अन्तर्राष्ट्रिय

एयर इन्डियाको विमान दुर्घटना हुँदा पाइलटबिच केके भएको थियो कुराकानी ?

एक महिनाअघि १२ जुनमा भारतको गुजरात प्रान्तको अहमदावादमा भएको जहाज दुर्घटनाको प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक भएको छ। भारतको विमान दुर्घटना जाँच ब्युरो(एएआइबी)ले शनिबार प्रतिवेदन सार्वजनिक गरेको हो। 

प्रतिवेदनले चालक दलका सदस्यबिचको कुराकानी रेकर्ड हुने ‘ककपिट भ्वाइस रेकर्डर(सिभिआर)’ को रिपोर्ट पनि फेला पारेको जनाएको छ। जसबाट पाइलटहरूबिच भएको कुराकानी पनि भेटिएको छ। प्रतिवेदनअनुसार विमानले उडान भरे लगत्तै केही सेकेन्डभित्रै जहाजका दुवै इन्जिन बन्द भएका थिए। त्यसपछि पाइलटहरू बिचमा भएको सिलसिलाबद्ध कुराकानी पनि प्रतिवेदनमा उल्लेख छ। 

विमानको चालक दलका सदस्यमा क्याप्टेन सुमित सभरवाल मुख्य पाइलट थिए। यस्तै उनका सहयोगीमा फर्स्ट अफिसरका रूपमा क्लाइब कुन्दर(को–पाइलट) पनि सहभागी थिए। 

यो उडानका क्रममा को–पाइलट कुन्दरले चलाइरहेको र क्याप्टेन सभरवालले निगरानी गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अहमदाबादबाट भारतीय समयअनुसार १ बजेर ३० उडान भरेको जहाजले एक बजेर ३८ मिनेट ४२ सेकेन्डमा अधिकतम एयर स्पिड लिइसकेको थियो। त्यस लगत्तै दुवै इन्जिनमा एकाएक इन्धन ‘कटअफ’ भएको देखिन्छ। जसमा स्विच एक–एक गरेर कटअफ भएको सुनिन्छ। दुवै कटअफबिचमा एक सेकेन्डको मात्रै अन्तर सुनिन्छ। जसै इन्जिनमा इन्धनको आपूर्ति बन्द हुन्छ, दुवै इन्जिनको स्पिड घट्दै जान्छ। 

त्यसपछि एक पाइलटले अर्को पाइलटसँग सोध्छन्–तिमिले कटअफ किन ग¥यौँ? अर्को पाइलटले जवाफ दिन्छन्–मैले गरेको छैन। तर उनीहरूबिचको कुराकानीको को आवाज कसको हो भनेर छुट्टाउन भने प्रतिवेदनले सकेको छैन। 

केही सेकेन्डपछि दुवै पाइलट एयरपोर्टमा रहेका ट्राफिक कन्ट्रोललाई ‘मेडे–मेडे–मेड’ भन्ने सन्देश पठाउँछन्। तर ट्राफिक कन्ट्रोलबाट त्यो कलबारे सोध्दा पाइलटहरूबाट कुनै जवाफ फर्किनन्। त्यसको केही समय पनि विमान दुर्घटनाग्रस्त भइरहेको देखिन्छ। 

छानबिनकर्ताका अनुसार दुर्घटनाको मुख्य कारण भने अझैँ पत्ता लागेको छैन। घटनाको एक कारण इन्धन आपूर्ति बन्द भएको देखिए पनि त्यो कसरी भयो भन्ने खुलेको छैन। यसमा मानवीय कारण हो कि कुनै अन्य दुर्लभ प्राविधिक कारण हो त्यसको निष्कर्ष ननिस्किएको प्रतिवेदनले जनाएको छ। 

बिबिसी हिन्दीको सहयोगमा

प्रकाशित: २८ असार २०८२ १५:३३ शनिबार

#NagarikNews #Air India Plane Crash