विश्वका विभिन्न देशमा पछिल्ला केही महिनामा एकपछि अर्को ठुला भूकम्प गएका छन्। यसले मानिसमा चिन्ता पनि बढाएको छ। फिलिपिन्स, भेनेजुएला, जापान, मेक्सिको, कोलम्बिया, इन्डोनेसिया र स्पेनमा छोटो समयमै ठुला भूकम्प गएका हुन्।
जुनमा फिलिपिन्समा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसले सुनामीसमेत निम्त्याएको थियो। त्यही महिना भेनेजुएलामा ७.० भन्दा माथिका दुई वटा भूकम्प लगातार गएका थिए।
जुलाईमा जापानमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने दक्षिणी मेक्सिकोको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
अगस्टको सुरुवातमा कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। यो त्यहाँ पछिल्ला केही वर्षमा गएको ठुलो भूकम्पमध्ये एक थियो। त्यसपछि इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा करिब ४० हजार मानिस विस्थापित भएका थिए।
त्यसैगरी, यो साता स्पेनमा ४.९ म्याग्निच्युडको भूकम्प गएपछि सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।
यति छोटो समयमा विभिन्न देशमा ठुला भूकम्प गएपछि पृथ्वीमा कुनै असामान्य गतिविधि भइरहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। तर भूकम्प विज्ञहरूले पछिल्लो समय देखिएको यो क्रम असामान्य नभएको बताएका छन्।
क्यालटेकका भूभौतिक शास्त्रका प्राध्यापक जाचरी रसले अहिले देखिएको भूकम्पको क्रम सामान्य उतारचढावभित्रै पर्ने बताएका छन्। ‘मैले देखिरहेको अवस्थामा असामान्य केही छैन। यो भूकम्प जाने सामान्य दरमा देखिने परिवर्तनभित्रै पर्छ,’ रसले भने।
द इन्डिपेन्डेन्टका अनुसार पृथ्वीभित्र रहेका टेक्टोनिक प्लेटहरू एक अर्कासँग चल्दा भूकम्प जाने गर्छ। त्यस क्रममा जमिनमा कम्पन महसुस हुन्छ।
७.० भन्दा माथिको म्याग्निच्युड भएका भूकम्पलाई ठुलो भूकम्प मानिन्छ। यस्ता भूकम्पले ठुलो क्षेत्रमा गम्भीर क्षति पुर्याउन सक्छन्।
येल विश्वविद्यालयको पृथ्वी तथा ग्रह विज्ञान विभागकी प्राध्यापक मौरीन लङका अनुसार यस वर्ष अहिलेसम्म ७.० भन्दा माथिका ११ वटा भूकम्प गइसकेका छन्। तर यो संख्या वर्षमा जाने औसत १५ देखि १८ वटा ठुला भूकम्पभन्दा कम हो।
‘यो कुनै ढाँचा जस्तो देखिन सक्छ, किनकि यीमध्ये धेरै भूकम्प मानिस बसोबास गर्ने क्षेत्रमा गए र ठुलो क्षति पनि भयो। त्यसैले हामीले यसबारे धेरै समाचार देखिरहेका छौं,’ लङले भनिन्।
क्यालटेकका भूभौतिक शास्त्रका अनुसन्धान प्राध्यापक एलेन हस्करले यस वर्ष १७ वा १८ वटा ठुला भूकम्प पुग्न सक्ने बताएका छन्। उनका अनुसार सामान्य रूपमा सक्रिय वर्षमा करिब २० वटा यस्ता भूकम्प जान सक्छन्।
‘यदि यो संख्या पुग्यो भने अलि बढी हुनेछ, तर असामान्य भने होइन,’ हस्करले भने।
पछिल्लो समय विभिन्न देशमा गएका ठुला भूकम्प एक अर्कासँग सम्बन्धित रहेको कुनै प्रमाण नभएको वैज्ञानिकहरू बताउँछन्।
वाशिंगटन विश्वविद्यालयका भूकम्पविद् जोन एमिलियो भिडेलले यी घटनाहरू ‘लगभग निश्चित रूपमा संयोग’ भएको बताए। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को भूकम्प जोखिम कार्यक्रमका सहायक संयोजक विलियम बर्नहार्टका अनुसार पछिल्ला ठुला भूकम्पहरू फरक–फरक टेक्टोनिक प्लेटको सीमा र फरक क्षेत्रमा गएका छन्।
‘स्थान र समयका हिसाबले यी भूकम्पहरू नजिक देखिए पनि भूकम्पीय हिसाबले तिनीहरू एक अर्कासँग सम्बन्धित छैनन्,’ बर्नहार्टले भने।
ठुलो भूकम्पले नजिक वा टाढाका क्षेत्रमा साना भूकम्प र पराकम्पन भने निम्त्याउन सक्छ। भेनेजुएलामा भएको घटनामा पनि यस्तो देखिएको थियो।
तर विश्वभर एउटा ठुलो भूकम्पले अर्को ठुलो भूकम्प निम्त्याउँछ भन्ने प्रमाण नभएको स्ट्यानफोर्ड विश्वविद्यालयका भूभौतिक शास्त्रका प्राध्यापक एरिक डनहमले बताए।
यसको अर्थ विश्वको कुनै एक भागमा गएको ठुलो भूकम्पका कारण अमेरिकामा ठुलो भूकम्प जाने सम्भावना बढ्छ भन्ने होइन। मौरीन लङ र एलेन हस्करले पनि विश्वका अन्य स्थानमा गएको ठुलो भूकम्पले अमेरिकामा हुने ठुलो भूकम्पको सम्भावनामा असर नपार्ने बताएका छन्।
विश्वभरका भूकम्प आपसमा सम्बन्धित नभए पनि अमेरिकाको पश्चिमी तटमा रहेका केही सक्रिय फल्टबारे वैज्ञानिकहरू भने सतर्क छन्।
दक्षिणी क्यालिफोर्नियाको सान एन्ड्रियास फल्ट त्यसमध्ये प्रमुख हो। त्यसैगरी ओरेगन र वासिंगटनको तट हुँदै फैलिएको कास्काडिया सबडक्शन जोन पनि वैज्ञानिकहरूको निगरानीमा छ।
गत वर्ष ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यी पश्चिमी तटका फल्टहरूले एक अर्कालाई प्रभावित गर्न सक्ने बताएका थिए। एकै समयमा ठुलो भूकम्प गएमा क्षति झनै बढ्न सक्ने उनीहरूको चेतावनी थियो।
कोलम्बिया विश्वविद्यालयका पृथ्वी तथा वातावरणीय विज्ञान विभागका सहायक प्राध्यापक फोलारिन कोलावोलले सान एन्ड्रियास फल्टमा ठुलो भूकम्प जाने समय ढिलो भइसकेको बताएका छन्।
‘सान एन्ड्रियास फल्टमा ठुलो भूकम्पका लागि समय ढिलो भइसकेको देखिन्छ। तर अमेरिकाभर यस्ता धेरै फल्ट छन्, जहाँ पर्याप्त हलचल भएमा भूकम्प जान सक्छ,’ कोलावोलले बताए।
वैज्ञानिकहरूका अनुसार भूकम्प कहिले र कहाँ जान्छ भनेर ठ्याक्कै पूर्वानुमान गर्न अहिले सम्भव छैन। त्यसैले सम्भावित जोखिमबाट बच्न पहिल्यै तयारी गर्नु महत्त्वपूर्ण हुन्छ। घरमा आवश्यक आपत्कालीन सामग्री राख्ने, परिवारका सदस्यसँग आपत्कालीन अवस्थामा कहाँ जाने भन्ने योजना बनाउने र सुरक्षित स्थानबारे जानकारी राख्ने सुझाव दिइएको छ।
भूकम्पका लागि केही प्रारम्भिक चेतावनी प्रणालीले जमिन हल्लिनुअघि छोटो समयको सूचना दिन सक्छन्। अमेरिकामा प्रयोग हुने ‘शेकअलर्ट’ र ‘माईशेक’ जस्ता एपले केही अवस्थामा एक मिनेटसम्मको अग्रिम सूचना दिन सक्छन्।
भूकम्प आएमा जमिनमा झुक्ने, झ्यालबाट टाढा सुरक्षित ठाउँमा जाने र आफू रहेको स्थानलाई समातेर बस्ने अभ्यास गर्नुपर्ने अमेरिकी रेडक्रसले बताएको छ। बाहिर रहेका मानिसले भवन र बिजुलीका तारबाट टाढा खुला ठाउँमा जानुपर्ने अमेरिकी भूगर्भ सर्वेक्षणको सुझाव छ।
‘ठुला र कम आउने भूकम्प विनाशकारी हुन सक्छन्। तर बारम्बार आउने साना भूकम्प पनि जोखिमपूर्ण हुन सक्छन्। भूकम्प आएको अवस्थामा कसरी प्रतिक्रिया दिने भन्नेबारे पहिल्यै तयार हुनु नै त्यसलाई सामना गर्ने सबैभन्दा राम्रो उपाय हो,’ बर्नहार्टले भने। एजेन्सीको सहयोगमा
प्रकाशित: ८ भाद्र २०८३ १३:३५ सोमबार