अन्तर्राष्ट्रिय

एट्लान्टिकमाथि हराएको एयर एम्बुलेन्सको भग्नावशेष क्षेत्र भेटियो

अमेरिकी तटरक्षक दलले बर्मुडाबाट बोस्टन जाने क्रममा एट्लान्टिक महासागरमाथि हराएको एयर एम्बुलेन्सको भग्नावशेष क्षेत्र म्यासाचुसेट्सको नान्टकेट तट नजिक भेटिएको बताएको छ।

शनिबार (स्थानीय समय) हराएको उक्त विमानमा चार क्यानडेली र दुई बर्मुडियन नागरिकसहित छ जना थिए। खोजी जारी रहेको र उनीहरूका आफन्तलाई घटनाबारे जानकारी दिइएको तटरक्षक दलले जनाएको छ। खोजीका लागि तटरक्षक दलको एक जहाजले स्थानीय समयअनुसार शनिबार रातभर र आइतबारसम्म पानीमा खोजी जारी राख्ने बताएको छ।

संघीय उड्डयन प्रशासनका अनुसार विमानले बिहानै सम्पर्क गुमाएको थियो। एपीका अनुसार उडानका क्रममा विमानका पाइलटले विद्युतीय समस्या आएको भन्दै आपतकाल घोषणा गरेका थिए। हवाई ट्राफिक नियन्त्रणको अडियोमा पाइलटले आफू ‘अन्धो भएर’ उडिरहेको बताएका थिए।

प्रारम्भिक तथ्यांकअनुसार विमान करिब २४ हजार फिटको उचाइबाट तीव्र गतिमा करिब १० हजार फिटसम्म झरेको थियो। यातायात विभागकी पूर्व महानिरीक्षक तथा उड्डयन कानुनविद् मेरी शियाभोले आँधीका कारण विमानका नेभिगेसन उपकरणमा समस्या आएको हुन सक्ने बताएकी छन्।

क्यानडेली दर्ताको उक्त एयर एम्बुलेन्स बर्मुडाको एलएफ वेड अन्तर्राष्ट्रिय विमानस्थलबाट म्यासाचुसेट्सका लागि राति उडेको थियो। क्यानडाको यातायात मन्त्रालयले खोज तथा उद्धार कार्यमा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि घटनाबारे जानकारी संकलन गरिरहेको बताएको छ।

प्रकाशित: १८ आश्विन २०८३ ०९:०१ आइतबार