अन्तर्राष्ट्रिय

मादुरो पक्राउपछि जेलेन्स्कीको ठट्टा : अब पुटिनको पालो, अमेरिकालाई थाहा छ के गर्ने!

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी विशेष फौजले अपहरण शैलीमा पक्राउ गरेको घटनामा रोचक प्रतिक्रिया जनाएका छन्। 

यसमा उनले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनतर्फ संकेत गर्दै भने, ‘अमेरिकालाई के गर्ने भनेर थाहा छ।’

जेलेन्स्कीले ठट्टा गर्दै भने, ‘भेनेजुएला? ठीक छ, त्यसमा कस्तो प्रतिक्रिया दिनुपर्छ? म के भन्न सक्छु? यदि तानाशाहहरूसँग यसरी नै व्यवहार गर्न सकिन्छ भने, संयुक्त राज्य अमेरिकालाई थाहा छ अब के गर्ने।’

शनिबार अमेरिकाले भेनेजुएलाको राजधानी काराकससहित देशभर ठूलो सैन्य कारबाही गरेको थियो। त्यसमा १५० भन्दा बढी विमान, नौसेना, ड्रोन र गोप्य एजेन्सीहरू समावेश थिए।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोही दिन मादुरो पत्नीसहित पक्राउ परेको घोषणा गरेका थिए। उनले पहिलो तस्बिर पनि सार्वजनिक गरेका छन्।

मादुरो दम्पतीलाई अमेरिकी हिरासतमा राखिएको छ। मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध लागूऔषध र आतंकवादसम्बन्धी आरोप लगाइएको छ। उनीहरूमाथि यी आरोपमा अब थप कारबाही गरिनेछ।

ट्रम्पले सत्ता हस्तान्तरण नहुञ्जेल अमेरिकाले भेनेजुएला चलाउने बताएका छन्। यसबिच भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई सबै राष्ट्रपतिको अधिकारसहित तुरुन्तै अस्थायी पद सम्हाल्न आदेश दिएको छ।

प्रकाशित: २० पुस २०८२ ०९:२७ आइतबार