अन्तर्राष्ट्रिय

तीन दिने भ्रमणमा अमेरिका जाँदै सी : ट्रम्पले विशेष स्वागत गर्ने, एजेन्डामा व्यापारदेखि एआईसम्म

चिनियाँ राष्ट्रपति सी जिनपिङ तीन दिने राजकीय भ्रमणका लागि बुधबार अमेरिका जाँदैछन्।

सीलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँ एन्ड्रयूज एयर फोर्स बेसमा पुग्ने कार्यक्रम छ। यो एक दशकभन्दा बढी समयपछि सीको पहिलो अमेरिका भ्रमण हो। सी र उनकी श्रीमती पेङ लियुआनलाई बिहीबार ह्वाइट हाउसमा औपचारिक स्वागत गरिनेछ।

स्वागत समारोहमा अमेरिकी सेनाका ४७९ जना सदस्य सहभागी हुनेछन् भने सैन्य फ्लाईओभर पनि गरिनेछ। बिहीबार साँझ ट्रम्पले सीको सम्मानमा राजकीय रात्रिभोज आयोजना गर्नेछन्।

भ्रमणका क्रममा अमेरिका-चीन व्यापार, भन्सार, दुर्लभ पृथ्वी, कृत्रिम बुद्धिमत्ता (एआई), ताइवान र इरानलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। गत वर्ष भएको व्यापार सम्झौता नोभेम्बरमा सकिँदैछ। त्यसैले दुई देशबिचको व्यापार सम्झौता र यसको निरन्तरताबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

एआई पनि दुई नेताबिचको महत्त्वपूर्ण छलफलको विषय बन्ने देखिएको छ। अमेरिका र चीन एआई तथा अत्याधुनिक प्रविधिमा प्रतिस्पर्धा गरिरहेका छन्। अमेरिकी अधिकारीहरूले एआईसँग सम्बन्धित जोखिममा दुई देशबिच संवादको संयन्त्र बनाउन सकिने विषयमा पनि छलफल गरिरहेका छन्।

ताइवानको विषय पनि वार्तामा उठ्ने अपेक्षा गरिएको छ। अमेरिकाले ताइवानसँग सुरक्षा सम्बन्ध कायम राख्दै आएको छ भने चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ। यससँगै इरानसँग चीनको सम्बन्ध पनि दुई नेताबिच छलफलको विषय बन्न सक्नेछ।

अमेरिका र चीनबिच व्यापार र प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा कायमै रहे पनि दुवै देश सम्बन्धलाई थप बिग्रन नदिने प्रयासमा छन्। विज्ञहरूले भने भ्रमणबाट ठुला सम्झौता वा महत्त्वपूर्ण उपलब्धि हुने अपेक्षा कम रहेको बताएका छन्।

शुक्रबार सी र पेङले ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पसँग ह्वाइट हाउसमा निजी चियापानमा सहभागी हुनेछन्। त्यसपछि उनीहरू वासिङ्टनस्थित राष्ट्रिय अभिलेखालय जाने कार्यक्रम छ। त्यहाँ अमेरिका-चीन सम्बन्धसँग जोडिएका ऐतिहासिक दस्तावेज हेर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: ७ आश्विन २०८३ १३:४९ बुधबार