विश्वको भूमिका हुनु पर्दैन?
हो, विश्व समुदाय यसमा एकसाथ आउनुपर्छ। ठुला राष्ट्रहरू विशेषगरी जी–२० देशहरूले आफ्नो ऊर्जा उत्पादनको प्राथमिक स्रोतलाई जीवाश्म इन्धनबाट ऊर्जाको अन्य स्रोतमा जानु पर्छ। नवीकरणीय ऊर्जालाई प्राथमिक स्रोतको रूपमा प्रयोग गर्नुपर्छ। हामीले यो तत्काल गर्नुपर्छ। हामीले यो पहिले नै गरिसक्नुपर्थ्याे। जलवायु संकटसँग लड्ने यो एकमात्र तरिका हो। त्यससँगै मलाई लाग्छ, हामीले नेपाल जस्ता देशहरूले अन्यत्र भएको कार्बन उत्सर्जनबाट सामना गरिरहेका क्षतिको क्षतिपूर्ति र समायोजनका लागि माग गर्नु पर्छ। जलवायु परिवर्तनका लागि सबैभन्दा कम योगदान गर्ने समुदाय यसबाट सबैभन्दा बढी प्रभावित छन्।
मेरो मतलब हो, नेपालको हिमालमा, पहाडमा बस्ने मानिसले आफैंले धेरै कम प्रदूषण उत्पादन गर्छन्। तर उनीहरू प्राकृतिक वातावरणसँग अत्यन्त धेरे जोडिएका छन्। हिमाली क्षेत्रमा हामीले देखेका ती साना तथा ठुला परिवर्तनले ती मानिसलाई सबैभन्दा धेरै असर गर्छ। त्यसमा ठुलो अन्याय छ। त्यसैले जी–२० देशहरूले आज यो मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने बेला अहिले नै हो। त्यसो त यो वर्षौं पहिले हुनुपर्थ्याे।
हामीले आजै हामीलाई परिवर्तन गरे पनि हिमाल क्षेत्रका हिमनदीहरूले शताब्दीको अन्त्यसम्ममा २० देखि ३० प्रतिशतसम्म पिण्ड गुमाउनेछन्। यदि हामीले समयलाई पछाडि फर्काउन सकेको खण्डमा र कार्बन उत्सर्जन अपेक्षित हिसाबले घटाउन सकेको खण्डमा पनि हामी त्यो क्षति पहिले नै निम्त्याइसकेका छौं। त्यसैले सकारात्मक परिवर्तनका लागि जीवाश्म इन्धनहरूबाट तुरुन्तै टाढा रहनुपर्छ र नवीकरणीय ऊर्जामा लगानी गर्नुपर्छ। सँगसँगै हामी यो संकटबाट प्रभावित मानिससँग मिलेर काम गर्नुपर्छ, जसका कारण उनीहरू अल्पकालीन र दीर्घकालीन रूपमा भोग्नुपर्ने परिवर्तनमा अनुकूलन र समायोजन हुन सक्छन्।
यो संकट समाधानका अल्पकालीन र दीर्घकालीन उपाय के हुन सक्छन्?
अल्पकालीन भनेको अनुकूलन क्षमता बढाउने कार्य गर्नु हो। स्थानीयले अहिलेनै त्यस्ता परिवर्तन देखेका छन्। उनीहरूले भविष्यवाणी गर्न नसकिने हिसाबले मौसम परिवर्तनशील भएको देखेका छन्। पानी पर्ने र खेतीपाती गर्ने नियमिततामा उनीहरू पहिला अभ्यस्त थिए तर अहिले भरपर्दो हिसाबले बाली उब्जाउन सकेका छैनन्। एक वर्ष धेरै भारी वर्ष हुन्छ, अर्को वर्ष धेरै कम। त्यसैले अल्पकालीन भनेको निःसन्देह यिनै स्थानीयसँग मिलेर काम गर्नु हो। यसका लागि केही वित्तीय कोष हुनु पर्छ, जसले उनीहरूलाई ती परिवर्तनप्रति समायोजन हुन सक्षम बनाउने छ।
यो संकटको दीर्घकालीन सम्बोधन भनेको विश्वव्यापी रूपमा कार्बन उत्सर्जन घटाउनु हो। यसमा नेपालबाहेक अन्य देशको भूमिका अहं छ। निःसन्देह नेपालले पनि आर्थिक विकास गर्दै जाँदा र नयाँ उद्योगहरूमा लगानी गर्दै जाँदा त्यसलाई सकेसम्म जलवायुमैत्री बनाउनुपर्छ र वातावरणलाई स्वच्छ राख्नु पर्छ। विश्वव्यापी तापमान वृद्धि र कार्बन उत्सर्जन सन्दर्भमा र हिमालमा कालो कार्बन जम्मा भएको सन्दर्भमा नेपाल यो विषयमा झन् धेरै सचेत हुनुपर्छ।
नेपाल दुई ठुला कार्बन उत्सर्जक देशहरू भारत र चीनको बीचमा पर्छ। यो पृष्ठभूमिमा हामीले सगरमाथा बचाउन यी छिमेकी राष्ट्र र विश्व समुदायलाई एकसाथ ल्याउन सक्छौ?
मलाई लाग्छ नेपालले सर्वप्रथम विश्वव्यापी रूपमा परिवर्तनका लागि वकालत गर्नुपर्छ। सगरमाथा संवाद कार्यक्रमको आयोजना गर्नु यसका लागि उत्कृष्ट तरिका हो। निःसन्देह एक देशको रूपमा देश विकासका लगि नयाँ उद्योगहरूमा लगानी गर्नुपर्छ। यो आवश्यक छ। तर यसो गर्दा विद्यमान समस्या झन् बढाउने कार्य गर्नु हुँदैन। निःसन्देह नेपाल जस्तो देशलाई भारत, चीन जस्ता देशले गर्ने कार्बन उत्सर्जनलाई प्रभाव पार्ने हिसाबले काम गर्न धेरै गाह्रो छ। तर आफनै देशभित्रै यसले निःसन्देह आफ्नो वातावरणको ख्याल राख्न सक्छ। यस अभियानमा सहरव्यापी स्तरमा हुने कार्बन उत्सर्जन कम गर्ने पहल हुन सक्छन्।
काठमाडौंमा पनि सरसफाई अभियान चलाउन सकिन्छ। अहिले सयौं पर्यटकले यात्रा गर्ने कतिपय हिमालमा सरसफाइ भैरहेको छ। स्थानीयले वातावरणसँग प्रत्यक्ष काम गर्दा कसरी सकेसम्म दिगो पार्न सकिन्छ भनेर सुनिश्चित गर्न उनीहरूसँग मिलेर काम गर्नुपर्दछ।
जलवायु परिवर्तन अब कूटनीतिक विषय बनेको छ। यसका लागि नेपालले आफ्नो प्रयासलाई कसरी प्रभावकारी बनाउन सक्छ?
हो, जलवायु परिवर्तन मुख्यतया राजनीतिक मुद्दा हो। त्यसैले नेपालका राजनीतिज्ञहरूले निःसन्देह यी ठुला राष्ट्रका सम्बन्धित राजनीतिज्ञहरूसँग संवाद गर्नुपर्छ। तीमध्ये केही राजनीतिज्ञलाई नेपाल भ्रमणमा ल्याउनुपर्छ, उनीहरूलाई पहाडी वातावरणमा लैजानुपर्छ। उनीहरूलाई हाल भैरहेको घटनाक्रमलाई स्पष्ट रूपमा देखाउनुपर्छ। स्थलगत रूपमा हामी वर्षौंदेखि हिमालहरूमा कस्तो परिवर्तन भइरहेको छ भनेर देख्न सक्छौं।
हामीले चीन, भारत वा धेरै कार्बन उत्सर्जन गर्ने देशका निर्णयकर्तालाई साँच्चै प्रभाव पार्न सक्यौं भने दीर्घकालीन रूपमा परिवर्तन गर्ने त्यो नै सबैभन्दा उत्तम उपाय हुनेछ।
तर स्थानीय आफैंले यो चुनौती सम्बोधन गर्न पहल गर्न सक्छन्। उनीहरूले वातावरणमा आफ्नो प्रभाव कम गर्न सक्छन्। त्यतिबेला, स्थानीयस्तरमा भारत वा चीन जस्ता ठुला देशले गर्ने सहयोगबाट भन्दा ठुलो काम हुन सक्छ। नयाँ पुस्ताले हामीले सामना गरिरहेका चुनौती महसुस गरिसकेको छ। उनीहरूले आफूलाई समायोजन गर्न र समस्याको दीर्घकालीन समाधानका लागि धेरै मात्रामा कार्बन उत्सर्जन गर्नेलाई प्रभाव पार्न थालिसकेका छन्। यो राजनीतिक चुनौती भएकाले यसका लागि छिमेकी देशहरूसहित विश्वव्यापी हिसाबले प्रभाव पार्न नेपालभित्र बलियो नेतृत्व चाहिन्छ।
जलवायु कार्यका लागि जलवायु वित्त आवश्यक हुन्छ। तर त्यसलाई सुनिश्चित गर्न के गर्नुपर्ला?
जलवायु न्यायतर्फ अहिले ठुलो अभियान र आन्दोलन भैरहेको छ। यही कारणले हामीले धेरै मात्रामा कार्बन उत्सर्जन गर्ने देशहरूलाई अन्तर्राष्ट्रिय अदालतभित्र देखिरहेका छौं। त्यहाँ कानुनी कारबाही भइरहेको छ। केही ठुला र औद्योगिक संगठनलाई उनीहरूले वातावरणलाई पहिले नै पुर्याएको क्षतिका लागि क्षतिपूर्ति तिर्न लगाउने प्रयास भइरहेको छ। त्यसैले यो एउटा अगाडिको बाटो हो। ठुला राष्ट्रहरू क्षतिपूर्ति दिन सहमत हुनु पर्छ। यो न्यायपूर्ण समाज र विश्वका लागि आवशयक छ।
हामीले आज सामना गरिरहेका चुनौतीसँग जुध्न वित्त पोषण आवश्यक छ। त्यसैले जलवायु कोषको महत्त्व अधिक छ। मलाई लाग्छ, जी ७ र जी २० देशहरू यसमा अगाडि आउनुपर्छ। यसो हुन सकेमा नेपाल जस्ता देशहरूले अन्यत्र सिर्जना भएका समस्यासँग जुध्न र आफूलाई समायोजन गर्न सक्छन्।
हामीले कुरा गर्न छुटेको कुनै विषय छ?
नेपालसँग अझै पनि विश्वका सबैभन्दा सुन्दर पर्वत शृंखला छन्। यी सानदार छन्। यिनले आतिथ्यभाव अत्यधिक भएका पर्वतीय सर्वसाधारणलाई बाँच्ने आधार दिएका छन्। मलाई लाग्छ, पर्यटन उद्योग नेपालका लागि धेरै महत्त्वपूर्ण छ। पर्यटन उद्योगका केही वातावरणीय प्रभाव भए पनि म अझै पनि विश्वका मानिसलाई नेपाल आउन र यहाँको वातावरणको आनन्द लिन भन्न चाहन्छु। किनभने केही पुस्तामा नेपालका पहाडी क्षेत्रहरू धेरै फरक देखिनेछन्।
प्रकाशित: ४ वैशाख २०८२ ०७:२५ बिहीबार