भारत सरकारले राष्ट्रिय चिकित्सा प्रवेश परीक्षा (नीट) मा हुन सक्ने ठगी र भ्रमपूर्ण प्रचार रोक्न चर्चित मेसेजिङ एप टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगाएको छ।
शिक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (मेइटी) ले सूचना प्रविधि ऐन, २००० को धारा ६९ए अन्तर्गत टेलिग्रामलाई ब्लक गरेको जनाएको छ। यो प्रतिबन्ध जुन २२, २०२६ सम्म लागू रहनेछ।
यसअघि मे ३, २०२६ मा लिइएको परीक्षामा प्रश्नपत्र चुहावट र अनियमितता भएको पुष्टि भएपछि सरकारले मे १२ मा परीक्षा रद्द गरेको थियो। अहिले जुन २१ का लागि तय गरिएको नयाँ परीक्षाको निष्पक्षता कायम राख्न यो कदम चालिएको हो। परीक्षा सकिए पनि आगामी जुन ३० सम्मका लागि टेलिग्रामको सन्देश सम्पादन (एडिट) गर्ने सुविधासमेत बन्द गर्न सरकारले निर्देशन दिएको छ।
एनटीएका अनुसार केही आपराधिक गिरोहले परीक्षाको प्रश्नपत्र चुहावट भएको नक्कली प्रमाण सिर्जना गर्न टेलिग्रामको प्रयोग गरिरहेका छन्। टेलिग्रामको एडिट सुविधा प्रयोग गरेर पहिले नै पठाइएका पुराना सन्देशहरूमा नयाँ फाइल वा प्रश्नपत्र थप्न मिल्ने भएकाले, परीक्षा सकिएपछि प्रश्नपत्र राखेर 'पहिले नै पेपर लीक भएको' जस्तो भ्रम फैलाउने काम भइरहेको पाइएको छ।
विगत केही हप्तादेखि टेलिग्राममा 'पेपर लीक नीट', 'रि-नीट २०२६' र 'नीट माफिया' जस्ता च्यानलहरू बनाएर परीक्षार्थी र उनीहरूका परिवारसँग लाखौं रुपैयाँ मागिरहेको भेटिएको छ। भारतीय साइबर अपराध समन्वय केन्द्र (आईफोरसी) ले यस्ता धेरै च्यानल, समूह र बटहरू हटाइसकेको छ।
प्रहरीको अनुसन्धानका क्रममा अहमदाबाद साइबर अपराध शाखाले आठ वटा टेलिग्राम च्यानल चलाउने अन्तरराज्यीय साइबर ठगी गिरोहको पर्दाफास गरेको छ। यो गिरोहले नक्कली बैंक खातामार्फत करिब १.५ करोड भारतीय रुपैयाँको कारोबार गरेको र एक महिनामा करिब १ हजार मोबाइल नम्बरमा सम्पर्क गरेको खुलेको छ।
डाउनलोडका हिसाबले भारत टेलिग्रामको सबैभन्दा ठूलो बजार हो। अध्ययन, जागिर, व्यक्तिगत सञ्चार र जानकारी संकलनका लागि यसको प्रयोग गर्ने लाखौँ मानिसहरू यो प्रतिबन्धबाट प्रभावित हुनेछन्।
एनटीएले प्लेटफर्मबाट गलत सामग्री हटाउने यसअघिका प्रयासहरू सफल नभएपछि 'अन्तिम उपाय' को रूपमा यो कदम चाल्नुपरेको भन्दै प्रयोगकर्ताहरूमा पर्न गएको असुविधाप्रति माफी मागेको छ। प्रतिबन्धको आदेशबारे भारतका ठूला दूरसञ्चार प्रदायकहरू र गुगल वा एप्पलले आधिकारिक रूपमा केही बताएका छैनन्।
जुन २१ मा हुने परीक्षाका लागि एनटीएले नयाँ निर्देशिका जारी गर्दै परीक्षाको अवधि १८० मिनेटबाट बढाएर १९५ मिनेट बनाएको छ। साथै उत्तरपुस्तिकामा रफ कार्य गर्ने ठाउँ पनि बढाइएको छ।
सन् २०१३ देखि सुरु भएको नीट परीक्षा भारतमा चिकित्सा (एमबीबीएस), दन्त चिकित्सा (बीडीएस), आयुष र नर्सिङ जस्ता पाठ्यक्रमहरूमा भर्ना हुनका लागि लिइने एकमात्र राष्ट्रिय प्रवेश परीक्षा हो। यस परीक्षा मार्फत एम्स र जिपमेर जस्ता प्रतिष्ठित संस्थाहरूमा पनि भर्ना लिइन्छ। एनटीएले परीक्षाका नाममा कसैले ठगी गर्न खोजे वा प्रश्नपत्र उपलब्ध गराउने आश्वासन दिएमा तुरुन्तै साइबर अपराध हेल्पलाइन वा पोर्टलमा जानकारी गराउन आग्रह गरेको छ। एजेन्सी
प्रकाशित: २ असार २०८३ १३:४० मंगलबार