अन्तर्राष्ट्रिय

अमेरिकामा किन रोकियो एकैपटक पाँच हजार उडान ?

१५ लाख यात्रु प्रभावित

अमेरिकाको पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि स्थानीय समयअनुसार शुक्रबार देशभरका हवाई उडान अवरुद्ध भएका छन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो। नेपाली समयअनुसार शनिबार बिहान भएको यो घटनाले अमेरिकी हवाई सेवा अस्तव्यस्त बनाएको थियो।

अमेरिकी यातायात सचिव शन डफीले पुरानो प्रविधि र डेटाले भरिएका राउटरका कारण उडान सेवा प्रभावित भएको बताएका छन्। उनका अनुसार अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणाली ‘अविश्वसनीय रूपमा पुरानो’ छ र अझै पनि एनालग प्रविधिमा निर्भर छ।

उडान रोकिएपछि आयोजित पत्रकार सम्मेलनमा डफीले राउटरमा अत्यधिक डेटा जम्मा हुँदा प्रणालीमा असंगति देखिएको बताए। ‘हाम्रा राउटरहरू डेटाले भरिएका थिए। त्यसबाट तथ्यांकमा असंगति देखिन थालेपछि हामीले प्रणाली बन्द गर्‍यौँ,’ उनले भने।

उनले प्रणालीको पूर्ण स्तरोन्नतिका लागि संसद्सँग आपत्कालीन बजेट माग गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नयाँ हवाई ट्राफिक नियन्त्रण प्रणाली निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन संसद्लाई आग्रह गर्दै आएको उनले बताए।

एफएएका अनुसार क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा सञ्चारसम्बन्धी समस्या देखिएपछि देशभरका उडान रोकिएका थिए। अवरुद्ध सेवा स्थानीय समयअनुसार शुक्रबार राति ८:१५ बजे पुनः सञ्चालनमा आएको थियो। यो समय नेपाली समयअनुसार शनिबार बिहान ७ बजे हो।

यस घटनाका कारण करिब पाँच हजार उडान रद्द भएका थिए भने हजारौँ उडान ढिला भएका थिए। उडानसम्बन्धी तथ्यांक उपलब्ध गराउने संस्था सिरियमका अनुसार करिब १५ लाख यात्रु प्रभावित भएका थिए। हवाई ट्राफिक अवरुद्ध भएपछि आकाशमा रहेका विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको थियो।

गृह सुरक्षा सचिव मार्कवेन मुलिनले भने यो घटना साइबर आक्रमणका कारण भएको कुनै प्रमाण नरहेको बताएका छन्। उनका अनुसार दूरसञ्चार प्रणालीमा आएको अवरोधका कारण समस्या भएको हो। उनले यस घटनालाई माइक्रोसफ्ट सेवामा आएको अवरोधसँग पनि सम्बन्धित नरहेको बताए।

सन् २०२३ जनवरीमा एफएएको कम्प्युटर प्रणालीमा समस्या आएपछि अमेरिकामा राष्ट्रव्यापी रूपमा उडान रोकिएको थियो। त्यसअघि सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि सबै उडान रोकिएका थिए।

डफीले हवाई ट्राफिक नियन्त्रण प्रणाली पूर्ण रूपमा आधुनिक नबनाउँदासम्म यस्ता समस्या दोहोरिन सक्ने चेतावनी दिएका छन्। उनले प्रणाली सुधारका लागि आवश्यक बजेट उपलब्ध गराउन संसद्लाई पुनः आग्रह गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८३ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App