मध्यपूर्व र युक्रेनमा जारी युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो जोखिम तथा संयुक्त राष्ट्रसंघको भूमिकामाथि उठिरहेका प्रश्नबिच विश्वभरका नेताहरू यसै साता न्युयोर्कमा भेला हुँदैछन्।
यस वर्षको महासभामा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा र स्वयं संयुक्त राष्ट्रसंघको भविष्यका विषयमा विश्वका नेताहरूबिच छलफल हुने देखिएको छ। राष्ट्रसंघको ८१औं महासभामा करिब १३० राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ।
महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार दोस्रो वर्ष राष्ट्रसंघको मञ्चमा उपस्थित हुनेछन्। ट्रम्प प्रशासनले राष्ट्रसंघप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आएको छ। अमेरिकाले राष्ट्रसंघलाई दिँदै आएको आर्थिक योगदानमा कटौती गर्नुका साथै दर्जनौं राष्ट्रसंघीय निकायबाट आफूलाई अलग गरेको छ।
यसैबिच चीनका राष्ट्रपति सी चिनफिङ भने महासभामा सहभागी नहुने भएका छन्। उनले बिहीबार वासिंटनमा ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गर्ने कार्यक्रमलाई प्राथमिकता दिएका छन्। चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिले विश्वव्यापी संकट समाधानमा राष्ट्रसंघको सान्दर्भिकतामाथि थप बहस जन्माएको छ। सन् २०२१ मा सीले महासभालाई भिडियोमार्फत सम्बोधन गरेका थिए।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल पनि यसै वर्षको अन्त्यमा सकिँदै छ। ८० वर्ष पुरानो विश्व संस्थाको नेतृत्वका लागि नयाँ महासचिवको खोजी भइरहे पनि अहिलेसम्म स्पष्ट अग्रणी उम्मेदवार देखिएका छैनन्। राष्ट्रसंघको आर्थिक संकट पनि महासभाको पृष्ठभूमिमा छ।
अमेरिकाले यसै साता नियमित बजेटका लागि सात करोड २५ लाख डलर योगदान गरेपछि महासभामा अमेरिकाले आफ्नो मतदान अधिकार गुमाउने अवस्था टरेको छ, तर अमेरिकाले अझै राष्ट्रसंघलाई एक अर्ब डलरभन्दा बढी रकम तिर्न बाँकी रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। इन्टरनेसनल क्राइसिस ग्रुपका रिचर्ड गोवानका अनुसार राष्ट्रसंघ अहिले प्रस्ट संकटमा फसेको छ। उनका अनुसार गत वर्षजस्तो संस्था गम्भीर आपत्कालीन अवस्थामा नरहे पनि यसको संकट तत्काल समाधान हुने अवस्था देखिएको छैन।
एआईको बढ्दो जोखिम
यसपटकको महासभामा कृत्रिम बुद्धिमत्ताको तीव्र विकास र त्यसबाट उत्पन्न हुन सक्ने जोखिम पनि प्रमुख विषय बन्नेछ। एआई उद्योगका केही प्रमुख व्यक्तिले हालै यसको विकासलाई केही समय समन्वित रूपमा सुस्त बनाउन आह्वान गरेका छन्। उनीहरूले एआईले आफ्नै क्षमतामा सुधार गर्न थालेमा भविष्यमा मानव नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिएका छन्।
महासचिव गुटेरेसले एआईका लागि विश्वव्यापी सुरक्षा मापदण्ड आवश्यक रहेको बताएका छन्। उनका अनुसार एआई विकासमा अगाडि रहेका देशहरूले साझा नियम बनाउन नसके प्रतिस्पर्धाले भविष्यमा विश्वव्यापी ठुलो संकट निम्त्याउन सक्छ। राष्ट्रसंघले सन् २०२३ मै एआईसम्बन्धी सल्लाहकार निकाय गठन गरेको थियो। त्यसमा प्रविधि क्षेत्रका प्रतिनिधि, सरकारी अधिकारी र शिक्षाविद् सहभागी छन्, तर एआई जोखिमबारे महासचिव गुटेरेसको चेतावनीप्रति अमेरिकी राष्ट्रपति ट्रम्प असहमत देखिएका छन्। उनले एआईसम्बन्धी जोखिमलाई खारेज गर्दै आएका छन्।
मध्यपूर्वमा बढ्दो तनाव
मध्यपूर्वमा जारी युद्ध महासभाको अर्को प्रमुख विषय हुनेछ। इरानमाथि अमेरिका र इजरायलको युद्ध जारी रहँदा त्यसले क्षेत्रीय अस्थिरतासँगै विश्वव्यापी मुद्रास्फीति र ऊर्जा बजारमा समेत प्रभाव पारेको छ। यमनमा हुथी विद्रोहीहरूको बढ्दो गतिविधिले महत्त्वपूर्ण समुद्री मार्ग बाब अल–मन्देबमा जहाज आवागमन जोखिममा परेको छ। यसले ऊर्जा मूल्य थप बढ्न सक्ने चिन्ता बढाएको छ।
महासचिव गुटेरेसले यमनको अनुभवले सैन्य माध्यमबाट द्वन्द्व समाधान गर्न कति कठिन हुन्छ भन्ने देखाएको बताएका छन्। यमनका लागि राष्ट्रसंघीय विशेष दूतले शान्तिवार्ता अघि बढाउन प्रयास गरिरहेको उनले बताए, तर इरान र अमेरिकाबिच आक्रमण–प्रत्याक्रमण जारी रहेकाले हाल शान्तिवार्ता रोकिएको छ। ट्रम्पले युद्ध थप विस्तार हुन सक्ने चेतावनी पनि दिएका छन्। इरानी राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार महासभालाई सम्बोधन गर्नेछन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास भने लगातार दोस्रो वर्ष महासभामा प्रत्यक्ष उपस्थित हुने छैनन्। अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि महासभाले उनलाई भिडियोमार्फत सम्बोधन गर्न अनुमति दिएको छ। सुडानमा जारी युद्धबारे पनि महासभाका अवसरमा उच्चस्तरीय बैठक हुने सम्भावना छ, तर तत्काल कूटनीतिक सफलता हासिल हुने अपेक्षा कम रहेको कूटनीतिज्ञहरूले बताएका छन्।
युक्रेन युद्ध र खाद्य संकट
रूसले युक्रेनमाथि सुरु गरेको चार वर्षभन्दा लामो युद्ध पनि महासभाको प्रमुख अजेन्डामा छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले महासभालाई सम्बोधन गर्नेछन्। कूटनीतिज्ञहरूका अनुसार जेलेन्स्कीले अर्को कठिन जाडोयामको सामना गर्नुपर्ने अवस्थामा युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गर्नेछन्। युक्रेन युद्ध अन्त्य गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रभावकारी भूमिका खेल्न सकेको छैन। सुरक्षा परिषद्को स्थायी सदस्य रूससँग भिटो अधिकार भएकाले युद्ध अन्त्यसम्बन्धी प्रस्ताव अघि बढाउन कठिनाइ हुँदै आएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा युक्रेन युद्ध अन्त्यलाई प्राथमिकतामा राखेका थिए। उनले यसै महिनाको सुरुवातमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका थिए, तर न्युयोर्कमा जेलेन्स्कीसँग उनको भेट हुने वा नहुने स्पष्ट छैन। रोयटर्समा आधारित
प्रकाशित: ६ आश्विन २०८३ १०:०५ मंगलबार