अन्तर्राष्ट्रिय

उड्यो विश्वकै ठूलो इलेक्ट्रीक विमान, २७ मिनेट उड्दा ५ डलरको बिजुली खर्च

विश्वकै सबैभन्दा ठूलो ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स-वान’ ले आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

स्विडेनी मूलको अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ ले निर्माण गरेको उक्त विमानले न्युयोर्कको आकाशमा २७ मिनेटसम्म ब्याट्रीको ऊर्जाबाट मात्रै उडान भरेर उड्डयन इतिहासमा नयाँ फड्को मारेको हो।

१०६ फिट लामो पखेटा र ७६ फिट लम्बाइ भएको यो विमानले उडानका क्रममा १ मेगावाटभन्दा बढी विद्युतीय ऊर्जा खपत गरेको थियो।

विश्वबजारमा हवाई इन्धनको मूल्य आकासिएर प्रतिग्यालन ३.५० डलर पुगेका बेला भएको यस परीक्षण उडानमा जम्मा ५ डलर बराबरको बिजुली मात्र खर्च भएको कम्पनीले जनाएको छ।

यो परीक्षण विमान सिधै व्यावसायिक सेवामा भने जाने छैन। कम्पनीले यसलाई सन् २०३१ सम्ममा व्यावसायिक रूपमा बजारमा ल्याउने तयारी गरेको ३० सिटे ‘ईएस–३०’ हाइब्रिड–विद्युतीय विमानको प्राविधिक परीक्षणका रूपमा प्रयोग गरेको हो।

अमेरिकाको लस एन्जलसस्थित प्लान्टमा निर्माण भइरहेको ईएस-३० को पहिलो उडान परीक्षण सन् २०२८ मा गर्ने तालिका छ।

यस परियोजनामा युनाइटेड एयरलाइन्स, एयर क्यानडा र जेएसएक्स जस्ता ठूला वायुसेवा कम्पनीहरूले लगानी तथा चासो देखाएका छन्।

विमानको तौल र ब्याट्री क्षमताका कारण पूर्ण रूपमा ब्याट्रीबाट मात्रै लामो दूरीका व्यावसायिक उडान भर्न अझै प्राविधिक चुनौती छ।

एक्स-वान ब्याट्रीबाट मात्र करिब १२५ माइलसम्म उड्न सक्छ भने हाइब्रिड इन्जिन (रेन्ज एक्सटेन्डर) को सहयोगमा यसको क्षमता ५०० माइलसम्म पुग्नेछ।

विश्वभर विद्युतीय उड्डयन क्षेत्रमा अन्य कम्पनीहरू पनि तीव्र प्रतिस्पर्धामा छन्। रोल्स-रोयसले द्रुत गतिको विद्युतीय विमान, हार्बर एयरले ६ सिटे विद्युतीय सिऔप्लेन तथा जोबी एभिएसन र आर्चर एभिएसनले छोटो दूरीका भर्टिकल टेकअफ विमान विकास गरिरहेका छन्।

प्रकाशित: ३ भाद्र २०८३ २०:०० बुधबार