अन्तर्राष्ट्रिय

प्लेजारिजमको आरोपपछि राजीनामा दिएका क्याम्ब्रिजका युवा प्राध्यापक मृत फेला

प्लेजारिजम (बौद्धिक चोरी) को आरोपपछि क्याम्ब्रिज विश्वविद्यालयबाट राजीनामा दिएका बेलायती समाजशास्त्री जेसन अर्डे मृत फेला परेका छन्।

४१ वर्षीय अर्डे शुक्रबार दिउँसो दक्षिण लन्डनको ब्याटरसीस्थित आफ्नो घरमा मृत अवस्थामा भेटिएका हुन्। बेलायती सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गरेका छन्। सन् २०२३ मा क्याम्ब्रिजको सबैभन्दा कान्छो अश्वेत प्राध्यापक बनेका अर्डेले आफ्नो शैक्षिक कार्यमा प्लेजारिजम गरेको आरोप लागेपछि र मिडियाको चर्को दबाबपछि राजीनामा दिएका थिए।

उनको मृत्यु उनको संस्मरण ‘महान र दुर्भाग्यपूर्ण चीजहरू’ सार्वजनिक भएकै साता भयो। उक्त पुस्तकलाई प्रकाशक साइमन एन्ड शुस्टरले उनको विश्वसनीयतामा प्रश्न उठेपछि पनि बजारमा ल्याउने निर्णय गरेका थिए।

आफ्नो प्रकाशकमार्फत जारी गरेको विज्ञप्तिमा अर्डेको परिवारले भनेको छ, ‘हामी एक अद्भुत बुबा, साथी, भाइ, काका र छोरा गुमाउनुपर्दा स्तब्ध छौँ।’ परिवारले अर्डेलाई निशाना बनाएर चलाइएको गलत सूचनाको अभियानले उनलाई थला पारेको बताएको छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘तीन वर्षसम्म जेसन निरन्तर दुर्व्यवहारको अभियानको सिकार भए, जसले उनलाई कमजोर पार्न कुनै कसर बाँकी राखेन।’

महानगरीय प्रहरीले ४१ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरे पनि नाम भने खुलाएको छैन। प्रहरीले भनेको छ, ‘यस समयमा उनको मृत्युलाई अप्रत्याशित मानिएको छ, तर शंकास्पद मानिएको छैन।’

क्याम्ब्रिजकी उपकुलपति डेबोरा प्रेन्टिसले अर्डेको निधनको खबरले आफू अत्यन्तै दुखी भएको बताएकी छिन्। उनले भनिन्, ‘यस कठिन समयमा जेसन अर्डेको परिवार र साथीहरूप्रति हाम्रो सहानुभूति छ।’ अर्डेले शिक्षाको समाजशास्त्रको प्राध्यापकको पदबाट राजीनामा दिने क्रममा आफूमाथि लागेका अथक आरोप, अनुमान र सार्वजनिक टिप्पणीले आफू र आफ्ना प्रियजनलाई गहिरो असर गरेको बताएका थिए। उनले प्लेजारिजमको आरोप अस्वीकार गरे पनि आफ्नो डक्टरेटको काममा केही गल्ती भएको स्वीकार गरेका थिए।

अर्डेको समर्थनमा दुई दर्जनभन्दा बढी शिक्षाविद् र राजनीतिज्ञले आवाज उठाएका थिए। उनीहरूले प्लेजारिजमको आरोपलाई अर्डे र उच्च पदमा रहेका अन्य अश्वेत व्यक्तिलाई कमजोर बनाउन रचिएको ‘स्मियर अभियान’ (छवि धुमिल पार्ने षड्यन्त्र) भनेका थिए।

क्याम्ब्रिजमा अर्डेको नियुक्तिले डिस्लेक्सिया, विकासात्मक ढिलाइ र अटिजम जस्ता चुनौती पार गर्दै सफलता हासिल गरेका उनको व्यक्तिगत संघर्षको कथालाई उजागर गरेको थियो। उनी ११ वर्षको उमेरसम्म गैर-मौखिक र किशोरावस्थासम्म अशिक्षित थिए।

अर्डेको योग्यतामाथि प्रश्न गत महिना उठेको थियो, जब क्याम्ब्रिजका पूर्व अनुसन्धानकर्ता नाथन कोफनासले उनको पीएचडी थेसिसमा अन्य शोधकर्ताको लेखसँग मिलेका खण्डहरू धेरै भएको दाबी गरेका थिए।

साथै, बेलायती मिडियाले उनले ३५ दिनमा ३० म्याराथन र ६ दिनमा ६०० माइल दौडजस्ता उपलब्धिमार्फत परोपकारी कार्यका लागि ५५ लाख पाउण्ड उठाएको दाबीबारे पनि प्रश्न उठाएका थिए।

सुरुमा अर्डेको पक्षमा उभिएको क्याम्ब्रिज विश्वविद्यालयले पछि उनको योग्यता र मानार्थ नियुक्तिबारे नयाँ जानकारी आएको भन्दै अनुसन्धान सुरु गरेको थियो।

उपकुलपति प्रेन्टिसले क्याम्ब्रिजले आफ्नो भर्ना प्रक्रियाको समीक्षा गर्ने बताउँदै भनेकी छिन्, ‘हाम्रा अश्वेत कर्मचारीको योग्यता र योगदानको हामी उच्च कदर गर्छौँ। यो विशेष केस एउटा अपवाद हो, यसलाई आधार बनाएर अरूको काम वा भूमिकाको वैधानिकतामाथि प्रश्न उठाउनु हुँदैन।’ एजेन्सी

प्रकाशित: ३० श्रावण २०८३ ०९:२३ शनिबार