अन्तर्राष्ट्रिय

अमेरिका भ्रमण सकेर चीन फर्किए सी, ट्रम्पसँग फेरि दुई पटक भेट्ने

चिनियाँ राष्ट्रपति सी जिनपिङले तीन दिने अमेरिकी राजकीय भ्रमण सम्पन्न गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसै वर्ष थप दुई पटक भेटवार्ता गर्ने योजना बनाएका हुन्।

ह्वाइट हाउसमा ट्रम्पसँग चियापानका क्रममा सीले नोभेम्बरमा चीनको शेन्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा ट्रम्पलाई सहभागी हुन निमन्त्रणा दिएका थिए। जवाफमा ट्रम्पले निम्तो स्वीकार गरेका हुन्। त्यसपछि डिसेम्बरमा अमेरिकाको फ्लोरिडामा हुने जी-२० शिखर सम्मेलनमा पनि दुई नेताबिच भेट हुने बताइएको छ।

उनले ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई आतिथ्यका लागि धन्यवाद दिँदै भ्रमण निकै सफल भएको बताए। जवाफमा ट्रम्पले आफूहरूबिच राम्रो कुराकानी भएको र आगामी भेटमा पनि धेरै विषयमा छलफल गर्ने सुनाए।

बिहीबार दुई नेताबिच करिब ९० मिनेट बन्द कोठामा वार्ता भएको थियो। चिनियाँ पक्षका अनुसार उनीहरूले मध्यपूर्व, युक्रेन र कोरियाली प्रायद्वीपका विषयमा छलफल गरेका थिए। ट्रम्पले पनि इरानसँग सम्बन्धित विषयमा सीसँग कुराकानी भएको बताएका छन्।

भेटवार्तामा व्यापार, ताइवान र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा पनि छलफल भएको थियो। दुवै पक्षका आर्थिक तथा व्यापार टोलीबिच नयाँ सहमति बनेको चिनियाँ पक्षले जनाएको छ। एआईमा प्रतिस्पर्धासँगै जोखिम कम गर्न संवाद र सहकार्य जारी राख्नुपर्नेमा सीले जोड दिए।

भ्रमणको अन्तिम दिन सी र पेङ लियुआनले ट्रम्प र मेलानिया ट्रम्पसँग अमेरिकी राष्ट्रिय अभिलेखागारको भ्रमण पनि गरेका थिए। त्यहाँ उनीहरूले अमेरिकी संविधान, स्वतन्त्रताको घोषणापत्र र अधिकारसम्बन्धी दस्तावेज हेरेका थिए।

भ्रमणपछि सीले चीन र अमेरिकाबिच सम्मान, निष्पक्षता र पारस्परिकतामा आधारित स्थिर सम्बन्ध निर्माण गर्न आफू ट्रम्पसँग मिलेर काम गर्न चाहेको बताए। दुवै नेताले आगामी एपेक र जी-२० सम्मेलनका लागि एक अर्कालाई सहयोग गर्ने कुरा पनि पुष्टि गरेका छन्। एजेन्सी

प्रकाशित: १० आश्विन २०८३ ०६:५९ शनिबार