अन्तर्राष्ट्रिय

जब रसुवा बाढीपीडितलाई सहयोग गर्न खुत्रुके बोकेर प्रशासन कार्यालय पुगे ६ वर्षीय शेख

सामाजिक सञ्जालमा अहिले भारतको उत्तर प्रदेशका एक ६ वर्षीय बालकको भिडियो चर्चामा छ।

उनी चर्चामा आउनुको कारण रसुवामा आएको बाढीपछि मानिसहरू समस्यामा परेको दृश्य टेलिभिजन र मोबाइलमा देखेपछि एक वर्षदेखि बचत गरेको रकम बाढीपीडितलाई सहयोग गर्ने निर्णय गर्नु हो।

कुशीनगरस्थित विष्णुपुराका अरबाज शेख बुधबार आफ्नो खुत्रुके बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनले खुत्रुके जिल्ला अधिकारी महेन्द्र सिंह तंवरलाई बुझाउँदै त्यसमा जम्मा भएको रकम नेपालका बाढीपीडितलाई सहयोग गर्न पठाइदिन आग्रह गरेका हुन्। 

अरबाजले उक्त रकम एक वर्षदेखि बचत गर्दै आएका थिए। बाल्यकालका साना आवश्यकता र रहर पूरा गर्न जम्मा गरेको पैसा नेपालका बाढीपीडितका लागि दिने उनको निर्णयले प्रशासनमा समेत भावुक वातावरण बनेको थियो। बचत बुझाउँदा उनको अनुहारमा बालकको निर्दोषता झल्किन्थ्यो। तर, उनको कामले आफ्नो उमेरभन्दा ठूलो संवेदना र सहयोगी भावना देखाएको छ।

नेपालको बाढीका दृश्यले आफूलाई दुःखी बनाएको र त्यसैले आफूले बचत गरेको पैसा सहयोग गर्ने निर्णय गरेको अरबाजले बताए।

उनले भने, ‘मैले पाएको पैसा खुत्रुकेमा बचत गर्थें। एक वर्षदेखि पैसा बचत गरिरहेको थिएँ। मैले त्यो पैसा नेपालका बाढीपीडितलाई दिएको हुँ। मैले आफ्नो खुत्रुके जिल्ला अधिकारीलाई दिएको छु।’

सामाजिक सञ्जालमा अरबाजले दिएको रकमभन्दा पनि उनको भावनाको तारिफ भइरहेको छ। आफ्ना साना रहर पूरा गर्न बचत गरेको रकम विपत्तिमा परेका अपरिचित मानिसका लागि दिनुले सहयोग गर्न धन, शक्ति वा ठूलो उमेर नै आवश्यक पर्दैन भन्ने कुरा देखाएको छ।

उनको खुत्रुके अहिले उमेर र सीमाभन्दा माथि उठेर देखाइएको मानवीय सहयोगको उदाहरण बनेको छ।

प्रकाशित: २० भाद्र २०८३ १०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App