अन्तर्राष्ट्रिय

रुससँग तेल किन्दा भारतमाथि लागेको कर चीनमाथि किन लागेन? यस्तो छ अमेरिकी मन्त्रीको जवाफ

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनजस्ता मुलुकमाथि प्रत्यक्ष प्रतिबन्ध लगाउँदा विश्वव्यापी तेल बजारमा ठूलो प्रभाव पर्न सक्ने भएकाले अमेरिकाले तत्काल कडा कदम चाल्न नसक्ने बताए।  

उनको टिप्पणी अमेरिकाले हालै भारतको निर्यातमा ५० प्रतिशत कर लगाउने निर्णयपछि आएको हो। यसमा मस्कोसँगको नयाँदिल्लीको तेल व्यापारका लागि २५ प्रतिशत जरिवाना भन्सार शुल्क समावेश छ।  

रुबियोले भने, ‘यदि चीनमाथि प्रत्यक्ष प्रतिबन्ध लगाइयो भने त्यो तेल फेरि चीनमा परिष्कृत भएर अन्तर्राष्ट्रिय बजारमा पुग्छ, जसले सम्पूर्ण विश्वलाई असर गर्नेछ।’  

रुसी तेल खरिद रोक्न युरोपलाई पनि प्रतिबन्ध लगाउने विषयबारे सोधिएको प्रश्नमा उनले भने, ‘युरोपले अझै प्राकृतिक ग्यास किनिरहेको छ। केही देशले यसलाई हटाउने प्रयास गरिरहेका छन्, तर धेरै गर्न सकिन्छ। निकट भविष्यमा थप प्रतिबन्ध प्याकेज आउन सक्छ।’  

अमेरिकी सिनेटमा आएको प्रस्तावअनुसार चीन र भारत दुवैलाई रुसी तेल किनेको आधारमा सय प्रतिशत कर लगाउन सकिने उल्लेख थियो। तर रुबियोका अनुसार, धेरै युरोपेली देशले यसबाट हुने असरबारे चिन्ता व्यक्त गरेका छन्।  

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका लागि तोकिएको करको समयसीमा बढाए। भारतपछि रुसबाट तेल किन्ने सबैभन्दा ठूलो मुलुक चीन हो।  

ट्रम्पले फक्स न्युजसँग भने, ‘आज भएको घटनाक्रमका कारण मलाई अहिले नै करबारे सोच्नुपर्छ जस्तो लाग्दैन।’ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आफ्नो भेटलाई ‘धेरै राम्रो’ भएको बताए।  

रुबियोका अनुसार अमेरिका प्रतिबन्धका मामिलामा युरोपसँग मनमुटाव गर्न चाहँदैन। बरु, युरोपले रचनात्मक भूमिका खेल्न सक्ने उनको विश्वास छ।  

ट्रम्पले यसअघि भारतमाथि लगाइएको भन्सार शुल्कले मस्कोलाई वासिङ्टनसँग भेट गर्न दबाब दिएको बताए। उनको भनाइमा जब अमेरिकाले भारतलाई ‘रुसबाट तेल किनिरहेमा भन्सार शुल्क तिर्नुपर्छ’ भनेर चेतावनी दियो, यसले भारतलाई खरिद रोक्न बाध्य तुल्यायो।  

ट्रम्पले भने, ‘भारत दोस्रो ठूलो ग्राहक थियो। चीन पहिलो हो। जब रुसले यी दुवै ग्राहक गुमाउने जोखिम देख्यो, तब पुटिन वार्तामा आउन चाहन्थे। यसले निश्चित रूपमा प्रभाव पारेको हो।’ एएनआई

प्रकाशित: २ भाद्र २०८२ १५:१३ सोमबार